घरेलु तथा साना उद्योग स्थापनामा तीव्र वृद्धि, सबैभन्दा धेरै पर्यटन उद्योग
परासी । पश्चिम नवलपरासीमा घरेलु तथा साना उद्योग स्थापनामा तीव्र वृद्धि भएकाे छ । घरेलु तथा साना उद्योग कार्यालयमा चालू आव २०७६/७७ को पहिलो चौमासिक अर्थात् साउनदेखि कात्तिकसम्ममै ६७३ उद्योग दर्ता भएका हुन् । कार्यालयका अनुसार सबैभन्दा धेरै पर्यटन उद्योग दर्ता भएका छन् । त्यसपछि सेवामूलक र कृषि तथा वन पैदावरमा आधारित उद्योगहरुको सङ्ख्या धेरै छ । कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चार महिनाको अवधिमा दर्ता हुनेमा २७४ पर्यटन तथा सेवामूलक १७७ उद्योग छन् । १५३ कृषि तथा वन पैदावरमा आधारित र ६९ उद्योग उत्पादनमूलक दर्ता भएको कार्यालयले जनाएको छ । यस अवधिमा वाणिज्य पसल पनि ९६१ वटा दर्ता भएका छन् । उद्योग र वाणिज्य फर्मको दर्ताबाट कार्यालयले चार महिनामै रु ७७ लाख ८० हजार २सय ५ राजश्व पनि सङ्कलन गर्न सफल भएको जनाएको छ । पछिल्लो समय जिल्लामा उद्योग स्थापना तीव्र रुपमा भइरहेको उल्लेख गर्दै कार्यालय प्रमुख भुसालले भन, “विगतका वर्षहरुभन्दा पनि अहिले उद्योग दर्ता हुने क्रम बढेको छ, विगतमा नवलपरासी जिल्ला सिङ्गो हुँदा पनि यो अवधिमा यति धेरै मात्रामा उद्योग दर्ता भएका थिएनन् ।” नेपाल सरकारले उद्योग स्थापनाका लागि विभिन्न किसिमका सहुलियत दिनुका साथै वैदेशिक रोजगारीबाट फर्केकाहरुको रोजाइमा पनि घरेलु उद्योग पर्न थालेपछि उद्योग दर्ता ह्वात्तै बढेको उनको भनाइ छ । “उद्योग दर्ता र नवीकरणका लागि प्रदेश ५ सरकारले दस्तुर पनि घटाई दिएपछि उद्योगीलाई राहत भएको छ । निजी फर्म दर्ताका लागि महिला, अपाङ्गता भएका व्यक्ति र दलित समुदायका व्यक्तिलाई दस्तुरमा ५० प्रतिशत छुटको व्यवस्था छ, नवीकरणमा पनि दर्ता गर्दा लागेको दस्तुरको २० प्रतिशत मात्रै लाग्छ”, भुसालले भने । उद्योग दर्ता गर्दा पूँजीका आधारमा निजी फर्मका लागि रु एक हजारदेखि २५ हजारसम्म र साझेदारी फर्म दर्ताका लागि रु ६०० देखि एक हजार ५०० सम्म दस्तुर लाग्दछ । यसअघि निजी फर्म दर्ता गर्दा रु एक हजारदेखि ५० हजारसम्म दस्तुर लाग्ने गरेको थियो । उद्योगहरु स्थापना हुने क्रम बढेपछि स्वरोजगार हुनाका साथै सयौँले रोजगारी पनि पाएका छन् । शान्ति सुरक्षा, राजनीतिक स्थिरता, लगानीको वातावरण तयार हुनु, तीनै तहका सरकारबाट उद्योग स्थापनाका लागि प्रोत्साहन गरिएकाले उद्योग फस्टाएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले बताएका छन्। उनले भने, “परासी क्षेत्र महेशपुर र बेलहिया भन्सार नजिक रहेको, भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदा उद्योगीहरु उत्साहित छन्, लुम्बिनी क्षेत्र र बुटवल–भैरहवा क्षेत्रमा भन्दा अहिले भैरहवा–भुमही क्षेत्र उद्योगीहरुको रोजाइमा पर्नु, नाकाबन्दीमा पनि सुरक्षित क्षेत्र भएको, सीमाबाट नजिक, औद्योगिक वातावरण, लगानी सुरक्षित, मेचीमहाकालीको मध्यभाग, उद्योग वाणिज्य सङ्घको पहलमा उद्योगलाई चाहिने बिजुलीको समस्या समाधान गरिएकाले पनि उद्योगहरु थपिने क्रम जारी छ ।” घरेलु तथा साना उद्योग कार्यालयका अनुसार हाल पश्चिम नवलपरासीमा सेवामूलक तीन हजार ७३, कृषि तथा वनपैदावरमा आधारित एक हजार ८८६, पर्यटनसम्बन्धी एक हजार ३६३, उत्पादनमूलक एक हजार ६३, सूचना प्रसारण तथा सञ्चार प्रविधिसम्बन्धी तीन, खनिजसम्बन्धी दुई र ऊर्जामूलक एक गरी सात हजार ३९१ घरेलु तथा साना उद्योग सञ्चालनमा रहेका छन् । रासस
नेपाल-भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सृजना राणा, सदस्यमा ९ जना निर्वाचित
काठमाडौं । नेपाल-भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सृजना राणा निर्वाचित भएकी छिन् । बिहीबार सम्पन्न संघको २५औँ वार्षिक साधारणसभाले राणालाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । साथै, सभाले आगामी २ वर्षको कार्यकालको लागि नयाँ कार्यसमिति पनि सर्बसम्मत निर्वाचित गरेको छ । कार्यसमिति सदस्यहरुमा ९ जना निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित सदस्यहरुमा अभिमन्यू पोड्डार, आनन्द बगारिया, ज्ञानेन्द्र लाल प्रधान, हेमराज ढकाल, आरबि रौनियार, सन्दिपकुमार अग्रवाल, सैवाल घोष, सुधीर मित्तल तथा सुनिल केसी रहेका छन् । संघको बिधान बमोजिम कार्यसमिति बैठकले संघको पदाधिकारी चयन गर्नुका साथै ३ जना सदस्यहरुको मनोनयन अध्यक्षले गर्ने छन् । धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित राणाले नेपालमा पछिल्लो समय विदेशी लगानी अपेक्षा अनुसार बढ्न नसकेको भएता पनि आगामी दिनहरुमा विदेशी लगानीको क्रम निरन्तर रुपमा बढ्ने अपेक्षा रहेको बताएकी छिन् । त्यस्तै, भारतबाट नेपालमा लगानी ल्याउने सम्बन्धमा नेपाल-भारत उद्योग वाणिज्य संघले पहल गरी रहेको पुनरावलोकनको क्रममा रहेका दुई देशबीच २४ वर्ष अघि भएको वाणिज्य सन्धीका साथै पारवहन सन्धी, रेल सेवा सम्झौता, जल यातायत, रक्सौल-काठमाडौं रेलमार्ग, नेपाल र भारत बीचका विभिन्न विद्युतीय प्रशारण लाईनका कामहरू सम्पन्न गर्ने उनले बताइन् । साथै, नेपाल भ्रमण वर्ष २०२० समेतलाई दृष्टिगत गरी नेपाल-भारत उद्योग वाणिव्य संघको तर्फबाट सकृय योगदान जारी राखी आगामी दिनहरुमा पनि सम्बन्धित सरोकारवाला सबैसँग सहकार्य गरेर अगाडी बढ्ने राणाले जानकारी दिएकी छिन् । सभामा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी दिनमा अर्थतन्त्रको सुधारका लागि सरकार प्रयासरत रहेको जानकारी गराउँदै नीजि क्षेत्रको सहयोग अपरिहार्य रहेको बताएका छन् । भारतबाट नेपालमा लगानी भित्र्याउन नेपाल–भारत उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण रहेको बताउँदै विकास निमार्णलाई द्रुत गतिमा अघि बढाउन विदेशी लगानी आवश्यक रहेको उनले बताएका छन् ।
मनकामना कपास उद्योगमा आगलागी, दश लाख बराबरको क्षति
दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित मनकामना कपास उद्योगमा आज बिहान आगलागी हुँदा रु दश लाख बराबरको क्षति भएको छ । विद्युत् चुहिएर एक्कासी आगलागी हुँदा उद्योगमा रहेका सामग्री जल्दा रु दश लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट उद्योगभित्र रहेको कच्चा सामग्री, उद्योगका मेसिनलगायतका सामग्रीमा क्षति पुगेको उद्योगका सञ्चालक पूर्णकुमार मानन्धरले जानकारी दिएका छन् । “विद्युत् चुहिएर आगलागी भएको हुनसक्छ, क्षतिको पूर्ण विवरण त आइसकेको छैन,” मानन्धरले भने । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी सहायक निरीक्षक दिनेश पौडेलले बताएका छन् । रासस