हर्नेसिङ इन्मेष्टमेन्ट अपरचुनिटिज इन नेपाल नाराका साथ फागुन १९ र २० मा अनतराष्ट्रिय लगानी सम्मेलन हुदै
काठमाडौं, २४ मंसिर । काठमाडौँमा फागुन १९ र २० गते अन्तराष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपाल उपयुक्त गन्तव्य हो भन्ने विश्वास दिलाउन लगानी सम्मेलन हुन लागेको हो । सम्मेलनको नारा हर्नेसिङ इन्मेष्टमेन्ट अपरचुनिटिज इन नेपाल रहने उद्योग मन्त्रालयले जनाएको छ । सम्मेलन निर्देशक समितिका अध्यक्ष तथा उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा शुत्रबार बसेको बैठकले काठमाडौंमा मुलुकका विभिन्न क्षेत्र गर्न सकिने लगानीका अवसर र सम्भावनाका विषयमा दुई दिने लगानी सम्मेलन गर्ने निर्णय गरिएको हो । मन्त्री जोशीले राजनीतिक प्रतिवद्धतासहित प्रशासनिक तथा कानुनी संरचनाका बारेमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई विश्वास दिलाउनका लागि सम्मेलनको तयारी गरिएको बताए । मुलुकमा दीर्घकालिन आर्थिक समृद्धि र त्यसका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक भएको बताउँदै उनले सम्मेलनमार्फत अन्तर्राष्ट्रिय समुदायलाई लगानीको सुरक्षा हुन्छ भन्ने सन्देश दिन खोजिएको बताउए । उद्योगमन्त्री जोशीले भने, “लगानी सम्मेलनमा सबै राजनीतिक दलका नेताले अन्तर्राष्ट्रिय समुदायलाई लगानी सुरक्षामा प्रतिवद्धता जनाउनेछन्, त्यसले अन्तर्राष्ट्रिय समुदायमा विश्वासको वातावरण बन्छ ।” उनले सन् २०३० सम्म नेपालको आर्थिक अवस्थाको मोडालिटी तयार हुने र सम्मेलन अगाडि वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनी संरचना तयार गरिसकिने मन्त्री जोशीले स्पष्ट पारे । सम्मेलनमा ऊर्जा तथा पूर्वाधार, सूचना तथा सञ्चार प्रविधि, पर्यटन, वित्तिय क्षेत्र, खानी तथा खनीज र कृषि प्रशोधन तथा उद्योगका क्षेत्रमा छलफल गरिने छ । उक्त सम्मेलनमा नेपालमा लगानी गर्दै आएका उन्तर्राष्ट्रिय कम्पनी तथा विश्वका स्थापित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई निम्ता गरिदैछ । सम्मेलनमा ३०० जना अन्तर्राष्ट्रिय लगानीकर्ताको सहमाभागी रहने सरकारले अपेक्षा गरेकोे छ ।
‘जतिवटा उद्योग चलायो, दैनिक त्यतिथरी औषधि खानुपर्छ’ उद्यमी प्रबलजंग पाण्डे भन्छन्–‘तरपनि म हरेक वर्ष नयाँ उद्योग खोल्छु’
काठमाडौं, २३ मंसिर । ‘एउटा नयाँ उद्योग खोल्नु भनेको बल्ड प्रेसरको अर्को एउटा औषधि थप्नु हो । मैले अहिले ३ वटा उद्योग हेर्छु र मैले दैनिक ४ प्रकारका औषधि खान्छु । अब मैले नयाँ उद्योग खोले भने ५ प्रकारका औषधि खानुपर्ने हुन्छ’ युवा उद्यमी प्रवलजंग पाण्डे भन्छन्–‘नयाँ उद्योग खोल्नु भनेको अर्को तनाव लिनु हो । तरपनि म नयाँ उद्योग खोल्छु । यो मेरो अठौट हो । आज सरकारले बुझेको छैन, तर कुनै दिन सरकारले बुझ्ने छ ।’ प्रबलजंग पाण्डे हरेक वर्ष एउटा उद्योग खोल्दै जाने उदेश्य आफूले लिएको बताए । ‘सानो होस वा ठूलो, प्रत्यक वर्ष एउटा उद्योग खोल्छु’ उनले आफ्नो अठोट सुनाए । उनी र उनका परिवारले औषधि, सिमेन्ट, जलविद्युत् क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । साथै, बैकिङ, बीमा र सूचनाप्रविधि जस्ता सेवा मुलक क्षेत्रमा पनि लगानी विस्तार गर्दै आएको छ । आफूले लगानी गरेको सबै कम्पनीहरुको पर्फमेन्स राम्रो रहेको बताए । ‘हामीले लगानी गरेको जुनसुकै बिजनेश वार्षिक १५÷२० प्रतिशत वृद्धि भईरहेको छ । उद्योग होस्, बैकिङ होस् वा बीमा’ पाण्डे भन्छन्–‘हामीले औषधिको उत्पादनमा हरेक वर्ष २५ प्रतिशतले वृद्धि गर्दै आएका छौं । पहिला जनकपुरमा मात्र सिमेन्ट उद्योग थियो, अहिले विराटनगरमा पनि सिमेन्ट उद्योग लगाएका छौं । जनकपुरमा पहिला ४०० मेट्रिकटन उत्पादन हुन्थ्यो, अहिले उत्पादन क्षमता वृद्धि गरेर ८०० मेट्रिकटन पुर्याएका छौं । एकमहिना भित्र क्लिङकर उद्योग सञ्चालन गर्दैछौं ।’ ‘हामीले उत्पादन गरेको औषधि विश्व बजारमा प्रतिस्पर्धा गरिरहेको छ । हामी ८ भन्दा बढी देशमा औषधि निर्यात गर्दै आएका छौं’ पाण्डेले भने–‘हामी संलग्न भएको शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा सबैभन्दा अगाडि छ, बैंकले पनि राम्रो गरिरहेको छ ।’ व्यवसायको लागि उद्योग भन्दा सेवाको क्षेत्र सजिलो भएको उनले बताए । ‘सेवा क्षेत्रमा प्रतिस्पर्धा स्वदेशमा मात्र हुन्छ । उद्योगले विश्व बजारसँग प्रतिस्पर्धा गर्नुपर्छ । त्यसैले उद्योग चलाउन गाह्रो छ’ उनले भने । उद्योग चलाउँदा धेरै समस्याहरुसँग जुध्नु पर्ने उनले बताए । उत्पादन लागत बढी हुनु सबैभन्दा ठूलो समस्या भएको उनले बताए । बजार सानो भएकोले ठूलो परिमाणमा उत्पादन गर्न नसक्नु, उद्योमा विद्युत आपूर्ति नियमित नहुनु, अधिकांश नेपाली उद्योग विदेशी कच्चा पदार्थमा आधारित हुनु र कच्चा पदार्थ नै महँगो पर्नु, ढुवानी तथा यातायातको लागत बढी हुनु, नीतिगत अस्तिरता हुनु, जग्गा व्यापारीलाई भन्दा उद्योगीलाई आयकर दोब्बर हुनु मुख्य समस्या भएको बताए । उद्यमीलाई इज्जत नदिने संस्कारले व्यवसायीहरुको मनोबल गिरेको उनले बताए । ‘नेता, प्रशासकहरु नै उद्योगी व्यवसायीलाई चोर, ठग भनेर गाली गर्छन’ युवा उद्यमी पाण्डे भन्छन् ‘जतिसुकै दुःख भएपनि हामी उद्योग बन्द गर्दैनौ । हामी जस्ता धेरै उद्यमी, जो निरन्तर उद्योगमा लागेका छन्, उनीहरु नै यो देशका सच्चा देशभक्त र देश निर्माता हुन् ।’ ‘जुनदिन औषधिको एउटा केसमा मलाई प्रहरीले एक दिन समातेर लग्यो र भोलि पल्ट छोडिदियो । त्यहि वेला मैले भनेको थिए, नेपालमा उद्योगमा लगानी गर्नु भनेको पाप गर्नु हो । अहिलेसम्म मेरो बुझाई त्यहि हो कि उद्योगमा लगानी गर्नु पाप गर्नु नै हो’ उनले निरासा व्यक्त गरे । उनीसँग गरिएको ‘विकास वहस’ विकास मिडियाको प्रिन्ट संस्करण देशविकास पत्रिका र डिजिटल संस्करण विकासन्युज डटकममा अागामी आईतबार प्रकाशित हुनेछ ।
नयाँ रोजगारी सृजना गर्नु मूलुकको प्रमुख प्राथमिकता- उद्योग मन्त्री नवीन्द्रराज जोशी
काठमाडौं, २० मंसिर । उद्योग मन्त्री नवीन्द्रराज जोशीले नयाँ रोजगारी सृजना गर्नु अहिले मूलुकको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । उद्योग मन्त्रालय अन्तरगतको उद्यमशीलता विकास कार्यक्रममा सघाई रहेका नेपाल स्थित राष्ट्रिय एवं अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाका प्रतिनिधिहरु सँगको सोमबार उद्योग मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री जोशीले थप रोजगारी सृजनाका लागि साम्हिक प्रयास फलदायी हुने भएकाले छलफल कार्यक्रमको आयोजना गरिएको बताएका छन् । नेपालको गरिबी निवारण र रोजगारी सृजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाहरुको महत्वपूर्ण योगदान रहेको भन्दै मन्त्री जोशीले मूलुकका लागि महत्वपूर्ण युवा जनशक्तिलाई रोजगारीको खोजिमा विदेश जानुपर्ने वाध्यताको अन्त्य गर्न आवश्यक रहेको बताए । उद्यमशीलता विकासलाई प्रोत्साहित गर्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको भन्दै उनले उद्योग मन्त्रालयले प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक मोटिभेटर केन्द्र स्थापना गर्न लागिएको बताए । सो अवसरमा उद्योग राज्यमन्त्री कञ्चनबादे श्रेष्ठले स्थानिय श्रोत साधनमा आधारित लघु उद्योगहरुलाई प्रवद्र्धन गर्दै जान जरुरी रहेको बताएका छन् । उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाले संचालित कार्यक्रमहरुलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्धेश्यले छलफल कार्यक्रमको आयोजना गरिएको बताएका छन् । कार्यक्रममा मन्त्रालयका सहसचिव याम कुमारी खतिवडाले गरिबी निवारणका लघु उद्यम विकास कार्यक्रम प्रभावकारी देखिएको जानकारी गराएका छन् । कार्यक्रममा सहभागी राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाका प्रतिनिधिहरुले वर्तमानमा संचालित सीपमूलक तालिमलाई स्थानिय आवश्यकता अनुरुप परिमार्जन गर्न आवश्यक देखिएको जनाए । लघु उद्यमीको उत्पादन विक्री गर्न मूल्य अभिवृद्धि कर (भ्याट) विल नचाहिने व्यवस्था गर्न उपयुक्त रहेको उनीहरुको सुझाव रहेको थियो । कार्यक्रमबीच समन्वय नहुँदा कार्यक्रमहरु प्रभावकारी हुन नसकेको भन्दै उनीहरुले जिल्ला जिल्लामा गैह्र सरकारी संस्थाहरु मार्फत परिचालित हुने सानो सानो पूँजीलाई एकिकृत गरी बास्केट फण्ड बनाएर परिचालन गर्न सके त्यसले प्रभावकारी परिणाम निकाल्ने बताएका छन् ।