बैंकमा स्थायी जागिरको अवसर, कृषि विकास बैंकले माग्यो ३२५ कर्मचारी (सूचनासहित)

काठमाडौं । कृषि विकास बैंकले विभिन्न १५ पदमा ३२५ जना कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मको १५ पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी माग २९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

नेपालबाट इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला

काठमाडाैं । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर प्रोटोकलमा हस्ताक्षर गरे । प्रोटोकलमा हस्ताक्षर भएसँगै इजरायलको विशिष्ट श्रम बजार नेपाली युवाका लागि खुला भएको । सम्झौता अनुसार ५०० नेपाली युवा केयरगिभर क्षेत्रमा रोजगारीका लागि इजरायल जानेछन् । ती युवाले इजरायली श्रम कानूनअनुसार सेवा सुविधा पाउनेछन् । इजरायली रोजगारमा निजी क्षेत्रलाई सहभागी गराइएको छैन । दुई देशबीचको सरकार–सरकार संयन्त्र (जिटुजी) बाट नेपाली इजरायल जानेछन् । यसअघि विभिन्न चरणमा छलफल भई सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्ने मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीका लागि इजरायललाई आकर्षक गन्तव्यका रूपमा लिइन्छ । आम्दानी, सामाजिक सुरक्षा तथा रोजगारीजन्य श्रमिक स्वास्थ्य सुरक्षाका दृष्टिले इजरायल विश्वकै उत्कृष्ट मुलुकमा पर्दछ । केही वर्षदेखि नेपाली कामदार लैजान बन्द गरेको इजरायलले पछिल्ला समय नेपाली श्रमिक लैजाने चाहना गरेको थियो । इजरायलले कृषि तथा केयर गिभरको क्षेत्रमा विदेशी कामदार लिँदै आएको छ । इजरायलमा केयर गिभरको सङ्ख्या बढी छ र नेपालीहरू पनि धेरै जसो केयर गिभरका रूपमै नै त्यहाँ जाने गरेको छन् । इजरायलमा करिब दुई हजार ५०० को सङ्ख्यामा नेपाली रहेका तेलअभिवस्थित नेपाली दूतावासले जनाएको छ । इजरायलको श्रम कानून निकै नै श्रमिकमैत्री भएकाले तुलनात्मक हिसाबले अन्य देशभन्दा कम समस्या आउने गरेको छ । सरकारी माध्यमबाट नेपाली श्रमिक इजरायल पठाउँदा पारदर्शी हुने गरी कार्यविधि तयार गरिएको श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इजरायलमा दक्ष र सीपयुक्त श्रमिक सरकारले पठाउने भएकाले यसलाई सकेसम्म व्यवस्थित र पारदर्शी बनाउने गरी कार्यविधि बनाएको छ । गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएको थियो । ‘द्विपक्षीय सम्बन्धमा नयाँ आयाम’ कार्यक्रममा श्रममन्त्री गौरीशङ्कर चौधरीले प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको बताए । उनले दुई देशबीच कूटनीतिक सम्बन्धका साथै श्रम सम्बन्ध सौहार्द हुने विश्वास व्यक्त गरे । उनले केयर गिभर क्षेत्रमात्र नभई अन्य क्षेत्रमा पनि नेपाली युवालाई रोजगारीका अवसर प्रदान गर्न आग्रह गरे । विभागका महानिर्देशक दहालले दुई देशको सरकारी तहबाट नै श्रमिक आदानप्रदान गर्ने गरी गरिएको सम्झौता कार्यान्वयनका लागि विभागले अनलाइनमार्फत आवेदन दिने प्रक्रियालाई पारदर्शीरूपमा अवलम्बन गरिने बताए । सम्झौता कार्यान्वयनका लागि विभागले आवश्यक अन्य तयारीहरु पनि शुरु गर्ने जानकारी दिँदै उहाँले सहजीकरणका लागि विभागमा डेडिकेटेड टोली खटाइने बताए । इजरायलका लागि नेपाली राजदूत डा अन्जान शाक्यले आफू राजदूतका रूपमा इजरायल पुगेदेखि नै त्यहाँको श्रम बजार नेपालीका लागि खुला गर्न लागिपरेको र आज सफलता मिलेको बताए । विदेशी श्रमिकका लागि इजरायल आकर्षक गन्तव्यका रुपमा रहेको उल्लेख गर्र्दै इजरायलमा सम्मानका साथ नेपालीले काम गर्न पाउने बताए । उनले पटकपटकको छलफलपछि इजरायलमा नेपालीलाई केयर गिभरका रूपमा रोजगारीमा लैजान सक्ने वातावरण बनेको जानकारी दिए । नेपालका लागि इजरायली राजदूत गोडेरले नेपाली युवायुवतीले इजरायली नागरिकसरह सेवासुविधा तथा पारिश्रमिक पाउने बताएका थिए । लामो समयदेखि रोकिएको नेपाली श्रमिक इजरायल जाने प्रक्रियाले निरन्तरता पाउने लागेको र कोभिड–१९ को महामारीका बीचमा पनि दुवै देशका सरकारी अधिकारीले लगागतरको प्रयासबाट मात्रै प्रोटोकलमा हस्ताक्षर गर्ने अवस्थामा पुगिएको बताए ।

आईसीएफसी फाइनान्सको अध्यक्षमा रामबाबु पन्तकाे निरन्तरता

काठमाडौं । आईसीएफसी फाइनान्सको अध्यक्षमा रामबाबु पन्तले निरन्तरता दिने भएका छन् । संस्थाको सभाबाट निर्विरोध निर्वाचित भएका संस्थापक सञ्चालक पन्त अध्यक्षमा सर्वसम्मतीले चयन भएसँगै उक्त पदमा निरन्तरता दिने भएका हुन् । माघ ५ गते बसेको संस्थाको सञ्चालक समितिको २७४औं बैठकले उनलाई अध्यक्ष पदमा नियुक्त गराएको हो । यससँगै नवनियुक्त अध्यक्ष पन्तले माघ ५ गतेदेखि नै आफ्नो नयाँ कार्यकालकाे कार्यभार सम्हालेका छन् ।