कलंकी-नागढुङगा सडकः ६ किलोमिटर सडक असार अघि नै कालोपत्रे
काठमाडौं । कलंकी–नागढुंगा सडकको आधा भाग असार अघि नै कालोपत्रै हुने भएको छ । उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठका अनुसार कलंकी–नागढुंगा सडक खण्डको आधा भागमा असार अघि नै कालोपत्रै गर्ने योजनासहित काम अघि बढाइएको हो । ‘जाडो महिना सकियो अब कालोपत्रेको काम सुरु हुन्छ, अदालती झमेला नभएका ठाउँमा कालोपत्रे गर्ने काम असार अघि नै सक्ने गरि अघि बढेको छ’, श्रेष्ठले भने । १२. ५ किलोमिटर लामो सडकको आधा खण्डमा भने दजर्नाै मुद्धा परेका थिए । स्थानीय मासिन्दाले मुआब्जा माग्दै अदालत गुहारेपछि सर्वाेच्च अदालतले असोज १२ गते पुर्णकालिन फैसला गरेको थियो । तर अदालतले अझैसम्म फैसालको पुर्णपाठ जारी नगरेकाले सो सडक विस्तार अघि बढ्न सकिरहेको छैन् । यस अघि सडक विस्तार आयोजनाले यथास्थितिमै सडक विस्तारको काम अघि बढाउने योजना अघि सारेको थियो । तर भौतिक पुर्वाधार मन्त्रालयले गलत नजिर बस्ने भन्दै स्विकृति नदिएपछि काम रोकिएको थियो । हाल ६ किलोमिटर सडकमा पर्खाल र फुटपाथ बनाउने काम सम्पन्न भैसकेको छ । अब पिच गर्नु भन्दा अघिको पुर्व तयारीको काम सुरु गर्ने श्रेष्ठले बताए ।‘अदालती अवरोध नभएको ठाउँका नागरिकले असार अघि नै धुलो र हिलोबाट मुक्ति पाउनेछन्, हामी कालोपत्रे गरिसक्छौं’, श्रेष्ठले भने ।
इलाममा दैनिक ५० हजार लिटर दुध बिक्री
इलाम । इलाममा दैनिक ५० हजार लिटर दुध बिक्री हुन थालेको छ । जिल्लामा दुग्धजन्य उत्पादनमा वृद्धि भएसँगै सो मात्रामा दुध बिक्री हुन थालेको हो । जिल्लाका पूर्वी क्षेत्रमा रहेका व्यापारिक केन्द्रहरु फिक्कल, पशुपतिनगर, कन्याम, हर्कटेलगायत बजारमा मात्रै दैनिक ३० हजारदेखि ५० हजार लिटरसम्म दूध बिक्री हुने गरेको छ । यहाँ रहेका डेरी तथा चिज उद्योगले सो दूध खपत गर्ने गरेका छन् । यहाँका बजारमा दूधबाट उत्पादित ललीपप, छुर्पी, बम्बैसन र पनिरको माग बढेको छ । दुग्धजन्य उत्पादनको माग बढ्दै गएपछि किसान पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । जिल्ला बाहिरबाट आउने पर्यटकले कोसेलीका रुपमा यहाँ उत्पादित दुग्धजन्य उत्पादन लैजाने गरेका छन् । छुर्पी र घ्यू उत्पादन गर्ने ३०० को हाराहारीमा रहेका डेरी उद्योगले दैनिक २५ हजार लिटर दूध खपत गर्ने गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । यस वर्ष जिल्लामा रु २० करोड ७९ लाख बराबरको छुर्पीको कारोबार भएको छ भने रु ५१ करोड ४० लाख बराबरको घ्यू बिक्री भएको छ । सहकारीमार्फत दुग्ध संस्थानमा भन्दा निजी डेरीले महँगो मूल्यमा दूध खरिद गर्न थालेपछि किसान डेरीतर्फ आकर्षित भएका हुन् । निजी उद्योगले प्रतिलिटर रु ६० देखि रु १०० सम्ममा दूध खरिद गरे पनि दुग्ध संस्थानले रु ३० देखि रु ६० सम्म मात्र दिने गरेको छ ।-रासस
कालिका माइक्रोक्रेडिट बैंकको २१.२१ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी १० करोड नाघ्यो
काठमाडौं । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको २१.२१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंकको हालै सम्पन्न आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । बैंकले सेयरधनीलाई हालको चुक्ता पुँजीमा सो मात्राको बोनस सेयर दिने भएको छ । हाल बैंकको चुक्ता पुँजी ८ करोड २५ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीमा २१.२१२१ प्रतिशत अर्थात १ करोड ७५ लाख रुपैंया बोनस पश्चात बैंकको पुँजी १० करोड रुपैयाँ पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहोराले बताएका छन् । साथै, सभाले बोनस सेयरको कर बापतको ९ लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांश वितरणको लागि स्वीकृती दिएको छ । सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्वको लागि निर्वाचनबाट सञ्चालकहरुमा विश्वराज नेपाल र करुणा पोखरेल निर्वाचित भएका छन् । बैंकले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ अनुसार संस्थाको नाम कालिका लघुवित्त वित्तिय संस्था लिमिटेड रहने गरि संशोधन गरेको छ । बोनस सेयर पश्चात जारी पुँजी तथा चुक्ता पुँजीमा बृद्धि भएर संस्थाको कार्य क्षेत्र विस्तार गरि राष्ट्रिय स्तरको लघुवित्त वित्तिय संस्था बनाउनको लागि प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।
ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले सिराहा र धनुषा जिल्लाको विभिन्न स्थानमा थप ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सिराहाको महानौरमा ७५ औँ, धनुषाको रतौली बजारमा ७६औँ र सोही जिल्लाकै फुलगामामा ७७औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो । महानौरमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय सिताराम महतो, धनुषाको रतौली बजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय सुरेन्द्रकुमार मण्डल र उक्त जिल्लाकै फुलगामामा खोलिएका शाखारहित बैंकिङ्ग सेवाको लागि दिपेन्द्रप्रसाद शाहलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएकाे छ । साथै, धनुषाको फुलगामामा खोलिएको शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोहमा त्यस क्षेत्रका बासिन्दामा वित्तीय साक्षरता जगाउने उद्धेश्यले बैंकले “वित्तीय साक्षरता कार्यक्रम” पनि आयोजना गरेको थियो । उक्त वित्तीय साक्षरता कार्यक्रममा ग्लोबल आइएमई बैंकका “तालिम तथा बैंक विज्ञ” पुर्णमान नापितले उक्त क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तिय संस्थाको आवश्यकता र औचित्यका बारेमा बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति थियो ।
१४ अर्ब वैदेशिक लगानी प्रतिवद्धता, ५७ प्रतिशत हिस्सा चीनको मात्रै
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा १४ अर्ब १५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको छ । सात महिनामा लगानी प्रतिवद्धता जनाउने मुलुकहरुमध्ये चीन अग्रस्थानमा देखिएको छ । चीनबाट मात्रै ५७ प्रतिशत लगानी प्रतिवद्धता आएको देखिन्छ । उद्योग विभागको तथ्यांक अनुसार सो अवधिमा चिनियाँ लगानीकर्ताहरुले ८ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता व्यक्त गरेका छन् । चीनले ६० वटा आयोजना सञ्चालन गर्नको लागि उक्त रकम खर्चिन लागेको हो । त्यसपछिको ठूलो लगानी प्रतिवद्धता भारतको रहेको छ । चालु आर्थिक वर्ष ०७४/७५ को गएको सात महिनाको अवधिमा भारतले ३ अर्ब ८० करोड रुपैयाँ बराबरको २९ वटा परियोजना सञ्चालन गर्ने भएको छ । गएको सात महिनाको अवधिमा स्वदेशी र विदेशी लगानीबाट १७६ वटा आयोजना सञ्चालनको लागि १६ अर्ब ८४ करोड रुपैयाँ लागानी गर्ने प्रतिवद्धता जनाएको उद्योग विभागको भनाइ छ । जसमा २ अर्ब ६९ करोड रुपैयाँ मात्रै स्वदेशी लगानी रहेको छ । सञ्चालन हुने उक्त आयोजनाको माध्यमबाट ६ हजार ९७२ जनाले मुलुकमा प्रत्यक्ष रोजगारी प्राप्त गर्ने विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले विगतका वर्षहरुमा भारतको लगानी बढी रहेतापनि हाल आएर चीनको लगानी बढीरहेको बताए । दुवै देशले नेपालमा विगतकाभन्दा ठूला आयोजनाहरु सञ्चानल गर्ने प्रतिवद्धता जनाइरहेको उनको भनाइ छ । विभागका निर्देशक खगेन्द्रबहादुर बस्नेतले पनि पछिल्लो समय मुलुकमा स्थिर सरकारको बन्ने भएसँगै नेपालका छिमेकी मुलुक भारत र चीनले ठूला–ठूला आयोजना ल्याएको जानकारी दिए । ‘गएका वर्षको सोही अवधिमाभन्दा वैदेशिक लगानीको प्रतिवद्धता बढेको छ,’ उनले भने, ‘अहिले उर्जा, कृषि, सूचना प्रशारण संचार प्रविधि, उत्पादन मुलक, खनिजको क्षेत्रमा लागानी बढेको छ ।’ यद्यपि सात महिनाको अबधिमा सेवा तथा पर्यटन क्षेत्रको लगानी भने केही मात्रामा खस्केको उनको भनाइ छ । विभागको अनुसार हालसम्म मुलुकमा ४ हजार ४४ वटा आयोजनाको लागि २ खर्ब २६ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । ७०८ वटा आयोजनमार्फत भारतले ८६ अर्ब ६२ करोड रुपैयाँ लगानी गर्नेे प्रतिबद्धता जनाएको छ भने चीनले १ हजार २२१ वटा आयोजनामार्फत ४२ अर्ब ९५ करोड रुपैयाँको प्रतिबद्धता गरेको छ ।
सेयर बजार ओरालो लाग्ने क्रम जारी, नेप्से १६ अंकले घट्दा ३९ करोडको कारोबार
काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबार उच्च अंकले ओरालो लागेको नेप्से सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ । सोमबार बजार खुलेको आधा घण्टासम्म परिसूचक उकालो लागेर १३१९ अंकमा पुगेको थियो । तर त्यसपछिको बजार भने निरन्तर ओरालो लागेको छ । अन्ततः नेप्से परिसूचक १६ दशमलब ६९ अंकले घटेर १२८७ दशमलब ७४ अंकमा झरेको छ । दोहोरो अंकले घटेको बजारमा ३९ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५३ कम्पनीका ९ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार ट्रेडिङ र होटल समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह ११९ अंकले ओरालो लागेको छ । उत्पादमूलक, जलविद्युत र माइक्रोफाइनान्स समूह क्रमशः ४६,४५ र ४३ अंकले घटेका छन् । ट्रेडिङ र होटल समूह क्रमशः ६ र २ अंकले बढेको छ ।
सीजीका विभिन्न आकर्षक फ्रिज नेपाली बजारमा, ५ वर्षको वारेण्टी
काठमाडौं । सीजीले हालै नयाँ मोडलका आकर्षक एवंम गुणस्तरयुक्त फ्रिजहरु नेपाली बजारमा ल्याएको छ । उक्त फ्रिजहरुमा खरिदमा ग्राहकले ५ वर्ष सम्मको वारेण्टी पाउन सक्नेछन् । कम्पनीका अनुसार उक्त फ्रिजहरु विभिन्न आकर्षक रंगहरुमा १८१ लिटर र १८५ लिटर सिंगल डोरमा र २३० लिटर र २६० लिटर डवल डोरमा उपलब्ध छन् । उक्त फ्रिजहरुले बत्ति गएको १२ घण्टासम्म खानालाई चिसो बनाई स्वच्छ र ताजा बनाई राख्दछ । फ्रिजहरु विभिन्न आकर्षक रंगहरु जस्तै खैरो, निलो, रातोमा फुल बुट्टामा बजारमा उपलब्ध छन् ।
नेपाली बामपन्थीको ‘सरकार चलाउने अमेरिकी मोडल’, राजनीतिक नियुक्ती सबै खारेज गरिने
काठमाडौं । बामपन्थी सरकारले अमेरिकी मोडलमा राज्यको शासन प्रशासन सञ्चालन गर्ने भएको छ । अमेरिकी शासनलाई साम्राज्यवादीको संज्ञा दिने बामपन्थीहरुले राज्य सञ्चालनका सवालमा भने अमेरिकी मोडल नै उपयुक्त हुने प्रतिवेदन तयार पारेका हुन् । एमाले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा माओवादी केन्द्रका प्रभावशाली नेताहरु सम्मिलित सुशासन तथा आर्थिक समृद्धि कार्यदलले तयार पारेको प्रतिवेदनमा अमेरिकी मोडलमा राज्य सञ्चालन गर्ने उल्लेख गरिएको हो । ‘हामीले अमेरिकी मोडलमा सरकार सञ्चालन गर्नुपर्छ भने प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएका छौं, नयाँ सरकार आएसँगै पुरानो सरकारले गरेका सबै राजनीतिक नियुक्ती खारेज गरिनुपर्छ भन्ने त्यसको न्युनतम मान्यता हो’, एमाले पोलिटब्युरो सदस्य डा. विजय पौडेलले विकासन्युजसँग भने । उनले नयाँ सरकार गठनसँगै पुरानो सरकारले गरेका सबै राजनीतिक नियुक्तीहरु खारेज गरेर नयाँ नियुक्त गरिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाएको बताए । अमेरिकामा पनि नयाँ राष्ट्रपति निर्वाचित भएसँगै अघिल्लो सरकारले नियुक्त गरेका करिब ६ हजार नियुक्ती खारेज हुने व्यवस्था छ ।माओवादी केन्द्रका नेता बर्षमान पुनले केहि समय अघि नयाँ सरकारका योजनाहरु कार्यान्वयनमा कर्मचारी सयंन्त्र बाधक हुने गरेको आरोप लगाए । ‘सरकारले नयाँ योजना ल्याउँछ तर कर्मचारीतन्त्रले असहयोग गर्छन्, त्यसकारण नयाँ सरकार गठन भएपछि पुरानो सरकारले गरेका राजनीतिक नियुक्ती स्वतः खारेज हुने व्यवस्था अघि सारेका हौं’, पुनले भने । उनले पुरानो सरकारका राजनीतिक नियुक्तीलाई नयाँ सरकारले उल्ट्याउन सक्ने गरि कानुन निर्माण गरिने र सो भन्दा अघि मन्त्रिपरिषद बैठकबाट बिषेश कार्यादेश ल्याएर कार्यान्वयन गर्ने स्पष्ट पारे । ‘तत्कालका लागि मन्त्रिपरिषदबाट बिशेष कार्यादेश जारी गर्ने र कानुन निर्माणलाई उच्च प्राथमिकता दिने गरि अघि बढेका छौं’, पुनले भने । कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयन भएमा मुख्य सचिव, प्रहरी प्रमुख, अनुसन्धान विभागका प्रमुख, केन्द्रिय बैंक, बिभिन्न संस्थानका प्रमुख, राजदुतहरु लगायत हजारौंले जागिरबाट हात धुनुपर्नेछ ।