काठमाडौं । मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ८८ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८८.५१ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड ६० लाख रुपैयाँ बढी हो। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीका अनुसार प्रमुख आयोजनाहरूको समयमै कार्यान्वयन र निर्माण कार्यको विस्तारले आम्दानीमा उल्लेखनीय वृद्धि भएको हो ।
यद्यपि, निर्माण सामग्री तथा सञ्चालन लागत बढेकाले सञ्चालन नाफा मार्जिन भने २३.२४ प्रतिशतबाट घटेर १४.७७ प्रतिशतमा झरेको छ । कारोबार विस्तारसँगै कम्पनीको नगद आम्दानी (ग्रस क्यास एक्रुअल) पनि बढेको छ । अघिल्लो वर्ष १७ करोड ५० लाख रुपैयाँ रहेको नगद आम्दानी गत वर्ष २५ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
मोतिदान कन्स्ट्रक्सनले पछिल्ला वर्षहरूमा निरन्तर उच्च कारोबार गर्दै आएको छ । कम्पनीका अनुसार आव २०७९/८० मा २ अर्ब २८ करोड रुपैयाँ, आव २०७८/७९ मा २ अर्ब ७० करोड ९० लाख रुपैयाँ, आव २०७७/७८ मा ३ अर्ब १२ करोड ३० लाख रुपैयाँ, आव २०७६/७७ मा १ अर्ब २८ करोड १० लाख रुपैयाँ, आव २०७५/७६ मा २ अर्ब २७ करोड १० लाख रुपैयाँ, आव २०७४/७५ मा ६१ करोड ७० लाख रुपैयाँ, आज २०७३/७४ मा ५१ करोड ३० लाख रुपैयाँ र आव २०७२/७३ मा २२ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको अधिकांश आम्दानी सरकारी निकायसँग भएका निर्माण सम्झौताबाट आउने गरेको छ । विशेषगरी खानेपानी, सडक, पुल तथा अन्य पूर्वाधार आयोजनामा कम्पनीको उल्लेखनीय उपस्थिति रहेको जनाएको छ ।
हाल कम्पनीसँग कार्यान्वयन हुन बाँकी परियोजनाको कुल मूल्य १९ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी रहेको छ । यो रकम गत वर्षको आम्दानीको करिब पाँच गुणा बराबर हो । कम्पनीका अनुसार यसले आगामी चारदेखि पाँच वर्षसम्मका लागि स्पष्ट आम्दानी सुनिश्चित गरेको छ । त्यसैगरी, कम्पनीले पछिल्ला दुई वर्षमा करिब २० अर्ब ९५ करोड रुपैयाँ बराबरका तीन ठूला आयोजना हात पारेको छ । ती आयोजनाको समयमै सम्पन्नता कम्पनीको भावी आम्दानी र नाफासँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
नेपाल सरकारबाट मान्यता प्राप्त ‘क्लास ए’ निर्माण कम्पनी मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिको स्थापना सन् २००९ मा भएको हो । काठमाडौंमा मुख्य कार्यालय रहेको कम्पनीको नेतृत्व प्रबन्ध निर्देशक रामबहादुर गौतमले गर्दै आएका छन् । कम्पनीले देशभर सडक, पुल, भवन, सिंचाइ, खानेपानी तथा खानी उत्खननलगायतका पूर्वाधार निर्माण कार्य गर्दै आएको छ । आफ्नै क्षमतामा आयोजना सञ्चालन गर्नुका साथै आवश्यकताअनुसार अन्य निर्माण कम्पनीसँग संयुक्त उपक्रम (जेभी) मार्फत पनि परियोजना कार्यान्वयन गर्दै आएको छ ।
यद्यपि, कम्पनीले निर्माण क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, सरकारी बजेट खर्चमा हुने ढिलाइ, आयोजना स्वीकृति प्रक्रियाको जटिलता तथा ब्याजदरको उतारचढावजस्ता चुनौतीको सामना गर्नुपरेको जनाएको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब १८ अर्ब रुपैयाँ ऋण लिएको छ । जसमा २ अर्ब ६ करोड ७२ लाख रुपैयाँ दीर्घकालीन, ३ अर्ब ५७ करोड ३ लाख रुपैयाँ अल्पकालीन तथा १२ अर्ब ३६ करोड २४ लाख रुपैयाँ मिश्रित प्रकृतिको ऋण रहेको छ । कम्पनीले उपयोग गर्ने अधिकांश बैंक ऋण परिवर्तनीय ब्याजदरमा आधारित छन् । बैंक तथा वित्तीय संस्थाहरूको आधार दर अनुसार ब्याजदर मासिक रूपमा परिवर्तन हुने भएकाले कम्पनी ब्याजदरको उतारचढावबाट प्रभावित हुने सम्भावना रहन्छ । यदि ब्याजदर अपेक्षाभन्दा उच्च रह्यो भने कम्पनीको नाफा र तरलता अवस्थामा दबाब पर्न सक्छ । तर पछिल्लो समय बैंकहरूको आधार दर घट्दो क्रममा रहेकाले निकट भविष्यमा ब्याज खर्चमा केही राहत मिल्ने अपेक्षा कम्पनीको छ ।
नेपालको निर्माण क्षेत्रले कुल गार्हस्थ्य उत्पादन मा करिब ७ देखि ८ प्रतिशत योगदान पु¥याउँदै आएको छ । तीव्र शहरीकरण, पूर्वाधार विस्तार तथा सरकारी र निजी क्षेत्रको बढ्दो लगानीले निर्माण उद्योगलाई थप गतिशील बनाइरहेको छ । यद्यपि, दक्ष जनशक्तिको अभाव, आयातित निर्माण सामग्रीमा निर्भरता, नियामकीय अस्थिरता तथा ठेकेदारले भुक्तानी पाउन हुने ढिलाइजस्ता समस्या अझै कायम छन् । त्यसका बावजुद पूर्वाधार विकासमा सरकारको प्राथमिकता, सार्वजनिक–निजी साझेदारी को विस्तार र आधुनिक निर्माण प्रविधिको प्रयोगले निर्माण क्षेत्रको दीर्घकालीन सम्भावना सकारात्मक रहेको कम्पनीले जनाएको छ ।