कार्गो प्रबन्ध शुल्क बृद्धिमा निजी क्षेत्रको आपत्ति, शुल्क घटाउन माग
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रहि नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीबाट सञ्चालित एअर कार्गो बिल्डीङबाट कार्गो प्रवन्ध शुल्क बृद्धि गरिएको छ । उक्त शुल्क वृद्धिप्रति निजी क्षेत्रको गम्भीर आपत्ति भएको बताएको छ । नेपाल चेम्बर अफ कमर्शले आपत्ति जनाउदै वृद्धि भएको शुल्क अबिलम्व फिर्ता लिन कम्पनीसँग माग गरेको छ । निजी क्षेत्रले दिएको सुझाव प्रतिवेदनलाई समेटी समय सापेक्ष सुधार गर्न सरोकारवाला सवैलाई चेम्बरको आग्रह छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले बिहीबारदेखि लागु हुने गरी आयात निर्यात गरिने मालसामानहरुको कार्गो प्रवन्ध शुल्क बृद्धि गरिएको सूचनाप्रति चेम्वरकोे गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । पहिलेनै सरोकारवाला सवै निकायहरुको छलफल गरी कार्गो सम्बन्धि निजी क्षेत्रको सुझाव तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री समक्ष पेश गरेको चेम्बरले बताएको छ । निजी क्षेत्रको कुनै पनि प्रतिनिधिमूलक संस्थासँग परामर्श तथा समन्वय नगरी एकतर्फी ढंगले शुल्क वृद्धि गरेको आरोप लगाइएको छ । प्रस्तुत शुल्क वृद्धिले निर्यात व्यापार घटिरहेको अवस्थामा निकासी हुने वस्तुमा लागत वृद्धि हुन गइ अन्तर्राष्ट्रिय बजारमा नेपाली मालवस्तुको प्रतिस्पद्र्धात्मक क्षमतामा ह्रास हुने चेम्बरको बुझाइ छ ।
ललितपुरमा शुरु भयो अन्तर्राष्ट्रिय व्यापार मेला
काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको ५० औं स्थापना दिवस तथा स्वर्ण जयन्तीको अवसरमा पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा पाँच दिने ललित अन्तर्राष्ट्रिय व्यापार मेला २०७४ शुरु भएको छ । मेला बुधबारदेखि सुरु भएको हो । मेलाको एक समारोहकाबीच प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका थिए । सो अवसरमा उनले प्रदेशको आर्थिक विकास गर्न लगानी मैत्री वातारण बनाउने, निर्यात बढाउने र औद्योगिक र भूउपयोग नीति कडाईसाथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकार र निजी क्षेत्रको सहकार्यलाई अघि बढाउने उनको जोड छ । संघकाले सरकार एवं निजी क्षेत्रको संयुक्त पहलमा समग्र जिल्लालाई नै हस्तकला क्षेत्रको रुपमा घोषणा गर्नुपर्नेमा जोड दिएको छ । हस्तकलाको प्रवद्र्धन गरी ललितपुर नमूना हस्तकला ग्राम निर्माण गर्नु पर्ने, जसको माध्यमबाट ललितपुर जिल्लालाई पर्यटन प्रवद्र्धनको रुपमा विस्तार गर्न सकिने संघको भनाइ छ । मेलामा पाकिस्तान, बंगलादेश, भारत लगायतको २२ र स्वेदशी ५८ गरी ८० वटा स्टलहरु राखिएको आयोजकको भनाइ छ ।
पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी चितवनमा, चैत २३ देखि शुरु
काठमाडाै । भरतपुर महानगरपालिका स्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा चैत २३ देखि २७ गतेसम्म पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ हुने भएको छ । उक्त प्रदर्शनी नेपाल उद्योग परिसंघको संस्थागत सदस्य संस्था चितवनले आयोजना गर्ने भएको हाे । परिसंघको अध्यक्ष हरिभक्त शर्माले प्रदर्शनीमा विभिन्न उद्योगबाट उत्पादित सामानहरुलाई प्रदर्शन हुनको साथै क्रेतासँगको प्रत्यक्ष भेटघाट, छलफल र अन्तरक्रिया हुने बताएका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त औद्योगिक प्रदर्शनी बारे उनले जानकारी दिएका थिए । ‘दीगो आर्थिक विकासको लागि औद्योगिक प्रवद्र्धन’ नारासहित सञ्चालन हुन लागेको सो प्रदर्शनी बारे प्रकास पार्दै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले औद्योगिक क्षेत्रको द्रुततर विकासबाट मात्र देश आर्थिक रुपमा समुन्नत हुने बताए । प्रदर्शनी स्थानीय उद्योग र उत्पादनको प्रवद्र्धन गर्दै भरतपुर क्षेत्रलाई औद्योगिक नगरीको रुपमा विकास गर्ने लक्ष्य लिएर गर्न लागिएको उनको भनाइ थियो । आयोजकका अनुसार प्रदर्शनीमा कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि, हस्तकला, मुर्तिकला लगायत वस्तुहरुको स्टल रहनेछन् । २५० भन्दा बढी स्टलहरु रहने सो प्रदर्शनीमा लाखौ दर्शकहरुले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको लिएकाे छ ।