विकासन्युज

संघीय नेपालको प्रथम राष्ट्रपति: विद्या भण्डारी कि झलनाथ खनाल ?

काठमाडौं । संघिय नेपालको प्रथम राष्ट्रपति निर्वाचन फागुन २९ गतेका लागि तोकिएको छ । बामपन्थी गठबन्धनमा राजकिय पद बाडफाँट गर्दा राष्ट्रपति एमालेको भागमा परेको छ । एमालेले संघिय नेपालको प्रथम राष्ट्रपतिको उम्मेदवार छान्नका लागि मंगलबार अपरान्ह ४ बजे स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको छ । वर्तमान राष्ट्रपति विद्या भण्डारीले दोश्रो कार्यकालका लागि पुनः दोहोरिने अभियानलाई तिब्र पारेकी छिन् । उनले एमाले र माओवादी केन्द्रका दोश्रो तहका नेताहरुलाई शितल निवासमै बोलाएर आफ्ना पक्षमा लागिदिन आग्रह गरिसकेकी छिन् । उता, पार्टीका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले पनि राष्ट्रपति बन्ने तिब्र इच्छा देखाएका छन् । खनाल अघिल्लो कार्यकालमा पनि राष्ट्रपतिका आकांक्षी थिए तर पार्टीले विद्या भण्डारीलाई उम्मेदवार बनायो । आजै बस्ने एमाले स्थायी कमिटीले आगामी पाँच बर्षका लागि संघिय नेपालको प्रथम राष्ट्रपतिको टुंगो लगाउने छ । ‘स्थायी कमिटीले निर्णय गर्यो भने झलनाथ खनाल राष्ट्रपति बन्नुहुनेछ, माओवादीसँग सल्लाह गरेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले टुंगो लगाउने अधिकार दियो भने भण्डारी दोहोरिने सम्भावना छ’, एमाले उच्च श्रोतले भन्यो । एमालेले मन्त्री छान्ने जिम्मा भने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई दिएको थियो । राष्ट्रपतिको उम्मेदवार तोक्ने जिम्मेवारी भने ओलीलाई नदिने सम्भावना रहेको श्रोतले बतायो ।‘स्थायी कमिटीले अध्यक्षलाई मन्त्री छान्ने सर्वाधिकार दिएको थियो, उहाँले आफुलाई काम गर्न सहज हुने टिम बनाउन त्यस्तो गरिएको थियो, राष्ट्रपतिको उम्मेदवार छान्ने सवालमा स्थायी कमिटी आफैंले निर्णय गर्ला’, एमाले श्रोतले भन्यो ।

चोरेर अमेरिका पुर्याइएको ९ सय बर्ष पुराना मुर्ति नेपाल ल्याइँदै

काठमाडौं । नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका ९ सय बर्ष पुराना मुर्ति पुनः नेपाल फिर्ता ल्याइने भएको छ । चोरेर अमेरिका पुर्याइएको ११ औं शताब्दीमा निर्मित वुद्धको पुर्ण कदको मुर्ति र १२ औं शताब्दीमा निर्माण गरिएको उमा महेश्वरको मुर्ति नेपाल ल्याउन लागिएको हो । ती मुर्तिहरु नेपाल ल्याउन अमेरिकाका लागि नेपाली महाबाणिज्य दुत मधुकुमार मरासिनीले अगुवाई गरेका थिए । अमेरिकाको न्युयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा राखिएका मुर्तिहरु नेपाल ल्याउने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर समेत भैसकेको छ ।

नेशनल बैंकिंग इन्स्टिच्यूटल डिजिटाईजेशन कन्फेरेन्स गर्ने

काठमाडौं । नेशनल बैंकिंग इन्स्टिच्यूटले आगामी चैत्र २ गते काठमाण्डौँमा ‘डिजिटाईजेशन कन्फेरेन्स’ आयोजना गर्ने भएको छ । बदलिदो पारिस्थितिमा सूचना प्रबिधिले मारेको फड्को र नयाँ प्रबिधिले ल्याएका चुनौतिलाई बैंकिंग, टेलिकम, सरकारी निकाय र अरुसंग संस्थाहरुले आत्मसार गर्नुपर्ने देखिएको उक्त सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ । बैंकिंग, टेलिकम, इन्सुरेन्सलगायत विभिन्नसंग संस्थाहरुले प्रबिधिलाई आप्नाइ राणानितिक एवम दुर्गामी सोच लिनुपर्ने आवश्यकता देखिएको छ । यसै सन्दर्भमा डिजिटाईजेशन जस्तो प्रबिधिक बिषय र यसको परिस्थिति र प्रणालीलाई बुझ्न र यसबाट सम्पूर्ण आर्थिक क्षेत्र, उद्योगहरुलाई मध्यानजर राख्दै अन्तराष्ट्रिय अनुभव आदनप्रदान गर्ने उदेश्यले यो सम्मेलन सान्दर्भिक र समय सापेक्ष हुने आयोजकको विश्वास छ । सम्मेलनमा भारतको कोटप महिन्द्रा बैंकका प्रमुख डिजिटल अधिकारी दीपकशर्मा, आईसीआईसीआई बैंकका पूर्व डिजिटल चैनल एस्पर्ट राहुलजोशि र आरबीएल बैंकका क्यास म्यानेजमेन्ट एण्ड इलेक्ट्रोनिक बैंकिङ सोलुशनका प्रमुख राजेश लोहरीले कार्यपत्र प्रस्तुत गर्ने भएको छन् । यस सम्मेलनमा आर्यटी विभागका कर्मचारीहरुदेखि मार्केटिङ, अपरेशनमा काम गर्नेहरु सहभागि हुनेछन् ।

विवाह खर्च घटाएर दम्पतीद्वारा विद्यालयलाई २ लाख

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का गोकर्णप्रसाद तिवारी र श्रीमती विद्या खरेलले आफ्नो विवाह खर्च घटाएर निरञ्जन माविका गरिब र विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षाका लागि सोमबार २ लाख रुपैयाँ सहयोग गरेकाछन् ।   तिवारीले आफ्ना पिता स्व होमनाथ तिवारीको नाममा अक्षयकोष स्थापनार्थ विद्यालयका प्राचार्य शिवराज पाण्डेलाई सो रकम  हस्तान्तरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार रेग्मीले सो सहयोगले विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने बताएका थिए । गत महिना काठमाडौँमा विवाह गरेका तिवारी संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन् । रासस

नेपाल चार्टड एकाउन्टेन्ट संघले नयाँ कार्यसमिति चुन्यो, अध्यक्षमा आनन्दराज र महासचिवमा अरण राउत निर्वाचित

काठमाडौं । नेपाली चार्टर्ड एकाउण्टेण्टस्हरुको छाता संगठन नेपाल चार्टर्ड एकाउण्टेण्टस् संघ (एक्यान)को २३ औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । संघको अध्यक्षमा आनन्दराज शर्मा वाग्ले निर्वाचित भएका छन् भने उपाध्यक्षमा दिपक पाण्डे निविरोध चयन भएको छ । त्यसैगरी महासचिवमा अरुण राउत, कोषाध्यक्षमा राजु ढकाल निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा संगिता कडरिया प्रसांई, सुबास पौडेल, सन्दिपबावु पौडेल, ऋषि रामपौडेल, रुद्र नाथपोखरेल र अमृत गिरी निर्वाचि भएको महासचिव अरुण राउतले जानकारी दिए । संघको वार्षिक साधारणसभा तथा निर्वाचन गत शनिवार काठमाडौंमा भएको थियो । नेपाली चार्टर्ड एकाउण्टेण्टस्हरुको हकहित संरक्षणको उद्देश्यले २०३४ सालमा स्थपित एउटा गैर नाफा मुलक संस्था हो । यस संस्थाले सदस्यहरुको सामूहित हितको अतिरिक्त देशमा विद्यामान विभिन्न आर्थिक, सामाजिक, लेखा तथा कर सँग सम्बन्धित विषय तथा समस्याहरुको पहिचान, अनुसन्धान गर्ने र समाधानका लागि सुझावहरु सरकार तथा विभिन्न निकायहरुमा पेश गर्ने कार्य गदै आइरहेको छ ।

स्कुटर डे मनाउँदै यामाहा, साथमा विभिन्न योजनाहरु

काठमाडौं । यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’ (स्कुटर दिवस)का रुपमा मनाउने भएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पुर्याएको योगदानको कदर गर्दै यामाहाले उक्त दिवस मनाउन लागेको हो । ‘स्कुटरले हामीलाई आरामदायी यात्रा मात्र होइन आत्मविश्वास पनि दिलाउँछ । त्यसैले सबैलाई मनपर्ने साधन स्कुटरको समपर्णमा हामीले स्कुटर डे मनाउने निर्णय गरेका हौं,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले भने । निशुल्क ‘स्कुटर वास’ स्कुटर डेका अवसरमा कम्पनीले देशभरि विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएको छ । जसमध्ये निशुल्क स्कुटर वास रहेको छ । स्कुटर डेमा राइडरहरुले यामाहाको कुनै पनि सर्भिस सेन्टरबाट जुनसुकै ब्रान्डको स्कुटर निशुल्क वास गर्न सक्नेछन् । ट्राफिकलाई दुई स्कुटर ‘स्कुटर डे’कै दिन आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले नेपाल ट्राफिक प्रहरीलाई दुई वटा यामाहा स्कुटर हस्तान्तरण गर्ने भएको छ । सो सानो सहयोगले काठमाडौंको ट्राफिक व्यवस्थापनमा थोरै भए पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै  कम्पनीकाे अनुसार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यामाहाले नेपालकै अग्रणी सम्भवत नेपालकै पहिलो स्कुटरचालक कमला श्रेष्ठलाई सम्मान गरेर स्कुटर हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको जानकारी दिएको छ ।

रोकिएको मेलम्चीको सुरुङ निर्माण मंगलबारदेखि

काठमाडौँ । फागुन १६ गते बुधबारदेखि रोकिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण मंगलबारदेखि शुरु हुने भएको छ । उपत्यकावासीको प्यास मेटाउन बहुप्रतीक्षित आयोजनाको २७.५ किमी सुरुङ अन्तिम चरणमा पुगेर पाँच दिनदेखि काम हुन सकेको थिएन । इटालियन ठेकेदार कम्पनी सिएमसीले सुरुङ निर्माणमा संलग्न कामदारलाई तलब नदिएपछि बुधबारदेखि सिन्धु–ग्याल्थुम खण्डको काम रोकिएको आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए। ‘निर्माण व्यवसायी कम्पनीले आज तलब दिएको जानकारी आएको छ, सके आजै बेलुकी, नभए मंगलबार बिहानदेखि काम शुरु हुन्छ, अब मात्र १९० मिटर सुरुङ खन्न बाँकी छ’, उनले भने। पाँच दिन काम रोकिए पनि चैत १५ सम्म काम सक्नेगरी सुरुङ निर्माण हुने आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले प्रक्रिया पुर्याएर ल्याएको बिल भुक्तानी सम्झौतामा उल्लेख भएभन्दा छिटो नै आयोजनाले गर्ने गरेको कार्यकारी निर्देशक देवकोटाको भनाइ छ। सम्झौतामा बिल भर्पाइ पेश भएको ५६ दिनमा भुक्तानी गरिसक्नुपर्ने व्यवस्था भएपनि अहिलेसम्म समयसीमा कटाइएको छैन । यसअघि मुहानस्थल अम्बाथानमा कार्यरत मजदुरले पनि लामो समयदेखि तलब नपाएको गुनासो गरेका थिए । आयोजनाको सुन्दरीजल–सिन्धु र ग्याल्थुम–अम्बाथान सुरुङखण्ड यसअघि नै छिचोलिएको छ । सुरुङ निर्माण सम्पन्न भई आउँदो दशैँ अघि मेलम्चीको पानी राजधानीको धारामा वितरण हुने विश्वास गरिएको छ । रासस

अखिल पुनर्गठन हुदैँ, को बन्ला अध्यक्ष ?

काठमाडौं । अनेरास्ववियुका केन्द्रिय अध्यक्ष नविना लामा सांसद भए पछि अहिले पुनर्गठनको मुद्धाले प्रवेश पाएको छ । अनेरास्ववियुको स्थायी कमिटीको औपचारिक वैठकमा अध्यक्ष नविना लामाले विदा लिने घोषणा गरेकी थिइन । अखिलको ईतिहास हेर्ने हो भने पनि २०५१ सालमा तत्कालीन अध्यक्ष रामनाथ ढकाल सांसद भएपछि अखिलवाट राजिनामा दिएपछि अध्यक्ष योगेश भट्टराई बनेका थिए । अहिले पनि अखिल पुनर्गठनको मुद्धामा केन्द्रित भएको छ । पार्टी ईन्चार्ज रविन्द्र अधकारी पनि यों गृहकार्यमा लागेका छन् । केपि ओलि समुहबाट रश्मि आचार्य , महेश बर्तौला ,ऐन महर, शैलेष लामा, सुनिता बराल अध्यक्ष बन्न लागेका छन् । केपि ओलि समुहमा को बन्ने भन्ने विवाद रहेको छ । माधव नेपाल र झलनाथ खनाल समुहबाट भने सुदेश पराजुली अध्यक्ष बन्न लागेका छन् । ओली समुहमा कसैले पनि एक अर्कालाई स्वीकार नगर्ने अवस्था सृजना भएपछि नेपाल समुहबाट पराजुलीले आफ्नो दावेदारीलाई कडा रुपमा अघि सारेका छन् । ओली समुहमा एकले अर्कालाई स्विकार नगर्ने अवस्था सृजना भएपछि उनीहरुकै प्रस्तावमा पराजुलीले आफु अध्यक्ष बन्ने बताउँदै आएका छन् ।