मजदूरकाे आत्महत्यापछि मारुती सिमेन्ट उद्योग बन्द, आन्दोलन जारी

लहान । उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुति सिमेन्ट उद्योग बन्द गराइएको छ । मारुति सिमेन्ट उद्योग व्यवस्थापनले कामबाट हटाएपछि गोलबजार नगरपालिका–९ निवासी अनिता पासवानले हिजो आत्महत्या गरेकी थिइन् । अखिल नेपाल कारखाना मजदूर सङ्घका सदस्यसमेत रहेकी पासवानले उद्योग नजिकै आत्महत्या गरेको थाहा पाएपछि भेला भएका मजदूरले कामकाज बहिष्कार गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए । घटनाको २४ घण्टा बित्न लाग्दासमेत उद्योग व्यवस्थापनले समस्या समाधानमा चासो नदेखाएको भन्दै आन्दोलनरत मजदूरले आज बिहानैदेखि उद्योग बन्द गराएका हुन् । मजदूरहरूले सिमेन्ट उद्योगमा कार्यरत पासवानलाई कामबाट हटाएकाले आत्महत्या गरेकाले कामबाट निकाल्नेलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएका छन् । आज दिउँसो दुवै पक्ष बसेर वार्तामार्फत समस्या समाधान गर्न उद्योग व्यवस्थापन पक्ष तयार भएपछि मृतकको शव परीक्षणका लागि अनुमति दिइएको अखिल नेपाल मजदूर सङ्गठन प्रदेश नं २ का सचिव केदार देवले जानकारी दिए । “मारुति सिमेन्ट व्यवस्थापन पक्ष समस्या समाधानका लागि लचिलो बनेकाले शव परीक्षणका लागि अस्पताल लैजान दिएका छौँ”, सचिव देवले भने, “तर माग पूरा नभएसम्म न त उद्योग सञ्चालन गर्न दिन्छौँ, न त आन्दोलन नै रोकिन्छ ।” मजदूरको आन्दोलनका कारण अवरुद्ध राजमार्ग प्रहरीले खुलाए पनि मजदूरले मृतक पासवानको शव उद्योग परिसरमै राखेर प्रदर्शन गर्न थालेपछि उद्योग क्षेत्र तनावग्रस्त बनेको थियो । रासस

१२ वर्षमा उत्कृष्ट बन्यो डिभाइन वाइन, अब निर्यात गर्ने तयारीमा

काठमाडौं । विगत १२ वर्षको मिहेनतले नेपालको उत्कृष्ट उत्पादन बन्न सफल डिभाइन वाईन अब विदेशमा पनि निर्यातको हुने भएको छ । कम्पनीले रेड वाईन, ह्वाइट वाईन, स्वीट वाइन, ड्राइ वाईन उत्पादन गरी नेपालभर बिक्री वितरण गर्दै आएको छ । विश्वको उत्कृष्ट प्रविधि प्रयोग गरी नेपाली अंगुरबाट बनेको वाइन नेपालमा लोकप्रिय भएको र अब विदेशमा पनि निर्यात गर्ने तयारीमा रहेको डिभाइन वाइनको उत्पादक कम्पनी माईकाली वाईन प्रालिका प्रबन्ध निर्देशक सन्तोष खड्काले बताए । ‘हामी वाइन उत्पादनको कार्यमा जुटेको १२ वर्ष भयो । उत्पादन तयारी गरी बजारमा बिक्री वितरण गर्न लागेको पनि १० वर्ष भयो । नेपाली ग्राहकको पहिलो रोजाईमा डिभाइन वाइन भएको छ । अब हामी निर्यातको तयारीमा जुटेका छौं’ खड्काले भने । कम्पनीको अध्यक्ष कृष्मत अधिकारीका अनुसार कम्पनीले धादिङ जिल्लामा ४० रोपनी जग्गामा रातो र सेतो दुबै प्रकारको अंगुर फलाउदै आएको छ । नेपालमा उच्च गुणस्तरको अंकुर फलेको र नेपाली वाइनबाट बनेको वाइन निकै स्वादिलो भएको वाइनका विज्ञ र पारखीहरुले बताउने गरेको उनको भनाई छ । डिभाइन वाइन उत्पादन गर्दा अधिक मात्रमा नेपाली कच्च पदार्थको प्रयोग भएको र वाहिरबाट आयात गरिएको कच्चा पदार्थ नगन्य मात्रामा प्रयोग भएको उनले बताए । कम्पनीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा १५० जना भन्दा बढीलाई रोजगारी दिएको, विदेशी वाइन आयात विस्तापित गर्न सहयोग पुर्याएको कम्पनीले जनाएको छ ।

ग्रील तथा स्टील व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार  सुनसरीमा भएको उक्त कार्यक्रमको उद्घाटन प्रदेश सभासद श्रीले गरेका हुन् । उनले ग्रील तथा स्टील उद्योगमैत्री नीति नियम बनाउन सहयोग गर्ने र सबैलाइ व्यवस्थित उद्योग सञ्चालन गर्न आग्रह गरेका छन् । कार्यक्रमका विशिष्ट अतिथि ग्रील तथा स्टील ब्यवसायी महासघका अध्यक्ष मोहन कटुवालले अधिकांश ग्रील उद्योगीहरु कानुनी दायरामा आउन नसक्दा व्यवसाय व्यवस्थित हुन नसकेको बताएका छन् । सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा जान नसकेको र दर्ता भएका उद्योगहरु र त्यसमा संलग्न अधिकांश श्रमिकहरुले सामाजिक सुरक्षा कोषको बारेमा जानकारी नहुँदा कोषमा सहभागिता गराउन नसकिएको समेत जानकारी गराए । यस्तै, सचेतना कार्यक्रमलाई व्यापक रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउँदै सबै ग्रील तथा स्टील व्यवसायीहरुले आफ्ना श्रमिकहरुलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी जानकारी गराइ काम गर्दा सुरक्षाका उपकरणहरु पन्जा, चस्मा, हेलमेट, सेफ्टी बेल्ट जुत्ताको अनिवार्य प्रयोग गराउन आग्रह गरेका थिए। कार्यक्रमका सभापति सुनसरी जिल्लाका अध्यक्ष बज्र सुब्बाले सरकारले ग्रील तथा स्टील उद्योगलाई सहज किसिमले दर्ता गर्ने र अबैध उद्योगलाई कानुनी दायरामा ल्याउने काममा सक्रियता देखाउनु पर्ने बताएका छन् । साथै, ग्रील उद्योगमा दक्ष जनशक्ति उत्पादनमा जोड दिन सरकारसँग आग्रह समेत गरेका थिए । उक्त साधारण सभाले सोभितमान कटुवालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।