‘नव उद्यमी सम्मेलन’ मङ्सिर २९ गते काठमाडौँमा  हुँदै, करिब ८०० उद्यमी सहभागी 

काठमाडौं । मुलुकमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले यही मङ्सिर २९ गते ‘नव उद्यमी सम्मेलन’ गरिने भएको छ । उद्यमशील प्रबर्धनमा क्रियाशील संस्था ‘नेक्सट भेन्चर कोर्प’ले आयोजना गर्ने उक्त सम्मेलनमा देशभरका करिब ८०० उद्यमी सहभागी हुनेछन् । काठमाडौँको होटल सोल्टीमा हुने सम्मेलनमा भारत, चीन, बङ्गलादेशलगायत मुलुकबाट आउने स्थापित १० उद्यमीले प्राप्त गरेका व्यावसायिक सफलताबारे जानकारी गराउने, गुणस्तरीय वस्तु उत्पादनमा लागत कम गर्ने उपाय, व्यापार विस्तार, पूर्ण प्रतिस्पर्धात्मक बजारमा वस्तुको लागत निर्धारणका साथै प्रचारप्रसारका अत्याधुनिक विधिबारे सहभागीलाई प्रशिक्षणसमेत दिइने छ । नव उद्यमीले सञ्चालनमा ल्याएका व्यवसाय तथा तिनका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन छलफल तथा व्यापार विस्तारका लागि उनीहरुले गर्ने प्रस्तावमा स्वदेशी तथा विदेशी उद्यमीले आवश्यक देखेमा थप व्यापार वृद्धिका लागि लगानीमा साझेदारीसमेत हुने कार्यक्रमका संयोजक कवीराज जोशीले जानकारी दिए । सन् २०१६ देखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको सम्मेलनले सन् २०१८ सम्म तीन हजार २०० नव उद्यमीलाई व्यवसाय प्नबर्धनका लागि आवश्यक परियोजना, सीप विकास, लगानी साझेदारी, औद्योगिक नेतृत्वका लागि आत्मविश्वासको विकासमा सहयोग पुर्याएको जनाइएको छ । मुलुकमा बढदै गएको व्यापार घाटालाई न्यूनीकरण गर्न नयाँ नयाँ उद्यमशिलताको खाँचो रहेको उल्लेख गर्दै यस क्षेत्रले रोजगारीको सिर्जना गरी स्वदेशी उत्पादनलाई उपभोक्तासम्म सहजै पुर्याउने हुँदा यसले अर्थतन्त्रलाई गतिशिल बनाउने संयोजक जोशीले बताए ।

एनआईसी एशिया लघुवित्त सञ्चालक समितिको अध्यक्षमा ढकाल नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडकोे सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सञ्चालक समितिकाे अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । संस्थाको ३९औं सञ्चालक समितिको बैठकले  ढकाललाई अध्यक्षमा नियुक्त गरेकाे हाे । साथै,  ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । अध्यक्ष ढकालसँग आइसिआइसिआइ बैंक तथा विश्व प्रसिद्ध परामर्शदाता कम्पनी डिलोइटमा कार्य गरेको र उक्त बैंकमा प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको अनुभव छ । ढकालले सो दिन नै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक वीरेन्द्र दत्त अवस्थी, एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपान र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका निवर्तमान अध्यक्ष अर्जुन राज खनियालगायतको उपस्थिति रहेको थियो ।      

फिनल्यान्डमा ३४ वर्षिय युवा प्रधानमन्त्री, नेपालमा कहिले

काठमाडौं । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । नेपालमा भने युवाले राजनितीमा स्थान नपाएको भनेर बेला बेलामा चर्चा हुने गरेको छ । नेपालमा प्रधानमन्त्री ५० वर्ष भन्दा माथिका नै हुने गरेका छन् । प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन् । पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन् । उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन् ।