अस्ट्रेलियामा अग्निनियन्त्रक बिमान दुर्घटना, चालक दलका तीन अमेरिकीको मृत्यु

सिड्नी । अस्ट्रेलियाको सिडनीबाट दक्षिणपश्चिमी भागमा आगो निभाउने कार्यमा खटिएको एउटा ट्याँकर बिमान बिहीबार दुर्घटनाग्रस्त भएको छ । अधिकारीहरुका अनुसार बिमानमा सवार चालक दलका तीन जना अमेरिकीको मृत्यु भएको छ । न्यू साउथ वेल्सको ग्रामीण अग्निनियन्त्रण सेवाका आयुक्त शेन फिट्सिमन्सले क्यानाडाली कम्पनीको सी–१३० हर्कुलस विमानसँग स्थानीय समयअनुसार बिहीबार अपराह्न १.३० बजे सञ्चार सम्पर्क बिच्छेद भएको बताए । उक्त जहाज स्लोई मोनारो क्षेत्रमा खटिएको थियो । फिट्सिमन्सले दुर्घटनामा चालक दलका तीनै जना सदस्यको मृत्यु भएको र उनीहरु संयुक्तराज्य अमेरिकाका बासिन्दा रहेको जानकारी दिएका छन् । अष्ट्रेलियाको जंगलमा लागेको विनाशकारी डढेलो नियन्त्रणमा सघाउन उनीहरुलाई संयुक्तराज्य अमेरिका सरकारले खटाएको थियो । उनले मारिने तीनै जना निकै अनुभवी रहेको पनि बताए । गतवर्ष सेप्टेम्बरमा शुरु भएको यस विनाशकारी डढेलोमा परेर कम्तीमा ३२ जनाको मृत्यु भइसकेको छ । यस दुर्घटनाको कारण तत्कालै थाहा हुन सकेको छैन, तर फिट्सिमन्सले तीव्र बेगको हावाका कारण पानी बोक्ने ठूला बिमानको उडानलाई “धेरै गाह्रो” बनाइरहेको बताएका थिए । विमानको स्वामित्व रहेको क्यानाडाली फर्म कउल्सन एभिएसनले न्यू साउथ वेल्स र भिक्टोरियामा आगलागी नियन्त्रणमा प्रयोग गरिरहेका अन्य ठूला एयर ट्याङ्कर संचालनलाई तत्काल स्थगन गरेको जनाएको छ ।रासस

प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एसाेसिएशनबीच सम्झौता

काठमाडाैं । नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एसाेसिएशन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा प्रज्ञा–प्रतिष्ठानका  कुलपति गङ्गाप्रसाद उप्रेती र एसोसिएशनका  उपाध्यक्ष अलमौनले  हस्ताक्षर गरेका हुन्। इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यको संयोजनमा भएको कार्यक्रममा एसोसिएसनका पदाधिकारी, इजरायल सरकारका संस्कृति विभाग प्रमुख, नेपालका लागि पूर्वइजरायली राजदूत तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो । सम्झौताले साहित्यिक, सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान र कृतिगत अनुवादको आदानप्रदानमा सहयोग पुर्याउने विश्वास लिइएको कुलपति उप्रेतीले बताए ।रासस  

लिबियामा द्वन्द्व भएसँगै  एक लाख ५० हजार स्थानीय बासिन्दा विस्थापित

त्रिपोली । लिबियामा भएको द्वन्द्वका कारण एक लाख ५० हजार भन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएर शरणार्थी बन्न पुगेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी आयुक्तको कार्यालय (युएनएचसीआर) ले शुक्रबार दिएको जानकारीअनुसार लिबियाको राजधानी त्रिपोली र आसपासका क्षेत्रमा फैलिएको द्वन्द्वका कारण उनीहरु विस्थापित भएका हुन् । “सन् २०१९ को अप्रिलदेखि भइरहेका द्वन्द्वका घटनाहरुका कारण एक लाख ५० हजारभन्दा बढी स्थानीय बासिन्दाले आफ्नो घर छाडेर हिडेका छन्,” शरणार्थी आयुक्तको कार्यालयले भनेको छ । विस्थापित भएर आन्तरिक रुपमा शरणार्थी भएकाहरुलाई आयुक्तको कार्यालयको तर्फबाट सहयोगी सामग्रीहरु उपलब्ध गराइरहेको पनि कार्यालयले जनाएको छ । झण्डै तीन हजार शरणार्थी तथा आप्रवासीहरु मध्य लिबियामा नजरबस्दमा परेको पनि कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । त्रिपोलीमा सन् २०१९ को अप्रिलदेखि सैन्य अभियान चलाइएको छ । उनीहरुले त्रिपोली सहर आफ्नो नियन्त्रणमा लिएका छन् । सन् २०११ मुअम्मर गद्दाफीको शासनलाई पतन भएयता लिबिया असुरक्षा र अराजकता बढ्दै गएको पाइन्छ । लिबिया गैरकानुनी युरोप जान चाहने आप्रवासीे लागि प्रस्थानको माध्यमको रुपमा पनि रहेको छ । रासस/सिन्ह्वा