नेपाल लाइफले जित्यो उत्कृष्ट वार्षिक प्रतिवेदनको गोल्ड अवार्ड

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ । कम्पनीले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा यो उपलब्धि हासिल गरेको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आयोजना गरेको विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेका हुन् ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, वित्तीय प्रतिवेदन मापदण्डको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धताका आधारमा नेपाल लाइफलाई उक्त सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ ।

अवार्ड प्राप्तिपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गौरवको विषय भएको बताउँदै यसले वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउन प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् । उनले बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।

कम्पनीका अनुसार चैत मसान्त २०८३ सम्म ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गरिएको छ । नेपाल लाइफले २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गर्दै हालसम्म १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको जनाएको छ ।

त्यसैगरी कम्पनीले नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर बुझाइसकेको छ । साथै, इक्रा नेपालबाट ‘डबल ए माइनस (AA-)’ क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनी बनेको दाबी गरेको छ । हाल कम्पनीका ७७ वटै जिल्लामा १९७ कार्यालय र ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जाल रहेको छ ।

नेपाल लाइफले आगामी दिनमा पनि ‘विश्वास, पारदर्शिता र उत्कृष्ट सेवा’लाई प्राथमिकतामा राख्दै नागरिकको आर्थिक सुरक्षा र समृद्ध भविष्य निर्माणमा योगदान दिने प्रतिबद्धता जनाएको छ ।

Share News