साङ्लो ग्रुपको प्रथम साधारण सभा सम्पन्न

माटो सँग मिल्न सक्ने नन् ओभन झोला उत्पादन गरी वातावरणीय सौन्र्दयमा महत्वपूर्ण भूमिका खेलेको साङ्लो ग्रुप एण्ड ईण्डष्ट्रिज तिलोत्तमा–१४ रुपन्देहीले प्रथम साधारण सभा सम्पन्न गरेको छ । संस्थाको सभाहलमा भएको साधारण सभाले प्लाष्टिकले बढ्दो वातावरणिय प्रदुषणलाई मध्यनजर गर्दै उत्पादनलाई बजार विस्तारमा विशेष जोड दिने निस्कर्ष पनि निकालेको छ । संस्थाका अध्यक्ष खिमानन्द भुषालको अध्यक्षता र ज्येष्ठ सेयर सदस्य ढगप्रसाद चापागाईंको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा स्वागत मन्तव्य राख्दै सेयर सदस्य बेद प्रसाद न्यौपानेले साङ्लो बनाएर अगाडी बढ्ने उद्देश्यले सञ्चालित उद्योगको बजार विस्तारमा सबैले आफ्नो आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नु पर्ने बताए । न्यौपानेले वातावरणीय सौन्दर्यमा उद्योगले महत्वपूर्ण भूमिका खेलेकोमा खुशी व्यक्त गर्दै सबै सेयर सदस्यका प्रतिनिधित्वमूलक एक एक उद्योग स्थापना गर्न सक्ने गरी अगाडी बढ्नु पर्ने बताए । संस्थाका सेयर सदस्य विश्वराज बरालले उद्योग कलकारखानामा लगाईएको लगानीले तत्कालै प्रतिफल दिन सक्ने अवस्था नहुने बताउँदै निरन्तरता नै सफलता प्राप्त गर्ने मुख्य आधार भएकोले धैर्य गरेर कार्यप्रति ईमान्दारितापूर्वक लाग्नु पर्ने बताए ।  उनले तीव्र अस्वस्थ्य प्रतिस्पर्धा बजारको मुख्य समस्या रहेको बताउँदै गुणस्तरीय सेवा प्रवाहमा कन्जुस्याई गर्न नहुने धारणासमेत  व्यक्त गरेका छन् । सेयर सदस्य अमृत भट्टराईले सञ्चालन गरेको सभामा अध्यक्ष खिमानन्द भुषाले कम्पनीको सम्पूर्ण आयव्यय विवरण तथा पुँजीगत संरचनाको बारेमा सभालाई जानकारी गराउँदै बजार अवस्थामा संस्थाले खेलेको भूमिकामा सेयर सदस्यहरुलाई प्रष्ट पारेका थिए । अध्यक्ष भुषालले जनशक्ति तथा पूर्वाधार विकास, उच्च गुणस्तरिय सेवा, उस्तै प्रकृतिको उत्पादनमा अध्यन तथा उत्पादन सुरु लगायतका तीन वटा भावी योजनाहरुलाई सभामा राखेका थिए । चार करोड लगानीमा सञ्चालन भएको उद्योगले मासिक २४ टन भन्दा बढी उत्पादन गर्दै आएको छ ।

आर्थिक संकट देखिएपछि नयाँ उद्याेग खाेल्न बन्द, पुराना उद्योग सबलीकरणमा जाेड

काठमाडौं । विगत तीन वर्षदेखि आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि छ । उच्च आर्थिक वृद्धिदर चलिरहेको बेलामा निजी क्षेत्र निकै तनावमा छ । जतिबेला १÷२ प्रतिशत मात्र आर्थिक वृद्धि थियो त्यतिबेला पनि निजी क्षेत्र यति तनावमा थिएन । व्यवसायिक कारोबार सुस्ताएको छ । राजश्वको वृद्धिदरमा गिरावट आउनाले पनि यसलाई पुष्टि गर्दैछ । सरकारको बजेट कार्यान्वयनमा देखिएको असफलताले विकास निर्माण क्षेत्रमा करिब १५÷२० प्रतिशतको गिरावट आएको व्यवसायीहरु बताउँछन् । सेयर बजारमा देखिएको शिथिलता, आयातमा देखिएको गिरावट, रेमिट्यान्समा आयमा गिरावट, बैकिङ क्षेत्रमा कर्जा र निक्षेप वृद्धि दुबैमा देखिएको सुस्तताले अर्थतन्त्रमा मन्दीको संकेत गरिरहेको छ । सरकारी अधिकारीहरु यी सबैं नकारात्मक सूचकहरु अस्थायी भएको बताउँछन् । आखिरी तालमेल कहाँ मिलिरहेको छैन ? युवा उद्यमी प्रवलजंग पाण्डे सुस्पष्ट देखिए । ‘अहिले व्यवसायिक क्षेत्र आर्थिक संकटमा छ । आर्थिक मन्दी आउँदै छ । यसको असर दुई वर्षमा देखिन्छ’ उनले भने । नयाँ संविधान जारी भएपछि, लोडसेडिङ कम हुँदै गएपछि, स्थानीय र संघीय निर्वाचन भएपछि निजी क्षेत्रबाट ठूलो लगानी भएकोले पछिल्ला आर्थिक वर्षमा वृद्धि देखिएको उनको विश्लेषण छ । ‘अहिले सरकारले नयाँ नयाँ कानुन ल्याएको छ । लगानीकर्तालाई सरकारले तर्साउने काम गरेको छ । नयाँ लगानी बन्द हुँदा सबै क्षेत्रका कारोबार सुस्ताएको छ’ उनले भने–‘यसको नतिजा देखिन दुई वर्ष लाग्छ ।’ संकट व्यवस्थापन प्रत्येक वर्ष एउटा नयाँ उद्योग थप्दै जाने प्रवलजंग पाण्डेको संकल्प हो । तर यस वर्ष उनी नयाँ उद्योग खोल्ने पक्षमा देखिएनन् । ‘नयाँ उद्योग लगाउन वातावरण ठिक छैन । संकटको बेलामा भएको उद्योग बचाउनु नै सफलता हुन्छ’ उनले भने–‘हामी पुराना उद्योगलाई सवलिकरण गर्दैछौं । भएका उद्योगमा लगानी थप्दैछौं । उत्पादन क्षमता विस्तार गर्दैछौं ।’ उनले भएका उद्योगमा लगानी थपेको विवरण सुनाए । ‘हिमालयन प्यारेन्टल किनेर लोमस प्यारेन्टलको नाममा चलाईरहेका छौं । करिब १ अर्बमा किनेको यो उद्योगमा करिब ७० करोड रुपैयाँ लगानी थपिएको छ । लोमस फर्मास्यूटिकल्सले हर्मन सेक्सन थपेर हर्मन प्रडक्टसन शुरु गरेको छ । यसमा पनि करिब ३० करोड लगानी विस्तार भएको छ । इन्जेक्टएवल औषधि उत्पादन केही समयमा उत्पादन थाल्ने छौं ।’ ‘एक पटकको सिपाही सधैं सिपाही भए जस्तै एक पटकको उद्योगी सधैं उद्योगी भएर अगाडि बढ्न चाहान्छौं’ उनले भने–‘हामीले उद्योग क्षेत्रमा नै लगानी धेरै थपेका छौं ।’ पछिल्लाे समय फार्मा प्याक उद्योग पनि लगाएको उनले बताए । जसले औषधिको प्याकेजिङ सामाग्री उत्पादन गरिरहेको छ । यो उद्योग ६ महिना अघि पाटनमा सञ्चालनमा आएको उनले जानकारी दिए । कसमस सिमेन्टको उत्पादन क्षमता ६०० टनबाट १००० टन बनाउन लागेको उनले जानकारी दिए । ‘क्षमता विस्तार कार्य ६ महिनाभित्र सकिदैछ । यसमा थप ३० देखि ४० करोड लगानी हुँदैछ’ उनले भने । पाण्डे परिवारले उद्योगबाहेक सेवाको क्षेत्रमा पनि ठूलो लगानी गरेको छ । वित्तीय क्षेत्र अन्तरगत शिखर इन्स्योरेन्स, सिटिजन्स बैंक इन्टरनेशनल, सिभिल बैंक, सिटिजन्स लाइफ इन्स्योरेन्समा ठूलो लगानी गरेका छन् । प्रविधिको क्षेत्रमा डाटा हव, पर्यटनको क्षेत्रमा कैशाल हेलिकप्टर, शिक्षा क्षेत्रमा सेमरेक स्कूलमा पाण्डे परिवारको लगानी छ । परिवारको मात्र लगानी भएको सबै कम्पनीको नेतृत्व प्रबलका बुबा प्रदिपजंग पाण्डेले गरेका छन् । सिटिजन्स लाइफ इन्स्योरेन्सको अध्यक्ष पनि उनी छन् । बायाँबाट क्रमशः प्रताव, प्रबल, प्रदिप र प्रज्वल जंग पाण्डे कसमस सिमेन्टको समग्रमा नेतृत्व प्रवलले गर्छन । उनले लोमस फर्मास्यूटिकलल्सको प्रडक्टको जिम्मा लिएका छन् । बैंकिङमा उनी सिटिजन्ज बैंक इन्टरनेशनलको सञ्चालक हुन् । डाटा हब पनि प्रवलजंग पाण्डे हेरिरहेका छन् । ‘डाटा हवको सेवा विस्तार अगाडि बढाएका छौं । बुटवलमा डाटा रिकभरी सेन्टर बनाएका छौं । अहिले क्लाउड सर्भिस पनि दिएका छौं’ उनले भने । कैलाश हेलिकप्टरको प्रबन्ध निर्देशकको भूमिकामा रहेका प्रतावजंग पाण्डे सिभिल बैंकको सञ्चालक पनि छन् । बुबाले नेतृत्व गरेको कम्पनीको वित्तीय मामिलामा प्रतावले सहयोग गर्दै आएका छन् । पुँजी बजार पनि उनले हेर्छन् । लोमस फर्मास्यूटिकल्सको कार्यकारी निर्देशकको भूमिकामा रहेका प्रज्वलजंग पाण्डेले सेमरोक स्कूलको पनि नेतृत्व लिएका छन् । पछिल्लो समय उनले होम एप्लाइन्स प्रडक्ट ‘वल्पूल’को व्यापार पनि थालेका छन् । सबै कम्पनी नाफामा देशको आर्थिक वृद्धि पनि सधैं एक नासको हुँदैन । कम्पनीहरुको ग्रोथ पनि नियमित हुँदैन । ‘वृद्धिदर कहिले बढी होला, कहिले कम होला तर हामी सामेल भएका सबै कम्पनी नाफामा छन्, कुनै पनि कम्पनी नोक्सानमा गएका छैनन्’ पाण्डेले भने । बजारको विकाससँगै कम्पनीहरुबीच प्रतिस्पर्धा पनि कडा हुने र कमजोर कम्पनीहरु नोक्सानमा जाने जोखिम बढ्ने उनको विश्लेषण छ । ‘विगतमा सबै कम्पनी नाफामा हुने गर्दथे । कोहीले कम नाफा गर्दथे, कोहीले धेरै नाफा गर्दथे । अब हरेक क्षेत्रमा प्रतिस्पर्धा बढेको छ । धेरै नाफा गर्ने कम्पनीहरु कम नाफामा जान्छन् । कम नाफामा चलेका कम्पनी घाटामा जान्छन्’ डार्विनको सिद्धान्त सम्झाउदै उनले भने–‘समय सापेक्ष परिवर्तन हुने कम्पनी मात्र बजारमा टिक्न सक्छ ।’ किङफिसर किन डुब्यो, जेट एयरलाईन्स किन डुब्यो, थाई एयरलाईन्स कसरी संकटमा पर्यो ? अरु विमान कम्पनी डुब्दैगर्दा इण्डिगो कसरी सफल भयो ? भन्ने विषयमा आफूले गहिरो अध्ययन गरेको बताउँदै पाण्डेले भने–‘खर्च कटौतिसहितको राम्रो व्यवस्थापन भएका कम्पनी मात्र प्रतिस्पर्धामा टिक्न सक्छ ।’ उद्योग, व्यापार, पर्यटन, हवाई सेवा, बैकिङ, बीमा सबै क्षेत्रमा प्रतिस्पर्धा धेरै भएको अनुभव पनि उनले सुनाए । बैकिङ र बीमामा पब्लिक कम्पनी चलाउमा अभ्यस्त पाण्डे परिवार देशको अग्रणी औषधि उद्योग लोमश फर्मास्यूटिकल्स किन पब्लिक कम्पनी बनाउदैनन ? पाण्डे भन्छन्–‘कुनै दिन पब्लिक कम्पनीमा जान्छौं । हामी प्रोफेशनल म्यानेजमेन्टमा विश्वास गर्छौ ।’ निजी क्षेत्र कमजोर हुँदा एकपक्षिय कानुन हाल दुई तिहाई बहुमतको सरकार छ । सरकारले भटाभट कानुन बनाइरहेको छ । कानुन समयसापेक्ष बनाउनुलाई सबैले राम्रो मान्छन् । तर वर्तमान सरकारले बनाएका कानुन निजी क्षेत्रमैत्री नभएको उनको बुझाई छ । सरकारले नयाँ कानुन बनाउँदै गर्दा निजी क्षेत्रको तर्फबाट हुनु पर्ने लविङ हुन नसकेको उनको ठम्याई छ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य समेत रहेका पाण्डे भन्छन्–‘महासंघले विगत साढे दुई वर्ष राजनीति गरेर, द्वन्द्व गरेर बितायो । यस अवधिका सरकारले धेरै नियम कानुन बनायो । यस बेलामा महासंघले गर्नुपर्ने लविङ गर्न सकेन ।’ आन्तरिक विवादले महासंघ कमजोर भएको र महासंघले उठाएको मुद्दा सरकारले नसुनेको उनको बुझाई छ । ‘महासंघको वार्गेनिङ पावर ज्यादै कमजोर भएको छ अहिले’ उनले भने । महासंघमा सबै व्यवसायी एक भएर अगाडि बढ्नेमा निजी क्षेत्रकाे लबिङ गर्ने क्षमता बलियाे हुने र निजी क्षेत्रकाे माग सरकारले पनि सुन्ने उनकाे भनाइ छ ।

मेला महोत्सवको आयोजना महासंघले मात्र गर्न पाउनुपर्छः चन्द्र ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीयस्तरको व्यवसायिक प्रवद्र्धनका लागि देशका विभिन्न क्षेत्र र जिल्लामा आयोजना हुने मेला महोत्सवको आयोजनाको काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघ संस्थाहरुले मात्र पाउनुपर्ने बताएका छन् । स्याङ्जामा शुक्रबारदेखि शुरु ‘गण्डकी प्रदेशस्तरीय स्याङ्जा महोत्सव’ को प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै उपाध्यक्ष ढकालले स्थानीय उत्पादन, सीप र कलालाई प्रवद्र्धन गरी बजारसम्म पुर्याउने काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघ संस्थाहरुले नै गर्ने बताए । उनले अबदेखि यस्ता मेला महोत्सवहरुको आयोजना गर्ने काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघसंस्थाहरुलाई मात्र दिनुपर्ने प्रावधानका लागि सम्बन्धित सबै प्रदेश सरकार तथा संघीय सरकारसमक्ष नेपाल उद्योग वाणिज्य महासंघ र आफ्नो व्यक्तिगत तर्फबाट पहल गर्ने बताए । उपाध्यक्ष ढकालले भने, “यस प्रयोजनका लागि म नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वको हैसियतले संघीय सरकारसँग कुरा गर्नुपर्ने लगायतका आवश्यक सबै पहल गर्नेछु ।” सो कार्यक्रममा उनले यस्ता स्थानीय स्तरका मेला महोत्सवहरुका आयोजकहरुलाई स्थानीय उत्पादन, सीप, कलाको प्रदर्शन गरी उनीहरुलाई नै उत्प्रेरित गर्ने र आगामी दिनमा यही क्षेत्रमा उद्यमशिलताका ढोकाहरु खोलिदिने अवसरका रुपमा विकास गर्न पनि आग्रह गरेका छन् । उपाध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघ कमजोर नभएको पनि स्पष्ट गरेका छन् । स्थानीय व्यवसायीहरुले महासंघ कमजोर भएको र स्थानीय स्तरका साना व्यवसायीहरुको हकहितका कुरालाई केन्द्र सरकारसमक्ष ‘लबिङ’ गर्न नसकेको भनी गरेको गुनासोको सम्बोधन गर्दै उनले महासंघ कमजोर नभएको र सबै व्यवसायीहरुको हक हितका पक्षमा काम गरिरहेको बताए । महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई आवश्यक र सक्दो सहयोग र समन्वय गरी आएको बताउँदै आगामी दिनमा उनीहरुको व्यावसायिक हक हितका लागि अझ बलियो भएर काम गर्ने बताए । उनले गण्डकी प्रदेशस्तरका समग्र व्यवसायीलाई सम्बोधन गर्दै भने, “म नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व तहमा बसेको र आफै पनि एक उद्यमी तथा बैंकरका हैसियतले यहाँहरुलाई यो आस्वस्त पार्न चाहन्छु कि महासंघले तपाईँहरुका समस्याको समाधान गर्न र व्यावसायिक हक हितको संरक्षण गर्न कुनै कसर बाँकी राख्ने छैन ।” “मुलुकको आर्थिक क्रियाकलापलाई गति दिन, रोजगारीको सिर्जना गर्न तथा देशमा उद्यमशिलताको वातावरण बनाउन पनि स्थानीय स्तरदेखि प्रदेश हुदै केन्द्रसम्म व्यवसायिक प्रवद्र्धन गर्नु जरुरी छ र यो कार्य उद्योगी, व्यवसायीको हकहितको संरक्षण र सम्बद्र्धनबाट मात्र सम्भव छ,” उनले बताए । नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै उनले मुलुकको अर्थतन्त्रको तीन खम्बामा निजी क्षेत्र एक दरिलो खम्बा भएकोले यससँगको सहकार्य र साझेदारीबाट मात्र देशमा समृद्धि आउने बताएका छन् । उनले नेपाल नयाँ राजनीतिक संरचनामा प्रवेश गरेसँगै संघीय, प्रदेश र स्थानीय सरकारहरुमा आ-आफ्ना क्षेत्रमा लगानी भित्र्याउन प्रतिष्पर्धा देखिनु सकारात्मक भए पनि सरकारी संयन्त्रको पुरानै मानसिकताका कारण व्यावसायीलाई सोचेजस्तो सहज वातावरण भने नरहेको गुनासो गरेका छन् । कार्यक्रममा महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जिब बहादुर कोइराला, नेकपा प्रदेश सदस्य शैलेन्द्र घिमिरे, नेपाली काँग्रेस कार्यबहाक सभापति कुमार राना, राप्रपा संयुक्त नेता राम बन्दु रेग्मी, संघ तनहूँका अध्यक्ष मानकाजी क्षेष्ठ, पत्रकार महासंघका अध्यक्ष ओम प्रकाश शर्मा लगायतले मन्तव्य राखेका थिए । पुस १६ गतेसम्म संचालन हुने महोत्सवमा आठ करोडको व्यापार हुनुका साथै ३ लाख ५० हजार आन्तरिक र बाह्य पर्यटकले अवलोकन गर्ने अनुमान आयोजक समितिले गरेको छ । कृषि र पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन, वृहत कृषि प्रदर्शनी, बिद्यालय स्तरीय नृत्य, भलिबल, दोहोरी प्रतियोगिता तथा रत्यौली महोत्सवका आकर्षण रहने छन् ।