अमेरिकी आक्रमणपछि इरानको प्रतिकार, अस्थायी शान्ति सम्झौताको सम्भावना झन् टाढा

काठमाडौं । अमेरिकाले मंगलबार इरानका सैन्य सम्पत्तिमाथि आक्रमण गरेपछि इरानले खाडी क्षेत्रका केही देशहरूलाई निशाना बनाएको छ । जोर्डनको सेनाले स्थानीय समयअनुसार बुधबार पाँचवटा इरानी क्षेप्यास्त्र अवरोध गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । त्यसैगरी, बहराइनले साइरन बजाएर सतर्कता अपनाएको छ भने कुवेतले ‘शत्रुतापूर्ण हवाई लक्ष्य’ अवरोध गर्न आफ्नो वायु प्रतिरक्षा प्रणाली सक्रिय गरेको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले मंगलबार साँझ अमेरिकी सेनाको अपाचे हेलिकप्टर खसालिएको घटनाको प्रतिक्रियास्वरूप इरानमाथि आक्रमण गरिएको जनाएको छ। सेन्टकमका अनुसार ती ‘आत्मरक्षात्मक आक्रमण’ इरानको ‘अनुचित आक्रामकता’ विरुद्धको प्रतिक्रिया हुन् । एक्स (पूर्व ट्विटर) मा गरिएको पोस्टमा सेन्टकमले आत्मरक्षाका लागि गरिएको कदम भनेको छ । मंगलबार राति सेन्टकमले आफ्नो सैन्य कारबाही पूरा भएको जनाउँदै हर्मुज जलडमरूमध्य नजिक रहेका इरानी वायु प्रतिरक्षा प्रणाली, स्थल नियन्त्रण केन्द्र तथा निगरानी रडार केन्द्रहरूलाई निशाना बनाइएको जानकारी दिएको थियो । यो पछिल्लो सैन्य झडपले अमेरिका र इरानबीच रहेको युद्धविरामलाई कमजोर बनाएको छ । बारम्बार हुने भिडन्तका बावजुद औपचारिक रूपमा युद्धविराम कायम रहेको भनिए पनि यस घटनाले अस्थायी शान्ति सम्झौताको सम्भावना अझ टाढा धकेल्न सक्ने देखिएको छ । यी आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा गरिएको थियो । ट्रम्पले मंगलबार इरानले हर्मुज जलडमरूमध्यमा गस्ती गरिरहेको अमेरिकी हेलिकोप्टर खसालेको दाबी गर्दै अमेरिकाले त्यसको प्रतिकार गर्ने बताएका थिए । ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमा हेलिकोप्टरमा रहेका दुवै पाइलट सुरक्षित र सकुशल रहेको उल्लेख गर्दै भने, ‘तथापि अमेरिकाले यो आक्रमणको जवाफ दिनैपर्छ ।’ त्यसको केही समयपछि इरानी सरकारी सञ्चारमाध्यमहरूले जलडमरूमध्य वरपरका विभिन्न स्थानहरूमा विस्फोटको आवाज सुनिएको जानकारी दिएका थिए । इरानी समाचार संस्था तस्निमले इरानले अमेरिकी सैन्य कारबाहीको जवाफ दिने जनाएको छ । यद्यपि इरानले हेलिकप्टर खसालेको जिम्मेवारी प्रत्यक्ष रूपमा स्वीकार गरेको छैन । इरानको सरकारी प्रसारक आईआरआईबीले पछिल्लो २४ घण्टामा जलडमरूमध्य क्षेत्रमा कुनै आक्रामक सैन्य गतिविधि नभएको दाबी गरेको छ । अमेरिकी आक्रमण हुनुअघि मंगलबार दिउँसो इरानी विदेशमन्त्री अब्बास अराघ्चीले एक्समा लेख्दै विदेशी सेनाहरू आफ्नै मानवीय त्रुटि, दुर्घटना वा दोहोरो गोलीबारीको चपेटामा पर्ने जोखिममा रहेको बताएका थिए । उनले भनेका थिए, ‘जोखिम कम गर्ने सबैभन्दा राम्रो उपाय उनीहरू यहाँबाट बाहिरिनु हो ।’  ‘हामी कूटनीतिक भाषालाई प्राथमिकता दिन्छौं, तर अन्य भाषा पनि बोल्न जान्दछौं,’ उनले थपे । यस घटनाभन्दा एक दिनअघि मात्रै ट्रम्पले तेहरानसँग यसै साताभित्र सम्झौता हुन सक्ने दाबी गरेका थिए । उनका अनुसार अमेरिका र इरान ‘धेरै राम्रो’ सम्झौताको अन्तिम चरणमा पुगेका थिए, जसले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने र सम्झौतामा हस्ताक्षर भएलगत्तै हर्मुज जलडमरूमध्य पूर्ण रूपमा खोल्ने थियो । न्युयोर्कमा एनबीए फाइनलको खेल हेरेर फर्किएपछि सोमबार राति ट्रम्पले यस्तो सम्झौता ‘दुई वा तीन दिनमै’ हुन सक्ने बताएका थिए । तर युद्ध सुरु भएयता उनले पटकपटक सम्झौता नजिक पुगेको दाबी गरे पनि अहिलेसम्म कुनै सम्झौता भएको छैन । सेन्टकमका अनुसार अमेरिकी एएच–६४ अपाचे हेलिकप्टर सोमबार साँझ ओमानको तट नजिक खसेको थियो । मंगलबार बिहान जारी प्रारम्भिक विज्ञप्तिमा सेन्टकमले घटनाको अनुसन्धान भइरहेको बताएको थियो र त्यसबेला इरानलाई प्रत्यक्ष दोष दिएको थिएन । हेलिकोप्टर दुर्घटनामा परेका दुई सैनिकलाई अमेरिकी नौसैनिक बलको केन्द्रीय कमान्ड र ८२औं एयरबोर्न डिभिजनले करिब दुई घण्टाभित्र उद्धार गरेको सेन्टकमले जनाएको छ । इरानको सरकारी टेलिभिजन प्रेस टिभीले ट्रम्पको पोस्टमाथि व्यंग्य गर्दै प्रतिक्रिया दिएको थियो । ट्रम्पले इरानी सेनालाई अमेरिकी कारबाहीबाट ‘पूर्ण रूपमा ध्वस्त’ पारिएको दाबी गर्दै आएका सन्दर्भमा प्रेस टिभीले लेखेको थियो, ुइरानी सेना ‘पूर्ण रूपमा ध्वस्त’ भएको दाबीको अवस्था यति नै हो त । इरानी संसद्का सभामुख मोहमद बाघिर गालिबाफले पनि एक्समार्फत विदेशमन्त्री अराघ्चीको जस्तै चेतावनीपूर्ण सन्देश दिएका छन् । उनले लेखेका छन्, ‘हामी कूटनीतिक भाषालाई प्राथमिकता दिन्छौं, तर अन्य भाषा अझ राम्रोसँग बोल्न जान्दछौं । यदि तपाईंले आफ्ना प्रतिबद्धता तोड्नुभयो भने हामी हाम्रो सबैभन्दा परिचित भाषामा फर्किनेछौं । तपाईंले जस्तो व्यवहार गर्नुहुन्छ, त्यस्तै परिणाम भोग्नुपर्छ ।’ यसैबीच अमेरिकी रक्षामन्त्री पिट हेगसेथ बुधबार क्युबास्थित ग्वान्टानामो बे र फ्लोरिडाको ट्याम्पा भ्रमणमा जाने कार्यक्रम रहेको अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले जनाएको छ । उनले त्यहाँ तैनाथ अमेरिकी सैनिक तथा सेन्टकमका अधिकारीहरूसँग भेटघाट गर्नेछन् । सान्दर्भिक सामग्रीहरू : इरान युद्धको १०० दिन : विश्वव्यापी बजार र अर्थतन्त्र कसरी प्रभावित भए ? इजरायल र लेबनानबीच युद्धविरामको सहमति, के इरानसँग पनि सम्झौता होला ? मध्यपूर्वको लामो युद्धले विश्व अर्थतन्त्र संकटमा, मन्दी र उच्च मुद्रास्फीतिको चेतावनी  इरान र अमेरिका युद्धविरामको सहमति नजिक तेल र ग्यास आपूर्ति सुरक्षित राख्न यूएई र कतारको ‘डार्क ट्रान्जिट’ रणनीति कमजोर हुँदै भारतीय रुपैयाँ नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति

पाकिस्तानी आक्रमणमा ११ बालबालिकासहित १३ जनाको मृत्युु : अफगानिस्तान

काठमाडौं । अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले ‘अफगान हवाई क्षेत्रको उल्लंघन’ गरेको र मंगलबार–बुधबारको मध्यरातमा ड्युर्यान्ड रेखा (डूरन्ड लाइन) नजिकैका धेरै प्रान्तहरूमा हवाई आक्रमण गरेको बताएका छन् । जबिहुल्लाह मुजाहिदले केही तस्बिरहरू पोस्ट गर्दै एक्स (पूर्वट्विटर) मा लेखेका छन्, ‘गएराति पाकिस्तानी सेनाले फेरि एक पटक अफगान हवाई क्षेत्रको उल्लंघन गर्यो र कुनार, खोस्त र पक्तिका प्रान्तहरूमा नागरिकका घरहरूमा बमबारी ग‍र्यो ।’ उनले यी आक्रमणहरूमा ११ बालबालिका, एक महिला र एक वृद्धको मृत्यु भएको दावी गरे । उनका अनुसार १४ महिला र बालबालिका घाइते भएका छन् । तालिबान सरकारका प्रवक्ताले यी आक्रमणहरूलाई मानवीय अपराध र आक्रामकताको कार्य भन्दै यसको कडा निन्दा गरेका छन् । यी आक्रमणहरूलाई लिएर अहिलेसम्म पाकिस्तानको तर्फबाट कुनै बयान आएको छैन। अफगानिस्तानमा तालिबान सरकार र पाकिस्तानबीच पछिल्ला केही महिनाहरूमा तनाव बढेको छ । बीबीसी पश्तोका अनुसार पाकिस्तानले यसै वर्षको मार्चमा एउटा सेन्टरमा आक्रमण गरेको थियो । अफगानिस्तानमा संयुक्त राष्ट्र संघीय सहायता मिसन (यूएनएमए) ले उक्त आक्रमणमा कम्तीमा २६९ जनाको मृत्यु भएको पुष्टि गरेको थियो र मर्नेहरूको वास्तविक संख्या योभन्दा धेरै बढी हुन सक्ने बताएको थियो । पाकिस्तानले आफ्नो छिमेकी देश अफगानिस्तानको तालिबान सरकारमाथि पाकिस्तान भित्र आतंकवादी गतिविधिहरूलाई बढावा दिइरहेको आरोप लगाउँदै आएको छ । अर्कोतर्फ तालिबान सरकारले बारम्बार यी आरोपहरूको खण्डन गरेको छ र आफ्नो भूमि कसैलाई पनि अन्य देशलाई नोक्सान पुर्‍याउन प्रयोग गर्न नदिने कुरामा जोड दिँदै आएको छ ।  

एच–१ बी भिसामा ट्रम्पलाई धक्का, १ लाख डलर शुल्क अवैध ठहर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक फेडरल (संघीय) न्यायाधीशद्वारा एच–१ बी भिसाका लागि एक लाख डलरको शुल्कलाई अवैध ठहर गर्ने फैसलामा असन्तुष्टि व्यक्त गरेका छन् । ट्रम्पले सञ्चारमाध्यमसँगको कुराकानीमा भने, ‘यी फेडरल न्यायाधीशहरू वास्तवमै हाम्रा लागि धेरै समस्याहरू खडा गरिरहेका छन् । अदालत प्रणालीमा जे भइरहेको छ, त्यो साँच्चिकै अचम्मलाग्दो छ ।’ ‘उनीहरू (फेडरल न्यायाधीश) हाम्रो देशलाई धेरै गम्भीर नोक्सान पुर्याइरहेका छन्,’ उनले थपे । डोनाल्ड ट्रम्पले गत वर्ष नयाँ एच–१ बी भिसा आवेदनमा एक लाख डलर शुल्कको प्रावधान लागू गरेका थिए । फेडरल न्यायाधीशले यसलाई ट्रम्प प्रशासनको तर्फबाट क्षेत्राधिकारको उल्लंघन भएको बताए । न्यायाधीशले भने, ‘यस्तो कुनै वैधानिक शक्ति छैन जसले (ट्रम्प प्रशासनलाई) एच–१बी आवेदनहरूमा १ लाख डलरको कर लागू गर्ने अनुमति दिन्छ ।’ अमेरिकाका एक फेडरल न्यायाधीशले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको त्यो नीतिलाई अवैध ठहर गर्दै खारेज गरिदिएका हुन्, जसअन्तर्गत उच्च दक्ष (हाई स्किल्ड) विदेशी कामदारहरूका लागि नयाँ एच–१बी भिसामा १ लाख डलरको शुल्क लगाइएको थियो । सीबीएस न्युजका अनुसार अमेरिकी जिल्ला न्यायाधीश लियो सोरोकिनले आफ्नो फैसला २० राज्यहरूको पक्षमा सुनाएका हुन् । यी राज्यहरूले सेप्टेम्बरमा ट्रम्पका तर्फबाट घोषित नयाँ शुल्कलाई चुनौती दिएका थिए । न्यायाधीशको मान्यता छ कि ट्रम्प प्रशासनले कंग्रेसको अनुमतिविना एच–१बी आवेदनमा एक लाख डलरको कर लगाएर आफ्नो क्षेत्राधिकारको उल्लंघन गरेको छ । पूर्वराष्ट्रपति बाराक ओबामाद्वारा नियुक्त गरिएका न्यायाधीशले आफ्नो ४२ पानाको फैसलामा लेखेका छन्, ‘यस्तो कुनै वैधानिक शक्ति छैन जसले (ट्रम्प प्रशासनलाई) एच–१बी आवेदनहरूमा १ लाख डलरको कर लागू गर्ने अनुमति दिन्छ ।’ अमेरिकी गृह सुरक्षा विभागले एक विज्ञप्ति जारी गर्दै सोरोकिनको फैसलालाई ‘ब्ल्याटेन्ट जुडिसियल एक्टिभिजम’ अर्थात् ‘राजनीतिक विचारमा आधारित फैसला’ भनेको छ र ट्रम्प प्रशासनको आप्रवासन सुधारको बचाउ गरेको छ । एच–१बी भिसा के हो ? एच–१बी भिसा कार्यक्रम कंग्रेसले सन् १९९० मा सुरु गरेको थियो । यसअन्तर्गत अमेरिकास्थित कम्पनीहरूलाई विशेष व्यावसायिक क्षेत्रहरूमा विदेशी कर्मचारीहरूलाई अस्थायी रूपमा बढीमा छ वर्षसम्म नियुक्त गर्ने अनुमति मिल्छ । कंग्रेसले हरेक वर्ष जारी गरिने एच–१बी भिसाको संख्या ६५ हजार तोकेको छ । यसबाहेक एडभान्स्ड डिग्री (उच्च शैक्षिक योग्यता) भएका व्यक्तिहरूका लागि थप २० हजार भिसा जारी गर्न सकिन्छ । यस भिसा कार्यक्रमअन्तर्गत रोजगारदाता अर्थात् कम्पनीहरूले केही तोकिएको शुल्क पनि तिर्नुपर्ने हुन्छ, जुन सामान्यतया १ हजार ७०० डलरदेखि ४ हजार ५०० डलरको बीचमा हुन्छ । तर गत वर्ष ट्रम्पले एउटा आदेशमा हस्ताक्षर गरे, जसमा सबै नयाँ एच–१बी आवेदनहरूमा १ लाख डलरको शुल्क थपिएको थियो । युएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेज (यूएससीआईएस) को तथ्यांकअनुसार आर्थिक वर्ष २०२४ मा स्वीकृत भएका कुल एच–१बी भिसामा ७१ प्रतिशत लाभार्थी भारतका थिए, जबकि चीन ११.७ प्रतिशतका साथ दोस्रो स्थानमा थियो ।