कपडा तथा सिलाइ व्यवसायी महासंघको देशव्यापी फेसन डिजाइन तालिम सुरु
काठमाडौं । नेपाल कपडा तथा सिलाइ व्यावसायी महासंघको देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिम सुरु भएको छ । मंगलबार झापा जिल्लाबाट देशव्यापी तालिमको सुरुवात गरिएको हो । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ झापाले अर्जुनधारा नगरपालिकामा फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिमको उद्घाटन गरेको हो । भोला परियारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अर्जुनधारा नगरपालिका मेयर हरि कुमार रानाको प्रमुख आतिथ्यता रहेको थियो । तालिम लिनको लागि ५० भन्दा बढी व्यवसायीहरुको सहभागिता रहेको थियो । महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले देशभर रहेका व्यवसायीहरुको सीप अभिवृद्धिका लागि यो तालिम ल्याईएको बताए । ‘सिलाई व्यवसाय गर्नेहरुलाई आधुनिकतातर्फ लैजान यस तालिमले सहयोग गर्ने छ ।’ अध्यक्ष रामकृष्ण श्रेष्ठले भने । यस्तै महासंघका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सचिव राज कार्किले तालिम सफलताको शुभकामना दिदै फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिमले व्यवसायीहरुलाई थप उर्जा मिलेको बताए । साथै प्रदेश र केन्द्रबाट आगामि दिनमा पनि व्यवसायीलाई लक्षित कार्यक्रमहरु लैजाने कार्कीले बताए । कार्यक्रममा वडा अध्यक्ष नवीन ढुंगाना, कार्यपालिका सदस्य रमेश तिखत्री लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
थ्रिकम केयर कम्पनीले १५ जनालाई निःशुल्क तालिमको दिने: २ लाख रुपैंयाँसम्म कमाउने मौका
काठमाडौं । थ्रिकम केयरले १५ जना युवालाई रोजगारीको अवसर सिर्जना गर्दैछ । काठमाडौंको पिपुल्स प्लाजास्थित थ्रिकम केयरले मोबाइल, ल्यापटप, हार्ड डिस्क जस्ता सामान रिपेयरिङको क्षेत्रमा विगत ७ वर्षदेखी काम गर्दै आएको छ । यस कम्पनिले १५ जना युवालाई नि:शुल्क तालिम प्रदान गरेर रोजगारी प्रदान गर्न लागेको हो । स्वदेशमै काम गर्न इच्छुकहरुका लागी थ्रिकम केयरले विशेष प्याकेजको घोषणा गरेको छ । मोबाइल, ल्यापटप, हार्ड डिस्क जस्ता सामान रिपेयरिङमा रुचि राख्नेहरुले यो प्याकेजको फाइदा लिन सक्नेछन् । थ्रिकम केयरका सञ्चालक विपिन जयसवालका अनुसार पहिलो चरणमा १५ जना युवालाई एक वर्षसम्म विशेष कोर्षको तालिम प्रदान गरिनेछ । जसमा बिग्रिएका मोबाइल, ल्यापटप, हार्ड डिस्क जस्ता सामान रिपेयरिङको विषयमा प्राविधिक ज्ञान दिईने छ । तालिमपश्चात् थ्रिकम केयरले १५ जना युवालाई आफ्नै कम्पनिमा रोजगारी प्रदान गर्नेछ । कामदारको क्षमता अनुसार १० हजार देखी २ लाख रुपैंयासम्म तलब दिने सञ्चालक विपिन जयसवालले बताएका छन् । थ्रिकम केयर मोबाइल, ल्यापटप, हार्ड डिस्क जस्ता सामान रिपेयरिङको क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल कम्पनि हो । हाल यस कम्पनिले मोबाइल, ल्यापटपका अत्यावश्यक सामग्रीहरु बिक्रि, वितरण पनि गर्दै आएको छ । यस कम्पनिले काठमाडौं उपत्यकाभित्र फ्रि पिकअप, फ्रि डेलिभरी सुविधा प्रदान गर्दै आएको छ । छिटै नै मुलुकका प्रमुख शहरमा फ्रेन्चाइज खोल्ने तयारी गरिरहेको यस कम्पनिले विभिन्न जिल्लामा शाखा बिस्तार गर्ने योजना बनाईरहेको छ । बिग्रिएका मोबाइल, ल्यापटप, हार्ड डिस्क रिपेयरिङमा रुचि भएका इच्छुकले माघ १५ सम्म आवेदन दिन सक्नेछन् । देशभरबाट आएका निवेदनबाट अन्तरवार्ताका माध्यमबाट १५ जनालाई छनौट गरिने छ । ‘उद्यमि बन्ने, आत्मनिर्भर बन्न चाहने र स्वदेशमै केही व्यवसाय गर्ने गहिरो रुचि भएकालाई विशेष प्राथमिकता दिनेछौं ।’ सञ्चालक बिपिन जयसवालले विकास न्युजसँग भने । यसबारे बिस्तृत जानकारीका लागी थ्रिकम केयरको फोन नम्बर, वेवसाइट र सामाजिक सञ्जालमार्फत सम्पर्क गरेर बुझ्न सक्नेछन् ।
उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त
काठमाडाैं । उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशमा मध्यपुरथिमि नगरपालिका भक्तपुरका न्यौपानेलाई महाप्रबन्धकका रुपमा नियुक्त गरेको हो । उनको कार्यकाल चार वर्षको रहनेछ । उद्योगका महाप्रबन्धकका लागि मन्त्रालयले तीन जनाको नाम सिफारिश गरेको थियो । उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेका संयोजकत्वमा गठित सिफारिश समितिले न्यौपाने, काठमाडौँका ध्रुवबहादुर देवकोटा र कपिलवस्तुका भूप्रेन्द्रप्रसाद अर्यालको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेको थियो । सिफारिश समितिमा पूर्वसचिव कृष्णहरि बाँस्कोटा, रामेश्वर खनाल र नारायणप्रसाद बिंडारी थिए । न्यौपाने नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घ र नेपाल बार एशोसिएशनका सदस्य तथा नेपाल अटो मोबाइल्स सङ्घ नाडाका महासचिवसमेत भइसकेका छन् । उनी यसैगरी, नागरिक ट्रष्ट फन्ड, नागरिक कम्युनिटी टिचिङ अस्पतालजस्ता सामाजिक संस्थामा आबद्ध छन् । उनी शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा समेत व्यावसायिकरुपमा आबद्ध रहेका छन् । अर्थविज्ञ, लेखापरीक्षक तथा कानून व्यवसायी न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा तथा पूर्वाञ्चल विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरेका छन् । हाल उनी माछापुच्छ्रे बैंकका सञ्चालक समेत छन् । उनीसँग सञ्चालक समितिमा लेखा संयोजक तथा जोखिम व्यवस्थापन समितिमा मुख्य जिम्मेवार भएर काम गरेको अनुभव छ । न्यौपानेसँग चौधरीमा महाप्रबन्धकका रुपमा दुई दशक लामो समय काम गरेको अनुभवसमेत छ । उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले २०७५ साल पुस २४ गते नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै उक्त पद खाली थियो । सरकारले दुई वर्षपछि आफूलाई महाप्रबन्धकमा नियुक्त गरेको न्यौपानेले जानकारी दिए ।