एनसीएचएललाई ‘नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड २०२५’ अन्तर्गत मेरिट अवार्ड
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई ‘नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड २०२५’ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि (आईटी) विधामा ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईसीएएन) ले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा कम्पनीले सार्वजनिक गरेका वित्तीय खुलासाका आधारमा एनसीएचएललाई उक्त सम्मान प्रदान गरेको हो । आईसीएएनले हरेक वर्ष संस्थाहरूको वित्तीय प्रतिवेदनको गुणस्तर, संस्थागत सुशासन र पारदर्शिताको मूल्याङ्कन गर्दै ‘बेस्ट प्रिजेन्टेड अवार्ड’ प्रदान गर्दै आएको छ । एनसीएचएलका अनुसार यो सम्मानले कम्पनीको पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ । यसअघि पनि एनसीएचएलले आईसीएएन तथा दक्षिण एसियाली लेखा महासंघ (साफा) बाट ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ प्राप्त गर्दै आएको कम्पनीले जनाएको छ । हाल एनसीएचएलले आफ्ना ५२ सदस्य बैंक तथा वित्तीय संस्थामार्फत एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, रिटेल पेमेन्ट स्विच (आरपीएस), नेसनल पेमेन्ट स्विच, कनेक्टआरटीजीएस, नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई), कनेक्टआईपीएस, कर्पोरेटपे, नेपालपे क्यूआर, ईएफटी कार्ड स्विच तथा सेवा र नेपालपे कार्डलगायतका भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ । कम्पनीका अनुसार बैंक तथा वित्तीय संस्थाबाहेक बीमा, रेमिट्यान्स, भुक्तानी सेवा प्रदायक (पीएसपी), भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), सरकारी तथा अर्धसरकारी निकायसहित १२५ भन्दा बढी संस्थाहरू अप्रत्यक्ष वा प्राविधिक सदस्यका रूपमा आबद्ध छन् ।
गरिमा विकास बैंकले जित्यो ‘बीपीए अवार्ड २०२५’ को सिल्भर अवार्ड
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले (आईक्यान) प्रदान गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन (बीपीए) अवार्ड २०२५ अन्तर्गत सिल्भर अवार्ड प्राप्त गरेको छ । कम्पनीहरूले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुशासनसम्बन्धी मापदण्डका आधारमा प्रदान गरिने उक्त अवार्ड बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनका आधारमा प्रदान गरिएको हो । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा आईक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई अवार्ड हस्तान्तरण गरेका थिए । गरिमा विकास बैंकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट उत्कृष्ट व्यवस्थापन र संस्थागत सुशासनका क्षेत्रमा सम्मान प्राप्त गर्दै आएको जनाएको छ । बैंकले न्यु बिजनेस एज लिमिटेडद्वारा आयोजित न्युबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड २०२६ मा ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ तथा कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित कर्पोरेट बिजनेस अवार्ड एन्ड समिट २०२६ मा ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्ड पनि प्राप्त गरेको थियो । आईएसओ ९००१:२०१५ र आईएसओ २७००१:२०२२ प्रमाणित गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा, ५१ एटीएम तथा डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।
ग्लोबल आइएमई बैंकको स्मार्ट प्लस एपबाटै अब बैंक खाता ब्लक गर्न सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्राहकको निक्षेपलाई डिजिटल ठगीबाट सुरक्षित राख्ने उद्देश्यले मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’मार्फत लगइन नगरी नै सेकेन्डभरमै बैंक खाता ब्लक गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार पछिल्लो समय फिसिङ, स्क्याम तथा अन्य अनलाइन ठगीका घटना बढ्दै गएपछि ग्राहकको रकम सुरक्षित राख्न यस्तो अत्याधुनिक सुरक्षा प्रणाली लागू गरिएको हो । अब ग्राहकले खाता ह्याक भएको वा अनधिकृत पहुँच भएको आशंका लागेमा तुरुन्तै आफ्नो बैंक खाता रोक्का गर्न सक्नेछन् । यसका लागि ग्राहकले ‘ग्लोबल कनेक्ट’को आधिकारिक नम्बर ०१–५९७०६०० (विदेशबाट +९७७–१–५९७०६००) मा फोन गरेर मौखिक अनुरोधका आधारमा पनि खाता ब्लक गराउन सक्ने बैंकले जनाएको छ । मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि भने यो प्रक्रिया अझ सहज बनाइएको छ । ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ एप खोलेपछि लगइन नगरी नै माथिल्लो दायाँ कुनामा रहेको ‘कल’ आइकनमा क्लिक गरी ‘मिसकल बैंकिङ’भित्रको ‘अकाउन्ट ब्लक बाइ मिसकल’ विकल्प रोज्नासाथ खाता तत्काल ब्लक हुनेछ । बैंकका अनुसार यो सुविधाले फिसिङ, स्क्याम तथा अन्य अनलाइन बैंकिङ अपराधबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न प्रभावकारी भूमिका खेल्नेछ । बैंकिङ क्षेत्रका विज्ञहरूले समेत यस्ता सुरक्षा प्रणालीले ग्राहकको निक्षेप सुरक्षित राख्न महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् । यसैबीच, नेपाल राष्ट्र बैंकले पनि हालै सबै वाणिज्य बैंकलाई ग्राहकको मौखिक वा अनलाइन अनुरोधका आधारमा तत्काल खाता रोक्का गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । बैंकका अनुसार उक्त व्यवस्थासँगै आफ्नो नयाँ सुरक्षा प्रणालीले ग्राहकको डिजिटल बैंकिङलाई थप सुरक्षित बनाउने विश्वास लिइएको छ । ग्लोबल आइएमई बैंक उत्कृष्ट सेवा प्रवाहका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट विभिन्न विधामा सम्मानित हुँदै आएको छ ।