विकासन्युज

रानीपोखरी पुननिर्माणमा संलग्न कर्मचारी र ठेकेदार विरुद्ध मुद्धा

काठमाडौं । सम्पदा बचाउ अभियानमा लागेका व्यक्तिहरुको एक समूहले नियम विपरीत रानीपोखरीको पुनःनिर्माण गर्न खोजिएको आरोपसहित फौज्दारी मुद्दा दर्ता गरेका छन् । महानगरीय प्रहरी कार्यालय टेकुमा दर्ता गरिएको नं ३७१ को उजुरीमा भनिएको छ -“कानून विपरीत काम गर्नेहरुमाथि अनुसन्धान गरी कारबाही होस् ।” सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ३ (१) बमोजिम पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरे, काठमाडौं महानगरपालिकाको भौतिक पूर्वाधार विकास विभागका निर्देशक उत्तरकुमार रेग्मी, रानीपोखरी पुनःनिर्माणको जिम्मा पाएका वल्र्डवाइड कँडेल जेभीका ठेकेदार अर्जुन कँडेललाई विपक्ष बनाएर मुद्दा दर्ता गरिएको हो । रानीपोखरीको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यान नदिई जथाभावी पुनःनिर्माण गर्न खोजिएकाले संविधानको धारा ३२ ले दिएको अधिकार प्रयोग गरी फौज्दारी मुद्दा दर्ता गरिएको सम्पदाप्रेमी मोनालिसा महर्जनले बताए। विसं २०७२ को भूकम्पले क्षति पुर्याएको झण्डै ४०० वर्ष लामो इतिहास बोकेको रानीपोखरीको पुनःनिर्माण हाल विवादका कारण स्थगित छ ।पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरले भने रानीपोखरीको पुननिर्माणका लागि विभागले स्वीकृति नदिएको बताए । उनले आफुमाथी लागेको आरोप झुटो भएको दावी समेत गरे । रासस

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज अपराह्न ४ बजे बस्दै

काठमाडौं । मुलुकमा नयाँ संविधान जारी भई प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आज(सोमबार)देखि शुरु हुँदैछ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज अपराह्न ४ बजे एकै समयमा शुरु हुने संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए । प्रतिनिधिसभाको मंसिर १० र २१ तथा राष्ट्रियसभा सदस्यको माघ २४ गते निर्वाचन भएको थियो । नेपालको संविधानले प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक व्यवस्था गरेको छ । प्रतिनिधिसभा तल्लो र राष्ट्रियसभा माथिल्लो सदनका रूपमा रहेको छ । संघीय संसद्को मुख्य जिम्मेवारी कानून निर्माण गर्नु हो । प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० जना गरी २७५ सदस्यीय रहने छ । राष्ट्रियसभा भने प्रत्येक प्रदेशबाट आठ जनाका दरले निर्वाचित ५६ तथा सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन तीन गरी ५९ सदस्यीय रहने संवैधानिक व्यवस्था छ । पहिलो अधिवेशनका क्रममा सदन प्रारम्भ भएको १५ दिनभित्र सभामुख, उपसभामुख तथा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्न राजनीतिक दलको सहमतिमा प्रस्ताव तयार गरिसकेको छ । दुई दलको समर्थनमा केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएकाले नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार यही फागुन २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिनुहुने कार्यक्रमसमेत तय भएको छ । रासस

काँग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, प्रकाशमानलाई भन्दा दोब्बर मत

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित भएका छन् । केहीबेर अघि सम्पन्न निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गरेका निर्वाचन अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिए । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । रासस

मनिग्रामद्धारा नेपालमा प्राप्त हुने रकम अब दोब्बर

काठमाण्डौ । वित्तिय सेवा प्रदान गर्ने संस्था मनिग्रामले आफ्ना ग्राहकहरुलाई फेरि दोब्बर रकम प्राप्त गर्ने अफर ल्याएको छ । विदेशमा रहेका आफन्तहरुको सम्बन्ध अझ बलियो बनाउन मनिग्रामले उक्त विशेष योजना ल्याएको हो । योजनाले विशेषतः विदेशबाट नेपालमा रकम पठाउने ग्राहकहरुको प्रयासलाई अझ मजबुत बनाउने जनाएको छ । कम्पनीका अनुसार मनिग्रामबाट ३१ मे, २०१८ सम्ममा कारोबार गर्नु हुने प्रत्येकग्राहकहरु सोे योजनाअन्तर्गत लक्की ड्रमा समावेश हुन सक्नेछन् । मनिग्रामले प्रत्येक हप्ता २ जना विजेता गरी उक्त योजना अवधिभर जम्मा २४ जना भाग्यशाली विजेताहरुको रकम दोब्बर गरिदिनेछ । यस योजनाले नेपालमा निक्कै सफलता पाएको कारणले हामीले योजना मे महिनाको अन्तिमसम्म विस्तार गर्ने निर्णय गरेका गरेको कम्पनीको भनाइ छ । कम्पनीको अनुसार नेपाल मुख्य गरी रेमिट्यान्समा भर पर्ने देश भएकोले विदेशमा रहेका नेपालीहरुलाई समर्थन गर्दा उनीहरुका साथै आफन्तजनहरु पनि लाभदायी हुने विश्वास गरिएको छ ।

आज सेयर बेच्नेहरु चार वर्षपछि पछुताउने छन्, किनेर बस्ने मानिसहरु खुसी हुनेछन्- मनोज ज्ञवाली

मनोज ज्ञवाली, कामु प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक लिमिटेड ज्योति विकास बैंकमा डेपुटी सीईओको रुपमा तपाईको आगमनलाई पनि महत्वको साथ हेरिएको थियो । कामु सीईओ बन्नु भएको छ र भावी सीईओको रुपमा बैंकले स्वीकार गरेको पनि देखिन्छ । तपाई आएपछि ज्योति विकास बैंकमा के के सुधार भए ? म यस बैंकमा जोडिएको डेढ वर्ष भयो । म आउँदा यो बैंक ८ बर्षमा थियो । ६ अर्ब रुपैयाँ कर्जा प्रवाह र १०/१२ करोड नाफामै बैंक खुम्चिएको थियो । आज धेरै सुधार भैसकेको छ । आज १३ अर्बको लोनको पोर्टफोलियो छ । मर्जरबाट ल्याएका बैंकबाट पनि केही पैसा आएको छ तर हाम्रो आफ्नै निक्षेप र कर्जा पनि राम्रो ग्रोथ भैरहेको छ । ग्रोथका साथमा गुणस्तरमा पनि सम्झौता गरेका छैनौं । बैंकको शाखा २१ वटा बढाएर ५० वटा पुर्याएका छौं । व्यापार र नाफामा भएको वृद्धि वित्तिय विवरणहरुले देखाईरहेकै छन् । कर्मचारीको आकर्षण पनि बढेको छ । म आएपछि शाखा प्रबन्धकमा नियुक्ती गर्नको लागि सार्वजनिक आव्हान गर्दा २५ जनाले आवेदन दिएका थिए र कुनै पनि व्यक्ति छान्न लायक थिएनन् । पछिल्लो पटक गरिएको भ्याकेन्सीमा हजार जना भन्दा बढीको आवेदन आएको छ । बाणिज्य बैंकहरुबाट पनि ज्योति विकास बैंकमा जागिर खोज्दै आउनेहरु देखिएका छन् । हामीले छानी छानी मान्छे राख्न सक्ने हैसियत बनाएका छौं । नियामकहरुले पनि पहिलेको ज्योति विकास बैंक र अहिलेको ज्योति विकास बैंकलाई हेर्ने नजर पनि बदलिएको छ । हाम्रा ग्राहक, सेयरधनी र कर्मचारीहरु सबै सन्तुष्ठ छन् र म पनि सन्तुष्ट छु । लक्ष्य धेरै छ, यात्रा धेरै तय गर्नु पर्नेछ । समग्र वित्तिय क्षेत्रको अवस्था चाँही कस्तो छ ? अहिले वित्तिय क्षेत्र असहज परिस्थितीबाट गुज्रिरहेको छ । यो एक बर्ष पहिले देखिको समस्या हो । मैले पहिलेदेखि नै भन्दै आएको छु कि लगानी योग्य पुँजीको अभाव केहि समस्या लम्बिनेछ । केहि मानिसहरुले चुनावको पैसा, कालो धन, सेतो धनलाई देखाएर तर्क गर्दै आएका थिए । मेरो कुरा स्पष्ट छ, लामो राजनीतिक संक्रमणबाट गुज्रिएको नेपालको वित्तिय क्षेत्रले अझै केहि समय लगानीयोग्य पुँजी अभावको समस्या झेल्नुपर्छ । यो तत्कालै समाधान हुने सम्भावना छैन । पुँजीलाई पुग्ने गरि बजार विस्तार नभएसम्म लगानी योग्य पुँजीको अभाव निरन्तर रहन्छ । सरकारको बजेट कार्यान्वयनका क्षमता बढेको छैन । बैंकहरुको पुँजी ४ गुणाले बढेको छ । कम्पनीहरुले पनि सोही शैलीमा बजार बढाउन थाले । हाम्रो निक्षेपको वृद्धि दर औषत २० प्रतिशतको छ । तर बैंकहरुले ऋण प्रवाहलाई अत्याधिक बनाए । २० प्रतिशतको निक्षेप बढाएर शतप्रतिशत ऋण बढाउन थालेपछि समस्या आउनु स्वभाविक हो र यो क्रम अझै केहि समय निरन्तर रहन्छ । तरलता अभावका समयमा हामीले गर्ने व्यवहारले वित्तिय क्षेत्रलाई नराम्रो धक्का लाग्न पनि सक्छ । आजको दिनमा लगानी योग्य पुँजीको चरम अभाव झेलिरहेको वित्तिय क्षेत्रको भविष्य चाँही कस्तो होला ? मुस्किलले गाई पालेर बसेको किसानलाई हात्ति पाल्न भनियो भने के हुन्छ ? चार गुणा बढाईको पुँजीका लागि बजार खोई ? लगानीकर्ताले हिजो २० प्रतिशत प्रतिफल दिने बैंकले आज २५ प्रतिशत प्रतिफल दिनु पर्यो भनिरहेका छन् । त्यो कसरी सम्भव छ ? हिजो १५ प्रतिशत प्रतिफल दिने बैंकले आज २० प्रतिशत दिनुपर्छ भन्ने मान्यता लगानीकर्तामा गडेर बसेको छ । आज बाणिज्य बैंकका राम्रा भनिएका सीईओहरुले भटाभट जागिर छोडिरहेका छन्, निकालिँदै छन् । त्यसको कारण के हो ? त्यसका बारेमा कसले सोचिदिने ? कसले अध्ययन गरिदिने ? बैंक पनि व्यवसाय हो, हरेक बिजनेश डुब्न सक्छ, नोक्सानमा जान सक्छ, अनि के बैंक चाँही नोक्सानमा जानै नहुने ? गत वर्ष २० करोड कमाउने बैंकले यसपाली १८ करोड मात्रै कमायो भने उत्पात्तै बिग्रने ? बैंकमा चाँही नोक्सानी हुनै नसक्ने ? हुनै नहुने ? हरेक व्यवासयमा नोक्सान हुन सक्छ । पुराना बैंकहरुले १० औं वर्षपछि मात्रै २०/२५ प्रतिशत प्रतिफल दिएका हुन् । आज ३ गुणा पुँजी बढेको छ अनि तत्कालै प्रतिफल सोही मात्रामा बढाउन त सकिन्न नि । समस्याको जड नै यहि गलत सोँच नै हो । धेरै नाफा कमाउन भटाभट ऋण बढाएर मात्रै हुन्न । अमेरिका जस्तो अर्थतन्त्र भएको देशमा एक वर्षमै १४१ संस्था डुबेका थिए । निक्षेपमा २०/२२ प्रतिशत र कर्जामा १७/१८ प्रतिशत हुनुपर्ने थियो । बजारको आँकलन नै नगरि लगानीकर्तालाई ठूला सपना देखाएर पुरा गराउन नसकेपछि सीईओहरुले जागिर छाड्नुपर्ने बाध्यता आईपरेको हो । मुस्किलले गाई पालेर बसेको किसानलाई हात्ति पाल्न भनियो भने के हुन्छ ? चार गुणा बढाईको पुँजीका लागि बजार खोई ? हामी डायनोसर बन्न चाँही तयार छैनौं । रुख अग्लो बन्दै गयो भने घाँटी लम्ब्याउँदै जाने जिराफ नै बन्ने हो । म जिराफ हुन चाहान्छु । हाम्रा ग्राहक, सेयरधनी र कर्मचारीहरु सबै सन्तुष्ठ छन् र म पनि सन्तुष्ट छु । चार वर्षभित्र विकास बैंकहरु मध्ये हामी टपमा हुनेछौं । मलाई लाग्छ अझै एक डेढ बर्षमा लगानीयोग्य पुँजीको अभाव टर्दैन । कि त स्थानीय निकायको सबै पैसा बैंकमा आउनु पर्यो वा केन्द्रिय बैंकमा जाने सबै पैसा बैंकहरुमा च्यानलमा आउनुपर्छ । त्यो अवस्थामा बाहेक लगानी योग्य पुँजी अभावको समस्या तत्काल समाधान हुन्न । एकाध दिनमा सहज भएछ भने पनि फेरी आक्रामक रुपमाले ऋण बढाएर फेरी भयावह अवस्था आउन सक्छ । डेढ देखि २ वर्षसम्म लगानीयोग्य पुँजी अभावको समस्या समाधान हुने मैले चाँही देखेको छैन् । राम्रा भनिएका सिइओहरुले जागिर छोड्नु परिरहेको छ । यसमा दोष केन्द्रिय बैंकको, सञ्चालकको वा सिइओहरुकै हो ? यसमा लगानीकर्ता र केन्द्रिय बैंकको कुनै दोष छैन । विजनेश प्लान बनाउने सिइओहरुले नै हो । बिजनेश यति बढाउँछु र नाफा यति कमाउँछु, बजारको अवस्था यस्तो छ भन्ने योजना बनाएर सञ्चालक समितिमा बुझाउने सिइओहरुले नै हो । उनीहरुले बजारको अवस्थाको एकिन गरेर मात्रै बिजनेश प्लान बनाउनु पर्ने थियो । बजारको आँकलन नै नगरि लगानीकर्तालाई ठूला सपना देखाएर पुरा गराउन नसकेपछि सीईओहरुले जागिर छाड्नुपर्ने बाध्यता आईपरेको हो । औषत बजारको वृद्धिलाई नहेरी महत्वकांक्षा देखाएपछि पुरा गर्न नसक्नु स्वभाविक हो । एउटा रोटी छ, खाने मुख धेरै छन् । लुछाचुँडी गर्ने कि बाँडेर खाने भन्ने निर्णय सहि ढंगले गरिनुपर्छ । सौहार्दपूर्ण वातावरणमा रोटी बाढेर खाने अवस्था बनाउन सकिन्छ ? रोटी बाढेर खाने अवस्था निर्माण गर्न सकिन्छ । बैंकर्स एसोसियसन छ, डेभलपमेन्ट बैंकर्स एसोसियसन पनि छ । हामीले सँगै बसेर सहमति गर्न सक्छौं । एउटा लेभल भन्दा माथी नजाने भनेर निर्णय गर्न सकिन्छ । छीना झम्टी नगर्ने, सहमतिमा निक्षेप लिने जस्ता काम गर्नु पर्ने थियो । अहिले त निक्षेपको तानातान मात्रै होइन, कर्मचारीको तानातान पनि अस्वभाविक रुपमा बढिरहेको छ । यसले समग्र वित्तिय क्षेत्रलाई नै समस्यामा पारिरहेको छ । पढेलेखेका र उत्कृष्ठ मान्छेहरु रहेको भनिएको वित्तिय क्षेत्रमा पनि आफैंले तय गरेको लक्ष्य पुर्याउन नसक्ने, किन ? मान्छेले व्यक्तिगत क्षमताका आधारमा काम गर्ने हो । आज बैंकका सीईओहरुले राम्रोसँग काम गरिरहेका छैनन् । बैंकरहरु व्यवसायिक भएनन् । हामीले ८ प्रतिशतमा घरका लागि ऋण दिने अनि अर्काे महिनामा १६ प्रतिशत पुर्याइदिएका छौं । ऋणको आम्दानी बढेको हुन्न अनि उसले ८ प्रतिशतको ऋणलाई १६ प्रतिशत बनाउँदा कसरी तिर्न सक्छ । के हामी बैंकरहरुमा इमान, जमान हुन्न ? हामीलाई नैतिकता भन्ने कुराले छुनु पर्दैन् । यति बेला हामी बैंकरहरुले ऋणको जोखिम लिन पनि छाडेका छौं । ऋणीहरुलाई धमाधम ब्याजदर बढाएर आफू सुरक्षित भैरहेका छौं । सबै क्षेत्र ओरालो लाग्दा पनि बैंकहरुले नाफा बढाईरहेकै छन् । हामी ब्याजदरमा ऋणीलाई दुःख दिईरहेका छौं । तर डायनोसर बन्ने चाहाना मलाई छैन । त्यसैले २८ वटा बाणिज्य बैंक र दर्जन जति राष्ट्रिय स्तरका बाणिज्य बैंकहरुको भिडमा रहेकाले मैले पनि एसएमएस पठाएर ब्याजदर बढाउनुपर्ने बाध्यता छ । यद्यपि आजसम्म कर्जाको ब्याजदरमा हामीले कुनै पनि ग्राहकलाई अप्ठेरो पारेका छैनौं । तैपनि हामी डायनोसर बन्न चाँही तयार छैनौं । रुख अग्लो बन्दै गयो भने घाँटी लम्ब्याउँदै जाने जिराफ नै बन्ने हो । म जिराफ हुन चाहान्छु । अहिले हाम्रो बिजनेशको आकार राष्ट्रिय स्तरको विकास बैंकहरुको बटम लाइनमै छ । त्यसैले हामी पनि जिराफ बन्ने बाटोमा लागेर केहि न केहि ब्याजदर बढाउने काम नै गरिरहेका छौं । वित्तिय क्षेत्र भने साह्रै संवेदनशिल छ । एकाध बैंक ओरोलो लागे भने धेरै बैंक माथी समस्या आउछ । त्यसकारण हामीले, विकास बैंक र बाणिज्य बैंकहरुका सीईओहरुले सँगै बसेर वित्तिय क्षेत्रको वास्तविकताको सुक्ष्म अध्ययन गर्नुपर्छ । व्यवसाय र नाफाबारे एउटा स्पष्ट धारणा बनाएर आ-आफ्ना सञ्चालक समितिमा सोही अनुसारको कुरा राख्नुपर्छ । तपाई कामु सीईओ हुुनुहुन्छ र सीईओ बन्ने लाईनमा हुनुहुन्छ । चार वर्षपछि ज्योति विकास बैंक कुन पोजिसनमा पुग्छ ? म डेपुटी सिइओ थिए, अहिले एक्टिंग सिइओ छु । म सपना बोकेर यहाँ आएको हुँ । हिजो पनि काम गरेको हुँ र आज पनि काम गर्छु । नयाँ सिइओ आउनु भयो भने पनि यति स्पीडमा काम गर्ने हो । आजका दिनमा ज्योति विकास बैंक एक ढिक्का भएर काम गरिरहेको छ । बोर्ड देखि उच्च व्यवस्थापन र सबै कर्मचारी एकजुट छन् । हामी उच्च मनोबलका साथ बैंकलाई अघि बढाईरहेका छौं । हामीलाई व्यवसाय बढाउन ठूलो चुनौती छ । गत वर्ष हामीले शत प्रतिशत व्यवसाय बढाएका छौं । ६ अर्बको कर्जालई १३ अर्ब बनाएका हौं । ५० वटा शाखा र ६५० कर्मचारी छन् । त्यो इफोर्टले डेढ वर्षमा शत प्रतिशत व्यवसाय बढाएका हौं । यो भनेको औषत विकास मात्रै हो । एक वर्षभित्र अरु विकास बैंकको हाराहारीमा व्यवसाय पुर्याउँछौं । हामी एक वर्षपछि करिब २६ अर्ब हाराहारीको व्यवसाय पुर्याउँछौं । ५० वटा शाखाले मासिक एक करोडको दुईवटा फाइल गर्यो भने एक वर्षमा १२ अर्बको व्यवसाय बढ्छ । अब विदेशी मुद्रा सटहीको सुबिधा पनि लिँदै छौं । पहिलो वर्षमा व्यवसाय बढाएसँगै दोश्रो वर्षमा नाफा स्वभिावक रुपमा वृद्धि हुन्छ । तेश्रो वर्षमा सेवा र प्राबिधिमा व्यापक सुधार गर्छाै । व्यवसाय, नाफा, सेवा र प्रबिधिमा सुधार गरेसँगै चौथो वर्षमा टप बैंकका रुपमा स्थापित भैसक्नेछौं । चौथो वर्षमा हामीलाई पछाडी छाड्न अन्य विकास बैंकहरुलाई हम्मेहम्मे पर्नेछ । आजको दिनमा ज्योति विकास बैंकको सेयर बेच्नेहरु चार वर्षपछि पछुताउने छन् । यतिबेला सेयर किनेर बस्ने मानिसहरु खुसी हुनेछन् । प्रतिफल कति पाउँछन लगानी कर्ताले ? यो वर्ष हामी दुई अंकको प्रतिफल दिने योजनामै छौं । अर्काे वर्षदेखि हामी २० प्रतिशतको हाराहारीमा प्रतिफलको वृद्धिदर कायम गराउँछौं ।  

आरम्भ माइक्रोफाइनान्सको आईपीओ बिक्री आजसम्म

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) आजसम्म बिक्री खुला हुने भएको छ ।संस्थाको १ सय रुपैयाँ अंकित मूल्यका २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आईपीओ निष्कासन गरेको छ। निष्कासन भन्दा बढी आवेदन परेपछि सोमबार निष्कासन बन्द हुन लागेको हो । ५० देखि बढीमा १ हजार कित्ता आईपीको लागि दरखास्त दिन पाइने छ । कुल निष्कासनको ३ प्रतिशत अर्थात ८ लाख ८ हजार २० रुपैयाँ बराबरको ८ हजार ८२० कित्ता कर्मचारी र सामूहिक लगानी कोषका लागि कुल निष्कासनको ५ प्रतिशत अर्थात १४ लाख ७० हजार रुपैयाँ बराबरको १४ हजार ७ सय कित्ता छुट्टाइएको छ । आईपीओ निष्कासपछि संस्थाको चुक्तापुँजी ६ करोड रुपैयाँ हुने छ । संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ । संस्थाको आईपीओ अनलाईन वा बैंक तथा वित्तीय संस्था दुबैमा गएर भर्न सकिने छ । धितोपत्र बोर्डले पुस २० गते आईपीओ निष्कासन गर्न आरम्भलाई अनुमति दिएको थियो ।

सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको होइनः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र नभनेको बताएका छन् । उनले सेयरबजार अनुत्पादक क्षेत्र भएको कुरा कुनै पनि सञ्चार माध्यममा  नबोलेको जिकिर गरेका हुन् । बीबीसीसंगको अन्तरवार्तामा खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको सार्वजनिक भएको थियो । तर उनले भने सेयर बजारलाई अनुत्पादक क्षेत्र नभएको दावी गरेका हुन् । आफुले नभनेको कुरालाई लिएर सेयर बजारमा चलखेल भएको आरोप पनि उनले लगाएका छन् । गोरखापत्र दैनिकबाट  

अर्थमन्त्री खतिवडासँग सेयर बजारले डराउनु पर्दैन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाका कारण सेयर बजार घट्यो भन्ने आरोपमा कुनै दम छैन । खतिवडा अर्थतन्त्र बुझेका व्यक्ति हुन् । उनी अर्थतन्त्र सुधार्न र देश बनाउन भनेरै आएका हुन् । अहिले उनैलाई देखाएर सेयर बजार घट्यो भन्न थालिएको छ जसको कुनै तुक नै छैन । अहिले सेयर बजारमा सेलरको चाप पनि खासै छैन। कुनै पनि बाणिज्य बैंकको ४ करोड कित्ता सेयर बेच्न लायक हुन्छन् । तर बजारमा बेच्ने तयारी गरिएको सेयर भनेको करिब २० प्रतिशत मात्रै हुन्छ । एक दिनमा एउटा बाणिज्य बैंकको ८० लाख कित्ता सेयर बेच्न तयार हुन्छ । अहिले त्यसको २० प्रतिशत पनि बेच्ने सूचिमा आईसकेको छैन । लगानीकर्ताहरुले बैंक वा अन्य ठाउँबाट ऋण लिएर लगानी गरेका होलान् । त्यस्तो अवस्थामा अलिकति बजार घट्ने वित्तिकै डराउँछन् । बैंक भन्दा अलि राम्रो प्रतिफल आउँछ भनेर सेयरमा लगानी गरेका हुन् । कर बाहेक बार्षिक ४ प्रतिशत सेयरबाट मुनाफाबाट आउनु पर्छ भन्ने मान्यता छ । खतिवडालाई देखाएर बजारमा चलखेल भयो । अब कुरा रह्यो उत्पादक र अनुत्पादक क्षेत्रको । प्राइमरी सेयर उत्पादक हो तर दोश्रो बजारको सेयर सट्टेबाजी मात्रै हो । दोश्रो बजारको सेयर कारोबार र लगानी उत्पादक होइन । त्यो सेयरको पैसा कम्पनीमा जाँदैन । प्राथमिक सेयर चाँही उत्पादक नै हो । अर्थमन्त्रीले पनि त्यहि भन्नु भएको हो । लगानीकर्ताले प्रतिफललाई र कम्पनीको गुडविल हेर्नु पर्ने थियो । २ रुपैंयाँ पनि नकमाउने कम्पनीको सेयर मूल्य २ सय गुणा बढेको छ । त्यहाँ लगानीकर्ताले कुरा बुझेनन् । फेरी पुस देखि चैतसम्म बजार घट्ने समय नै हो । अहिलको बजारमा देखिएको गिरावट स्वभाविक प्रक्रिया हो । हामीले पनि बजार घट्ने नै अनुमान गरिरहेका थियौं । यस अघि अधिकांश कम्पनीहरुको सेयर मूल्य अस्वभाविक रुपमा बढेको थियो । बैंकहरुले ऋण नदिएर बजार घट्यो भन्नु पनि गलत नै हो । बैंकहरुले आफ्नो प्राथमिकता र केन्द्रिय बैंकको गाइडलाईन अनुसार कर्जा प्रवाह गर्ने हो । सेयर बजारमा धेरै लगानी गर्न पनि पाइँदैन र त्यस्तो जोखिम उठाउनु पनि बैंकहरुका लागि ठिक हुन्न । नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक लगायतले त सेयर कर्जा नै दिँदैनन् । त्यो बैंकहरुको व्यवसायीक योजना भित्रको कुरा हो । सेयर बजार जुवाघर होइन, यहाँ सबैले कमाउने नै हो । सेयरमा गरिएको लगानी कहिल्यै पनि शुन्य हुँदैन । राम्रो कम्पनी हेरेर लगानी गर्ने हो भने कहिल्यै नोक्सानी हुन्न । यतिबेला लगानी गर्ने सुवर्ण अवसर छ । अर्काको कुरा सुनेर लगानी गरियो त्यसैले बजारमा अस्थिरता देखिएको हो । ‘हम तो मरेंगे सनम तुम्को भी साथ ले चलेंगे’ जस्तो भैरहेको छ । लगानीकर्ताले आत्तिनु पर्दैन, खतिवडाले बजार घटाएका होइनन् । यीनले अर्थतन्त्र सुधार नै गर्छन् । खतिवडासँग सेयर बजार डराउनु पर्दैन । खतिवडाले गर्ने कामहरुले सेयर बजारलाई दिर्घकालिन फाइदा नै गर्छ । पुर्वाधारमा लगानी बढ्यो भने रोजगारी बढ्ने आयात प्रतिस्थापन हुने अवस्था आउँछ जसले अर्थतन्त्रलाई फाइदा नै गर्छ । आज अर्थमन्त्रीलाई गाली गर्नेहरुले सेयर किन्दा खतिवडालाई सोधेर किनेको हो र ? अर्थमन्त्रीले स्टक एक्सचेञ्ज बन्द गर्न भनेका छन् र ?(दाहालसँग गरिएको कुराकानीमा आधारित)