धनुष्टंकार नियन्त्रणमा राखेको भन्दै नेपाललाई डब्ल्यूएचओको सम्मान
काठमाडौं । नेपालले लगातार १० वर्षदेखि मातृ तथा नवजात धनुष्टंकार (टिटानस) उन्मूलनको अवस्था कायम राखेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सम्मान गरेको छ । डब्ल्यूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपाललाई यो सम्मान प्रदान गरिएको हो । बैठक अहिले टिमोर–लेस्टेको राजधानी डिलीमा भइरहेको छ । नेपालको तर्फबाट अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल बैठकमा सहभागी भएको छ । डब्ल्यूएचओका महानिर्देशकले डा. मिश्रालाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् । डब्ल्यूएचओले गुणस्तरीय खोप सेवा, सुरक्षित प्रसूति अभ्यास र सरकारको निरन्तर प्रतिबद्धताका कारण नेपालले यो उपलब्धि कायम राख्न सफल भएको जनाएको छ । सम्मानपत्रमा नेपालको उपलब्धिले दक्षिण–पूर्वी एसिया क्षेत्रमा मातृ तथा नवजात धनुष्टंकार उन्मूलन अभियानलाई थप बल पुगेको उल्लेख गरिएको छ । यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता भने रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीपछि स्वास्थ्य प्रतिकार्यमा खटिनुपर्ने भएकाले बैठकमा सहभागी हुन सकिनन् । मन्त्री मेहताले भिडियो सन्देशमार्फत नेपालमा बाढीले सिर्जना गरेको स्वास्थ्य संकटबारे जानकारी दिँदै जलवायु परिवर्तनका असर सामना गर्न जलवायु वित्त आवश्यक रहेको बताएकी छन् ।
पोखरा उद्योग वाणिज्य संघमा उद्योग उपाध्यक्षमा सौगात थापा
काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्षमा सौगात थापा निर्वाचित भएका छन् । उनले १ हजार २ सय ७१ मत प्राप्त गरेर उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी ललित बहादुर कुँवरले ९ सय ७३ मत प्राप्त गरेका थिए । निर्वाचित भएपछि थापाले उद्योग तथा व्यवसाय क्षेत्रमा युवाको सक्रिय सहभागिता बढाउँदै नयाँ पुस्तालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यसहित काम गर्ने बताए । उनले नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने, उद्यमीका समस्या समाधानका लागि पहल गर्ने तथा पोखराको उद्योग–व्यवसाय क्षेत्रलाई थप गतिशील र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। थापाले युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने उद्यमीसँग जोड्न आवश्यक रहेको बताउँदै नवउद्यम र नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा आफ्नो प्राथमिकता रहने बताएका छन्। 'युवालाई उद्यमसँग जोड्दै, नयाँ व्यवसायलाई प्रोत्साहन गर्दै र पोखराको उद्योग व्यवसायलाई अझ गतिशील बनाउनेछु,' थापाले भने। उनले संघलाई उद्योगी–व्यवसायीको साझा आवाजका रूपमा थप प्रभावकारी बनाउँदै व्यवसाय सञ्चालनका क्रममा देखिएका नीतिगत तथा व्यावहारिक समस्याको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताए । थापा गत निर्वाचनमा व्यवसायी थापा पोखरा उद्योग वाणिज्य संघको खुला कार्यसमिति सदस्यमा निर्वाचित भइसकेका छन् । उनले २०८१ भदौमा भएको निर्वाचनमा पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा अत्यधिक मत ल्याएर निर्वाचित भएका थिए । पोखरा उद्योग वाणिज्य संघको ३६ औं अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी छन् । गौतमले निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछाडि पार्दै विजयी भइन् । गौतमले ७ सय ५१, पोखरेलले ६ सय ३७, बुद्धाचार्यले ६ सय १ र आचार्यले २ सय ५३ मत प्राप्त गरे । पोखरा उद्योग वाणिज्य संघको ७० वर्ष लामो इतिहासमा पहिलोपटक महिलाले नेतृत्व पाएको छ ।
कालीमाटी बजारमा कुन तरकारी कति रुपैयाँमा बिक्री हुँदैछ ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि फलफूल र तरकारीको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा र भारतीय ठूलो गोलभेडा प्रतिकेजी ८० रुपैयाँमा कारोबार भइरहेको छ । सानो टनेल गोलभेडा भने प्रतिकेजी ५५ रुपैयाँमा बिक्री भइरहेको छ । रातो गोलो आलु र रातो मुडे आलु प्रतिकेजी ४८ रुपैयाँ, रातो लाम्चो आलु ५२ रुपैयाँ, भारतीय रातो आलु ४० रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ कायम भएको छ । तरकारीतर्फ बन्दा प्रतिकेजी २० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, लाम्चो भन्टा १५ रुपैयाँ, डल्लो भन्टा ३० रुपैयाँ, तने बोडी ६० रुपैयाँ र घिउ सिमी ९० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तितो करेला, लौका र भिण्डी प्रतिकेजी ४० रुपैयाँ, घिरौला २० रुपैयाँ, हरियो फर्सी ३० रुपैयाँ र पाकेको फर्सी ६० रुपैयाँ तोकिएको छ । सागपातमध्ये पालुङ्गो साग प्रतिकेजी १५० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ, रायोको साग ५० रुपैयाँ र हरियो प्याज १०० रुपैयाँमा बिक्री भइरहेको छ । फलफूलतर्फ फुजी स्याउ प्रतिकेजी ३५० रुपैयाँ, मुस्ताङको स्याउ १३५ रुपैयाँ, नेपाली केरा प्रतिदर्जन १८० रुपैयाँ, मालभोग केरा १०० रुपैयाँ, कागती प्रतिकेजी ३५० रुपैयाँ, अनार २५० रुपैयाँ र हरियो तरबुजा ५० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । युरो एकको खरिददर १७५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ०३ पैसा तोकिएको छ । बेलायती पाउन्ड एकको खरिददर २०४ रुपैयाँ २३ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०४ पैसा रहेको छ । यस्तै, अष्ट्रेलियन डलर एकको बिक्रीदर १०९ रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर १०९ रुपैयाँ ५८ पैसा र सिङ्गापुर डलर ११९ रुपैयाँ ६५ पैसा कायम भएको छ। चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ५७ पैसा, साउदी रियाल ४० रुपैयाँ ३४ पैसा, कतारी रियाल ४१ रुपैयाँ ५६ पैसा र यूएई दिराम ४१ रुपैयाँ २४ पैसा तोकिएको छ । राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरेको छ । केन्द्रीय बैंकले आवश्यक परे विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले लागू गर्ने दर भने केही फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।
इजरायलका स्याहार केन्द्रमा १ हजार ४६४ नेपाली कामदारका लागि आवेदन खुला
काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि सहायक कामदारको आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार एक हजार १३२ जना महिला र ३३२ जना पुरुष गरी कुल एक हजार ४६४ जना कामदार माग गरिएको हो । आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत दिन सकिने विभागले जनाएको छ । छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन् । इजरायली सरकारको नियमानुसार अतिरिक्त कामको सुविधासमेत उपलब्ध हुने सूचनामा उल्लेख छ । कामदारले सातामा ४२ घण्टा अनिवार्य काम गर्नुपर्नेछ भने हप्तामा एक दिन बिदा पाउनेछन् । वार्षिक बिदा भने इजरायली कानुनअनुसार हुने विभागले जनाएको छ । कामदारका लागि खानाको व्यवस्था नहुने भए पनि बस्ने व्यवस्था रोजगारदाताले गर्नेछ । तर, बसोबासका लागि लाग्ने खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ ।
पार्टी त्यागेपछि कांग्रेसले गुमायो ३ वडाअध्यक्षसहित ७ जना जनप्रतिनिधि
काठमाडौं । दल त्याग गरेपछि नेपाली कांग्रेसबाट स्थानीय तहमा निर्वाचित सात जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगका अनुसार कांग्रेसको केन्द्रीय कार्यसमितिले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य राजनीतिक दलमा प्रवेश गरेको जानकारीसहित आयोगमा पठाएको विवरणका आधारमा उनीहरूको निर्वाचित पद रिक्त भएको हो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम आयोगले भदौ २२ गते उनीहरूको पद रिक्त भएको निर्णय गरेको जनाएको छ । पद रिक्त हुनेमा खोटाङको खोटेहाङ गाउँपालिका-३ का वडा अध्यक्ष जेफर राई, इलामको माईजोगमाई गाउँपालिका-३ का वडा अध्यक्ष राम घिमिरे र भोजपुरको साल्पासिलिछो गाउँपालिका-६ का वडा अध्यक्ष विक्रम वन सन्यासी रहेका छन् । त्यस्तै, भोजपुरको अरुण गाउँपालिकाका गाउँ कार्यपालिका सदस्य ललित कुमार राई, चितवनको भरतपुर महानगरपालिका-३ का वडा सदस्य माधव अर्याल, सुर्खेतको लेकवेशी नगरपालिका-१ का वडा सदस्य हरि प्रसाद रेग्मी र मुस्ताङको घरपझोङ गाउँपालिका-५ का वडा सदस्य कृष्ण प्रसाद थकालीको पद पनि रिक्त भएको आयोगले जनाएको छ ।
संकटा फुटबल क्लबले साढे २ करोडमा भाडामा लियो वायुसेवा निगमको भवन
काठमाडौं । संकटा फुटबल क्लबले नेपाल वायुसेवा निगमको कान्तिपथस्थित प्रधान कार्यालय भवनका पसल कवल दुई वर्षका लागि भाडामा लिएको छ । निगमको प्रधान कार्यालय भवनको दक्षिणतर्फ टेबहाल सडकतर्फ रहेका ई र एफ खण्डका कुल ३ हजार ४ सय ९६ वर्गफिट क्षेत्रफलका पसल कवल भाडामा लगाउन निगमले सिलबन्दी बोलपत्र आह्वान गरेको थियो । प्राप्त बोलपत्रमध्ये संकटा फुटबल क्लब छनोट भएको निगमले जनाएको छ । निगमका अनुसार क्लबले बहाल करसहित प्रतिवर्गफिट प्रतिमहिना ३ सय ७ रुपैयाँ भाडा कबोल गरेको छ । दुई वर्षका लागि क्लबले कबोल गरेको कुल बहाल रकम २ करोड ५७ लाख ५८ हजार रुपैयाँ रहेको छ । निगमले गत साउन २० गते गोरखापत्रमा सूचना प्रकाशित गरी आफ्नो नाममा दर्ता रहेको कान्तिपथस्थित प्रधान कार्यालय भवनको दक्षिणतर्फ टेबहाल सडकतर्फ रहेका पसल कवल दुई वर्षका लागि भाडामा लगाउन इच्छुक व्यक्ति तथा संघसंस्थाबाट सिलबन्दी बोलपत्र आह्वान गरेको थियो । प्राप्त सिलबन्दी बोलपत्रमध्ये सारभूत रूपमा प्रभावग्राही रहेको संकटा फुटबल क्लबको बोलपत्र छनोट गर्ने निर्णय भएको निगमले जनाएको छ ।
‘सुशासन छैन भने दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन’
काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासनबिना संसद्को दुई तिहाइ बहुमतले समेत राजनीतिक स्थिरता दिन नसक्ने बताएकी छन् । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सन्देश जारी गर्दै कार्कीले आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको बताएकी हुन् । उनका अनुसार राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्ने उनले बताएकी छन् । कार्कीले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति र त्यसबाट सिर्जित पीडालाई स्मरण गर्दै त्यस्तो घटना फेरि दोहोरिन नदिन सबै पक्ष जिम्मेवार र चनाखो बन्नुपर्नेमा जोड दिएकी छन् । उनले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित नवयुवाहरूले सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा उक्त आवाज दबाउने नाममा निर्दोष युवाले ज्यान गुमाउनुपरेको बताएकी छन् । कैयौँ युवा जीवनभर अपाङ्गताको पीडा बेहोर्नुपर्ने गरी घाइते भएको पनि उनले उल्लेख गरेकी छन् । आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भएको तथा कैयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमेको स्मरण गर्दै कार्कीले त्यसबाट राष्ट्रको जीवनमा लागेको घाउ सायदै कहिल्यै पुरिने बताएकी छन् । ‘अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन,’ उनले भनेकी छन्, ‘सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन आ-आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौँ ।’ भदौ २३ गते जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्कीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको उल्लेख गर्दै उनले भनेकी छन्, ‘सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन ।’ उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा व्यक्त गरेकी छन् । यसैबीच, जेनजी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै मुलुक अहिले भोटेकोसी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको उनले उल्लेख गरेकी छन् । विपद्को यस दुःखद घडीमा धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुन आह्वान गर्दै कार्कीले एकअर्काको सहारा बनेर विपद्को सामना गर्न आग्रह गरेकी छन् । ‘एकअर्काको सहारा बन्दै, दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गरौँ,’ उनले भनेकी छन् ।