अर्थमन्त्री वाग्लेलाई सीएनआईको सुझाव– ‘पैसा कमाउनु अपराध होइन भन्ने भाष्य निर्माण गरौं’

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ । अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको सीएनआई टोलीले सोमबार साँझ अर्थतन्त्रका विद्यमान समस्या एवं समाधानका उपायका विषयमा छलफल गरेको हो ।  परिसंघका अध्यक्ष पाण्डेले आम नेपाली जनताले चाहेको सुशासन तथा उच्च आर्थिक बृद्धिको अपेक्षा हासिल गर्न तत्कालिन, मध्यकालिन र दीर्घकालिन रुपमा सरकारले विशेष ध्यान दिनुपर्ने विषयमा सुझाव दिए । अर्थमन्त्रीको कार्यभार सम्हाल्ने क्रममा मन्त्री वाग्लेले दोस्रो चरणको आर्थिक सुधार, असान्दर्भिक तथा धेरै पूराना ऐन खारेज गर्ने प्रतिबद्धताको स्वागत गर्दै आगामी बजेटबाटै स्पष्ट रुपमा सरकारले समग्र अर्थतन्त्रलाई केन्द्रमा राखेर सुधारको काम गर्ने विश्वास व्यक्त गरे ।  उनले रोजगारी सिर्जना, उच्च अंकको आर्थिक बृद्धि हासिल तथा आयात प्रतिस्थापन गर्न उत्पादनमुलक उद्योगलाई प्रोत्साहन गर्ने नीति सरकारले लिनुपर्ने सुझाए । उनले पैसा कमाउनु अपराध हो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेकोमा जोड दिनुभयो । कानुनी रुपमा सम्पत्ति आर्जन गर्नु, पैसा कमाउनु अपराध होइन भन्ने भाष्य निर्माणका लागि सरकारले पनि सकारात्मक भूमिका खेल्नुपर्ने बताए । उनले बजार माग बढ्न नसकिरहेको विद्यमान अवस्थामा समग्र माग बढाउने नीति लिइनुपर्नेमा पनि जोड दिए ।    उनले परिसंघले हालको करिब ४५ अर्ब डलरको अर्थतन्त्रलाई आगामी १० वर्षभित्र कसरी १०० अर्ब डलरको बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेको र छिट्टै रिपोर्ट सरकारलाई उपलब्ध गराउने जानकारी गराए ।  अर्थमन्त्री वाग्लेले ओरालोमा रहेको अर्थतन्त्रलाई सही दिशामा मोड्न आफू अर्थ मन्त्रालयको जिम्मेवारीमा आएको बताए । उनले नेपालको निजी क्षेत्र उत्साहित भएपछि नै विदेशी लगानी आउने भएकाले आयात प्रतिस्थापन गर्ने उत्पादनमुलक उद्योगहरूलाई सरकारले फरक रुपमा हेर्ने बताए । लाइन बस्न नपरोस्, घुस दिन नपरोस् भन्नेतर्फ सरकारले विशेष ध्यान दिने उनले बताए । निजी क्षेत्रले खोजेको राजनीतिक स्थिरता प्राप्त भएको र यो सरकारले नीतिगत स्थिरता कायम गरी आर्थिक समृद्धि हासिल गर्नुपर्ने अग्रसर हुने उनले बताए । उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमैत्री आर्थिक वातावरण बनाउने तर उदारताको नाममा छाडा हुन भने नदिइने बताए । मन्त्री वाग्लेले बहुराष्ट्रिय ठूलो कम्पनी वा त्यसको लगानी भित्र्याउन भूमिका खेल्न परिसंघलाई आग्रह समेत गरे । अर्थसचिव डा. घनश्याम उपाध्यायले लगानी सहजीकरणका लागि अप्ठ्यारो पारेका ऐनहरुका प्रावधान तथा गरिनुपर्ने व्यवस्थाका विषयमा सुझाव दिन आग्रह गरे । सो छलफलमा परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, पूर्व अध्यक्ष हरिभक्त शर्मा, विष्णुकुमार अग्रवाल, गभर्निङ्ग काउन्सिल सदस्यहरु शिवरतन शारडा, शशिकान्त अग्रवाल, उपाध्यक्षहरु हेम राज ढकाल, भीम घिमिरे, गोकुल भण्डारी, पदाधिकारी सदस्यद्धय विदूषी राणा, सन्दीप शारडा, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठ, महानिर्देशक डा. घनश्याम ओझालगायतले सरकारले आर्थिक सुधार तथा उच्च अंकको आर्थिक बृद्धि हासिल गर्न केन्द्रित गर्नुपर्ने विषयमा सुझाव दिए ।       

निजी क्षेत्र नाफाखोर मात्र होइन, देश विकासको इन्जिन हो : अध्यक्ष चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र केवल नाफा कमाउने समूह मात्र नभई देशको अर्थतन्त्रको मेरुदण्ड र विकासको मुख्य इन्जिन भएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को २६ औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रको योगदानलाई अवमूल्यन गर्न नहुनेमा जोड दिए । उनले भने, 'निजी क्षेत्रले देशको कुल राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान पुर्‍याउँछ, लाखौँका लागि रोजगारी सिर्जना गर्छ र पूर्वाधार निर्माणमा अहोरात्र खट्छ । यस्तो क्षेत्रलाई केवल नाफाखोरका रूपमा मात्र हेरिनु गलत मानसिकता हो ।' अध्यक्ष ढकालले नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले 'निजी क्षेत्र संरक्षण र प्रवर्द्धन योजना' ल्याउनु निजी क्षेत्रका लागि ठुलो उपलब्धि भएको बताए । महासंघको निरन्तर लबिङ र पहलकदमीकै कारण सरकारले निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धनलाई प्राथमिकतामा राखेको उनको दाबी छ। निर्माण व्यवसायीहरूले भोग्नुपरेको समस्याप्रति ऐक्यबद्धता जनाउँदै अध्यक्ष ढकालले वर्तमान सार्वजनिक खरिद ऐन अत्यन्तै अव्यवहारिक रहेको टिप्पणी गरे ।  'कुनै प्राविधिक वा सरकारी कारणले आयोजनामा ढिलाइ हुँदा त्यसको सम्पूर्ण दोष निर्माण व्यवसायीलाई मात्र थुपार्नु अन्यायपूर्ण छ,' उनले भने । गलत निर्णयका कारण व्यवसायीको बैंक ग्यारेन्टी जफत हुने र उनीहरू कालोसूचीमा पर्ने परिपाटीले अर्बौको लगानी जोखिममा परेको भन्दै उनले यसलाई सच्याउन सरकारले कार्यदल गठन गरेकोमा खुसी व्यक्त गरे । अध्यक्ष ढकालले निर्माण व्यवसायी महासंघ र उद्योग वाणिज्य महासंघ दुवैको आगामी निर्वाचनको सन्दर्भ जोड्दै सक्षम र व्यावसायिक नेतृत्व चयन गर्न आग्रह गरे । 'सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व छानौँ, यदि निर्वाचन नै भए पनि स्वस्थ प्रतिस्पर्धाबाट सक्षम व्यक्तिलाई अगाडि बढाऔँ,' उनले भने। नयाँ आउने नेतृत्वसँग सहकार्य गर्दै निजी क्षेत्रका साझा समस्या समाधानका लागि महासंघ सधैँ साथमा रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

महासंघ निर्वाचन : यस्तो बन्यो वस्तुगत तर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको टिम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनलाई लक्षित गर्दै वस्तुगत उपाध्यक्ष पदका लागि नरेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । संस्थागत नेतृत्वलाई सुदृढ बनाउँदै निजी क्षेत्रको हित संरक्षण र संगठनलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित उनले उम्मेदवारी दिएको बताएका हुन् । वस्तुगततर्फको कार्यकारिणी सदस्य पदका लागि विभिन्न क्षेत्रका व्यवसायीहरूले उम्मेदवारी दिएका छन् ।कार्यकारिणी सदस्य पदका लागि डा. कमला श्रेष्ठ, भक्तबहादुर हमाल, डा. सुबोधकुमार गुप्ता, लिलेन्द्रप्रसाद प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, सागर ढकाल, राजेन्द्र संग्रौला, दुर्गाप्रसाद सुवेदी, निराजनबहादुर चलाउने, कृष्णभक्त श्रेष्ठ, विदुर धमला, सुरज बन्जाडे, सुनैना घिमिरे पाण्डे, विप्लव अधिकारी र सुधीर पराजुली उम्मेदवार रहेका छन् ।     याे टिमले वरिष्ठ उपाध्यक्षका प्रस्तावित उम्मेदवार हेमराज ढकालको टिमबाट उम्मेदवारी दिएकाे हाे । ढकाल टिमले यसअघि नै पदाधिकारीहरुको उम्मेदवारी घोषणा गरे पनि अहिले सम्पूर्ण सदस्यसहितका उम्मेदवारको घोषणा गरेको हो ।