बाढीपीडितका लागि मनकामना केबलकारका कर्मचारीको ३ लाख ११ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि मनकामना केबलकारका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् ।

कम्पनीका सबै कर्मचारीले आफ्नो दुई दिनको तलब बराबरको रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।

कर्मचारीबाट संकलित ३ लाख ११ हजार २२२ रुपैयाँ एभरेस्ट बैंकको नयाँ बानेश्वर शाखामा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूले स्वेच्छिक रूपमा आफ्नो तलबबाट रकम योगदान गरेको कम्पनीले जनाएको छ ।

मनकामना केबलकारले विपद्को समयमा प्रभावित नागरिकको सहयोगका लागि सबै क्षेत्रबाट मानवीय सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कर्मचारीहरूको योगदानले बाढीपीडितलाई राहत पुग्ने विश्वास व्यक्त गरेको छ ।

Share News