रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ

काठमाडौं । टर्कीको राष्ट्रिय गुप्तचर संस्थाले सन् २०१३ मा दक्षिणी सहर रेहानलीमा भएको विनाशकारी बम विष्फोटका मुख्य योजनाकारमध्येका एक ओमर अल–हातिबलाई पक्राउ गरेको छ । सुरक्षा स्रोतहरूका अनुसार, हातिबलाई देश छाडेर समुद्र मार्ग हुँदै युरोप छिर्ने तयारी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

सन् २०१३ को मे महिनामा रेहानलीमा भएको दुईवटा कार बम विष्फोटमा परी ५ बालबालिकासहित ५३ जना सर्वसाधारणले ज्यान गुमाएका थिए । टर्कीको इतिहासमा यो एउटा दर्दनाक घटनाका रूपमा दर्ज छ । उक्त घटनाको अनुसन्धानमा सक्रिय रहँदै आएको टर्कीको गुप्तचर निकायले लामो समयदेखि फरार रहेका हातिबको खोजी कार्य जारी राखेको थियो ।

स्रोतकाअनुसार सन् १९७६ मा सिरियाको इडलिब प्रान्तमा जन्मिएका हातिबले पहिले सिरियाली सेनामा समेत सेवा गरेका थिए । उनले रेहानली विष्फोटको योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्न मुख्य भुमिका खेलेको अनुसन्धानबाट खुलेको छ । हालै गरिएको यो गिरफ्तारीले घटनाका पीडित परिवारलाई न्याय दिलाउने र यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजीमा थप बल पुग्ने अपेक्षा गरिएको छ ।

टर्की सरकारले यसअघि पनि रेहानली हमलामा संलग्न र घटनाको योजना बनाउने धेरै व्यक्तिलाई पक्राउ गरिसकेको छ । यद्यपि पक्राउ परेका हातिबको गिरफ्तारीलाई एउटा महत्वपूर्ण सफलताको रूपमा लिइएको छ । सरकारी निकायले उनको पक्राउको मिति र स्थानबारे थप जानकारी भने सार्वजनिक गरेको छैन । हाल हातिबमाथि थप अनुसन्धान र कानूनी प्रक्रिया अगाडि बढाइएको छ ।  

Share News