नियम तोड्दै ट्रम्पले राखे सिक्कामा आफ्नो तस्बिर, केही घण्टामै सकियो स्टक
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अमेरिकी सिक्कामा अंकित गरिएको छ । यो अमेरिकी संस्थाहरूमा आफ्नो व्यक्तिगत छाप छोड्ने राष्ट्रपतिको पछिल्लो कदमका रूपमा देखिएको छ । बुधबार अमेरिकी टकसाल (यूएस मिन्ट) ले अमेरिकाको २५०औं वार्षिकोत्सवको अवसरमा ट्रम्पको तस्बिर अंकित १ डलरको सिक्का सार्वजनिक गरेको हो । सिक्कामा ट्रम्पको तस्बिरसँगै ‘लिबर्टी’ र ‘इन गड ह्वी ट्रस्ट’ शब्द लेखिएका छन् । टकसालका अनुसार यी सिक्का दैनिक कारोबारमा प्रयोग गर्न बजारमा चलनचल्तीका रूपमा ल्याइने छैनन् । बरु सङ्कलनयोग्य सिक्काका रूपमा बिक्री गरिँदैछ । अमेरिकी कानुनले जीवित राष्ट्रपतिहरूको तस्बिर अमेरिकी मुद्रामा राख्न प्रतिबन्ध लगाएको छ । तर अमेरिकाको २५०औं वार्षिकोत्सवका लागि बनाइएको विशेष कानुनी व्यवस्थामा रहेको डिजाइनसम्बन्धी प्रावधान प्रयोग गर्दै उक्त प्रतिबन्धलाई पार गरिएको हो । २५ वटा सिक्काको एउटा रोलको मूल्य ६१ डलर र १०० वटा सिक्काको झोलाको मूल्य १५४.५० डलर तोकिएको छ । बिक्री सुरु भएको केही घण्टामै अमेरिकी टकसालको वेबसाइटमा यी सिक्का ‘हाल स्टकमा नरहेको’ देखिएको थियो । यद्यपि, थप सिक्का उत्पादन भइरहेको टकसालले जनाएको छ । यी सिक्का वासिङ्टन डीसीस्थित अमेरिकी टकसालको स्टोरमा राखिएका भेन्डिङ मेसिनबाट समेत बिक्री भइरहेका छन् । अमेरिकी टकसालका अनुसार यो सिक्का ‘अमेरिकाको ऐतिहासिक राष्ट्रिय उपलब्धि’ मनाउन तयार गरिएको हो। टकसालले यसलाई ‘एक पुस्तामा एकपटक आउने वार्षिकोत्सवको विशेष डिजाइन’ भन्दै आधुनिक सिक्का सङ्कलनमा विशेष स्थान बनाउने अपेक्षा गरेको छ । सिक्का सुनौलो रङको भए पनि यसमा वास्तविक सुन भने प्रयोग गरिएको छैन । अमेरिकी टकसालका अनुसार सिक्कामा ८८.५ प्रतिशत तामा रहेको छ भने बाँकी भाग जिंक, निकेल र म्याङ्गानिजयुक्त ब्रासको बाहिरी तहबाट बनेको छ । वासिङ्टन डीसीस्थित अमेरिकी टकसालको स्टोरमा ट्रम्पको तस्बिर अंकित १ डलरका सिक्का बिक्री गर्ने भेन्डिङ मेसिन । यी सिक्का चलनचल्तीमा नआए पनि कानुनी रूपमा मान्य मुद्रा हुन्। त्यसैले ऋण वा कर तिर्न प्रयोग गर्न सकिन्छ । तर संघीय कानुनअनुसार व्यवसायहरूले यी सिक्का स्वीकार गर्ने वा नगर्ने निर्णय आफै गर्न सक्छन् । यसअघि मे महिनामा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्पको तस्बिर अंकित २५० डलरको नयाँ नोट जारी गर्ने योजना रहेको बताएका थिए । त्यतिबेला बेसेन्टले जीवित अमेरिकी राष्ट्रपति यसअघि पनि देशको मुद्रामा देखिएको उदाहरण रहेको उल्लेख गरेका थिए । सन् १९२६ मा अमेरिकाको १५०औं वार्षिकोत्सवका अवसरमा जारी गरिएको आधा डलरको सिक्कामा तत्कालीन राष्ट्रपति क्याल्भिन कूलिजको तस्बिर राखिएको थियो । ट्रम्प प्रशासनले सन् २०२० मा ट्रम्पको पहिलो कार्यकालमा पारित ‘सर्कुलेटिङ कलेक्टिबल कोइन रिडिजाइन एक्ट’ लाई पनि आधार बनाएको छ । उक्त कानुनले सिक्काको पछाडिको भागमा जीवित व्यक्तिको तस्बिर राख्न प्रतिबन्ध लगाए पनि अगाडिको भा का लागि यस्तो प्रतिबन्ध स्पष्ट रूपमा उल्लेख गरेको छैन । नयाँ १ डलरको सिक्कामा ट्रम्पको तस्बिर अगाडिको भागमा राखिएको छ । यसै वर्ष मार्चमा अमेरिकी अर्थ मन्त्रालयले अमेरिकी कागजी नोटमा अब ट्रम्पको हस्ताक्षर राखिने घोषणा गरेको थियो । यो पनि पदमा बहाल रहेका अमेरिकी राष्ट्रपतिका लागि पहिलोपटक हुन लागेको हो ।
बाढीपीडितका लागि मनकामना केबलकारका कर्मचारीको ३ लाख ११ हजार सहयोग
काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि मनकामना केबलकारका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् । कम्पनीका सबै कर्मचारीले आफ्नो दुई दिनको तलब बराबरको रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । कर्मचारीबाट संकलित ३ लाख ११ हजार २२२ रुपैयाँ एभरेस्ट बैंकको नयाँ बानेश्वर शाखामा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूले स्वेच्छिक रूपमा आफ्नो तलबबाट रकम योगदान गरेको कम्पनीले जनाएको छ । मनकामना केबलकारले विपद्को समयमा प्रभावित नागरिकको सहयोगका लागि सबै क्षेत्रबाट मानवीय सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कर्मचारीहरूको योगदानले बाढीपीडितलाई राहत पुग्ने विश्वास व्यक्त गरेको छ ।
के तपाईंको नक्कली नङ लगाउने बानी छ ? हुनसक्छ क्यान्सर
काठमाडौैं । बेलायतकी ३५ वर्षीया लुसी थोमसलाई नक्कली नङ अर्थात एक्रिलिक नङ लगाउने बानी थियो । करिब दुई वर्षअघि उनले एक्रिलिक नङ हटाएपछि आफ्नो बूढी औंलाको नङमा कालो रेखा देखिन् । सुरुमा उनले नङमा चोट लागेको होला भनेर खासै ध्यान दिइनन् । तर साथीले डाक्टरलाई देखाउन सुझाव दिएपछि उनी जाँचका लागि गइन् । जाँचपछि डाक्टरहरूले नङमुनि हुने दुर्लभ प्रकारको छालाको क्यान्सर हुनसक्ने आशंका गरे । थप परीक्षण गर्दा नङमुनि क्यान्सर बन्नुअघि देखिने असामान्य कोषहरू भेटिए, जसलाई हटाउन उपचार गर्नुप‍र्यो । लुसीले आफ्नो अनुभव सुनाउँदै नक्कली नङ लगाउने मानिसहरूलाई नङमा देखिने असामान्य परिवर्तनलाई बेवास्ता नगर्न आग्रह गरेकी छन् । नङमा अचानक कालो वा खैरो धर्सा देखिनु, रंग परिवर्तन हुनु, नङको आकार बदलिनु वा लामो समयसम्म असामान्य देखिनु जस्ता समस्या देखिएमा आफै अनुमान नगरी स्वास्थ्यकर्मीलाई देखाउनु राम्रो हुन्छ । त्यसैगरी, नङ सजाउन प्रयोग हुने युभी बत्तीबाट हुने बारम्बारको सम्पर्कले पनि हातको छालामा असर पार्न सक्छ । त्यसैले सुन्दर देखिने मात्र होइन, आफ्नो स्वास्थ्यको पनि ख्याल राखौं । नङमा देखिएको सानो परिवर्तनलाई पनि बेवास्ता नगर्नूहोस् ।
स्वस्तिक रोलिङ मिल्सको आम्दानी १० महिनामा ३.१८ अर्ब, बैंकमा ऋण ३ अर्ब
काठमाडौं । स्वस्तिक रोलिङ मिल्स प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसअघि कम्पनीको आम्दानी आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब १४ करोड ४० लाख रुपैयाँ, आव २०७९/८० मा ३ अर्ब ४८ करोड ६० लाख रुपैयाँ र आव २०७८/७९ मा १ अर्ब २ करोड ३० लाख रुपैयाँ रहेको थियो । सन् २०१४ मा स्थापना भएको स्वस्तिक रोलिङ मिल्स प्राथमिक इस्पात उत्पादक कम्पनी हो । कम्पनीले स्पन्ज आइरनबाट एमएस बिलेट उत्पादन गरी त्यसबाट टीएमटी छड तथा फ्ल्याट, एङ्गल र च्यानललगायत संरचनात्मक इस्पात सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीका उत्पादन ‘बजरङ स्टिल’ नामबाट बजारमा बिक्री हुँदै आएका छन् । कम्पनीसँग वार्षिक ७२ हजार मेट्रिक टन बिलेट, १ लाख २५ हजार मेट्रिक टन टीएमटी छड र १ लाख ४० हजार मेट्रिक टन संरचनात्मक इस्पात सामग्री उत्पादन गर्ने क्षमता रहेको छ। सन् २०२६ को मेसम्म कम्पनीको चुक्ता पुँजी ३१ करोड ३० लाख रुपैयाँ रहेको छ । उक्त पुँजी ६ जना व्यक्तिको स्वामित्वमा रहेकोमा सबैभन्दा ठूलो हिस्सा आरके गोल्छा समूहसँग सम्बन्धित व्यक्तिहरूको रहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब ३ अर्ब रुपैयाँ ऋण लिएको छ । कुल ऋणमध्ये १ अर्ब २० करोड रुपैयाँ दीर्घकालीन र १ अर्ब ८० करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । इस्पात उद्योगको माग तथा गतिविधि घरजग्गा र निर्माण क्षेत्रको उतारचढावसँग प्रत्यक्ष रूपमा जोडिने भएकाले निर्माण क्षेत्रमा आउने परिवर्तनले कम्पनीको उत्पादन क्षमता उपयोग, आम्दानी तथा नाफामा असर पार्ने देखिएको छ । निर्माण गतिविधिमा आएको सुस्तताका कारण पछिल्लो समय इस्पातको माग केही कमजोर रहे पनि दीर्घकालमा इस्पातजन्य उत्पादनको माग बढ्ने सम्भावना रहेको जनाएको छ । नेपालमा पूर्वाधारको ठूलो आवश्यकता रहेकाले सार्वजनिक तथा निजी क्षेत्रबाट अघि बढिरहेका तथा प्रस्तावित पूर्वाधार आयोजनाले आगामी दिनमा इस्पातको माग बढाउन सक्ने अपेक्षा कम्पनीको छ । तर, उद्योगको चक्रीय प्रकृतिका कारण कम्पनीको नगद प्रवाहमा उतारचढाव आउन सक्ने र उच्च ऋण भारका कारण यसले तरलता व्यवस्थापनमा थप दबाब सिर्जना गर्न सक्ने जनाएको छ । नेपालको इस्पात उद्योगमा ठूलो संख्यामा स्थापित द्वितीयक इस्पात उत्पादक रहेकाले बजारमा प्रतिस्पर्धा उच्च रहेको छ। पछिल्ला वर्षहरूमा अधिकांश उत्पादकले कच्चा पदार्थदेखि तयार उत्पादनसम्मको प्रक्रिया आफैंभित्र समेट्ने गरी उत्पादन प्रणाली विस्तार गर्दै आएका छन् । यसले स्वस्तिकमाथि प्रतिस्पर्धात्मक दबाब बढाउनुका साथै बजार मूल्यमा समेत दबाब सिर्जना गर्न सक्ने देखिन्छ । त्यसैगरी, भन्सार संरक्षण प्राप्त उद्योगमा रहेकाले कम्पनी आयात शुल्क तथा महसुलसम्बन्धी नीतिगत परिवर्तनप्रति संवेदनशील रहेको छ । विशेषगरी टीएमटी छड तथा त्यसका लागि आवश्यक कच्चा पदार्थमा लाग्ने आयात शुल्क वा महसुल घटाइए वा हटाइएमा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कम्पनीलाई थप चुनौती हुन सक्ने कम्पनीको भनाइ छ । यद्यपि, प्राथमिक इस्पात उत्पादक भएकाले कम्पनीले द्वितीयक इस्पात उत्पादकको तुलनामा थप भन्सार सुविधाको लाभ प्राप्त गर्दै आएको छ । आफ्नै बिलेट उत्पादनका लागि कम्पनीसँग इस्पात पगाल्ने संयन्त्र रहेकाले उत्पादन प्रक्रियामा एकीकरण कायम भएको छ। यसलाई कम्पनीको सकारात्मक पक्षका रूपमा लिइएको छ । देशमा पूर्वाधार निर्माणको ठूलो आवश्यकता रहेकाले दीर्घकालमा इस्पातजन्य उत्पादनको माग बढ्ने सम्भावना रहेको छ । सार्वजनिक तथा निजी क्षेत्रका पूर्वाधार आयोजना बढ्दै जाँदा स्वस्तिकजस्ता एकीकृत प्राथमिक इस्पात उत्पादकलाई त्यसबाट लाभ पुग्न सक्ने देखिएको छ ।
नुवाकोटमा ८० हजार ५ सय डोज हैजाविरुद्धको खोप पठाइयो
काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ । मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५ सय २३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज-फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा भने यसअघि नै हेलिकप्टरमार्फत खोप पठाइसकिएको छ । बिहिबार देखि रसुवामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि करिब ३ हजार उडान प्रभावित, करिब साढे ३ लाख यात्रु अलपत्र
काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि करिब ३ हजार उडान प्रभावित भएका छन् । विमानस्थलहरूको सञ्चालन दोस्रो दिन पनि बन्द रहँदा ३ लाख ४० हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । राजधानी जकार्ताबाट करिब १५० किलोमिटर टाढा रहेको अनाक क्राकाटाउ ज्वालामुखीमा शुक्रबार राति अबेरदेखि विस्फोट सुरु भएको थियो । विस्फोटपछि ज्वालामुखीबाट लाभाका फोहोरा निस्कन थालेका थिए भने ज्वालामुखीबाट निस्किएको खरानी राजधानी जकार्ता र लाम्पुङ प्रान्तसम्म पुगेको थियो । जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल स्थानीय समयअनुसार बिहान ६ बजे पुनः सञ्चालनमा ल्याउने योजना थियो । तर, विमानस्थल आसपासको हवाई क्षेत्रमा ज्वालामुखीको खरानी रहेकाले पुनः सञ्चालन गर्ने योजना स्थगित गरिएको छ । विमानस्थलले जारी गरेको विज्ञप्तिअनुसार अब उडानहरू सोमबार राति करिब १२ बजेदेखि पुनः सञ्चालन हुनेछन् । नागरिक तथा सैन्य उडानका लागि प्रयोग हुने हलीम पेरदानाकुसुमा विमानस्थल पनि त्यतिबेलासम्म बन्द रहनेछ । सोमबार जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा यात्रुहरूको लामो लाइन लागेको थियो । अलपत्र परेका यात्रुहरू टिकटको रकम फिर्ता लिन तथा उडान कहिलेदेखि सुरु हुन्छ भन्ने जानकारी लिन लाममा बसेका थिए । फिन्ना नामकी एक यात्रुले आइतबार बिहान पूर्वी जाभाको मलाङ सहरबाट जकार्तास्थित आफ्नो घर फर्किने योजना बनाएकी थिइन् । उनका अनुसार विमानस्थलमा निकै अस्तव्यस्त अवस्था थियो र उडानको समय पटक–पटक परिवर्तन भइरहेको थियो ।
सुन तोलामा ३ हजार ५ सय रुपैयाँ महँगियो
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला १ सय रुपैयाँ बढेर ४ हजार ७९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६९० रुपैयाँ थियो ।
डेंगुका गम्भीर लक्षण बेवास्ता नगर्नूहोस्, मस्तिष्कमा पनि असर पर्न सक्छ
काठमाडौं । डेंगुलाई सामान्यतया ज्वरो, शरीर दुख्ने, टाउको दुख्ने र प्लेटलेट्स घट्ने रोगका रूपमा चिनिन्छ । तर गम्भीर अवस्थामा डेंगुले मस्तिष्क र स्नायु प्रणालीलाई पनि असर गर्न सक्छ । केही दुर्लभ अवस्थामा डेंगुका कारण स्ट्रोकको जोखिमसमेत बढ्न सक्ने चिकित्सकहरूले बताएका छन् । यद्यपि डेंगु भएका सबै बिरामीमा यस्तो समस्या देखिने होइन र अधिकांश बिरामी सामान्य उपचारपछि निको हुने गर्छन् । विशेषज्ञहरूका अनुसार डेंगु गम्भीर बनेपछि मस्तिष्क सुन्निने, चेतनामा समस्या आउने, मस्तिष्कमा रक्तस्राव हुने जस्ता जटिलता देखिन सक्छन् । डेंगुको सबैभन्दा संवेदनशील चरण ज्वरो घट्न थालेको समय मानिन्छ। यही समयमा शरीरमा गम्भीर जटिलता देखिने जोखिम बढ्न सक्छ । डेंगु र स्ट्रोकबीच सम्बन्ध मुख्यतः दुई अवस्थासँग जोडिएको छ । पहिलो, प्लेटलेट्स धेरै घटेर र रगत जम्ने प्रक्रिया प्रभावित हुँदा मस्तिष्कमा रक्तस्राव हुन सक्छ । दोस्रो, शरीरमा पानीको कमी, रक्तचाप अत्यधिक घट्नु वा रगतको प्रवाहमा समस्या आएमा मस्तिष्कमा रगत पुग्न अवरोध हुने इस्केमिक स्ट्रोकको जोखिम पनि दुर्लभ रूपमा देखिन सक्छ । तर चिकित्सकहरूका अनुसार यस्तो अवस्था निकै कम बिरामीमा मात्र देखिन्छ । डेंगुका गम्भीर बिरामीमा प्लेटलेट्स घट्नु, रगत जम्ने प्रक्रियामा गडबडी हुनु, शरीरबाट तरल पदार्थ चुहिएर रक्तचाप घट्नु र प्रतिरक्षा प्रणालीको असामान्य प्रतिक्रिया जस्ता कारणले स्नायु प्रणाली प्रभावित हुन सक्छ । त्यसैले डेंगुलाई केवल प्लेटलेट्स घट्ने रोगका रूपमा मात्र बुझ्न नहुने विज्ञहरूको भनाइ छ । चिकित्सकहरूका अनुसार डेंगुका बिरामीमा अचानक हातखुट्टा कमजोर वा सुन्निनु, बोल्न गाह्रो हुनु, बेहोस हुनु, अत्यधिक अन्योलमा पर्नु, दौरा पर्नु वा असामान्य रूपमा धेरै टाउको दुख्नु जस्ता लक्षण देखिए तुरुन्त अस्पताल पुग्नुपर्छ । यी लक्षणले मस्तिष्कसँग सम्बन्धित गम्भीर जटिलताको संकेत दिन सक्छन् । विशेषज्ञहरूले प्लेटलेट्स कम हुँदैमा मस्तिष्कमा रक्तस्राव वा स्ट्रोक हुन्छ भन्ने निष्कर्ष निकाल्न नहुने बताएका छन् । बिरामीको समग्र स्वास्थ्य अवस्था र देखिएका चेतावनी संकेतका आधारमा उपचार गर्नुपर्ने भएकाले गम्भीर लक्षण देखिए ढिला नगरी आपत्कालीन स्वास्थ्य सेवा लिन उनीहरूले सुझाव दिएका छन् ।