वृद्ध दम्पतीलाई मुखमा टेप लगाएर लुट्ने पाँच जना पक्राउ

काठमाडौं । वृद्ध दम्पतीलाई घरभित्रै बन्धक बनाई गरगहना तथा नगद लुटपाट गर्ने पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछाप खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान, सोही स्थानका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटाको बेलाहारा नगरपालिका–५ का ३८ वर्षीय दीपक भन्ने गुणराज विश्वकर्मा रहेका छन्।

बिहीबार राती रामेछापको खाँडादेवीको नेवारटोलमा गत राति करिब १२ बजे ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छी माया तामाङ आफ्नै घरमा सुतिरहेका बेला नकाबधारी तीन जनाको समूह घरभित्र प्रवेश गरेको थियो।

प्रहरीका अनुसार उनीहरूले वृद्ध दम्पतीको हात प्लास्टिकको टेपले बाँध्नुका साथै मुख थुनेर आँखामा पट्टी लगाएका थिए। ज्यान मार्ने धम्की दिई नियन्त्रणमा लिएपछि उनीहरूले दम्पतीले लगाएका गरगहना र घरमा राखिएको नगद लुटेर फरार भएका थिए।

घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले डाँका चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी भदौ २० गते भक्तपुरका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो। उनीहरूलाई डाँका चोरीमा प्रयोग भएका सवारीसाधन तथा चोरीका सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुमन जर्घा मगरको साथबाट रु। २५ हजार नगद, रेडमी कम्पनीको मोबाइल र बा।७३ प ८७१२ नम्बरको २२० सीसीको मोटरसाइकल बरामद भएको छ।

त्यस्तै, दीर्घराज मोक्तानको साथबाट रु। ५२ हजार २ सय नगद, नेपाली नागरिकता, राहदानी, एनएमबी बैंकको चेक, ग्लोबल आइएमई बैंकको राजस्व तिरेको बिल तथा घटनास्थलमा प्रयोग भएको ज्याकेट र हाफ कट्टु बरामद गरिएको प्रहरीले जनाएको छ।

पशुपति श्रेष्ठको साथबाट बा. ७२ प ५५८ नम्बरको मोटरसाइकल, रु। ६ हजार ४ सय ६० नगद, मोबाइल, विभिन्न बैंक तथा सहकारीसम्बन्धी कागजात, नागरिकता, बुद्धचित्तका २२ वटा दाना, ढलौटको पानसरटुकी दुई थान, पुराना सिक्का पाँच थान तथा सुनजस्तो पहेँलो धातुको औँठी एक थान बरामद भएको छ।

उनको लक्ष्मी सनराइज बैंक खातामा रु। १ लाख ३१ हजार १४ रुपैयाँ ८२ पैसा मौज्दात रहेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पिताम्बर गहतराजको साथबाट एक थान मोबाइल र दीपक भन्ने गुणराज विश्वकर्माको साथबाट सुनजस्तो पहेँलो धातुको दुई थान रिङ बरामद गरिएको छ।

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये पशुपति श्रेष्ठको समूह अन्य चोरीका घटनामा समेत संलग्न रहेको खुलेको जनाएको छ। श्रेष्ठको समूहले रामेछापको खाँडादेवी गाउँपालिका–७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दान पेटिका फुटाई रकम चोरी गरेको अनुसन्धानबाट खुलेको छ।

त्यस्तै, २०८३ असार १ गते राति खाँडादेवी गाउँपालिका–३ की सुन्दरी श्रेष्ठको करिब २८/ ३० किलोको खसी तथा भदौ ७ गते सोही वडाको भिरपानीका रामबहादुर श्रेष्ठको गोठबाट करिब १५ किलोको बोका चोरी गरेको घटनामा समेत पशुपति श्रेष्ठको समूहको संलग्नता रहेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रहरीको क्रिमिनल रेकर्ड  जाँच गर्दा पशुपति श्रेष्ठविरुद्ध प्रहरी वृत्त कालीमाटीबाट डाँका तथा चोरीसम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको छ।

यस्तै, दीर्घराज मोक्तानविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापबाट अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको र दीपक भन्ने गुणराज विश्वकर्माविरुद्ध प्रहरी वृत्त बौद्ध, काठमाडौंमा जुवासम्बन्धी कसुरमा मुद्दा चलेको अभिलेखबाट देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share News