घरेलु तथा साना उद्योग स्थापनामा तीव्र वृद्धि, सबैभन्दा धेरै पर्यटन उद्योग
परासी । पश्चिम नवलपरासीमा घरेलु तथा साना उद्योग स्थापनामा तीव्र वृद्धि भएकाे छ । घरेलु तथा साना उद्योग कार्यालयमा चालू आव २०७६/७७ को पहिलो चौमासिक अर्थात् साउनदेखि कात्तिकसम्ममै ६७३ उद्योग दर्ता भएका हुन् । कार्यालयका अनुसार सबैभन्दा धेरै पर्यटन उद्योग दर्ता भएका छन् । त्यसपछि सेवामूलक र कृषि तथा वन पैदावरमा आधारित उद्योगहरुको सङ्ख्या धेरै छ । कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चार महिनाको अवधिमा दर्ता हुनेमा २७४ पर्यटन तथा सेवामूलक १७७ उद्योग छन् । १५३ कृषि तथा वन पैदावरमा आधारित र ६९ उद्योग उत्पादनमूलक दर्ता भएको कार्यालयले जनाएको छ । यस अवधिमा वाणिज्य पसल पनि ९६१ वटा दर्ता भएका छन् । उद्योग र वाणिज्य फर्मको दर्ताबाट कार्यालयले चार महिनामै रु ७७ लाख ८० हजार २सय ५ राजश्व पनि सङ्कलन गर्न सफल भएको जनाएको छ । पछिल्लो समय जिल्लामा उद्योग स्थापना तीव्र रुपमा भइरहेको उल्लेख गर्दै कार्यालय प्रमुख भुसालले भन, “विगतका वर्षहरुभन्दा पनि अहिले उद्योग दर्ता हुने क्रम बढेको छ, विगतमा नवलपरासी जिल्ला सिङ्गो हुँदा पनि यो अवधिमा यति धेरै मात्रामा उद्योग दर्ता भएका थिएनन् ।” नेपाल सरकारले उद्योग स्थापनाका लागि विभिन्न किसिमका सहुलियत दिनुका साथै वैदेशिक रोजगारीबाट फर्केकाहरुको रोजाइमा पनि घरेलु उद्योग पर्न थालेपछि उद्योग दर्ता ह्वात्तै बढेको उनको भनाइ छ । “उद्योग दर्ता र नवीकरणका लागि प्रदेश ५ सरकारले दस्तुर पनि घटाई दिएपछि उद्योगीलाई राहत भएको छ । निजी फर्म दर्ताका लागि महिला, अपाङ्गता भएका व्यक्ति र दलित समुदायका व्यक्तिलाई दस्तुरमा ५० प्रतिशत छुटको व्यवस्था छ, नवीकरणमा पनि दर्ता गर्दा लागेको दस्तुरको २० प्रतिशत मात्रै लाग्छ”, भुसालले भने । उद्योग दर्ता गर्दा पूँजीका आधारमा निजी फर्मका लागि रु एक हजारदेखि २५ हजारसम्म र साझेदारी फर्म दर्ताका लागि रु ६०० देखि एक हजार ५०० सम्म दस्तुर लाग्दछ । यसअघि निजी फर्म दर्ता गर्दा रु एक हजारदेखि ५० हजारसम्म दस्तुर लाग्ने गरेको थियो । उद्योगहरु स्थापना हुने क्रम बढेपछि स्वरोजगार हुनाका साथै सयौँले रोजगारी पनि पाएका छन् । शान्ति सुरक्षा, राजनीतिक स्थिरता, लगानीको वातावरण तयार हुनु, तीनै तहका सरकारबाट उद्योग स्थापनाका लागि प्रोत्साहन गरिएकाले उद्योग फस्टाएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले बताएका छन्। उनले भने, “परासी क्षेत्र महेशपुर र बेलहिया भन्सार नजिक रहेको, भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदा उद्योगीहरु उत्साहित छन्, लुम्बिनी क्षेत्र र बुटवल–भैरहवा क्षेत्रमा भन्दा अहिले भैरहवा–भुमही क्षेत्र उद्योगीहरुको रोजाइमा पर्नु, नाकाबन्दीमा पनि सुरक्षित क्षेत्र भएको, सीमाबाट नजिक, औद्योगिक वातावरण, लगानी सुरक्षित, मेचीमहाकालीको मध्यभाग, उद्योग वाणिज्य सङ्घको पहलमा उद्योगलाई चाहिने बिजुलीको समस्या समाधान गरिएकाले पनि उद्योगहरु थपिने क्रम जारी छ ।” घरेलु तथा साना उद्योग कार्यालयका अनुसार हाल पश्चिम नवलपरासीमा सेवामूलक तीन हजार ७३, कृषि तथा वनपैदावरमा आधारित एक हजार ८८६, पर्यटनसम्बन्धी एक हजार ३६३, उत्पादनमूलक एक हजार ६३, सूचना प्रसारण तथा सञ्चार प्रविधिसम्बन्धी तीन, खनिजसम्बन्धी दुई र ऊर्जामूलक एक गरी सात हजार ३९१ घरेलु तथा साना उद्योग सञ्चालनमा रहेका छन् । रासस
‘एक्सन फर एस.डि.जीज’ कार्यक्रम २१ गते , तीन जनालाई एक लाख
काठमाडाैं । आईसेकको आयोजनामा मंसिर २१ गते ‘एक्सन फर एस.डि.जीज’ कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम काठमाडौंको र्याडिसन होटलमा हुने आयोजक संस्था आईसेकले जानकारी दिएको हो । यो ईभेन्ट युवा पुस्ता जो समाजमा आफ्नो विचारबाट परिवर्तन चाहन्छन उनीहरुको लागि उपयुक्त प्लाटफर्म हुने आयोजकले विश्वास दिलाएको छ । आयोजक संस्थाले जारी गरेको विज्ञप्तमा भनिएको छ,‘दिगो विकासको लागि केन्द्रित गरिएको पाँच महत्वपूर्ण पक्षमा क्वालिटी एजुकेशन, जेण्डर ईक्वालिटी, क्लिन वाटर एण्ड स्यानिटेशन, पिस, जस्टिस एण्ड स्ट्रोङ ईन्स्टिच्युसन एण्ड पार्टनरसिप फर गोल्स हुन् ।’ उक्त ईभेन्टमा तीन सयभन्दा बढी युवायुवतीहरुको सहभागिता रहनेछ । ती सहभागीहरुलाई २० भन्दा बढी कम्पनीहरुले सहयोग गर्नेछन् । विज्ञप्तीमा भनिएको छ,‘दश जना विज्ञहरुले ती सहभागीहरुलाई आफ्नो योगदानको अनुभव सुनाउने कार्यक्रम छ । त्यतिमात्रै होईन, उनीहरुले ती सहभागीहरुलाई आफ्नो संघर्ष र सिकाईको अनुभवपनि आदानप्रदान गर्नेछन्, जसले उनीहरुलाई हौसला प्रदान गर्नेछ र कहिल्यैपनि संघर्षबाट नभाग्नको लागि प्रेरित गर्दछ ।’ आयोजक संस्था आईसेक नेपालका प्रेसिडेन्ट अभिषेक भोईटेले संस्था र ‘युथ फर ग्लोबल गोल्स’ को बारेमा जानकारी दिएका थिए । त्यस्तै, उक्त ईभेन्टको मुख्य उद्देश्य भनेको युवा पुस्तालाई दिगो विकासको लक्ष्य हाँसिल गर्नको लागि तालिम दिनेपनि उनले विश्वास दिलाए । उनले भने,‘यो ईभेन्टबाट छानिएका उत्कृष्ट तीन विचारहरुलाई हाम्रो तर्फबाट एक लाख रुपैयाँ विचार कार्यान्वयनको लागि सहयोग गर्छौं ।’ कार्यक्रममा आईसेक नेपालकी भाईस प्रेसिडेन्ट सदिक्षा कार्कीले ईभेन्टको बारेमा प्रकाश पारिन् । उनकाअनुसार आईसेक नेपालका प्रेसिडेन्ट अभिषेक भोईटे, टिच फर नेपालका को–फाउण्डर शिशिर खनाल र बोट्लर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले प्रमुख वक्ताको रुपमा आफ्नो प्रवचन दिनेछन् । त्यस्तै, उक्त ईभेन्टमा ‘पावर टक’ मा मिस नेपाल अर्थ–२०१८ प्रिया सिग्देल, संयुक्त राष्ट्रसंघका भोल्युनटियर्सका कन्ट्री कोअर्डिनेटर मून गुरुङ, पिस एण्ड डिसार्ममेन्ट प्रोजेक्टका कोअर्डिनेटर जेन एलिजाबेथ लसन र अनलिमिटेड टेक्नोलोजीका सिईओ एलेन बाईलोचन तुलाधरको प्रवचन हुनेछ । व्यक्तिगत तर्फबाट दिगो विकासको लक्ष्यसम्बन्धी कार्यशाला गोष्ठीमा टिच फर नेपालका रिक्रुटमेन्ट एण्ड सेलेक्शन डाईरेक्टर शैलेन्द्र झा र टिच फर नेपालका रिक्रुटमेन्ट कोअर्डिनेटर राम केशरले गुणस्तरीय शिक्षाको लागि प्रवचन दिने पनि आयोजकले जनाएको छ । त्यस्तै, प्लान ईन्टरनेश्नल फर जेण्डर ईक्वालिटीकी रक्षा पौडेल, स्मार्ट पानी फर क्लिन वाटर एण्ड स्यानिटेशनकी शुभेच्छा मानन्धर, अधिवक्ता शितल सुवेदीले शान्ति, न्याय तथा सदृढ संस्थाको लागि आफ्नो प्रवचन दिने कार्यक्रम रहेको छ । सेक्रेटरी अफ युथ सुरक्षा ढुंगानाले पार्टनरसिप फर गोल्समा आफ्नो प्रस्तुति दिनेछिन् । त्यस्तै, अतिथि वक्ताको रुपमा सञ्जोग कोइराला पनि रहने आयोजकले जानकारी दिएको छ । शीर्ष तीन जना विजेताहरुको ६० प्रतिशत चयन माथि उल्लेखित वक्ताहरुबाट र ४० प्रतिशत चाहिँ अडियन्स (पोलिङ सिस्टम) बाट हुनेछ । उक्त ईभेन्ट कोकाकोलाले प्रस्तुत गर्नेछ भने यसको सह–प्रायोजकको रुपमा क्याथी प्यासिफिक र प्लान ईन्टरनेश्नल रहेका छन् । त्यस्तै, यो ईभेन्टमा आबद्धता संस्थाहरुमा खल्ती, र्याले ईन्टरनेशनल, रेस्टलेस डेभलवमेन्ट, भि.एस.ओ, एडुसञ्जाल र संयुक्त राष्ट्रसंघ रहेका छन् । यसरी, ईभेन्टमा भाग लिन चाहनेहरुको लागि एक दिनको लागि प्रति व्यक्ति ५ सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने पनि आयोजकले जानकारी गराएको छ । त्यस्तै, ईभेन्टमा आफ्नो विचार प्रस्तुत गर्नको लागि चाहीँ ग्रुप वा व्यक्तिको लागि एक हजार रुपैयाँ तोकिएको छ ।
त्रिभुवन अन्ताष्ट्रिय विभानस्थलमा १८२ जना कर्मचारी माग, सरकारी निकाय पनि आउटसोर्समा कर्मचारी राख्दै
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्ताष्ट्रिय विभानस्थल नागरिक उड्डयन कार्यालयमा १८२ जना कर्मचारी राख्ने भएको छ । भन्सार र एक मात्र अन्तराष्ट्रिय विमानस्थल भएकोले कर्मचारीको लागि यो क्षेत्र निकै आकर्षक मानिन्छ । प्राधिकरणले विमानस्थलको लागि कम्प्यूटर अपरेटर १५ जना, सहायक कम्म्पूटर अपटेर १२ जना, उद्घोषक/उद्घोषिका ७ जना, टेलिफोन अपरेटर ८ जना, हेल्पर ४ जना माग गरेको छ । त्यस्तै, हेभि सवारी चालक ८ जना, हलुवका सवारी चालक १३ जना, पालेपहरेदार ७९ जना र ट्रली कलेक्टर ३६ जना कर्मचारी नयाँ भर्ना गर्न लागेको छ । तर प्राधिकरणले यी सबै कर्मचारी सोझै नियुक्ती नगरी श्रमिक आपूर्तिकर्ता कम्पनीबाट लिने भएको छ । सामाजिक सुरक्षा कोषमा सूचिकृत भएको कम्पनीले मात्र जनशक्ति आपूर्तिको काम गर्न सक्ने भएको छ । विदेशमा वाहिरी कम्पनीबाट जनशक्ति आपूर्ति गर्ने अभ्यास पुरानो भए पनि नेपालमा यस्तो अभ्यास कम छ । त्यो पनि पूर्ण सरकारी निकायले यति ठूलो संख्यामा जनशक्ति बाहिरबाट आपूर्ति गर्न लागेको सम्भावतः पहिलो पटक हो ।