बाढीपछिको पुन: निर्माणमा बेलायतले सहयोग गर्ने

काठमाडौं ।  पूर्वाधार विकासमन्त्री सुनील लम्साल र बेलायती दूतावासका वरिष्ठ विकास काउन्सिलर एलेक्स ल्युसहितको प्रतिनिधिमण्डलबीच भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा पुन: निर्माण तथा पुनर्स्थापनाका विषयमा छलफल भएको छ । 

सोमबार पूर्वाधार विकास मन्त्रालयमा भएको भेटवार्तामा बाढीबाट क्षतिग्रस्त सडक तथा पूर्वाधारको पुनर्निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल भएको हो ।

छलफलका क्रममा बेलायत सरकारले बाढीबाट क्षतिग्रस्त गल्छी-रसुवागढी सडकखण्डमा आवश्यक पर्ने बेलिब्रिज निर्माणका साथै उक्त क्षेत्रमा सञ्चालन हुने पुन: निर्माण तथा पुनर्स्थापनाका काममा आवश्यक प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने जानकारी दिएको मन्त्रालयले जनाएको छ ।

भेटवार्तामा नेपाल सरकारले अघि बढाइरहेको दिगो वित्तीय व्यवस्थापन, डिजिटल रूपान्तरण तथा विपद् उत्थानशील विकासका क्षेत्रमा समेत बेलायत सरकारबाट महत्वपूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार उक्त सहयोगले बाढी तथा विपद्बाट प्रभावित पूर्वाधारको पुनर्निर्माणसँगै आगामी दिनमा विपद् जोखिम न्यूनीकरण र उत्थानशील विकासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share News