साउदीमाथि हुथीको भीषण हमला, ७३ जना घाइते
काठमाडौं । यमनमा साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले इरान समर्थित हुथी लडाकुहरूले साउदी अरबमाथि गरेको आक्रमणमा कम्तीमा ७३ जना घाइते भएको दाबी गरेको छ । बीबीसीको फारसी सेवाका अनुसार गठबन्धनले यी आक्रमणको निर्णायक जवाफ दिने जनाएको छ । यमनको सबैभन्दा बढी जनसंख्या रहेको क्षेत्र तथा देशको उत्तरी भागको अधिकांश भूभाग नियन्त्रणमा लिएका हुथी विद्रोहीहरूले जुलाईमा साउदी अरबविरुद्ध समुद्री नाकाबन्दीको घोषणा गरेका थिए । त्यसपछि उनीहरूले साउदी अरबमाथि आक्रमण सुरु गरेका थिए। उनीहरूले लाल सागरमा रहेका साउदीका पानीजहाजलाई समेत निशाना बनाएका थिए । यमनमा साउदी नेतृत्वको सैन्य गठबन्धनका एक प्रवक्ताले पछिल्लो समय तीव्र बनेको संघर्षलाई ‘खतरनाक’ भएको बताएका छन् । उनका अनुसार हुथीहरूले साउदी अरबका नागरिक तथा आर्थिक प्रतिष्ठानहरूलाई निशाना बनाएका छन् । पछिल्ला आक्रमणमा साउदी तेल कम्पनी साउदी अरामकोका जिजानस्थित संयन्त्रहरूलाई समेत निशाना बनाइएको छ । यद्यपि, अरामकोले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।
नोभा जेनेटिकाको 'आईपोड–२०० डीटी’ औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन
काठमाडौं । औषधि व्यवस्था विभागले नोभा जेनेटिका प्रालि खानिखोला–७, नुवाकोटद्वारा उत्पादित ‘आईपोड–२०० डीटी’ (सेफपोडोक्सिम प्रोक्सेटिल डिस्पर्सिबल ट्याब्लेट) औषधिको एक ब्याच बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले जारी गरेको सूचनाअनुसार ब्याच नम्बर आईपीडी२–१३३, उत्पादन मिति नोभेम्बर २०२५ र म्याद समाप्त हुने मिति अप्रिल २०२७ रहेको उक्त औषधि गुणस्तर परीक्षणका क्रममा मापदण्डअनुरूप नभएको पाइएको हो । राष्ट्रिय औषधि प्रयोगशालाबाट गरिएको परीक्षणमा उक्त औषधिले घुलनशीलता (डिसोलुसन) सम्बन्धी मापदण्ड पूरा नगरेको विभागले जनाएको छ । परीक्षण प्रतिवेदनमा ‘घुलनशीलताका सम्बन्धमा औषधि नमुना मापदण्डअनुसार छैन’ भन्ने उल्लेख गरिएको छ । उक्त औषधिमा सेफपोडोक्सिम प्रोक्सेटिल यूएसपी, सेफपोडोक्सिम २०० मिलिग्राम बराबरको मात्रा रहेको छ । यो लेप नलगाइएको घुलनशील ट्याब्लेटका रूपमा उत्पादन गरिएको हो । विभागले सम्बन्धित उद्योग तथा औषधि व्यवसायीलाई उक्त ब्याचको औषधिको बिक्री–वितरण रोक्न तथा बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ । साथै, फिर्ता गरिएको औषधिको विवरण विभागमा उपलब्ध गराउनसमेत भनिएको छ ।
चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण ४ जनाको मृत्यु, उद्धार र राहत कार्य तीव्र
काठमाडौं । पूर्वी चीनको जियान्ग्सी प्रान्तस्थित सुइचुआन काउन्टीमा शनिवार गएको भीषण पहिरो र लेदोसहितको बाढीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । स्थानीय अधिकारीहरूले चार जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । अन्य नौजना बेपत्ता रहेका छन् । त्यसैगरी, सोही काउन्टीको जोआन टाउनस्थित याङफेन गाउँमा शनिबार दुईजना बेपत्ता भएका थिए, जसमध्ये एक जनाको शव आइतबार दिउँसो फेला परेको स्थानीय सरकारले जनाएको छ । हाल प्रभावित क्षेत्रहरूमा उद्धार कार्य र विस्थापितहरूको व्यवस्थापन जारी छ । उद्धार टोलीका सदस्य वान कियाङकाअनुसार भारी उपकरण, उद्धार टोली र राहत सामग्री मुख्य प्रभावित क्षेत्रसम्म पुर्‍याउनका लागि अवरुद्ध सडक र नदीका मार्गहरू खोल्ने काम तीव्र गतिमा भइरहेको छ । गाओपिङ टाउनका उपप्रमुख लियाङ कुआनले मिङकेङ गाउँका सबै प्रभावित बासिन्दाहरूलाई वुझिफेङ टाउनसिपको एक होमस्टेमा स्थानान्तरण गरिएको जानकारी दिए । हाल त्यहाँ करिब २०० जना आश्रय लिइरहेका छन् । विस्थापितहरूका लागि भोजन, बसोबास र औषधी उपचारको व्यवस्था गरिएको छ भने एक व्यावसायिक मेडिकल टोली समेत परिचालन गरिएको छ । सम्भावित थप विपद्लाई मध्यनजर गर्दै छिमेकी क्षेत्रहरूबाट ५ हजार ३०० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । ‘साउदेल’ नामक चक्रवातका कारण परेको मुसलधारे वर्षाले जियान्ग्सी प्रान्तका कुल १ लाख ६१ हजार ५०० बासिन्दा प्रभावित भएको तथ्यांक छ । विपद्को गम्भीरतालाई हेर्दै चीनको प्राकृतिक स्रोत मन्त्रालयले जियान्ग्सीका लागि भौगर्भिक विपद् प्रतिकार्य स्तरलाई चौथोबाट बढाएर तेस्रो तहमा पुर्याएको छ । उद्धार कार्यमा मार्गदर्शन गर्न मन्त्रालयले एक कार्यदल समेत घटनास्थलमा पठाएको छ । यसैबीच, राष्ट्रिय विकास तथा सुधार आयोगले आपत्‌कालीन उद्धार र राहत कार्यका लागि केन्द्रीय प्राकृतिक विपद् राहत कोषबाट २ करोड युआन (करिब २९.५ लाख अमेरिकी डलर) विनियोजन गरेको छ । चीनमा विपद् व्यवस्थापनका लागि चार–तहको आपत्कालीन प्रणाली रहेको छ, जसमा प्रथम तह सबैभन्दा गम्भीर मानिन्छ । (सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री)
पटका लुकाएर राखेको अवस्थामा कपाली पक्राउ
काठमाडौं । अवैध रूपमा लुकाइछिपाइ राखिएको विस्फोटक पदार्थ (पटका) सहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१८ भुरुङखेल बस्दै आएका ३६ वर्षीय सुजन कपाली पक्राउ परेका हुन् । उनको कोठाबाट विभिन्न प्रकारका पटका लुकाइछिपाइ राखिएको अवस्थामा पटाका फेला परेको थियो। काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार सोमबार साँझ करिब ५ बजे भुरुङखेलस्थित एक घरमा अवैध रूपमा पटका लुकाइछिपाइ राखेर बिक्री वितरण भइरहेको भन्ने सूचना प्राप्त भएको थियो। प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगेर चेकजाँच गर्दा कपालीको कोठाबाट विभिन्न प्रकारका पटका राखिएको अवस्थामा फेला पारेको थियो। प्रहरीले बरामद पटका सहित कपालीलाई नियन्त्रणमा लिई प्रहरी वृत्त लैनचौरमा ल्याएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।
जेनजी विद्रोहको वर्षदिनमा कांग्रेसको प्रश्न– जेनजीले खोजेको परिवर्तन आयो ?
काठमाडौं । जेनजी विद्रोह भएको एक वर्ष पूरा भएको अवसरमा नेपाली कांग्रेसले सरकारमाथि तीव्र राजनीतिक प्रश्न उठाउँदै आन्दोलनका क्रममा भएका घटनामा संलग्न सबैलाई निष्पक्ष अनुसन्धानमार्फत कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी त्यसमा गरिएका सिफारिस पूर्णरूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । उनले २३ भदौमा भएको अत्यधिक बल प्रयोग तथा २४ भदौमा भएको आगजनी, तोडफोड र विध्वंशमा संलग्न जोसुकै भए पनि उन्मुक्ति दिन नहुने बताएका छन् । आङदेम्बेले शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साउने, आन्दोलनमा घुसपैठ गर्ने र अत्यधिक बल प्रयोग गर्ने सबै पक्षमाथि कारबाही हुनुपर्ने बताएका हुन् । एक वक्तव्य जारी गर्दै आङदेम्बेले राजनीतिक संरक्षण वा सत्ताको प्रभावका आधारमा कसैलाई उन्मुक्ति दिन नहुनेमा जोड दिएका छन् । उनले राज्यशक्तिको दुरुपयोग गर्ने र आन्दोलनको नाममा हिंसा तथा विध्वंस गर्ने दुवै पक्ष कानुनी दायरामा आउनुपर्ने धारणा राखेका छन् । आङदेम्बेले मानव अधिकार आयोगको प्रतिवेदनमा समेत केही पात्रलाई जोगाउने गरी सत्ता नेतृत्वबाटै कैँची चलाइएको आशंका गर्ने ठाउँ रहेको बताएका छन् । यद्यपि, उक्त प्रतिवेदन गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनभन्दा विश्वसनीय रहेको उनको दाबी छ । जेनजी आन्दोलनले उठाएका मुद्दा सम्बोधन भएको दाबीप्रति समेत आङदेम्बेले सरकारसँग जवाफ मागेका छन् । जेन–जीले खोजेको परिवर्तन आयो ? तपाईं नेतृत्वको सरकारको पाइला जेन–जीले चाहेको स्वप्नरूपी देश निर्माणतर्फ छ ? भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न समेत गरेका छन् । उनले भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शिता, युवाका लागि र रोजगारी, विदेश पलायन रोक्ने ठोस कार्यक्रमको माग गरेका छन् । आङदेम्बेले सार्वजनिक पदमा हुने नियुक्तिमा योग्यता र पारदर्शिताको अवस्थाबारे सरकारसँग जवाफ मागेका छन् । ‘अरू दललाई गाली गर्नु सजिलो थियो, अब आफ्नै सरकारको कामको हिसाब जनतालाई दिनुपर्छ,’ उनको माग छ । आङदेम्बेले जेनजीको बलिदानलाई सत्तामा पुग्ने भ‍र्‍याङका रूपमा प्रयोग गरेर आन्दोलनले उठाएका मूल प्रश्नलाई बेवास्ता गर्न नहुने बताएका छन् । जेनजीले व्यक्ति परिवर्तन मात्र नभई राज्य सञ्चालनको संस्कार परिवर्तन खोजेको उल्लेख गर्दै उनले सरकारलाई आलोचनालाई शत्रुतापूर्ण रूपमा नलिन र राज्यलाई पारदर्शी, जवाफदेही तथा जनउत्तरदायी बनाउन आग्रह गरेका छन् । उनले जेनजी शहीदहरूको सपना कुनै दल वा व्यक्तिको निजी राजनीतिक सम्पत्ति नभएको भन्दै आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको बलिदानलाई राज्यको नीति, शासन र व्यवहारमै रूपान्तरणमार्फत सम्मान गर्नुपर्ने बताएका छन् । आङदेम्बेले आन्दोलनका क्रममा घाइते भएकाहरूको दीर्घकालीन उपचार, पुनःस्थापना र आवश्यक सहयोग सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
विश्व फिजियोथेरापी दिवस : हृदय रोग र पक्षघातको रोकथाममा शारीरिक गतिविधिको महत्त्व
काठमाडौं । हृदय तथा रक्तनलीसम्बन्धी रोग र पक्षघातको रोकथाम, व्यवस्थापन तथा पुनःस्थापनामा फिजियोथेरापी र शारीरिक गतिविधिको भूमिका भन्ने नाराका साथ मंगलबार (आज) विश्व फिजियोथेरापी दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । स्वास्थ्य तथा शारीरिक गतिशीलतामा फिजियोथेरापिस्टले पु‍र्याउने महत्त्वपूर्ण योगदानबारे जनचेतना फैलाउने उद्देश्यले सन् १९९६ देखि हरेक वर्ष सेप्टेम्बर ८ मा यो दिवस मनाउने गरिएको छ। नेपालमा भने सन् २००० देखि यो दिवस मनाउन सुरु गरिएको हो । विश्वका विभिन्न देशहरूमा लामो समयदेखि प्रचलनमा रहेको यो चिकित्सा पद्धति नेपालमा सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धति तथा भारतबाट तालिम प्राप्त स्वास्थ्यकर्मीमार्फत भित्रिएको पाइन्छ । त्यसयता केही दशक अगाडि मात्र निजी अस्पतालहरूले यसको औपचारिक सुरुआत गरेका थिए । पछिल्लो समय सेवाग्राही र प्रदायक दुवैको संख्या बढ्दै गएको छ भने नेपालमै यसको अध्ययन९अध्यापनसमेत हुन थालेपछि विद्यार्थीहरूको आकर्षणसमेत बढ्दै गएको चिकित्सकहरू बताउँछन् । विशेषगरी हाडजोर्नी तथा नसासम्बन्धी रोगका लागि प्रभावकारी मानिने फिजियोथेरापी न्युरोलोजिकल डिसअर्डर (स्नायुसम्बन्धी विकार) र अटिजम भएका बालबालिकाहरूमा समेत निकै उपयोगी साबित भएको छ । यसका साथै युवा, महिला तथा वृद्धावस्थामा देखिने ढाड र कम्मर दुख्ने लगायतका समस्याहरूमा समेत यो पद्धति अत्यन्त प्रभावकारी बनेको छ ।
आन्दोलनबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास भइरहेको छ : दाहाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास भइरहेको बताएका छन् । मंगलबार (आज) शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २७औं स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उपलब्धिलाई निमिट्यान्न पार्न खोज्ने प्रवृत्तिका विरुद्ध नयाँ सङ्कल्प र ऊर्जाका साथ अघि बढ्नुपर्ने बताए । उनले भने, ‘प्रतिक्रियावादी शक्तिहरूले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास गरिरहेका छन् । सहिदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नु आवश्यक छ ।’ संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अहिले पनि प्रतिक्रियावादी चलखेल भइरहेको भन्दै त्यसका विरुद्ध दृढतापूर्वक उभिनुपर्ने उनले सबैमा अनुरोध पनि गरे । शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै जनयुद्धलाई नयाँ उचाइमा पु‍र्याउन महत्त्वपूर्ण भूमिका खेलेको स्मरणसमेत गरे ।
रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । सहयोग रकम नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रदान गरिएको संस्थाले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, साइमेक्स इन्क (बीवाइडी) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा डिजिपलका प्रतिनिधि उत्सव कार्की सहभागी थिए । सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष वैद्यले रकमभन्दा यसको उद्देश्य महत्वपूर्ण रहेको बताइन् । विपद्को कठिन घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्न यो सहयोग गरिएको उनले भनिन् । उनले नाइमामा आबद्ध अटोमोबाइल आयातकर्ता र उत्पादक कम्पनीहरूको तर्फबाट सहयोग गरिएको उल्लेख गर्दै संकटका बेला सरकार र प्रभावित समुदायसँग सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरिन् ।