विकासन्युज

भोटेकोशी बाढीका २१ घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित २१ घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये एक भारतीयसहित २१ घाइतेको अहिले त्यहाँ उपचार भइरहेको जानकारी दिए । उक्त अस्पतालमा अशोक श्रेष्ठ, बलबहादुर घर्ती, मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट, रामप्रसाद थारु, रिता डोल्चा, ऋतु डङ्गोल, सुरुची राना मगर, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ, सङ्गीता तामाङ, सिजल थापा क्षेत्रीको उपचार भइरहेको छ । यस्तै, सितार तामाङ, मनिषा उचाई मगर, श्रीकेशकुमार यादव, चण्डिका श्रेष्ठ, कृष्ण श्रेष्ठ र सनम पाल्मोको समेत उपचार भइरहेको छ । यस्तै, भारतीय नागरिक नवलेश शर्माको पनि उक्त अस्पतालमा उपचार भइरहेको छ । उपचारमा रहने मध्ये पवित्र कार्की, पेमा तामाङ र चण्डिका श्रेष्ठलाई आईसीयुमा तथा मीनबहादुर श्रेष्ठ र राजेन्द्र भट्टको हाई केयर यूनिटमा  उपचार भइरहेको प्रवक्ता डा. सेढाईंले बताए । उक्त अस्पतालबाट हाल उपचार गरेर ५५ जना डिस्चार्ज भएका छन् । यस्तै चार जना अस्पतालमा आएर अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डा. सेढाईंले बताए । उक्त अस्पतालमा ल्याएका मध्ये २५ वर्षीय कुशल मगरको उपचारका क्रममा मृत्यु भएको छ ।

वृद्ध दम्पतीलाई मुखमा टेप लगाएर लुट्ने पाँच जना पक्राउ

काठमाडौं । वृद्ध दम्पतीलाई घरभित्रै बन्धक बनाई गरगहना तथा नगद लुटपाट गर्ने पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछाप खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान, सोही स्थानका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटाको बेलाहारा नगरपालिका–५ का ३८ वर्षीय दीपक भन्ने गुणराज विश्वकर्मा रहेका छन्। बिहीबार राती रामेछापको खाँडादेवीको नेवारटोलमा गत राति करिब १२ बजे ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छी माया तामाङ आफ्नै घरमा सुतिरहेका बेला नकाबधारी तीन जनाको समूह घरभित्र प्रवेश गरेको थियो। प्रहरीका अनुसार उनीहरूले वृद्ध दम्पतीको हात प्लास्टिकको टेपले बाँध्नुका साथै मुख थुनेर आँखामा पट्टी लगाएका थिए। ज्यान मार्ने धम्की दिई नियन्त्रणमा लिएपछि उनीहरूले दम्पतीले लगाएका गरगहना र घरमा राखिएको नगद लुटेर फरार भएका थिए। घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले डाँका चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी भदौ २० गते भक्तपुरका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो। उनीहरूलाई डाँका चोरीमा प्रयोग भएका सवारीसाधन तथा चोरीका सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुमन जर्घा मगरको साथबाट रु। २५ हजार नगद, रेडमी कम्पनीको मोबाइल र बा।७३ प ८७१२ नम्बरको २२० सीसीको मोटरसाइकल बरामद भएको छ। त्यस्तै, दीर्घराज मोक्तानको साथबाट रु। ५२ हजार २ सय नगद, नेपाली नागरिकता, राहदानी, एनएमबी बैंकको चेक, ग्लोबल आइएमई बैंकको राजस्व तिरेको बिल तथा घटनास्थलमा प्रयोग भएको ज्याकेट र हाफ कट्टु बरामद गरिएको प्रहरीले जनाएको छ। पशुपति श्रेष्ठको साथबाट बा. ७२ प ५५८ नम्बरको मोटरसाइकल, रु। ६ हजार ४ सय ६० नगद, मोबाइल, विभिन्न बैंक तथा सहकारीसम्बन्धी कागजात, नागरिकता, बुद्धचित्तका २२ वटा दाना, ढलौटको पानसरटुकी दुई थान, पुराना सिक्का पाँच थान तथा सुनजस्तो पहेँलो धातुको औँठी एक थान बरामद भएको छ। उनको लक्ष्मी सनराइज बैंक खातामा रु। १ लाख ३१ हजार १४ रुपैयाँ ८२ पैसा मौज्दात रहेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पिताम्बर गहतराजको साथबाट एक थान मोबाइल र दीपक भन्ने गुणराज विश्वकर्माको साथबाट सुनजस्तो पहेँलो धातुको दुई थान रिङ बरामद गरिएको छ। प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये पशुपति श्रेष्ठको समूह अन्य चोरीका घटनामा समेत संलग्न रहेको खुलेको जनाएको छ। श्रेष्ठको समूहले रामेछापको खाँडादेवी गाउँपालिका–७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दान पेटिका फुटाई रकम चोरी गरेको अनुसन्धानबाट खुलेको छ। त्यस्तै, २०८३ असार १ गते राति खाँडादेवी गाउँपालिका–३ की सुन्दरी श्रेष्ठको करिब २८/ ३० किलोको खसी तथा भदौ ७ गते सोही वडाको भिरपानीका रामबहादुर श्रेष्ठको गोठबाट करिब १५ किलोको बोका चोरी गरेको घटनामा समेत पशुपति श्रेष्ठको समूहको संलग्नता रहेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ। प्रहरीको क्रिमिनल रेकर्ड  जाँच गर्दा पशुपति श्रेष्ठविरुद्ध प्रहरी वृत्त कालीमाटीबाट डाँका तथा चोरीसम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको छ। यस्तै, दीर्घराज मोक्तानविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापबाट अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको र दीपक भन्ने गुणराज विश्वकर्माविरुद्ध प्रहरी वृत्त बौद्ध, काठमाडौंमा जुवासम्बन्धी कसुरमा मुद्दा चलेको अभिलेखबाट देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डब्लुएचओको बैठकमा नेपालको सहभागिता, जलवायु न्यायसम्बन्धी आह्वान

काठमाडौं । विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठक आज देखि ४ दिन सम्म  टिमोर-लेस्टेको डिलीमा सुरु भएको छ ।  बैठकमा नेपाल सरकारको तर्फबाट माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता  मन्त्री निशा मेहताको नेतृत्वमा सहभागिता जनाउने योजना रहेपनि हाल देशमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा स्वास्थ्य क्षेत्रको प्रतिकार्य, समन्वय र जीवनरक्षा कार्यमा प्रत्यक्ष संलग्न रहनुपर्ने भएकाले मन्त्रालयका अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल बैठकमा सहभागी भएको छ ।  मन्त्री मेहताले  बैठकमा भिडियो सन्देश मार्फत नेपालले भोगिरहेको बाढीजन्य संकट र प्रभावित जनसमुदायबारे औँल्याउदै जलवायु परिवर्तनलाई क्षेत्रीय समितिको छलफलको केन्द्रमा राख्नुपर्नेमा जोड दिएकी छन् ।  नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे तापनि बाढी, पहिरो, हिमतालसम्बन्धी जोखिम, स्वास्थ्य पूर्वाधारमा क्षति जस्ता गम्भीर असरहरू भोग्नुपरेको उल्लेख गर्दै यसलाई जलवायु न्यायको विषयका रूपमा प्रस्तुत गर्दै स्वास्थ्यका लागि समर्पित जलवायु वित्त, बलियो बहुक्षेत्रीय सहकार्य तथा जलवायु उत्थानशील स्वास्थ्य प्रणाली निर्माणका लागि क्षेत्रीय तथा विश्वव्यापी प्रतिबद्धता सुदृढ गर्न समेत आह्वान गरेकी छन् ।

विपत्तिको सामना गर्न एकजुट बनौं : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिको अवस्थामा  सबैलाई एकताबद्ध भएर उभिन आह्वान गरेका छन् । सोमबार (आज) राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सबैलाई एकताबद्ध भई उभिन आह्वान गरेका हुन् । आजै राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा गएका थिए । भ्रमणपश्चात उनले राष्ट्रका नामा सम्बोधन गरेका हुन् । उनले सबै राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय र आम नागरिकलाई एकताबद्ध भएर विपत्तिको सामना गर्न आह्वान गरे । राष्ट्रपति पौडेलले बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत तथा पुनस्र्थापनाका लागि राज्यका सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । विपत्तिबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउँदै पुनःस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिँदै उनले संकटको समयमा सबैको साझा प्रयासबाट मात्रै ठूलो क्षति न्यूनीकरण गर्न सकिने बताए ।

सामाजिक सञ्जालका १७३ पोष्टलाई कारबाही

काठमाडौं । नेपाल प्रहरीले भोटेकोशीको बाढीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा १ सय ७३ वटा भ्रामक सूचना तथा अफवाह फैलाउने कारबाहीका गरेको छ । समाजलाई त्रासमा राख्ने र विभाजित गर्ने तथा उत्तेजक खालका विचार लेख्ने पोष्टलाई प्रहरीले कारबाही गरेको हो । फेसबुकको १६८, टिकटक ४ र इन्स्टाग्रामको एउटा भ्रामक सूचना फैलाउने पोष्टलाई कारबाही गर्नका लागि पहिचान गरिएको प्रहरीले जनाएको छ । फेसबुकका विभिन्न ७९ वटा पोष्ट हटाइएको प्रहरीले जनाएको छ । त्यसैगरी टिकटकबाट ४ वटा सामग्रीसमेत हटाइएको प्रहरीले उल्लेख गरेको छ । गत भदौँ १० गतेको आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो धनजनको क्षति गरेको छ । केही दिनयता सामाकजिक सञ्जालमा भ्रामक सूचनासमेत फैलिएको छ । प्रहरीले समाज र व्यक्तिलाई उत्तेजित पुर्याउने व्यक्तिलाई कारबाही गर्दै आएको छ । सामाजिक सञ्जालमा आएका पोष्टलाई हटाउने समेत गरेको छ ।

बाढी प्रभावित ३ जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र सीमा हटाइयो

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका बीमितहरूका लागि स्वास्थ्य बीमा सेवामा लाग्ने सहभुक्तानी (बीमितले बुझाउनुपर्ने निश्चित रकम) र सेवाको माथिल्लो सीमा (क्यापिङ) हटाउने निर्णय गरेको छ ।  बोर्डको सोमबार (आज) को निर्णयअनुसार यो सुविधा लागू गरिएको हो । भाद्र १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलामा आएको अप्रत्याशित बाढीका कारण अति प्रभावित भएका यी तीन जिल्लालाई नेपाल सरकारले तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।  सोही सन्दर्भमा नागरिकहरूलाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले तोकिएको समयावधिसम्मका लागि यो व्यवस्था गरिएको बोर्डले जनाएको छ । साथै बाढीका कारण स्वास्थ्य बीमा परिचयपत्र नभएका वा हराएका बीमितहरूले पनि चिन्ता लिनु नपर्ने भएको छ ।  सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई उपलब्ध गराइएको एकीकृत व्यवस्थापन सूचना प्रणालीका प्रयोगकर्ता (आइएमआईएस युजर) प्रणालीमार्फत बीमितको स्वास्थ्य बीमा नम्बर यकिन गरी बीमा सेवा निरन्तर उपलब्ध गराइने व्यवस्था मिलाइएको बोर्डका प्रवक्ता डा. पवन कुमार शाहले जानकारी दिए । 

५० हजार घुस मागेको आरोपमा नापी कार्यालय कलंकीका दुई कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं । नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्धे र सर्भेक्षक अमित कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध ५० हजार रुपैयाँ घुस मागेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार चन्द्रागिरी नगरपालिका–९ मा रहेको जग्गा हालसाविक गरी प्लट मिलान गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागिएको थियो । अनुसन्धानका क्रममा तत्कालीन सर्भेक्षक श्रेष्ठ र नापी अधिकृत पार्धेले नियमअनुसार गर्नुपर्ने काममा अनावश्यक दुःख–हैरानी दिई घुस रकम माग गरेको पुष्टि भएको आयोगले जनाएको छ । उनीहरूले आफूले रकम नलिई कार्यालय सहयोगीलाई दिन लगाउने गरी घुस लिन मन्जुर गरेकोसमेत अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ । आयोगले दुवै जनाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर भएको ठहर गरेको छ । आयोगले ५० हजार रुपैयाँलाई बिगो कायम गरी दुवै प्रतिवादीलाई कैद तथा बिगोबमोजिम जरिवाना गर्न मागदाबी गरेको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूविरुद्ध २०८३ भदौ २२ गते विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

पिपुल्स हाइड्रोपावरका सेयरधनीले ३० प्रतिशत सेयर बेच्ने

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका एक आधारभूत सेयरधनीले आफ्नो ३० प्रतिशत सेयर बिक्री गर्न चाहेका छन् । कम्पनीका अनुसार आधारभूत सेयरधनी क्लिन इनर्जी कन्सल्टेन्ट्स प्रालिले आफूसँग रहेको सेयरमध्ये ३० प्रतिशत बिक्री गर्न लागेको हो । कम्पनीमा क्लिन इनर्जी कन्सल्टेन्ट्सको कुल ३ लाख ४५ हजार कित्ता सेयर रहेको छ । सोही सेयरको ३० प्रतिशत बिक्री गर्ने जानकारी कम्पनीलाई गराइएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार उक्त जानकारी सार्वजनिक गरेको जनाएको छ । ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहने आधारभूत सेयरधनीले बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।