पाकिस्तानी आक्रमणमा ११ बालबालिकासहित १३ जनाको मृत्युु : अफगानिस्तान

काठमाडौं । अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले ‘अफगान हवाई क्षेत्रको उल्लंघन’ गरेको र मंगलबार–बुधबारको मध्यरातमा ड्युर्यान्ड रेखा (डूरन्ड लाइन) नजिकैका धेरै प्रान्तहरूमा हवाई आक्रमण गरेको बताएका छन् ।

जबिहुल्लाह मुजाहिदले केही तस्बिरहरू पोस्ट गर्दै एक्स (पूर्वट्विटर) मा लेखेका छन्, ‘गएराति पाकिस्तानी सेनाले फेरि एक पटक अफगान हवाई क्षेत्रको उल्लंघन गर्यो र कुनार, खोस्त र पक्तिका प्रान्तहरूमा नागरिकका घरहरूमा बमबारी गर्यो ।’

उनले यी आक्रमणहरूमा ११ बालबालिका, एक महिला र एक वृद्धको मृत्यु भएको दावी गरे । उनका अनुसार १४ महिला र बालबालिका घाइते भएका छन् ।

तालिबान सरकारका प्रवक्ताले यी आक्रमणहरूलाई मानवीय अपराध र आक्रामकताको कार्य भन्दै यसको कडा निन्दा गरेका छन् ।

यी आक्रमणहरूलाई लिएर अहिलेसम्म पाकिस्तानको तर्फबाट कुनै बयान आएको छैन।

अफगानिस्तानमा तालिबान सरकार र पाकिस्तानबीच पछिल्ला केही महिनाहरूमा तनाव बढेको छ ।

बीबीसी पश्तोका अनुसार पाकिस्तानले यसै वर्षको मार्चमा एउटा सेन्टरमा आक्रमण गरेको थियो । अफगानिस्तानमा संयुक्त राष्ट्र संघीय सहायता मिसन (यूएनएमए) ले उक्त आक्रमणमा कम्तीमा २६९ जनाको मृत्यु भएको पुष्टि गरेको थियो र मर्नेहरूको वास्तविक संख्या योभन्दा धेरै बढी हुन सक्ने बताएको थियो ।

पाकिस्तानले आफ्नो छिमेकी देश अफगानिस्तानको तालिबान सरकारमाथि पाकिस्तान भित्र आतंकवादी गतिविधिहरूलाई बढावा दिइरहेको आरोप लगाउँदै आएको छ ।

अर्कोतर्फ तालिबान सरकारले बारम्बार यी आरोपहरूको खण्डन गरेको छ र आफ्नो भूमि कसैलाई पनि अन्य देशलाई नोक्सान पुर्याउन प्रयोग गर्न नदिने कुरामा जोड दिँदै आएको छ ।
 

Share News