काठमाडौं । नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्धे र सर्भेक्षक अमित कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध ५० हजार रुपैयाँ घुस मागेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार चन्द्रागिरी नगरपालिका–९ मा रहेको जग्गा हालसाविक गरी प्लट मिलान गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागिएको थियो ।
अनुसन्धानका क्रममा तत्कालीन सर्भेक्षक श्रेष्ठ र नापी अधिकृत पार्धेले नियमअनुसार गर्नुपर्ने काममा अनावश्यक दुःख–हैरानी दिई घुस रकम माग गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
उनीहरूले आफूले रकम नलिई कार्यालय सहयोगीलाई दिन लगाउने गरी घुस लिन मन्जुर गरेकोसमेत अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ ।
आयोगले दुवै जनाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर भएको ठहर गरेको छ ।
आयोगले ५० हजार रुपैयाँलाई बिगो कायम गरी दुवै प्रतिवादीलाई कैद तथा बिगोबमोजिम जरिवाना गर्न मागदाबी गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूविरुद्ध २०८३ भदौ २२ गते विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।