सिद्धार्थ सिमेन्टकाे बिक्रेता भेला सम्पन्न, १२५ जना भन्दा बढी सहभागी
काठमाडौं । सिद्धार्थ सिमेन्टले हालै चितवनमा बिक्रेता भेलाको आयोजना गरि सम्पन्न गरेको छ । उक्त कार्यक्रमलाई सम्बोन्धन गर्दै कम्पनीका प्रवन्ध निर्देशक रोहित अग्रवालले सिमेन्ट उत्पादन प्रविधि र योसंग जोडिएको चुनौती बारे जानकारी दिएका छन् । त्यसैगरि कम्पनीका क्षेत्रीय बजार व्यवस्थापक सुमन पौडेल एव नेशनल सेल्स म्यानेजर बिकासकुमार झाले छुट्टाछुटै रुपमा सिन्द्धार्थ सिमेन्टका बारे आ-आफ्नो मन्तव्य राखेका छन् । यस भेलामा चितवन, नवलपरासी र मकवानपुरका १२५ जना भन्दा वढी बिक्रेताहरुको सहभागी थिए । भेला चितवनको एक रिसोर्टमा आयोजना गरिएको थियो । सिद्धार्थ सिमेन्टले यस भेला मार्फत आफ्नो बिक्रेताहरुसंगको सम्बन्धलाई अझै बढी व्यवसायिक एवं सदृढ बनाउन सफल भएको छ ।
जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा साढे ४ करोडको कारोबार
काठमाडौं । राजधानीमा चलिरहेको नेपालको १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा शनिबारसम्म साढे ४ करोड रुपियाँ बराबरको कारोबार भएको छ । साथै ७० हजारले अवलोकनकर्ताले अवलोकन गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा मेला शुरु भएको हो । मेलाकाे पहिलो दिन २० हजारले अवलोकन गरेको तथा ५० लाखको कारोबार भएको आयोजकले जनाएको छ । त्यस्तै शनिबार ५० हजारले अवलोकन गरेको र ४ करोड रुपियाँको कारोबार भएको आयोजकको भनाइ छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यले सञ्चालित मेला मङ्गलबारसम्म चल्ने बताइएको छ । मेलामा ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरूका साथै भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागता रहेको छ । २५० वटा स्टल रहेको मेलामा २ लाखभन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने र ७ करोडभन्दा बढीको प्रत्यक्ष र १० करोड बराबरको अप्रत्यक्ष कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।
मन्त्री यादवले भने- नचलाइएका उद्योग राष्ट्रियकरण र चलिरहेकालाई सहयोग गर्छौ
चितवन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका नचलाइएका उद्योग राष्ट्रियकरण गरिने बताएका छन् । चितवनमा शनिबार आयोजित एक पत्रकार सम्मेलनमा उनले चलिरहेका उद्योगलाई भने सरकारले सहयोग गर्ने बताए । मन्त्री यादवले भने, “जतिपनि उद्योगधन्दा निजी क्षेत्रलाई दिइएको छ, तिनीहरुको रिपोट तयार गर्दैछौं । जतिले चलाएको छ उनीहरुलाई सहयोग गर्छौ जसले चलाएको छैन तिनीहरुको बारेमा ठोस् निर्णय गर्छौ त्यो राष्ट्रियकरण हो ।” सरकारले निजीकरण गरेका कतिपय उद्योग चलाउन भन्दा पनि व्यापार भइरहेको भन्दै उनले साइनबोड झुड्याउने, त्यसको नाममा व्यापार गर्ने बताएका छन् । विगतमा राष्ट्रिय उद्योग धन्दा बेचेर खाने प्रचलन बढेको भन्दै उनले भने, “त्यसलाई विकास गर्ने, चलाउने भन्दा पनि बेचेर खाने गरियो, नेतालाई पनि कमिसन आउँछ मिहेनत नै गर्नुपर्दैन, बेचेपछि कमिसन आइहाल्छ ।” खुल्ला बजार र निजीकरण, उदारीकरणको गलत प्रयोग भएको भन्दै मन्त्री यादवले धरातलमा टेकेर प्रयोग नभएको विचार व्यक्त गरेका छन् । उनले सरकारी धन देखेपछि जस्ले पनि लुट्न खोज्ने भन्दै अलिकति खाइहालौँ भन्ने मानसिकता हामी सबैमा भएकाले उद्योग फस्टाउन नसकेको बताएका छन्। मन्त्री यादवले सरकारले केही नयाँ उद्योग शुरु गर्ने भन्दै त्यसमा आम जनता र विदेशीको पनि लगानी हुनसक्ने बताएका छन् । निकट भविष्यमै फलामको उद्योग शुरु गर्ने भन्दै उनले अन्य उद्योग क्रमश थप्दै लगिने बताए । साथै, उनले जनताको जनादेश पार्टी एकता भएकाले नेकपा एमाले र माओवादी बीचको एकता आवश्यक रहेको बताएका छन् ।