कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा

काठमाडौं। चीन लगायत अन्य एशियाली देशहरुमा फैलिएको कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा देखिन थालेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनमा कोरोनाको संक्रमण फैलनु समग्र विश्व बजारका लागि सुखद नभएको विश्लेषकहरु बताउँछन् । विश्व अर्थव्यवस्थाका लागि यो भाइरस ठूलो जोखिम भएको उनीहरुकाे भनाइ छ । अर्थविद् डा. डिल्लीराज खनाल काराेना भाइरसले विश्व बजारमा धेरै असर पार्ने बताउँछन् । ‘नेपाल चीनको नजिकको राष्ट्र हो, चीनले नेपालमा धेरै लगानी गरेको छ, यसले गर्दा नेपालको अर्थतन्त्रमा यसले प्रत्यक्ष असर पार्छ,’ उनले भने । आगामी वर्षहरुका लागि पनि चीनले नेपालको विभिन्न क्षेत्रमा लगानी प्रतिवद्धता गरेको छ, यसमा पनि असर पर्ने देखिन्छ । नेपालमा विदेशी पर्यटक सबैभन्दा बढी चीनबाट आउँछन् । कोरोनाको कारणले नेपाल सरकारले सुरु गरेको भ्रमण वर्ष २०२० मा पनि धेरै असर पार्ने देखिन्छ । कारोना भाइरसका कारण नेपालको पर्यटन, यातायात लगायत आन्तरिक उत्पादनमा असर पार्ने अर्थविद् खनाल बताउँछन् । नेपालमा पर्ने असर चीन नेपालको छिमेकी राष्ट्र भएकोले पनि त्यसको प्रत्यक्ष असर नेपालमा अवश्य नै पर्छ । नेपालको अर्थतन्त्र मात्र होइन भौतिक पक्षमा यसले असर पार्ने अर्थविद् बताउँछन् । नेपालमा बढी सामानहरु अायात गर्ने देशमा चीन दाेस्राे स्थानमा पर्छ । गत बुधबार नेपाल सरकारले चीनसँगको मूख्य व्यापार नाका १५ दिनका लागि बन्द गरेको छ । यसले पनि नेपालको अर्थतन्त्र र व्यापारमा घाटा हुने देखिन्छ । चीनमा कोरोना भाइरसले उग्र रुप लिएपछि नेपाल सरकारले रसुवा नाका बन्द गर्ने निर्णय गरेको हो । पर्यटनमा प्रभाव चीनबाट सुरु भएको कोरोना भाइरसले चीनमा मात्र होइन छिमेकी राष्ट्र नेपालमा पनि ठूलो असर पर्ने जानकारहरु बताउँछन् । भाइरसको प्रकोपले नेपालको पर्यटन, यातायात, दैनिक उपभोग्य सामानलगायमा नराम्ररी प्रभाव पार्ने देखिएको हो । नेपालमा आउने पर्यटक मध्येको एक ठूलो देश चीन पनि हो । हाल नेपालका धेरै एयरलाइन्स कम्पनीहरुले चीनको उडान रोकेका छन् । यसले नेपालको पर्यटन क्षेत्रमा धेरै घाटा हुने पर्यटनविद्हरु बताउँछन् । नेपाल सरकारले हालै नेपाल भ्रमण वर्ष २०२० सुरु गरेको छ । भ्रमण वर्ष सुरु भएकै समयमा चीन लगायत एशियाली, युरोपलगायतका देशहरुमा कोरोना फैलनु नेपालको पर्यटन क्षेत्रका लागि राम्रो होइन । अर्थविद् खनालले नेपाल सरकारले सुरु गरेको भ्रमण वर्षकै सुरुमा कारोनाको प्रकोप फैलनु सुखद नभएको बताए । संस्कृति पर्यटन तथा उडड्यन नागरिक मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले यसले नेपालको पर्यटन मात्र नभएर समग्र अर्थतन्त्रमा असर पर्ने बताए । ‘कति असर पार्न सक्छ अहिले अनुमान लगाउन सकिन्न, तर कोराना भाइरसको प्रकोपले नेपालको पर्यटनमा प्रत्यक्ष रुपमा असर पर्छ,’ उनले भने । अहिले चीनलाई धेरै आर्थिक नोक्सनी भएको छ । देशका प्रभावित क्षेत्रमा यात्रा गर्न प्रतिबन्ध पनि लगाइएको छ । यो चीनियाँको भ्रमण गर्ने समय हो । भ्रमण गर्ने समयमा कोरोना भाइरसको प्रकोप हुनु नेपालका लागि सुखद होइन । यसले नेपालको पर्यटन व्यवसायमा ठूलो धक्का पुर्याउन सक्छ । विश्व स्वास्थ्य संगठनद्धारा आपतकालको घोषणा कोरोना भाइरस एउटा गम्भीर स्वास्थ्य समस्याका रुपमा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले पनि आपतकालको घोषणा गरिसकेको छ । संक्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायात साधन चलाउन प्रतिबन्ध लगाइएको छ ती क्षेत्रमा विभिन्न सतर्कता अपनाइएको चीन सरकारले बताएको छ । सरकारले देशभरीको उडान, रेल र बससेवामा पनि उच्च सतर्कताका लागि आह्वान गरेको छ । यसैगरी मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसन लगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जंगली जनावर र पशु ओसार पसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ । चीनमा १७ वर्ष पहिले २००३ मा फैलिएको सार्स भाइसबाट चीनसहित अन्य देशमा ८ हजारभन्दा बढी मानिसहरु प्रभावित भएका थिए । तीमध्ये १० प्रतिशत मानिसहरुको मृत्यु भएको थियो । २००३ मा फैलिएको उक्त भाइरसका कारण चीनमा ५० अर्ब डलर नोक्सान भएको थियो । सार्स भाइरसको संक्रमणका कारण हङकङको सूचक त्यो समयमा २० प्रतिशतले घटेको थियो । चीनमा मात्रै अहिलेसम्म काेराेना भाइरसकाे कारण ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने १४ हजारभन्दा बढी संक्रमित भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यूराेपमा पनि असर चीन र अन्य एशियाली देशहरुले कोरोना भाइरसको कारण पर्यटन, उडड्यन, खुद्रा र मनोरोञ्जन क्षेत्रमा घाटा व्यहोरी सकेका छन् । उक्त भाइरसको संक्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ,मकाउ र थाइल्याण्डमा छोइसकेको र युरोपमा पनि फैलिन थालेको जनाइएको छ । कोरोना भाइरसको असर चीनको समग्र अर्थव्यवस्थामा देखिइरहेको छ ।  चीनले भाइरसको फैलावटलाई कम गर्न समूह बाहिरको भ्रमणमा प्रतिबन्ध लगाएको थियो । यसले पनि  टुर अपरेटरको सेयरमा गिरावट आउने निश्चित छ । यो भाइरस फैलिएको खबर आएसँगै चीनियाँ शेयर बजारमा ५ प्रतिशतको गिरावट आइसकेको छ । चीनको अर्थव्यवस्थामा घाटा हुनु भनेको समम्र विश्वलाई घाटा हुनु हो । विश्वको सबैभन्दा धेरै तेल खपत हुने स्थानमा मान्छेको आवतजावत र यातायातका साधन ठप्प पारेकाे छ। हाल कच्चा तेलको मूल्य घट्नुका साथै चीनको विकासदर पनि कमजोर हुने बताइएको छ । चीनमा पर्यटकहरुको पनि आर्थिक विकासमा ठूलो हिस्सा रहेको छ । यसबाट चीनमा आउने जाने विमानमा पनि असर पर्न सुरु भइसकेको छ । यससँगै हवाई इन्धनको माग पनि अधिक घटेको छ।

कोरोना भाइरसबाट अस्तव्यस्त भएकाे चीनलाई नेपालले पठायाे १२ हजार थान मास्क

काठमाडौं । हालै मित्रराष्ट्र चीनमा फैलिएको नोवल कोरोना भाइरसका कारण जनजिवत अस्तव्यस्त भएको छ । हुवेई प्रान्तबाट फैलिएको उक्त भाइरस चीनका अघिकांश प्रान्त तथा विभिन्न मुलुकहरुमा फैलिएको छ । भाइरस फैलिएसँगै चीनमा सुरक्षाका लागि माक्सको माग बढ्दो छ । विशेषगरी नेपालसँग सिमा जोडिएको चिनिया प्रान्त तिब्बतमा समेत भाइरस फैलिएमा नेपालमा समेत फैलन सक्ने सम्भावना रहेको छ । तसर्थ यस संघले चाइना तिब्बत चेम्बर अफ बोर्डर टेनलाई सहयोग स्वरुप १२ हजार थान मास्क प्रदान गरेको छ । उक्त चेम्बरसँंग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ ।

युरोपियन युनियनको सदस्यबाट बाहिरियो बेलायत

लण्डन। करिब तीन वर्ष सात महिनाको उतारचढावपछि बेलायत युरोपियन युनियन (इयु) को सदस्यबाट बाहिर निस्किएको छ । युरोपियन युनियनको सदस्यबाट बेलायत बाहिर निस्किने प्रक्रियालाई बेलायतका मिडियाले ब्रेक्जिट भनेर नामाकरण गरे र हाल संसारभरका मिडियाले यही शब्दको प्रयोग गरेका छन् । शनिबार बेलायत र विश्वका मिडियाले ब्रेक्जिट सफल भएको लेखेका छन् । यसअघि राखिएको अन्तिम समयतालिका सन् २०२० को जनवरी ३१ अर्थात् शुक्रबार बेलायत युरोयिन युनियनबाट औपचारिक रुपमा नै अलग भएको छ । स्थानीय समयानुसार शुक्रबार राति ११ बजे बेलायत युरोपियन युनियनको सदस्यबाट बाहिर निस्किएपछि अब यसको सबै औपचारिकता पूरा भएको हो । युरोपेली युनियनको सदस्य रहेको करिब ४७ वर्षपछि बाहिरिएबाट युनियनको परिचय पनि फेरिन पुगेको छ र बेलायत बाहेकको युरोपेली युनियनको पहिचानमा अब यो युनियन रहेको छ । बेलायतका नागरिकको जनमतका आधारमा नै बेलायतले यो निर्णय लिन पुगेको हो । बेलायतमा सन् २०१६ जुन २३ मा बेलायत युरोयिन युनियनबाट निस्किने विषयमा जनमतसंग्रह भएको थियो । त्यस जनमत संग्रहमा बेलायती नागरिकले बेलायतलाई उक्त युनियनबाट बाहिर निस्किन जनमत दिएका थिए । त्यस निर्वाचनमा ५२ प्रतिशत मतदाताले ब्रेक्जिटको पक्षमा मतदान गरेका थिए । त्यस्तै बेलायत युरोपियन युनियनबाट बाहिरिन हुदैन भन्ने पक्षमा मतदान गर्नेको संख्या ४८ प्रतिशत थियो । त्यस जनमत संग्रहपछि नै बेलायत ईयूबाट बाहिरिने प्रक्रिया सुरु भयो । तर पछि आएर भने बेलायतले विविध खाले समस्याहरु ब्यहोरेको थियो । किन भने यिनै समस्याहरुका कारण नै यस अवधिमा प्रधानमन्त्री नै दुई जना बन्नु परेको थियो । त्यस जनमतसंग्रहकै कारण लगत्तै तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । डेभिडपछि प्रधानमन्त्री बनेकी थेरेसा मेले ब्रेक्जिटको एजेण्डा पूरा गर्ने भनेर लाग्नुभएको थियो । तर पनि यस प्रयोजनका लागि आवश्यक पर्ने विभिन्न सर्तहरूका विषयमा उनले संसदको समर्थन हासिल गर्न नसकेर राजीनामा दिए । उनको राजीनामापछि यो दायित्व वर्तमान प्रधानमन्त्री बोरिस जोनसनसमक्ष आएको थियो । उनले आफूले यो दायित्व पूरा गरेको बताए । ब्रेक्जिट हुने समय शुरुमा सन् २०१९ को मार्च २९ को लागि नै तय गरिएको थियो । तर पनि यस विषयमा विवादहरु उत्पन्न भए । ईयु र पूर्व प्रधानमन्त्री थेरेसा मेबीचमा सम्झौता भएपछि त्यसलाई संसदले अस्वीकार गरेपछि कैयौँ पटकसम्म पछि धकेलिएको थियो । यसै विषयमा गत डिसेम्बर महिनामा भएको निर्वाचनमा बेलायतको हाउस अफ कमन्सका ८० सदस्यको बहुमत प्राप्त भएपछि प्रधानमन्त्री जोनसनलाई बे्रक्जिटमा जान सहज सहमति प्राप्त भएको हो । सोही प्रावधानअनुरुप गएराति बेलायत बाहिरिएको हो । बेलायत बहिर्गमन भएपनि सुरुमा ११ महिनाको अवधिमा व्यापार, भ्रमण र व्यवसायका लागि इयु नियमको पालना गर्ने सहमति भएको पनि प्राप्त समाचारमा जनाइएको छ । यी दुई पक्षबीचको भविष्य र व्यापार सम्बन्धको वार्ता एक वर्षभित्र गरिने बताइएको छ । त्यसैले यस प्रक्रियाले पूर्णता पाउनका लागि थप ११ महिनाको अवधि आवश्यक पर्नेछ । रासस/सिन्ह्वा/एएफपी