जापानमा वृद्धवृद्धाको संख्या ऐतिहासिक उचाइमा : हरेक दशमध्ये तीनजना ज्येष्ठ नागरिक
काठमाडौं । जापानमा ६५ वर्ष वा सोभन्दा बढी उमेरका नागरिकको संख्या हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । जापान सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मुलुकको कुल जनसंख्याको २९.६ प्रतिशत अर्थात् करिब ३ करोड ६२ लाख ४० हजार नागरिक ६५ वर्षमाथिका छन् । ‘ज्येष्ठ नागरिक सम्मान दिवस’को पूर्वसन्ध्यामा सार्वजनिक यो तथ्यांकले जापानको गहिरिँदो जनसांख्यिक संकटलाई पुनः उजागर गरेको छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत वर्षको तुलनामा ज्येष्ठ नागरिकको संख्यामा करिब २० हजारले वृद्धि भएको छ । लिङ्गका आधारमा हेर्दा पुरुषको तुलनामा महिला ज्येष्ठ नागरिकको संख्या बढी छ । जसमा महिला २ करोड ५४ लाख र पुरुष १ करोड ५७ लाख रहेका छन् । उमेर समूहका आधारमा ७० वर्षमाथिका २ करोड ९१ लाख, ७५ वर्षमाथिका २ करोड १६ लाख र ८० वर्षमाथिका १ करोड २८ लाख नागरिक रहेका छन् । जनसंख्याको वृद्धिसँगै जापानको श्रम बजारमा ज्येष्ठ नागरिकको सहभागिता पनि बढ्दो छ । तथ्यांकअनुसार सन् २०२४ मा ६५ वर्ष वा सोभन्दा बढी उमेरका करिब ९४ लाख ३० हजार मानिस रोजगारमा संलग्न छन् । यो संख्या लगातार २२औँ वर्षसम्म बढेको हो । कुल जापानी रोजगारीमा ज्येष्ठ नागरिकको हिस्सा १३.८ प्रतिशत पुगेको छ, जुन आफैँमा एउटा नयाँ कीर्तिमान हो । विशेषगरी थोक तथा खुद्रा व्यापार क्षेत्रमा सबैभन्दा धेरै करिब १३ लाख १० हजार ज्येष्ठ नागरिक सक्रिय रहेको पाइएको छ । जापानको जनसंख्याको बनोटमा आइरहेको यो बदलावले भविष्यका लागि गम्भीर चुनौती खडा गरेको छ । नेसनल इन्स्टिच्युट अफ पपुलेसन एन्ड सोसल सेक्युरिटी रिसर्चका अनुसार सन् २०४० सम्ममा ६५ वर्षमाथिका नागरिकको हिस्सा बढेर ३४.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ । सन् १९७१ देखि १९७४ सम्म जन्मिएको पुस्ता (सेकेन्ड बेबी बुमर्स) ६५ वर्ष उमेर पार गरेपछि यो अनुपात अझ तीव्र गतिमा बढ्ने निश्चितप्रायः छ । घट्दो जन्मदर र बढ्दो आयुका कारण उत्पन्न यो जनसांख्यिक संरचनाले जापानको सामाजिक सुरक्षा र अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने विज्ञहरूको चेतावनी छ ।
३५ जनाले सफलतापूर्वक गरे ६ हजार ३५५ मिटर अग्लो दङ्गा पिक आरोहण
काठमाडौं । ताप्लेजुङको ६ हजार ३५५ मिटर अग्लो दङ्गा पिक ३५ जनाको टोलीले सफलतापूर्वक आरोहण गरेको छ । नेपाल पर्वतारोहण सङ्घ र दिगो पर्यटन परियोजनाको संयुक्त आयोजनामा सञ्चालित दोस्रो ग्रीष्मकालीन सीप विकास तालिममा सहभागी २९ जना र ६ जना प्रशिक्षकसहित ३५ जनाले दङ्गा पिक आरोहण गरेका हुन् । व्यावसायिक पर्वतीय पथप्रदर्शक बन्न आवश्यक ज्ञान, सीप र उच्च हिमाली क्षेत्रमा काम गर्ने व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेल्जे शेर्पाले जानकारी दिए । उनका अनुसार तालिमअन्तर्गत सहभागीलाई काठमाडौंमा सैद्धान्तिक ज्ञान, चट्टान आरोहणलगायत प्रारम्भिक तथा तयारीसम्बन्धी प्रशिक्षण दिइएको थियो । त्यसपछि ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा रहेको दङ्गा पिकमा लगेर हिमाली वातावरणमा प्रत्यक्ष अभ्यास गराइएको थियो । उच्च हिमाली क्षेत्रमा पर्वतीय पथप्रदर्शकका रूपमा काम गर्दा सामना गर्नुपर्ने चुनौती र जोखिमबारे प्रत्यक्ष अनुभव गराउनु तालिमको मुख्य उद्देश्य रहेको सङ्घले जनाएको छ । हिमाली क्षेत्रमा पुगेर अभ्यास गर्दा सहभागीले हिमाली भूगोल, आरोहण प्रविधि, सुरक्षा तथा कठिन परिस्थितिमा काम गर्ने सीपलाई व्यवहारमै प्रयोग गर्ने अवसर पाएका थिए । सहभागीका अनुसार तालिमले उच्च हिमाली क्षेत्रमा काम गर्ने व्यावहारिक ज्ञान र आत्मविश्वास बढाउन सहयोग गरेको छ । अध्यक्ष शेर्पाका अनुसार दङ्गा पिक आरोहण तालिमको महत्वपूर्ण हिस्सा हो । ६ हजार मिटरभन्दा अग्लो हिमालमा गराइने यस्तो अभ्यासले सहभागीको प्राविधिक क्षमता परीक्षण गर्नुका साथै व्यावसायिक पर्वतीय पथप्रदर्शकका रूपमा काम गर्न आवश्यक दक्षता र आत्मविश्वास बढाउने पर्वतारोही तेम्बा छिरी शेर्पाले बताए । दोस्रो ग्रीष्मकालीन सीप विकास तालिम ६ जना प्रशिक्षकसहित २९ जना सहभागीको सहभागितामा सञ्चालन भएको थियो । तालिम तथा दङ्गा पिक आरोहण सफलतापूर्वक सम्पन्न गरेपछि नेपाल पर्वतारोहण सङ्घको प्रशिक्षण टोली काठमाडौं फर्किएको सङ्घका दीपक गुरुङले जानकारी दिए । यो तालिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृत १ हजार ६९६ घण्टे व्यावसायिक पर्वतीय पथप्रदर्शक पाठ्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो । पाठ्यक्रममा पर्वतीय पथप्रदर्शकका लागि आवश्यक सैद्धान्तिक ज्ञानसँगै चट्टान आरोहण, हिमाली क्षेत्रमा गरिने अभ्यास तथा वास्तविक पर्वतीय वातावरणमा काम गर्ने सीपलाई समेटिएको छ । सङ्घले तालिम सफलतापूर्वक सम्पन्न गरी दङ्गा पिक आरोहण गर्न सफल सबै सहभागीलाई बधाई दिएको छ । साथै, तालिम सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ६ जना प्रशिक्षक तथा सम्पूर्ण प्रशिक्षण टोलीप्रति आभार व्यक्त गरेको छ । नेपालको पर्वतीय पर्यटन विस्तारसँगै दक्ष र व्यावसायिक पथप्रदर्शकको आवश्यकता बढिरहेका बेला यस्ता व्यावहारिक तालिमले हिमाली पर्यटनलाई थप सुरक्षित, व्यवस्थित र व्यावसायिक बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन् । प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत न्युयोर्क प्रस्थान गर्नेछन् । प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत रहेका छन् । प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहितका अधिकारीको सहभागिता रहनेछ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कनेछन् । प्रधानमन्त्रीका रूपमा शाहको यो पहिलो विदेश भ्रमण हो ।
बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार राति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालकको उपचारका क्रममा मृत्यु भएको हो । मृतक चालकको पहिचान भने खुल्न सकेको छैन । यसअघि ती व्यक्ति बागमती गाउँपालिकाका दावा लामा रहेको भनिएको थियो । सोही नामको चालक अनुमतिपत्रसमेत प्रहरीले फेला पारेको थियो । तर दावा लामा नाम गरेका व्यक्ति सम्पर्कमा आएपछि आगलागीमा घाइते भएका चालक अर्कै व्यक्ति रहेको खुलेको हो । चालकका आफन्तसमेत हालसम्म सम्पर्कमा नआएकाले उनको सनाखत हुन नसकेको प्रहरीले जनाएकाे छ ।
डाटा हबको समस्या समाधान, आजदेखि सेयर कारोबार खुल्ने
काठमाडौं । र्यान्समवेयर आक्रमणका कारण सोमबार रोकिएको सेयर कारोबार आज मंगलबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएको छ । ७२ वटा ब्रोकर कम्पनीको कारोबार व्यवस्थापन प्रणालीको ब्याकअप राखिएको डाटा हब प्रालिको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएसँगै सेयर कारोबार नियमित हुने नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल स्टक एक्सचेन्जले मंगलबार बिहान सूचना जारी गर्दै डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएकाले आजदेखि नेप्सेमा पूर्ववत् रूपमा कारोबार सञ्चालन हुने जनाएको हो । डाटा हब प्रालि नेपाल स्टक एक्सचेन्जका ७२ वटा कारोबार सदस्यका डाटा सेन्टरका रूपमा रहेको छ । सोही डाटा सेन्टरमा समस्या देखिएपछि सोमबार सेयर कारोबार स्थगित गरिएको थियो । नेप्सेका अनुसार समस्या समाधान भएसँगै ७२ वटै ब्रोकर कम्पनीको कारोबार व्यवस्थापन प्रणालीमार्फत सेयर कारोबार नियमित रूपमा सञ्चालन हुनेछ ।
११ वर्षका लागि १० अर्ब रुपैयाँ ऋण लिँदै सरकार
काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ११ वर्षे विकास ऋणपत्रमार्फत उक्त रकम आन्तरिक ऋण उठाउने प्रक्रिया अघि बढाएको हो । कार्यालयका अनुसार ‘११ वर्षे विकास ऋणपत्र-२०९४’ भदौ ७ गते बोलकबोलमार्फत बिक्री गरिनेछ । उक्त ऋणपत्र भदौ ८ गते निष्कासन हुनेछ । ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीले सहभागिता जनाउन सक्नेछन् । इच्छुक खरिदकर्ताले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण व्यवस्थापन प्रणालीमार्फत बोलकबोल पेस गर्न सक्ने कार्यालयले जनाएको छ ।
विमानस्थलको २४ बिघा जग्गा भाडामा दिँदै, न्यूनतम साढे १२ लाख रुपैयाँ
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिमरा विमानस्थलभित्र रहेको खाली जग्गा कृषि प्रयोजनका लागि भाडामा दिने भएको छ । प्राधिकरणअन्तर्गत सिमरा नागरिक उड्डयन कार्यालयले विमानस्थल क्षेत्रभित्र रहेका २४ बिघा जग्गालाई तीन वटा प्लटमा विभाजन गरी कृषि प्रयोजनका लागि ठेक्का बन्दोबस्त गर्न लागेको हो । कार्यालयका अनुसार प्लट नम्बर १ धावनमार्गको पश्चिमपट्टि रहेको ३ बिघा १७ कठ्ठा क्षेत्रफलको जग्गा हो । उक्त जग्गाका लागि पाँच वर्षको न्यूनतम ठेक्का रकम मूल्य अभिवृद्धि करबाहेक १२ लाख ५२ हजार ५ सय २१ रुपैयाँ तोकिएको छ । त्यस्तै, प्लट नम्बर २ अन्तर्गत भीओआर तथा डीएमई रहेको क्षेत्रमा १० बिघा जग्गा रहेको छ । उक्त जग्गाका लागि पाँच वर्षको न्यूनतम ठेक्का रकम २३ लाख २७ हजार ९२ रुपैयाँ तोकिएको छ । प्लट नम्बर ३ डुम्मरवाना जाने बाटोको उत्तरपट्टि रहेको ११ बिघा क्षेत्रफलको जग्गा हो । उक्त प्लटका लागि पाँच वर्षको न्यूनतम ठेक्का रकम २५ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको कार्यालयले जनाएको छ । तीनै प्लटका लागि बोलपत्र फाराम दस्तुर मूल्य अभिवृद्धि करसहित ३ हजार ३ सय ९० रुपैयाँ तोकिएको छ । इच्छुक संस्था, फर्म वा कम्पनीले कबोल रकमको पाँच प्रतिशत बराबरको बोलपत्र जमानत पेस गर्नुपर्नेछ ।
घटाइएको पुँजीगत लाभ कर आजदेखि लागू हुने, राजपत्रमा प्रकाशित
काठमाडौं । सरकारले सेयर बजारका लगानीकर्ताका लागि पुँजीगत लाभ कर घटाउने निर्णय औपचारिक रूपमा नेपाल राजपत्रमा प्रकाशित गरेको छ । नयाँ व्यवस्थाअनुसार, नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको हित निःसर्गबाट प्राप्त लाभमा बासिन्दा प्राकृतिक व्यक्तिले तिर्नुपर्ने करको दर स्वामित्व अवधिका आधारमा निर्धारण गरिएको छ । ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभमा पुँजीगत लाभ कर तीन दशमलव सात पाँच प्रतिशत कायम गरिएको छ । ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभमा करको दर पाँच प्रतिशत कायम गरिएको छ । यसअघि अल्पकालीन र दीर्घकालीन लगानीका लागि पुँजीगत लाभ करका दरहरू फरक थिए र हालको व्यवस्थाभन्दा बढी दर लागू हुँदै आएको थियो । अर्थ मन्त्रालयका अनुसार यो व्यवस्था आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को निर्णयअनुसार गरिएको हो । नयाँ कर दर आज मंगलबारदेखि लागू हुनेछ ।