सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । शुक्रबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोपन फर्मास्युटिकल्स र एपोलो हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ । आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले घटेर २७२४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ९२ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३४२ कम्पनीको ९८ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सेन्ट्रल फाइनान्सको भएको छ । सेन्ट्रलको २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सिटी होटलको २४ करोड, आँखु खोलाको २२ करोड, हिमाल दोलखा हाइड्रोको १३ करोड र रिलाइन्स स्पिीनिङ मिल्सको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बीमा क्षेत्रमा रोजगारी अवसर बढ्दै, विश्वविद्यालयको विद्यार्थीसँग छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरणले त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्याथमेटिकल साइन्समा अध्ययनरत विद्यार्थीहरूसँग जोखिममा आधारित पूँजी तथा बीमालेख नियमन प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बिहीबार कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रममा स्नातक तहका छैठौं र आठौं सेमेस्टरका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य जोखिममा आधारित पूँजी सम्बन्धी मार्गचित्र, यसको कार्यान्वयन अवस्था, समयसीमा, प्रभावकारिता तथा अन्तर्राष्ट्रिय अभ्यासका साथै बीमालेख विकासका चरण र स्वीकृति प्रक्रियाबारे विद्यार्थीलाई जानकारी गराउनु रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमाङ्की विज्ञानको अध्ययन र अनुसन्धानमा प्राधिकरणले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै आएको बताए । उनले अध्ययनको गुणस्तर अभिवृद्धिका लागि आवश्यक नीतिगत व्यवस्था तथा स्रोत परिचालनमा सहयोग गर्न प्राधिकरण तयार रहेको उल्लेख गरे । उनका अनुसार नेपालमा बीमाङ्कीहरूको माग बढ्दै गएको छ र प्रत्येक बीमा कम्पनीमा बीमाङ्की तथा बीमाङ्कीय विश्लेषक अनिवार्य रूपमा नियुक्त गर्नुपर्ने व्यवस्था गरिएकाले यस क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूका लागि स्वदेशमै रोजगारीको राम्रो सम्भावना रहेको छ । प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले बीमा क्षेत्रको विकास, स्थायित्व र व्यावसायिक सुदृढीकरणका लागि बीमाङ्की तथा विश्लेषकहरूको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा उपनिर्देशक निर्मला मल्लले जोखिममा आधारित पूँजी सम्बन्धी मार्गचित्र तथा यसको कार्यान्वयनबारे प्रस्तुति दिएकी थिइन् भने सहायक निर्देशक सुधा काफ्लेले बीमालेख विकासका चरण तथा नियामकीय प्रक्रियाबारे जानकारी गराएकी थिइन् । अन्तरक्रियामा सहभागी विद्यार्थीहरूले बीमाङ्कीको आवश्यकता, जोखिम व्यवस्थापनमा यसको भूमिका, बीमालेख विकासमा योगदान तथा रोजगारी अवसरबारे जिज्ञासा राखेका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्याथमेटिकल साइन्सका निर्देशक नवराज पौडेल, कार्यक्रम संयोजक केशव राज फुलारा तथा सम्बन्धित विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
आईएमई लाइफले १०० जना मोतीबिन्दु बिरामीको निःशुल्क शल्यक्रियामा गर्यो सहयोग
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माट्रिका आइ सेन्टरसँग सहकार्य गरी आर्थिक अभावका कारण उपचारबाट वञ्चित १०० जना मोतीबिन्दुका बिरामीहरूको जनकपुरमा हुने निःशुल्क शल्यक्रियामा सहयोग गरेको छ । उक्त कार्यक्रमका लागि कम्पनीले ६ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । यस सहयोगबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जना मोतीबिन्दु पीडितहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । माट्रिका आइ सेन्टरले विगतदेखि देशका विभिन्न जिल्लाहरूमा आँखा सम्बन्धी स्वास्थ्य सेवा, मोतीबिन्दु पहिचान तथा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ । सेन्टरको अनुभव र विशेषज्ञतासँग आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धता जोडिँदा समुदायमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । आईएमई लाइफ इन्स्योरेन्सका उप–कार्यकारी प्रमुख खिलेन्द्र पौडेलले कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा समुदाय विकासका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको उल्लेख गरे । उनले यस सहकार्यले आर्थिक अभावका कारण दृष्टि गुमाउने जोखिममा रहेका विपन्न नागरिकहरूलाई नयाँ आशा प्रदान गर्ने विश्वास व्यक्त गरे । त्यसैगरी, माट्रिका आइ सेन्टरका अध्यक्ष सूरज श्रेष्ठले आईएमई लाइफ इन्स्योरेन्सको सहयोगप्रति आभार व्यक्त गर्दै यस कार्यक्रमले ग्रामीण क्षेत्रका सयौं विपन्न परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताए । आईएमई लाइफ इन्स्योरेन्सले ‘इन्स्योरिङ फ्युचर’ भन्ने मूल मन्त्रअनुसार सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय उत्थानका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।