लिबियामा द्वन्द्व भएसँगै  एक लाख ५० हजार स्थानीय बासिन्दा विस्थापित

त्रिपोली । लिबियामा भएको द्वन्द्वका कारण एक लाख ५० हजार भन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएर शरणार्थी बन्न पुगेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी आयुक्तको कार्यालय (युएनएचसीआर) ले शुक्रबार दिएको जानकारीअनुसार लिबियाको राजधानी त्रिपोली र आसपासका क्षेत्रमा फैलिएको द्वन्द्वका कारण उनीहरु विस्थापित भएका हुन् । “सन् २०१९ को अप्रिलदेखि भइरहेका द्वन्द्वका घटनाहरुका कारण एक लाख ५० हजारभन्दा बढी स्थानीय बासिन्दाले आफ्नो घर छाडेर हिडेका छन्,” शरणार्थी आयुक्तको कार्यालयले भनेको छ । विस्थापित भएर आन्तरिक रुपमा शरणार्थी भएकाहरुलाई आयुक्तको कार्यालयको तर्फबाट सहयोगी सामग्रीहरु उपलब्ध गराइरहेको पनि कार्यालयले जनाएको छ । झण्डै तीन हजार शरणार्थी तथा आप्रवासीहरु मध्य लिबियामा नजरबस्दमा परेको पनि कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । त्रिपोलीमा सन् २०१९ को अप्रिलदेखि सैन्य अभियान चलाइएको छ । उनीहरुले त्रिपोली सहर आफ्नो नियन्त्रणमा लिएका छन् । सन् २०११ मुअम्मर गद्दाफीको शासनलाई पतन भएयता लिबिया असुरक्षा र अराजकता बढ्दै गएको पाइन्छ । लिबिया गैरकानुनी युरोप जान चाहने आप्रवासीे लागि प्रस्थानको माध्यमको रुपमा पनि रहेको छ । रासस/सिन्ह्वा

सामुद्रिक आँधीका कारण फिजीमा दुई वेपत्ता, तीन हजार विस्थापित

सुभा । फिजीमा आएको सामुद्रिक आँधीका कारण कम्तीमा दुई व्यक्ति वेपत्ता छन् । ‘तीनो’ नामक शाक्तिशाली आँधीका कारण तीन हजार विस्थापित भएका हुन् । विस्थापित ती व्यक्तिहरु शरणार्थी शिविरमा बस्न बाध्य भएका अधिकारीहरुले जनाएका छन् । शनिबार तीन चरणमा आँधी आएका फिजीको मौसम विज्ञान विभागले जनाएको छ । समाचारमा जनाइएअनुसार आँधीले घर, खेतीपातीसँगै धेरै भौतिक संरचनाहरुमा पनि क्षति पुर्याएको छ ।“समुद्र धेरै माथि देखिएको थियो, यसले समुद्रभन्दा बाहिरी भागमा पनि धेरै ठाउँमा असर पार्ने भन्ने मलाई लागेको थियो,” एक स्थानीयले एएफपीसँग भने । फिजीको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका कर्मचारीहरुले विस्थापितहरुका लागि तत्काल ३ हजार १ सय १५ अस्थायी शिविरहरुको आवश्यकता परेको बताएका छन् । आँधीका कारण घरमा क्षति नपुगेकाहरुलाई भने चाडै नै घर फर्काउन सकिने पनि कर्मचारीहरुले जानकारी दिएका छन् ।“हामीलाई थाहा छ, विस्थापित मध्ये अधिकांशलाई अस्थायी शिविरको आवश्यकता पर्दछ, किनकी अहिले अत्यधिक बर्षा भइरहेको छ, थप खतराको चेतावनी पनि दिइएको छ,” वरिष्ठ अधिकृत उरैया रैनिमाले भने । अधिकांश घर फर्किन थालिसकेको सूचना आफुहरुलाई प्राप्त भएको पनि जानकारी दिए । आँधी आएको ताभेनी टापुमा झण्डै १९ हजार मानिस बसोबास गर्ने गरेका थिए । त्यस क्षेत्रमा अहिले विद्युत् सेवा अवरुद्ध भएको छ । विस्थापितहरुले आफ्ना परिवारजनको खोजी पनि गरिरहेका छन् । आँधीकै कारण कसैको मृत्यु भएको खवर भने आएको छैन । रासस/एएफपी

नेपालको विकास प्रयासमा चीन सधैंँ सहयोगी, छेन्दु– भैरहवा सीधा उडानमा अभिप्रेरित

बटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउनका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताएका छन् । नेपालका लागि चीनका राजदूत होउ यान्छीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको र लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको उल्लेख गरेका हुन् । प्रदेश नं ५ का रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने सरकारको योजनामध्ये एक चिनियाँ ढाँचाको औद्योगिक क्षेत्र होस् भन्ने आफूले चाहेको बताउँदै मुख्यमन्त्री पोखरेलले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नति र सेवा सुधारमा पनि चिनियाँ अनुभवबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले चीनको सिचुवानले गरेको कृषिको व्यावसायीकरण र औद्योगिक विकासको अनुभव आफूहरुलाई काम लाग्ने बताउँदै सिचुवानका गभर्नरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा पनि राजदूतमार्फत दिए । प्रदेश नं ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध छ । मुख्यमन्त्रीले कृषिको व्यावसायीकरण र पर्यटन प्रवद्र्धनमार्फत प्रदेशको समृद्धि गर्दै सिङ्गो मुलुकको विकासमा योगदान गर्ने लक्ष्य लिइएको जानकारी दिए । केही महिनाअघि सिचुवान भ्रमणका क्रममा आफूले कृषिको नयाँ प्रविधि सम्बन्धमा त्यहाँका कृषि विज्ञसंँग भेटेको बताउँदै त्यहाँका विज्ञ यहाँ ल्याएर प्रविधि हस्तान्तरणका लागि सहयोग गर्न राजदूतलाई आग्रह गरे । उनले लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय तथा चीनमा परम्परागत शिक्षाको महत्वपूर्ण संस्था मानिने कन्फ्युसियस विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान गर्न सकिने बताउँदै लुम्बिनी भ्रमण वर्षको समापन तथा बुद्धजयन्ती समारोहमा चिनियाँ राजदूतलाई लुम्बिनीमा निमन्त्रणा पनि गरे । सो अवसरमा चिनियाँ राजदूत होउले प्रदेश नं ५ ले आर्थिक विकासमा हासिल गरेको उपलब्धिप्रति बधाई दिएकाे भेटपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गरेको प्रेसनोटमा बताइएको छ । राजदूत होउले नेपालको विकास प्रयासमा चीन सधैंँ सहयोगी रहेको बताउँदै अहिले द्रुत विकासको बाटामा हिँडेको नेपालका प्रयासमा चिनियाँ साथ रहेको स्पष्ट गरेका छन् । उनले केही महिनाअघि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुगेको उल्लेख गरे । लुम्बिनी चिनियाँका लागि एउटा प्रमुख गन्तव्य भएको बताउँदै राजदूत होउले सिचुवानको छेन्दु– भैरहवा सीधा उडानका लागि सहयोग र अभिप्रेरित गरिने बताउँदै त्यसबाट प्रदेश नं ५ र सिचुवानबीचको सम्बन्ध अझै राम्रो हुने विश्वास व्यक्त गरेको प्रेसनोटमा उल्लेख छ । राजदूत होउले लुम्बिनी, कपिलवस्तुको तिलौराकोटसहित बौद्ध सम्पदास्थलको भ्रमण गर्दै छन् । रासस