महिला उद्यमीलाई सार्वजनिक प्रस्तुतीकरण सीप तालिम, २५ जनाको सहभागिता

काठमाडौं । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिको आयोजनामा तथा विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालन गरिएको तीन दिने ‘प्रभावकारी सार्वजनिक प्रस्तुतीकरण तथा कार्यक्रम सञ्चालन सीप विकास तालिम’ सफलतापूर्वक सम्पन्न भएको छ ।

महिला उद्यमीहरूको नेतृत्व क्षमता, सार्वजनिक प्रस्तुतीकरण, बोल्ने कला तथा कार्यक्रम सञ्चालन सम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित तालिममा मोरङ जिल्लाका २५ जना महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।

जेठ २९, ३० र ३१ गते सञ्चालन गरिएको तालिममा प्रभावकारी प्रस्तुतीकरण, वक्तृत्वकला, सञ्चार सीप, आत्मविश्वास अभिवृद्धि, कार्यक्रम सञ्चालनका विधि तथा व्यवहारिक अभ्यासजस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

उद्घाटन समारोहमा महिला उद्यम समितिकी सह–संयोजक साधना झाको सभापतित्व तथा संघका उपाध्यक्ष अनिल सारडाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सारडाले महिला उद्यमीहरूलाई व्यवसायसँगै आफ्नो विचार र उत्पादन प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने क्षमता आजको आवश्यकता भएको उल्लेख गरे ।

तालिमको सहजीकरण ए वान मिडिया प्रालिका सञ्चारकर्मी तथा प्रशिक्षक भागिरथ कुमार पोखरेलले गरेका थिए । प्रशिक्षणका क्रममा सहभागीहरूलाई आत्मविश्वासका साथ बोल्ने तरिका, बडी ल्याङ्ग्वेज, आवाजको प्रयोग, प्रस्तुतीकरण कला तथा प्रभावकारी संवादजस्ता व्यावहारिक अभ्यास गराइएको थियो ।

समापन समारोहमा संघका अध्यक्ष अनुपम राठीले तालिमबाट प्राप्त सीपले महिला उद्यमीहरूको व्यवसायिक तथा व्यक्तिगत जीवनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त ग रे। उनले आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

महासचिव संजय कुमार श्रेष्ठले तालिमले महिला उद्यमीहरूलाई व्यवसायिक तथा सामाजिक क्षेत्रमा अझ सक्रिय बनाउन मद्दत गर्ने बताए ।

सह–संयोजक साधना झाले यस्ता सीप विकास तालिम महिला उद्यमीहरूको सशक्तीकरणका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद व्यक्त गरिन् ।

सहभागीहरूले तालिमपछि सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास, कार्यक्रम सञ्चालन सीप तथा व्यवसाय प्रवद्र्धनका लागि आवश्यक प्रस्तुतीकरण कला विकास भएको प्रतिक्रिया दिएका छन् ।

Share News