काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ‘नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२५’ अन्तर्गत वित्तीय सेवा क्षेत्रको ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने उक्त अवार्ड बैंकले लगातार दोस्रो वर्ष जितेको हो । यसअघि बैंकले बीपीए अवार्ड–२०२३ मा सिल्भर र बीपीए अवार्ड–२०२४ मा गोल्ड अवार्ड प्राप्त गरेको थियो ।
बैंकका अनुसार वित्तीय विवरणको पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायित्व तथा वार्षिक प्रतिवेदनको गुणस्तरीय प्रस्तुतीकरणका आधारमा यो सम्मान प्रदान गरिएको हो ।
काठमाडौंमा आयोजित विशेष समारोहमा आईक्यानका अध्यक्षले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललाई उक्त अवार्ड प्रदान गरेका थिए ।
बैंकले यस सम्मानले वित्तीय पारदर्शिता, सुशासन र गुणस्तरीय प्रतिवेदन प्रस्तुतीकरणप्रतिको आफ्नो प्रतिबद्धतालाई थप पुष्टि गरेको जनाएको छ । आगामी दिनमा पनि समयानुकूल, विश्वसनीय र गुणस्तरीय वित्तीय सूचना प्रवाह गर्दै उत्कृष्ट संस्थागत अभ्यासलाई निरन्तरता दिने बैंकको भनाइ छ ।