४ हजार मानिस बस्ने सहर आज सुनसान, आखिर कहाँ हरायो ईगल माउन्टेन ?

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा पर्ने जोशुआ ट्री राष्ट्रिय निकुञ्जको दक्षिणपूर्वी किनारमा ईगल माउन्टेन अवस्थित छ । कुनै समय करिब ४ हजार मानिसको बसोबास रहेको यो सहर अहिले क्यालिफोर्नियाको ठूलो ‘घोस्ट टाउन’ मध्ये एक बनेको छ ।

ईगल माउन्टेनका सुनसान सडकहरूले पर्यटक र इतिहासकारलाई कुनै समय आत्मनिर्भर खानी समुदायका रूपमा रहेको यो सहरको दुर्लभ झलक दिन्छन् । 

null

यही कारण यो ठाउँसँग जोडिएका विभिन्न किसिमका कथाहरू पनि प्रचलित छन् । सहरबाट अनौठा आवाज सुनिने जस्ता कथाहरू समेत सुनिन्छन्, यद्यपि त्यस्ता दाबीको कुनै वैज्ञानिक प्रमाण भने छैन ।

उद्योगपति हेनरी जे. कैसरले सन् १९४८ मा नजिकै रहेको ईगल माउन्टेन फलाम खानीमा काम गर्ने मजदुरहरूका लागि यो सहर बसाएका थिए । सहरमा फराकिला र व्यवस्थित सडक थिए भने सडकको किनारमा करिब ४०० घर निर्माण गरिएका थिए ।

त्यहाँ सपिङ सेन्टर, विद्यालय, बलिङ एली तथा खानीमा काम गर्ने परिवारका लागि अस्पतालसमेत थियो ।

करिब ३५ वर्ष सञ्चालनमा रहेपछि सन् १९८३ मा ईगल माउन्टेनको खानी बन्द भयो । खानी बन्द भएपछि सहर पनि लगभग रातारात खाली भयो र पछाडि एउटा सुनसान बस्ती मात्र रह्यो।

नेसनल पार्क सर्भिसको अध्ययनअनुसार कैसर स्टिल कर्पोरेसनले सन् १९४८ देखि १९८३ सम्म ईगल माउन्टेन खानी सञ्चालन गरेको थियो । त्यहाँबाट निकालिएको फलामको अयस्क करिब १८० किलोमिटर टाढा क्यालिफोर्नियाको फन्टानामा रहेको स्टिल मिलमा पठाइन्थ्यो ।

null

ईगल माउन्टेन कुनै समय पश्चिमी अमेरिकाकै सबैभन्दा ठूलो फलाम खानी बनेको थियो । यहाँ चारवटा ठूला खुला खानी निर्माण गरिएका थिए, जसको लम्बाइ करिब एकदेखि दुई माइलसम्म थियो ।

कैसरले खानी क्षेत्रलाई फन्टाना स्टिल मिलसँग जोड्न मरुभूमिको दुर्गम क्षेत्रमा ५१ माइल लामो रेलमार्गसमेत निर्माण गराएका थिए । यही रेलमार्फत फलामको अयस्कलाई थप ढुवानीका लागि साल्टन सीमा पुर्याइन्थ्यो ।

सन् १९७७ अगस्ट १७ मा खानीले १० करोड टन फलामको अयस्क ढुवानी पूरा गरेको अवसरमा उत्सवसमेत मनाएको थियो ।

ईगल माउन्टेनको अमेरिकी स्वास्थ्य सेवाको इतिहासमा पनि विशेष स्थान छ । कैसरले खानीमा काम गर्ने कर्मचारीका लागि यहाँ पूर्ण रूपमा एकीकृत स्वास्थ्य सेवा प्रणाली सञ्चालन गरेका थिए ।

सहरमा आफ्नै अस्पताल, प्राथमिक तहदेखि माध्यमिक तहसम्मका विद्यालय, सपिङ सेन्टर र बेसबल मैदानजस्ता मनोरञ्जनका सुविधासमेत थिए ।
 
तर एउटै उद्योगमा निर्भर अमेरिकाका अन्य खानी सहरजस्तै ईगल माउन्टेनको पतन पनि सुरु भयो । सन् १९८० सम्म यहाँ काम गर्ने कर्मचारीको संख्या घटेर ७५० मा सीमित भएको थियो ।

सन् १९८१ नोभेम्बर ३ मा कैसर कर्पोरेसनले आगामी वर्षहरूमा फन्टाना स्टिल सञ्चालनका दुवै भाग तथा सम्पूर्ण ईगल माउन्टेन खानी क्रमशः बन्द गर्ने घोषणा गर्यो ।

खानी बन्द गर्नुका प्रमुख कारणमा वातावरणीय नियम पालना गर्न लाग्ने बढ्दो लागत र सस्तो स्टिलको आयातका कारण अमेरिकी घरेलु उत्पादनमा परेको दबाबलाई उल्लेख गरिएको थियो ।

null

त्यसपछि सहरका अन्य संरचना पनि क्रमशः बन्द हुँदै गए । किराना पसल सन् १९८२ अक्टोबरमा बन्द भयो । सन् १९८३ जुनमा हाईस्कुलको अन्तिम कक्षा उत्तीर्ण भयो । सन् १९५१ देखि सञ्चालनमा रहेको हुलाक कार्यालय पनि त्यही वर्ष बन्द भयो ।

यससँगै ईगल माउन्टेनको सक्रिय आवासीय समुदायका रूपमा रहेको अस्तित्व समाप्त भयो ।

खानी बन्द भएपछि ईगल माउन्टेनका संरचना भत्काइएनन् । बरु सहरको अधिकांश पूर्वाधार अहिले पनि उभिएको छ र त्यसमा खासै परिवर्तन भएको छैन ।

यसको पछाडि लामो कानुनी विवादसमेत रहेको बताइन्छ । सन् १९९९ मा सुरु भएको भूमि आदानप्रदानसम्बन्धी विवादमा केही जमिन ‘कैसर ईगल माउन्टेन इंक’लाई हस्तान्तरण गरिएको थियो । 

पुरानो खानी क्षेत्रलाई ठूलो ल्यान्डफिल तथा रिसाइक्लिङ केन्द्रमा परिणत गर्ने असफल प्रस्तावसँग यो विवाद जोडिएको थियो ।

अमेरिकाका अन्य धेरै ‘घोस्ट टाउन’भन्दा ईगल माउन्टेनलाई फरक बनाउने मुख्य पक्ष भनेको यसको मूल संरचनाको ठूलो हिस्सा अझै सुरक्षित हुनु हो ।

null

यसले २०औँ शताब्दीको मध्यतिरको अमेरिकी ‘कम्पनी टाउन’ अर्थात् कुनै एक कम्पनीले आफ्ना कर्मचारीका लागि विकास गरेको बस्तीको दुर्लभ र धेरै हदसम्म यथावत् झल्को दिन्छ ।

आज ईगल माउन्टेन ‘ब्युरो अफ ल्यान्ड म्यानेजमेन्ट’को नियन्त्रणमा छ । क्यालिफोर्नियाका चर्चित राष्ट्रिय निकुञ्जहरूमध्ये एक जोशुआ ट्री राष्ट्रिय निकुञ्जको छेउमै रहेको यो सहर अहिले सुनसान छ ।

यसका खाली सडक, बन्द अस्पताल र अन्य संरचनाहरू कुनै समयको खानी उद्योग तथा ईगल माउन्टेनमा विकसित गरिएको एकीकृत स्वास्थ्य सेवा प्रणालीको भौतिक सम्झनाका रूपमा उभिएका छन् ।

सन् २०२३ मा ईगल माउन्टेन पुन: बिक्री भयो । १७ अप्रिल २०२३ मा ‘ईगल माउन्टेन एक्विजिसन एलएलसी’ले क्यालिफोर्नियाको यो सुनसान सहरसँग सम्बन्धित घरजग्गा तथा खानीका अधिकारहरू ‘इकोलोजी माउन्टेन होल्डिङ्स एलएलसी’लाई करिब २ करोड २५ लाख अमेरिकी डलरमा बिक्री गरेको थियो ।

यसअघि ‘ईगल माउन्टेन एक्विजिसन एलएलसी’ले सन् २०१५ मा ‘कैसर ईगल माउन्टेन’ (केईएम) बाट उक्त सम्पत्ति खरिद गरेको थियो । 

त्यसअघि भने ईगल माउन्टेनको खानी लामो समयसम्म ‘कैसर स्टिल कर्पोरेसन’को स्वामित्वमा रही सञ्चालन हुँदै आएको थियो ।

सन् २०२३ मा २ करोड २५ लाख अमेरिकी डलरमा खरिद गरिए पनि नयाँ स्वामित्व लिएको ‘इकोलोजी माउन्टेन होल्डिङ्स एलएलसी’ले ईगल माउन्टेनमा तत्काल के योजना अघि बढाउने भन्ने विषयमा भने विस्तृत जानकारी सार्वजनिक गरेको थिएन ।

Share News