शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीले निजी क्षेत्र उत्साहित, सहकार्यमा जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची निजी क्षेत्र र लगानीमैत्री रहेको बताएका छन् । उनले मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त कार्यसूचीले मुलुकको शासन प्रणालीलाई परिणाममुखी, पारदर्शी र उत्तरदायी बनाउने विश्वास व्यक्त गरे । साथै निजी क्षेत्रसँगको सहकार्यमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी वृद्धि र राजस्व अभिवृद्धिमा यसले महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा छ । ढकालका अनुसार सेवा प्रवाहलाई डिजिटल, सहज र समयवद्ध बनाउने, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धन र उद्यमशीलता विकासजस्ता विषयहरू समेटिनु सकारात्मक पक्ष हुन् । उनले महासंघले उठाउँदै आएका धेरै विषयहरू कार्यसूचीमा समावेश भएको उल्लेख गर्दै यसलाई उत्साहजनक कदमको रूपमा व्याख्या गरे । ‘यस सुधार एजेन्डाको प्रभावकारी कार्यान्वयन भए आर्थिक पुनर्उत्थान, रोजगारी सिर्जना र दिगो विकासमा ठोस योगदान पुग्नेछ,’ उनले भने। ढकालले यस ऐतिहासिक पहललाई सफल बनाउन सरकार र निजी क्षेत्रबीच अझ सशक्त सहकार्य आवश्यक रहेको औंल्याउँदै महासंघ त्यसका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।
प्लास्टिकजन्य उद्योगमा कच्चा पदार्थको अभाव, ४० प्रतिशतले मूल्यवृद्धि
काठमाडौं । बाँकेमा सञ्चालित प्लाष्टिकजन्य उद्योगहरूमा कच्चा पदार्थको अभावका कारण उत्पादन घट्दै गएको छ । मध्यपूर्व एसियामा तनाव चर्किँदै गएपछि उद्योगलाई चाहिने कच्चा पदार्थ अभाव भएका कारण उत्पादन घट्नुका साथै केही उद्योग बन्द हुने अवस्थासम्म पुगेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका एसोसिएट सदस्य तथा स्टार पोलिपाइप उद्योगका प्रबन्ध निर्देशक कमल कार्कीले जानकारी दिए । उनका अनुसार कच्चा सामग्रीको आयात घटेपछि व्यवसायी मर्कामा परेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको ४० प्रतिशतले मूल्यवृद्धि भएको छ । नेपाली उद्योगले आयात गर्ने कच्चा पदार्थ मागअनुसार आपूर्ति हुनसकेको छैन । अहिले सबैभन्दा बढी प्लास्टिकजन्य उद्योगमा प्रयोग हुने कच्चा पदार्थ प्लास्टिक ‘दाना’को अभाव सुरु भएको छ । मध्यपूर्वमा उत्पन्न भएको तनावका कारण कच्चा सामग्रीको आयात ठप्प भएपछि प्लास्टिक दाना नपाउँदा प्लास्टिकजन्य र प्याकेजिङ उद्योगमा सङ्कट गहिरिएको छ । पानीका बोतल, बोतलका बिर्का, खानेपानी र भवन निर्माणमा प्रयोग हुने पाइप, मोटरसाइकलका हेलमेट कम्पनी, प्लास्टिकका कुर्ची, प्याकेजिङका प्लास्टिक, कार्टुनलगायतका सामग्री उत्पादनमा असर देखिएको उद्योगी कार्कीको भनाइ छ । ‘कच्चा पदार्थ नआउँदा हाम्रो उत्पादन नै घटिरहेको छ,’ उनले भने । कच्चा सामग्रीको आयात रोकिएसँगै उत्पादन पनि घटेको उद्योगी कार्कीले बताए । उत्पादन घटेसँगै उद्योग सञ्चालनमा समेत समस्या देखिएको छ । पेट्रो केमिकलसँग सम्बन्धित कच्चा पदार्थ तेस्रो मुलुकबाट भारत हुँदै नेपाल भित्रिने गर्छ । तर, अहिले भारतले आफ्नै बजारमा अभाव हुन नदिन निर्यातमा कडाइ गरेपछि यहाँका उद्योगहरू सङ्कटमा परेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले बताए । उनका अनुसार पेट्रोकेमिकलसँग सम्बन्धित कच्चा पदार्थ अभावले अहिले प्लास्टिकजन्य उत्पादनमात्र नभई, दैनिक उपभोग्य वस्तु उत्पादनमा समेत असर देखिन थालेको छ । यदि अन्तर्राष्ट्रिय परिस्थिति यस्तै रहिरह्यो भने यसको असर अझ गहिरिँदै जानेछ ।
हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु
बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको उद्योगका सूचना अधिकारी बरिष्ठ अधिकृत हरेराम आचार्यले जानकारी दिए । क्लिङ्कर उत्पादन गर्ने र प्याकिङ्गको काम गरेसँगै उत्पादित सिमेन्ट बजारमा पठाइने तयारी भइरहेको उनले बताए । सूचना अधिकारी आचार्यले भने, 'हामीसँग दुई सातालाई पुग्ने कच्चापदार्थ छ, त्यसैबाट क्लिङ्कर उत्पादन भइरहेको छ भने थप कच्चा पदार्थ व्यवस्थापन भइरहेको छ ।' नियमित उत्पादन हुँदा दैनिक सात–आठ सय क्विन्टल क्षमता भएपनि हाल छ सय क्विन्टलसम्म सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको उनको भनाइ छ । विसं २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।