अब व्यवसायीहरू कुनै पनि पार्टीको सदस्य बन्न नपाउने व्यवस्था गर्छु : अञ्जन श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अब व्यवसायीहरू कुनै पनि पार्टीको सदस्य बन्न नपाउने व्यवस्था गर्ने बताएका छन् । महासंघको नेतृत्व सहमतिका आधारमा अगाडि बढाउन आफू तयार रहेको बताएका छन् । उनले सहमतिको पहल सबै पक्षबाट हुनुपर्नेमा जोड दिएका छन् । उम्मेदवारी घोषणासभामा बोल्दै श्रेष्ठले वरिष्ठ उपाध्यक्ष बन्दा नै आफूले सक्षम र सशक्त टिम बनाउने घोषणा गरेको स्मरण गराए । उनले नेतृत्वले अनुभवी र सक्षम टिम नपाए काम प्रभावकारी रूपमा अघि बढ्न नसक्ने भएकाले टिम घोषणा गर्नुपरेको बताए । उनले आफ्नो टिममा सक्षम र काम गर्न सक्ने साथीहरू रहेको दाबी गरे । सहमतिका लागि आफूहरूले प्रयास गरेको तर अपेक्षित पहल हुन नसकेको उल्लेख गर्दै उनले सहमति भएमा आफू त्यसका लागि अझै पनि तयार रहेको स्पष्ट पारे । श्रेष्ठले सहमति हुन नसके पनि स्वस्थ र प्रतिस्पर्धात्मक चुनावमार्फत प्रक्रिया टुंगिनुपर्ने बताए । मतदान सम्पन्न भएपछि भने निजी क्षेत्र पुनः एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो । उनले नयाँ सरकारसँग सहकार्य गर्दै निजी क्षेत्रका मुद्दा अघि बढाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । साथै निजी क्षेत्र आफैले पनि आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै ‘छातीमा हात राखेर मनन गर्नुपर्छ, हाम्रो पनि केही गल्ती छ कि भन्ने सोच्नुपर्छ भन्ने धारणा राखे । सबैबाट सहयोगको अपेक्षा व्यक्त गर्दै श्रेष्ठले आफू महासंघमा प्रभावकारी रूपमा काम गर्न सक्षम रहेको बताए । उनले महासंघभित्र सुन्ने संयन्त्र बनाउने, पूर्वअध्यक्षहरू सम्मिलित थिंकट्यांक गठन गर्ने र महासंघलाई अध्ययन तथा अनुसन्धानमा सक्रिय बनाउने प्रतिबद्धता जनाए । उनले सार्वजनिक सरोकारका विधेयक संसदमा पेस गराउनका लागि पनि पहल गर्ने बताए । उनले व्यवसायी पार्टीका सदस्य भएकै कारण हामी आफै कमजोर भएको बताए । उनले अब व्यवसायी पार्टीको सदस्य हुन नपाउने व्यवस्था गर्ने बताए ।
अनुभवी उद्योगी लिएर अञ्जनले घोषणा गरे प्यानल, को–को बने उम्मेदवार ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि अञ्जन श्रेष्ठको नेतृत्वमा उम्मेदवारहरूको प्यानल घोषणा भएको छ । चैत २८ र २९ गते हुने महासंघको ६०औं वार्षिक साधारणसभामा नयाँ टिमका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफ्नो टिम घोषणा गरेका हुन् । गत फागुन २१ गते वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा नयाँ टिम घोषणा भएको थियो । अर्को समूहले पनि आज (सोमबार) उम्मेदवारी घोषणा भएको हो । सो समूहले अबको साधारणसभाबाट स्वतः अध्यक्ष बन्ने अञ्जन श्रेष्ठको नेतृत्वमा बन्ने टीम भनेर घोषणा गरेको हो । यस समूहबाट वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्लानगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्ण शर्मा उम्मेदवारी घोषणा गरेका छन् । यी हुन् उम्मेदवार वस्तुगततर्फका उम्मेदवार शिवप्रसाद घिमिरे, उपाध्यक्ष सदस्यका उम्मेदवारहरूः नेपाल आइसक्रिम उद्योग– अरनीकोराज भण्डारी नेपाल दाना उत्पादक संघ– रबिन पुरी नेपाल कुचो संघ– राजकुमार कार्की नेपाल बिउ व्यवसायी संघ– बसन्त चन्द्र मरहट्टा नेपाल सिमेन्ट उद्योग संघ– रघुनन्दन मारु नेपाल कृषि मेशिनरी व्यवसायी संघ– सुनिता नेहाफुकि नेपाल प्लाइउड उत्पादक संघ– होम प्रसाद घिमिरे नेपाल पश्मिना उद्योग संघ– धन प्रसाद लामिछाने नेपाल धितोपत्र दलाल संघ– धर्मराज सापकोटा रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल– संघर्ष विष्ट फ्लोरिकल्चर एशोसिएसन नेपाल–राजेश भक्त श्रेष्ठ जुत्ता उत्पादक संघ– नानीराज घिमिरे नेपाल वायो ग्यास प्रवद्र्धक संघ– यप बहादुर थापा मगर ढुवानी व्यवसायी महासंघ नेपाल– विश्वनाथ खनाल नेपाल इट्टा उद्योग संघ– कृष्ण प्रसाद अवाले नेपाल बोटल एण्ड वाटर इण्डष्ट्रिज एशोसिएसन– ध्रुव बहादुर गौतम जिल्ला/नगरतर्फ उपाध्यक्षहरू १. दिलसुन्दर श्रेष्ठ २.कृष्णप्रसाद शर्मा सदस्यहरू १.कोशी प्रदेश– नवीन रिजाल २. बागमती प्रदेश– बेदबहादुर श्रेष्ठ ३. गण्डकी प्रदेश–नवराज सुवेदी ४. लुम्बिनी प्रदेश–ठाकु श्रेष्ठ एसोसिएट तर्फका उम्मेदवार प्रवलजंग पाण्डे, उपाध्यक्ष सदस्यहरू अविज्ञा मल्ल अम्बिका प्रसाद पौडेल बाबुकाजी कार्की हेमन्त गोल्छा इश्वर जीसी जुना माथेमा कृष्णलाल महर्जन निकोलश पाण्डे प्रियराज रेग्मी राजेश कुमार अग्रवाल ऋषी अग्रवाल चैनावाल आरएस भण्डारी शक्ति कुमार बेगानी सुशील थापा सुयस प्याकुरेल उज्वल कुमार श्रेष्ठ अर्को समूहले गत फागुन ११ गते टिम घोषणा गरेको थियो । सो समूहबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल, वर्तमान एसोसिएट तर्फकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ उपाध्यक्षमै दोहोर्याएर उम्मेदवारी दिएकी छन् । यो समूहबाट उमेश डालमिया र कल्पना गैरे जिल्ला नगर उपाध्यक्षका उम्मेदवार बनेका छन् भने नरेशलाल श्रेष्ठ वस्तुगत उपाध्यक्षका उम्मेदवार बनेका छन् । ढकाल समूहबाट कल्पना श्रेष्ठ महिला उपाध्यक्षकी उम्मेदवार बनेकी छन् । वरिष्ठ उपाध्यक्षका ५ जना आकांक्षीबीच ‘जेन्टलमेन एग्रिमेन्ट’, पद पेन्डिङ राखेर बन्यो ‘टिम अञ्जन’
वरिष्ठ उपाध्यक्षका ५ जना आकांक्षीबीच ‘जेन्टलमेन एग्रिमेन्ट’, पद पेन्डिङ राखेर बन्यो ‘टिम अञ्जन’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । चैत २८ र २९ गते हुने महासंघको ६०औं वार्षिक साधारणसभामा नयाँ टिमका लागि उद्योगी व्यवसायीलाई दौडधूप बढेको हो । गत फागुन ११ गते वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा नयाँ टिम घोषणा भएको थियो । अर्को समूहले पनि आज (सोमबार) उम्मेदवारी घोषणा गर्दैछ । सो समूहले अबको साधारणसभाबाट स्वतः अध्यक्ष बन्ने अञ्जन श्रेष्ठको नेतृत्वमा बन्ने टीम भनेर घोषणा गर्दैछ । सो प्यानलले वरिष्ठ उपाध्यक्षका लागि भने उम्मेदवारी घोषणा गर्ने छैन । समूहबाट वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्लानगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्ण शर्मा उम्मेदवारी घोषणा गर्दैछन् । जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार दिलसुन्दर श्रेष्ठका अनुसार आज सो समूहले वरिष्ठ उपाध्यक्षको उम्मेदवार घोषणा गर्ने छैन । ‘आज हामी चार जना उपाध्यक्ष र केन्द्रीय सदस्यको उम्मेदवारहरू घोषणा गर्नेछौं । वरिष्ठ उपाध्यक्ष पछि चयन हुने भएकोले अहिले नै घोषणा गर्नुपर्ने आवश्यक ठानेनौं, हाम्रो चुनावमा हामीलाई जुन क्षेत्रबाट बढी मत आउँछ, त्यही क्षेत्रका आकांक्षीलाई हाम्रो टिमले वरिष्ठ उपाध्यक्ष बनाउने छ,’ उनले विकासन्युजसँग भने । यो समूहबाट वरिष्ठ उपाध्यक्षका लागि पाँच जनाको दाबी छ । श्रेष्ठका अनुसार यो समूहबाट वर्तमान जिल्ला–नगर उपाध्यक्ष सुरकृष्ण वैद्य, पूर्व उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसँगै किशोर प्रधान र भाष्करराज कर्णिकारले वरिष्ठ उपाध्यक्षका लागि रुचि देखाएका छन् । पाँचै जना आकांक्षीले आफ्नो दाबी नछोडेपछि अहिले कुनैलाई पनि घोषणा नगर्ने र पछि जुन क्षेत्रबाट बढी मत आयो सोही क्षेत्रको व्यक्तिलाई वरिष्ठ उपाध्यक्ष बनाउने गरी सर्वसहमति भएको उनको भनाइ छ । यो समूहले अहिले वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्ष घोषणा नगर्ने श्रेष्ठले बताए । यो समूहले अञ्जन श्रेष्ठलाई आफ्नो अध्यक्ष बनेर घोषणा गर्दैछ । यद्यपि, वर्तमान वरिष्ठ उपाध्यक्ष भएकोले उनी महासंघको स्वतः अध्यक्ष बन्दैछन् । विगतमा ‘कमिङ प्रेसिडेन्ट’ न्युट्रल बस्ने अभ्यास भए पनि यस पटक भने अञ्जन खुलेरै आफ्नो टिम निर्माणमा लागेका छन् । वस्तुगत उपाध्यक्षका उम्मेदवार शिव घिमिरेले पनि यो अञ्जन श्रेष्ठ नेतृत्वको प्यानल रहेको बताए । ‘हाम्रो चाहना भनेको यस्तो विषम परिस्थितिमा चुनाव नहोस् भन्ने हो । तर, भएपछि स्वस्थ हुनुपर्छ । अहिलेको वरिष्ठ उपाध्यक्ष र हुनेवाला अध्यक्षले म मेरो टिम बनाउँछु, त्यसले मलाई काम गर्न सहज हुन्छ भनेर अपील गर्नु स्वाभाविक हो,’ उनले भने, ‘त्यसमा उद्योगी व्यवसायी साथीहरूले साथ पनि दिनुपर्छ । ’ घिमिरेका अनुसार अध्यक्ष प्रधान संस्थामा टिम व्यवस्थापन सन्तोषजनक हुन सकेमा भोलि डेलिभरी पनि सोही किसिमले हुन्छ । तर, टिम मिलेन भने काम पनि प्रभावकारी ढंगले हुँदैन । त्यसैले आफूहरूले हुनेवाला अध्यक्षको टिम भनेर घोषणा गरेको बताए । वस्तुगत उपाध्यक्षका उम्मेदवार रहेका घिमिरे अहिले महासंघको कार्यकारिणी सदस्यका रूपमा कार्यरत छन् । उनी एक अनुभवीका उद्योगी व्यवसायीका रूपमा परिचित छन् । उनले पेट्रोल पम्प व्यापार हुँदै पेट्रोलियम ग्याँस (एलपीजी) बोतलिङ प्लान्ट, हाइड्रोपावर, कृषि व्यवसाय, शिक्षा, मिडिया, सर्भिस तथा हस्पिटालिटि, बैंकिङ तथा वित्त क्षेत्रमा समेत ठूलो लगानी गरेका छन् । उनले कन्स्ट्रक्सन, व्यापार क्षेत्रमा पनि लगानी गर्दै आएका छन् । यस्तै, एसोसिएट उपाध्यक्षका उम्मेदवार प्रवलजंग पाण्डे यसअघि पनि महासंघको उपाध्यक्षका लागि दाबेदार बन्ने तयारीमा थिए । तर, टिम व्यवस्थापनको क्रममा उनी पछि हट्न बाध्य भएका थिए । सिटिजन बैंकका अध्यक्ष समेत रहेका उनी लोमस ग्रुपका सञ्चालक समेत हुन् । पाण्डेले महासंघमा तीन कार्यकाल कार्यकारीणी सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् । उनी महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा पनि हुन् । उनको औषधि उत्पादक लोमस ग्रुप, सिमेन्ट, बैंक र बीमालगायतका क्षेत्रमा उनको लगानी छ । जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार दिलसुन्दर श्रेष्ठ पनि एक अनुभवी र परिचित व्यवसायी हुन् । उनी महासंघमा विगत तीन दशकदेखि सक्रिय छन् । उनी हाल नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्षका रुपमा कार्यरत छन् । उनले धुलिखेल उद्योग वाणिज्य संघको पनि तीन पटक नेतृत्व गरिसकेका छन् । उनी आरएम ग्रुपको सञ्चालक पनि हुन् । यस्तै, जिल्लानगरतर्फको उपाध्यक्षका उम्मेदवार कृष्णप्रसाद शर्मा पनि लुम्बिनी प्रदेशका परिचित व्यवसायी हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष समेत हुन् । उनी शर्मा सिद्धार्थ उद्योग वाणिज्य संघ पूर्वअध्यक्षसमेत हुन् । अञ्जन श्रेष्ठ समूहबाट वरिष्ठ उपाध्यक्षमा रुचि राखेका पूर्वजिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले अहिले नै वरिष्ठ उपाध्यक्षको उम्मेदवार भनेर घोषणा गरेर जानु हतार हुने बताए । ‘जसले घोषणा गरे उनीहरुले गलत गरे, अहिले उपाध्यक्षहरू र कार्यसमितिको मात्रै निर्वाचन हो, उनीहरू जितेर आइसकेपछि उनीहरूको मतदानले नै वरिष्ठ उपाध्यक्ष चुनिने हो । त्यसैले हतार गरेर उम्मेदवारी घोषणा गर्नु राम्रो होइन,’ उनले भने, ‘हामीले यो विषयलाई राम्रोसँग बुझेर नै उम्मेदवारी घोषणा नगरिएको हो ।’ अर्का वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालको समूहबाट वर्तमान एसोसिएट तर्फकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ उपाध्यक्षमै दोहोर्याएर उम्मेदवारी दिएकी छन् । उनी ज्वेलर्स व्यवसायी हुन् । यो समूहबाट उमेश डालमिया र कल्पना गैरे जिल्ला नगर उपाध्यक्षका उम्मेदवार बनेका छन् भने नरेशलाल श्रेष्ठ वस्तुगत उपाध्यक्षका उम्मेदवार बनेका छन् । उनी हस्तकला र निर्यात व्यवसायीका साथै ऊर्जा, हस्पिटालिटी र स्वास्थ्य क्षेत्रमा पनि उनको लगानी छ । उनीसँग दुई कार्यकाल कार्यसमितिको अनुभव समेत छ । ढकाल समूहबाट कल्पना श्रेष्ठ महिला उपाध्यक्षकी उम्मेदवार बनेकी छन् । उनीसँग पनि तीन कार्यकाल महासंघको कार्यसमिति सदस्यको काम गरेको अनुभव छ । सम्बन्धित सामग्री : महासंघ चुनाव : अर्को समूहबाट वरिष्ठ उपाध्यक्षका लागि ५ जना आकांक्षी, यस्तो बन्यो प्यानल उद्योगी व्यवसायीलाई पनि लाग्यो चुनाव, ढकालको नेतृत्वमा प्यानल घोषणा ‘कमिङ प्रेसिडेन्ट’को प्यानल बन्छ, अनुभवी र क्षमतावान टिम बनाउँदैछौं