एनबीआईको सीईओमा लम्साल नियुक्त, बैंकिङ क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्यूट(एनबीआई) लिमिटेडको प्रमूख कार्यकारी अधिकृतमा कुमार लम्साल नियुक्त भएका छन् । इन्टिच्यूटको सञ्चालक समितिले मंसिर ३० गतेदेखि लागु हुने गरी लम्साललाई एनबीआईको सीईओको पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ लम्साल बैंकिङ्ग क्षेत्रका चीरपरिचित व्यक्तित्व हुन् । उनले यसअघि सानिमा बैंक, प्रभु बैंक, जनता बैंक नेपाल लि. लगायतका बैंकको प्रमूख कार्यकारी अधिकृतको रुपमा कार्य गरी दुई दशक भन्दा लामो बैंकिङ्ग अनुभव प्राप्त गरेका छन् । पछिल्लो समय जनता बैंक नेपालको सीईओ कार्यकाल पश्चात उनले बैंकिङ्ग क्षेत्रमा विशेषगरी क्रेडिट विषयको प्रशिक्षकको रुपमा योगदान पुर्याउँदै आएका थिए । नवनियुक्त सीईओको नियुक्तीसँगै ईन्स्टिच्यूटले बैंकिङ्ग जगतको मानव संशाधनको क्षमता विकासमा टेवा पुर्याउने किसिमका बस्तु तथा सेवाको विविधीकरण मार्फत अझ बढी योगदान पुर्याउन सफल हुने अपेक्षा गरीएको छ ।

चालु आवमा करिब ३ हजार निजामति कर्मचारीले अवकाश पाउँने, विशिष्ट श्रेणीकामात्रै ११ जना

काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा दुई हजार नौ सय ३७ जना ले अवकाश पाउने भएका छन् । सरकारी सेवामा विभिन्न क्षेत्र र स्तरमा कार्यरत करिब तीन हजार कर्मचारीले अवकाश पाउने निजामति किताबखानाले जानकारी दिएको छ । अवकाश पाउने कर्मचारीहरूमा कार्यालय सहायकदेखि विशिष्ट श्रेणीका कर्मचारी समेत रहेको निजामति किताबखानाका महानिर्देशक गिताकुमारी हुमागाईँले जानकारी दिइन् । चालु आवमा विशिष्ट श्रेणी (सचिव) का ११ जनाले अवकाश पाएका छन् । यहि पुस २१ गते सचिव अनिल कुमार ठाकुरले अवकाश पाउँदैछन् भने माघ महिनामात्रै चार सचिवले अवकाश पाउने भएका छन् । हाल ठाकुर प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा कार्यरत छन् । माघ ३ गते अवकाश पाउने सचिव बालाराम शर्मा हाल कर्णाली प्रदेश सुर्खेतको मुख्यमन्त्री हुन् । माघमा अवकाश पाउने सचिवमा अर्थ सचिव राजन खनाल, नेपाल ट्रष्टको कार्यालयका सचिव गजेन्द्रकुमार ठाकुर र प्रेम कुमार राई रहेका छन् । राई गृह सचिव हुन् । दिल्लीराज घिमिरे, राजीव गौतम भने आगामी जेठमा अवकाश पाउँदैछन् । यस अघिनै विष्णु लम्साल, दीपेन्द्रनाथ शर्मा, अर्जुनकुमार कार्की, आनन्दराज रेग्मीले अवकाश पाइसकेका छन् । यी बाहेक यहि पुसमामात्रै विभिन्न पदका २ सय ३१ निजामति कर्मचारीले अवकाश पाउँदैछन् । माघमा २ सय २८ जनाले अवकाश पाउदैछन् भने फागुनमा २ सय ३ कर्मचारीले अवकाश पाउँदैछन् । चैतमा १ सय ९८ कर्मचारीले अवकाश पाउँदैछन् । वैशाखमा ३ सय ९, जेठमा २ सय ३१ र असारमा २ सय ७८ जना कर्मचारीले अवकाश पाउँदैछन् ।

नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल, सदस्यमा १८ जना सर्वसम्मत चयन

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध चुनिएका छन् । अध्यक्षमा दुलालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्षमा चयन भएका हुन् । अर्का अध्यक्षमा चुनाव लड्ने भनेका प्रकाश कपुरीले उम्मेद्वारी नै दर्ता नगरेपछि दुलाल निर्विरोध भएका हुन् । अटोमोबाइल व्यवसायीहरुको छाता संगठनकाे वरिष्ठ उपाध्यक्ष रहेका दुलाल नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत हुन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी नेतृत्व चयनका लागि आइतबार मनोनयन दर्ताको समय तोकिएको थियो । अध्यक्षको चयन आज भए पनि यसको औपचारिक घोषणा भने पुस ४ गते हुने नाडाको साधारणसभाबाट घोषणा हुनेछ । साथै, नाडाका सर्वसम्मत सदस्यहरुमा करणकुमार चौधरी, आकाश गोल्छा, सुनिल रिजाल, अनुप कुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंहानिया, राजनबाबु श्रेष्ठ, निराकार श्रेष्ठ, अभीक ज्योति, मिलन बाबु मल्ल, दीपक कुमार अग्रवाल, सुरज भट्टराई, पंकज अग्रवाल र निलमणि पाठक रहेका छन् । जिल्ला सदस्यहरु ध्रुव बहादुर थापा, सुवास आचार्य, नवराज डल्लाकोटी र ऋषि कुमार ढकाल सर्वसम्मत सदस्यहरु चयन भएका छन् ।