नरेशलाल समुहको प्रि बजेट छलफल : ८० भन्दा बढी अध्यक्षले भने–यो समुहले हाम्रो समस्या बुझेको छ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्ष उम्मेदवार नरेशलाल समुहले प्रि बजेट छलफल सम्पन्न गरेको छ । उद्योगी व्यवसायीका समस्या तथा मागलाई आगामी बजेटमार्फत सम्बोधन गराउने उद्देश्य अनुरुप सो समुहले सरकार र निजी क्षेत्रबीच प्रि बजेट छलफल गराएको हो । ललितपुर स्थित हिमालय होटलमा भएको उक्त छलफलमा वस्तुगत संघ तथा महासंघतर्फका गरी ८० भन्दा बढी अध्यक्षहरू सहभागी भएका थिए भने बजेटसँग सम्बद्ध विभाग तथा महाशाखा प्रमुखहरु थिए । कार्यक्रममा बोल्ने अघिकांश वस्तुगत अध्यक्षहरूले अहिले पनि व्यवसायीका धेरै समस्याहरू रहेको र अब बन्ने बजेटमार्फत सम्बोधन हुनुपर्ने बताए । ‘उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले हामी बस्तुगत अध्यक्षहरुको गुनासो सुनाउनका लागि जसरी यो प्रि बजेट छलफल कार्यक्रम गर्नुभयो यो एकदमै सह्रानिय छ,’ कार्यक्रममा बोल्ने वस्तुगत अध्यक्षहरुले भने, ‘नरेशलाल समूहमा व्यवसायीका समस्या बुझेको र सरकारसँग लविङ गरेर व्यवसायीका माग सम्बोधन गराउन सक्ने व्यवसायीहरू उम्मेदवार रहेकाले सो समुहलाई जिताउन आवश्यक छ ।’ कार्यक्रममा बोल्ने अधिकांश वस्तुगत संघका अध्यक्षहरूले आफ्ना मागलाई सरकारले सम्बोधन नगरेको भन्दै हाल दुई तिहाइको सरकार बनेको र त्यसले सम्बोधन गर्ने बताएका थिए । कार्यक्रममा उपाध्यक्षमा उम्मेदवार नरेशलाल श्रेष्ठले अहिले व्यवसायीहरू विभिन्न कारणले गर्दा पलायन हुने अवस्था रहेको र सरकारले उनीहरुको समस्या सम्बोधन हुनेगरी बजेट ल्याउनुपर्ने बताए । ‘कोरोना महामारीपछि नै व्यवसायीहरु एकदमै समस्यामा छन् भने जेनजी आन्दोलनपछि त उद्योगी व्यवसायीको आत्मबल नै गिरेको छ,’ उनले भने, ‘दुई तिहाई नजिकको बनेको सरकारले व्यवसायीको समस्या समाधान गर्दैै आत्मबल उचो बनाउनुको विकल्प छैन ।’ आफुले अहिले पनि व्यवसायीक हकहितमा काम गर्दै आएको र आगामी दिनमा पनि व्यवसायीको एजेण्डा लिएर सरकारसँग नीतिगत पहलका लागि काम गर्ने बताए । ‘मैले सँधै वस्तुगत संघका समस्या समाधान गर्न सरकार र सरोकारवाला निकायसँग बहश पैरबी गर्दै आएको छु,’ उनले भने, ‘सोही अनुरुप अहिलेपनि वस्तुगत संघसंस्थाका समस्यालाई बजेटमार्फत सम्बोधन गराउन प्रि बजेट छलफलको आयोजना गरेका हौं आशा छ आज उठेका समस्याहरुलाई सरकारले बजेटमार्फत सम्बोधन गर्नेछ ।’ यसैगरी कार्यक्रममा महासंघको वस्तुगत तर्फका उपाध्यक्ष एवं वरिष्ठ उपाध्यक्षका प्रस्तावित उम्मेदवार हेमराज ढकालले आफ्नो कार्यकाल महासंघको तर्फबाट सरकारसँग लविङ गरेर उद्योगी व्यवसायीको हितमा थुप्रै काम गरेको र अबका दिनमा उद्योगी व्यवसायीको समस्या समाधानका लागि आफु सधैँ व्यवसायीकै साथमा रहने बताए । ‘यसअघि सरकारले निजी क्षेत्रमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गर्ने नियम ल्याउन लागेको थियो,’ उनले भने, ‘त्यसमा हालका अध्यक्ष चन्द्रप्रसाद ढकाल र आफुहरु लागेको र त्यसलाई रोक्न सफल भएको भन्दै अहिलेको कार्यकालमा २० भन्दा बढी कानूनहरू परिमार्जन गरी व्यवसायीमैत्री बनाउन सफल भएका छौं ।’ सोही अनुरूप अबका दिनमा पनि व्यवसायीक हकहितमा काम गर्न नरेशलाल समुहलाई नै जिताउनुको विकल्प नभएको उनको भनाई छ । महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समुहबाट सदस्यहरुमा कमला श्रेष्ठ, भक्तबहादूर हमाल, सुबोध कुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादूर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदूर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सोही समुहबाट महासंघकोतर्फबाट प्रतिनिधित्व गर्दै सदस्यहरुमा सुनैना घिमिरे पाण्डे र सुधिर पराजुली चुनावी मैदानमा छन् ।
निजी क्षेत्रमा अख्तियारको प्रवेशलाई रोक्न सफल भएँ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा निजी क्षेत्रको मनोबल बढाउन र विद्यमान आर्थिक चुनौतीहरूलाई चिर्दै लगानीमैत्री वातावरण निर्माण गर्न महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले आफूले पदभार ग्रहण गर्दाको कठिन समय र त्यसपछिका सुधारका प्रयासहरूबारे विस्तृत जानकारी गराएका हुन् । अध्यक्ष ढकालका अनुसार महासंघको नेतृत्व सम्हाल्दा मुलुकको अर्थतन्त्रमा उच्च ब्याजदरको दबाब थियो भने रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा परेको प्रभावले नेपाली बजारलाई पनि असहज बनाएको थियो । ‘तत्कालीन संकट समाधान गरी वैदेशिक लगानी भित्र्याउने वातावरण बनाउनु मेरा लागि मुख्य चुनौती थियो,’ उनले भने, ‘त्यसका साथै दक्ष जनशक्ति उत्पादन र व्यावसायिक मनोबल बढाउनु पनि उत्तिकै आवश्यक थियो ।’ आफ्नो कार्यकालको प्रमुख सफलताका रूपमा उनले निजी क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार विस्तार हुनबाट रोकेको विषयलाई उल्लेख गरे । शपथ ग्रहण गरेकै दिन निजी क्षेत्रमा अख्तियार प्रवेश गर्ने अवस्था आए पनि त्यसलाई कानुन सम्मत रूपमा रोक्न सफल भएको उनको दाबी छ । यस्तै, बागलुङको ढोरपाटनमा बसेको कार्यकारिणी समितिको बैठकले निजी क्षेत्रको हितमा ऐतिहासिक निर्णयहरू गरेको समेत उनले स्मरण गरे । नेपाल विद्युत् प्राधिकरणको महसुल भुक्तानीमा देखिएको विवाद समाधान गर्न महासंघले अभिभावकीय भूमिका निर्वाह गरेको बताउँदै ढकालले भने, हरेक आन्दोलनको निशानामा निजी क्षेत्र पर्ने गरेको छ । ८१ प्रतिशत योगदान पुर्याउने क्षेत्रमाथि हुने यस्ता आक्रमणबाट सुरक्षाका लागि महासंघले ठोस निर्णयहरू अघि बढाएको छ।’ अध्यक्ष ढकालले लगानी प्रवर्द्धनका लागि प्रधानमन्त्रीको उपस्थितिमा चीन, दुबई, भारत लगायतका देशका लगानीकर्ताहरूसँग छलफल गरी नेपालमा लगानी भित्र्याउन आग्रह गरिएको जानकारी दिए । ठूला आयोजनाहरूको निर्माणका लागि महासंघकै अग्रसरतामा १० अर्ब रुपैयाँ पुँजी भएको कम्पनी खडा गरिएको उनको भनाइ छ । अन्तमा आफ्नो प्रतिबद्धता बमोजिम नै महासंघको विधान संशोधन गर्न सफल भएको बताउँदै उनले उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा धेरै कानुनहरू परिमार्जन भइरहेको र बाँकी सुधारका लागि वर्तमान सरकारसँग निरन्तर सहकार्य भइरहेको पनि उल्लेख गरे ।
शंकर ग्रुपको १ खर्ब रुपैयाँ ऋण, कुन कम्पनीको कति ?
काठमाडौं । व्यावसायिक घराना शंकर ग्रुप यतिबेला अनुसन्धानको केन्द्रमा छ । ग्रुपका अध्यक्ष शंकर अग्रवाल गत शुक्रबार (चैत २०) पक्राउ परेपछि आइतबार (चैत २२) रिहा भएका छन् भने सोही दिन उपाध्यक्ष तथा जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन् । प्रहरीले दुवै जनालाई सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी कसूरमा अनुसन्धान गर्न पक्राउ गरेको जनाएको छ । सुलभ अग्रवाललाई अदालतले ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । शंकर समूह अन्तर्गत दर्जनौं कम्पनीहरू सञ्चालनमा छन् । उद्योग, व्यापार, स्टील, सिमेन्ट, ऊर्जा लगायत विभिन्न क्षेत्रमा फैलिएको यो समूह देशको औद्योगिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । समूहको संरचना अनुसार यसको दुई प्रमुख इकाइ रहेका छन्– जगदम्बा होल्डिङ र जगदम्बा ग्रुप । जगदम्बा होल्डिङ्सको अध्यक्ष शुलभ अग्रवाल रहेका छन् भने जगदम्बा समूहको अध्यक्ष शाहिल अग्रवाल छन् । शाहिल अग्रवाल शंकर समूहका प्रबन्ध निर्देशक पनि हुन्, जसले समग्र समूहको नेतृत्व सम्हालिरहेका छन् । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार, शंकर समूहले दर्जनौं कम्पनी सञ्चालन गर्दै आएको छ र करिब एक खर्ब रुपैयाँ बराबर ऋण बैंक तथा वित्तीय संस्थाबाट लिएको छ । जगदम्बा स्टिल्स नेपालको ठूलो इस्पात उत्पादक कम्पनी जगदम्बा स्टिल्स लिमिटेडले ३३ अर्ब १५ करोड ५२ लाख रुपैयाँ ऋण लिएको छ । कम्पनी सन् १९९३ अक्टोबर १ मा स्थापना भएको हो । बाराको सिमरामा रहेको यसको प्रमुख प्लान्टमा कोल्ड रोल्ड, रोलिङ मिल, तार तथा मेल्टिङ गरी चार प्रमुख उत्पादन लाइनमार्फत विभिन्न इस्पातजन्य सामग्री उत्पादन गरिन्छ । कम्पनीको कुल क्षमता २४ लाख ४४ हजार मेट्रिक टन रहेको छ, जसले देशको आवश्यकताभन्दा बढी स्टील उत्पादन तथा आपूर्ति गर्ने क्षमता राख्छ । यसको उत्पादन देशभरका करिब ५९० वितरकमार्फत बिक्री भइरहेको छ । सौर्य सिमेन्ट इन्डस्ट्रीज सौर्य सिमेन्ट इन्डस्ट्रीज लिमिटेडले १४ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ ऋण लिएको छ । सन् २०१७ सेप्टेम्बरमा स्थापना भएको यस कम्पनीको प्रमुख उत्पादन प्लान्ट सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ । कम्पनीको कुल स्थापित क्षमता प्रतिदिन ३ हजार टन रहेको छ । यो कम्पनी शंकर समूह, आम्बे समूह र हुलास समूहसहित तीन प्रमुख व्यावसायिक समूहहरूको संयुक्त स्वामित्वमा रहेको छ । रिद्धि सिद्धि सिमेन्ट रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले ११ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ ऋण लिएको छ । सन् २०१३ मा स्थापना भएको यो कम्पनी शंकर समूह र अम्बे समूहको संयुक्त लगानीमा सञ्चालनमा रहेको छ । कम्पनीको कुल ग्राइण्डिङ क्षमता ०.७३ मिलियन मेट्रिक टन रहेको छ भने क्लिङ्कर उत्पादन क्षमता ०.८४ मिलियन मेट्रिक टन रहेको छ । कम्पनीले ‘रिद्धि सिद्धि’ र ‘मकवानपुर सिमेन्ट’ ब्रान्ड अन्तर्गत उत्पादनहरू बजारमा बिक्री गर्दै आएको छ । कम्पनीको उत्पादन प्लान्ट मकवानपुर जिल्लाको हेटौंडा–रातोमाटेमा अवस्थित छ । शुभ श्री जगदम्बा सिमेन्ट मिल्स शुभ श्री जगदम्बा सिमेन्ट मिल्स लिमिटेडले २ अर्ब १४ करोड ८० लाख रुपैयाँ ऋण लिएको छ । सन् २००७ अगस्टमा स्थापना भएको यस कम्पनीको कुल ग्राइण्डिङ क्षमता प्रतिदिन २ हजार ६०० टन रहेको छ । कम्पनीमा सौरभ समूहको करिब ६० प्रतिशत र शंकर समूहको करिब ४० प्रतिशत स्वामित्व रहेको छ । यसको उत्पादन प्लान्ट पर्सा जिल्लाको छत्ता पिप्रा चोर्नी–४ मा अवस्थित छ, जुन काठमाडौंबाट करिब १२५ किलोमिटर टाढा पर्छ । जगदम्बा मोटर्स जगदम्बा मोटर्स प्रालिले ५ अर्ब ९६ करोड ७४ लाख रुपैयाँ ऋण लिएको छ । सन् २०१० डिसेम्बर २७ मा स्थापना भएको यो कम्पनी शंकर समूह अन्तर्गत सञ्चालनमा रहेको छ । कम्पनी शाहिल अग्रवालको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ । जगदम्बा मोटर्सले नेपालभर आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको बजारमा महत्वपूर्ण उपस्थिति कायम गरेको छ । जगदम्बा हस्पिटालिटीमा शंकर समूहले नक्सालमा पाँचतारे होटल हिल्टन काठमाडौं सञ्चालनमार्फत हस्पिटालिटी क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाएको छ । जगदम्बा हस्पिटालिटी ग्रुप अन्तर्गत रहेको उक्त होटल आगलागीका कारण क्षतिग्रस्त भएपछि हाल पुनःनिर्माणको चरणमा रहेको छ । उपलब्ध तथ्याङ्क अनुसार होटल निर्माणका लागि कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ३० करोड रुपैयाँ ऋण लिएको छ । होटल पूर्ण रूपमा सञ्चालनमा आउँदासम्म करिब ७ अर्ब रुपैयाँ लगानी भइसकेको दाबी गरिएको छ । होटलमा शाहिल अग्रवालको कम्पनीको ९० प्रतिशतभन्दा बढी स्वामित्व रहेको बताइएको छ । जगदम्बा अटो ग्रुप शंकर समूहअन्तर्गतको जगदम्बा अटो ग्रुपले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ९१ करोड रुपैयाँ ऋण लिएको छ । सन् २०१४ मा स्थापना भएको यो कम्पनी नेपालमा टीभीएस ब्रान्डका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधन एसेम्बल गर्ने अधिकृत कम्पनी हो । कम्पनीले एसेम्बल गरेका सवारी साधनहरू आफ्नै समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालिमार्फत बिक्री वितरण गर्दै आएको छ । जगदम्बा मोटर्स नेपालमा टीभीएस सवारी साधनको आधिकारिक वितरक पनि हो । जगदम्बा हायर पर्चेज जगदम्बा हायर पर्चेज लिमिटेडले १ अर्ब ७७ करोड २५ लाख रुपैयाँ ऋण लिएको छ । शंकर समूहको वित्तीय शाखाअन्तर्गत रहेको यो कम्पनी सन् २०१६ मेमा स्थापना भएको हो । कम्पनीले सन् २०१७ फेब्रुअरीमा नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कम्पनीका रूपमा सञ्चालन अनुमति प्राप्त गरेको थियो । यसको मुख्य उद्देश्य दुई पाङ्ग्रे, तीन पाङ्ग्रे (टेम्पो), चार पाङ्ग्रे सवारी साधन (अटो लोन) तथा भारी उपकरणका लागि हायर पर्चेज ऋण प्रदान गर्नु हो । उपलब्ध तथ्याङ्क अनुसार कम्पनीको अधिकांश सेयर स्वामित्व शाहिल अग्रवालसँग रहेको छ, जसले करिब ९९.८० प्रतिशत हिस्सा ओगटेका छन् । जगदम्बा मोबाइल शंकर समूहअन्तर्गतको जगदम्बा मोबाइलले ९० करोड रुपैयाँ ऋण लिएको छ । नेपालमा मोबाइल तथा प्रविधि उपकरणको व्यवसायमा सक्रिय यो कम्पनी सन् २०११ जुलाई ७ मा स्थापना गरिएको हो । कम्पनीले रियलमी मोबाइल टेलिकम्युनिकेशन्सको गैर–विशेष आधिकारिक वितरकका रूपमा रियलमी ब्रान्डका स्मार्टफोन तथा एक्सेसरीहरू बिक्री तथा वितरण गर्दै आएको छ । जगदम्बा सिन्थेटिक्स जगदम्बा सिन्थेटिक्स लिमिटेडले ३ अर्ब ५९ करोड रुपैयाँ ऋण लिएको छ । नेपालमा पोलिप्रोपाइलीन बुना कपडा र झोला उत्पादन गर्ने यो कम्पनी सन् २००२ मार्च २० मा स्थापना भएको हो । कम्पनीले नन-वान बुना एए र हाई डेंसिटी पोलिथिन (ज्म्एभ्) कपडा पनि उत्पादन गर्दै आएको छ, जुन झोला निर्माण र आवरण सामग्रीको रूपमा प्रयोग हुन्छ । यसको उत्पादन इकाई रुपन्देही जिल्लामा अवस्थित छ र मासिक ३ हजार मेट्रिकटन कपडा तथा झोला उत्पादन क्षमता राख्दछ । जगदम्बा फ्लोर एण्ड एग्रो जगदम्बा फ्लोर एण्ड एग्रो लिमिटेडले १ अर्ब २४ करोड १६ लाख रुपैयाँ ऋण लिएको छ। भैरहवा, रुपन्देहीमा अवस्थित यसको उत्पादन कारखानाबाट आटा तथा अन्य गहुँजन्य उत्पादनहरू उत्पादन हुँदै आएका छन् । कम्पनी सन् २०१५ अगस्टमा स्थापना भएको हो। यसले मैदा, आटा, सुजी, चोकर र अन्य सम्बन्धित उत्पादनहरू जगदम्बा र शक्ति भोग ब्रान्ड अन्तर्गत बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीको कुल स्थापित क्षमता प्रतिवर्ष ३८ हजार २०० मेट्रिकटन रहेको छ । बलेफी हाइड्रोपावर लिमिटेड बलेफी हाइड्रोपावर लिमिटेडले ५ अर्ब ४८ करोड रुपैयाँ ऋण लिएको छ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित ३६ मेगावाट क्षमताको अपर बलेफी-ए जलविद्युत आयोजना सफलतापूर्वक सञ्चालन भइरहेको छ । उक्त आयोजना सन् २०७९ मंसिर ६ गते (नोभेम्बर २२, २०२२) देखि व्यावसायिक उत्पादनमा रहेको छ । जनवरी २०२६ सम्म कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुगेको छ, जसको सम्पूर्ण स्वामित्व सर्वसाधारणमा रहेको छ । यसले कम्पनीलाई पूर्ण सार्वजनिक स्वामित्वमा रहेको ऊर्जा कम्पनीको रूपमा स्थापित गरेको छ । हालका प्रमुख सेयरधनीहरूमा सुशील गुप्ताको ४.३४ प्रतिशत, प्रभा गोयनका भीमसरिया ३.९८ प्रतिशत, सन्दीप कुमार शारदा ३.७६ प्रतिशत र बच्छु पौडेल २.६० प्रतिशत रहेका छन्। यसअघि सुलभ अग्रवालको नाममा १४.६० प्रतिशत सेयर स्वामित्व रहेपनि हाल उनको नाममा देखिदैँन । मोदी इनर्जी लिमिटेड मोदी इनर्जी लिमिटेडले ३ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ ऋण लिएको छ । कम्पनी पर्वत जिल्लामा २० मेगावाट क्षमताको तल्लो मोदी खोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनको उद्देश्यले क्रियाशील छ । सन् १९९६ नोभेम्बरमा ‘मनाङ ट्रेड लिंक प्राइभेट लिमिटेड’ का रूपमा स्थापना भएको कम्पनी सन् २०१७ मे २८ मा ‘मोदी इनर्जी प्राइभेट लिमिटेड’ मा रूपान्तरण गरिएको थियो । त्यसपछि सन् २०१८ जुन २१ मा कम्पनी सार्वजनिक लिमिटेड कम्पनी ‘मोदी इनर्जी लिमिटेड’ मा परिणत भएको हो । तल्लो मोदी खोला जलविद्युत आयोजना ‘रन अफ द रिभर’ प्रकारको आयोजना हो, जसले ५५२ वर्ग किलोमिटर जलाधार क्षेत्र समेटेको छ । आयोजनाको डिजाइन डिस्चार्ज २६.५२ घनमिटर प्रति सेकेन्ड रहेको छ, जुन ४० प्रतिशत एक्सिडेन्स फ्लोमा आधारित छ । कम्पनीको प्रमुख संस्थागत प्रवर्द्धक मोदी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड रहेको छ भने व्यक्तिगत प्रवर्द्धकमा पशुपति मुरारका र श्रीश कुमार मुरारका प्रमुख रहेका छन् । माथिल्लो बलेफी हाइड्रोपावर माथिल्लो बलेफी हाइड्रोपावर लिमिटेडले ७ अर्ब २४ करोड ८० लाख रुपैयाँ ऋण लिएको छ । कम्पनी जुगल गाउँपालिकामा ४६ मेगावाट क्षमताको माथिल्लो बलेफी जलविद्युत आयोजना निर्माणमा क्रियाशील छ । कम्पनी २०१७ जनवरी ४ मा स्थापना भएको हो । उक्त आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको परियोजना हो र निर्माण, स्वामित्व, सञ्चालन तथा अन्ततः स्थानान्तरण मोडेलअनुसार सञ्चालन हुने व्यवस्था रहेको छ । माथिल्लो बलेफी हाइड्रोपावरका प्रवर्द्धकहरूमा गोल्यान समूह, एचआर गोयल समूह, सिद्धार्थ समूह र कसजु समूह प्रमुख रहेका छन् । शुलभ अग्रवाल सन् २०१० देखि शंकर समूहमा उपाध्यक्ष छन् । उनले समूह अन्तर्गत विभिन्न कम्पनीहरूमा सञ्चालक तथा निर्देशकको भूमिका निर्वाह गर्दै आएका छन् । उनी विशेषगरी जगदम्बा स्टील इण्डस्ट्रिज, जगदम्बा सिमेन्टमा प्रबन्ध सञ्चालकको भूमिकामा छन् । साथै, एसजी ग्लोबल, एसजी इन्जिनियरिङ, एसजी इलेक्ट्रोनिकमा पनि उनको सक्रिय भूमिका रहेको छ । शाहिल अग्रवालका विषयमा भने हालसम्म सरकारको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन । शंकर ग्रुपका प्रबन्ध सञ्चालक र जगदम्बा ग्रुपका अध्यक्ष रहेका शाहिलका विभिन्न ३३ वटा कम्पनी सञ्चालनमा रहेका देखिन्छन् । उनी विभिन्न २९ वटा कम्पनीको अध्यक्ष छन् भने ४ वटा कम्पनीमा सञ्चालकको भूमिकामा छन् । अकोड क्यापिन प्रा.लि.,काठमाडौं- अध्यक्ष अजन्त होल्ङ्गिस प्रा.लि.,काठमाडौं- अध्यक्ष अतल क्यापिटल प्रा.लि.,काठमाडौं- अध्यक्ष सेन्त्रम क्यापिटल प्रा.लि.,काठमाडौं- अध्यक्ष कालिका फिनकोर्प प्रा.लि., काठमाडौं- अध्यक्ष शुभश्री जगदम्बा सिमेन्ट मिलस् प्रा.लि.,काठमाडौं- अध्यक्ष जगदम्बा फुड प्रोसेसिङ प्रा.लि.,काठमाडौं- संचालक जगदम्बा फुडस् प्रा.लि.,काठमाडौं- अध्यक्ष जगदम्बा इस्पट प्रा.लि.,काठमाडौं- अध्यक्ष जगदम्बा एक्सप्लोरेसन प्रा.लि.,काठमाडौं- अध्यक्ष जगदम्बा रिसोर्सेस प्रा.लि.,काठमाडौं- अध्यक्ष कर्भी ग्लोबल प्रा.लि.,काठमाडौं- अध्यक्ष कृति एपेक्स प्रा.लि.,काठमाडौं- अध्यक्ष युजीवन मर्चेन्ट प्रा.लि.,काठमाडौं- अध्यक्ष वन्डर भेन्चर प्रा.लि.,काठमाडौं- अध्यक्ष जगदम्बा इस्पीरिचस् प्रा.लि.- अध्यक्ष जगदम्बा मोटरस् प्रा.लि.,काठमाडौं- अध्यक्ष जगदम्बा अटो गुप्र प्रा.लि.,काठमाडौं- अध्यक्ष शंकर अटोमोबाइलस् प्रा.लि., काठमाडौं- अध्यक्ष शैर्य अटोमोबाइलस् प्रा.लि., काठमाडौं- अध्यक्ष जगदम्बा अल्को वेभ प्रा.लि., काठमाडौं- अध्यक्ष जगदम्बा हस्पीट्यालिटी ग्रुप प्रा.लि., काठमाडौं- अध्यक्ष जगदम्बा माक्स प्रा.लि., काठमाडौं- अध्यक्ष ए. जि. इन्जिनियरिङ्ग प्रा.लि.,काठमाडौं-अध्यक्ष सगरमाथा लोजिस्टिकस् एण्ड त्रास्पोट प्रा.लि., काठमाडौं- अध्यक्ष एन.के. कस्मेटिकस् प्रा.लि., काठमाडौं- अध्यक्ष सगरमाथा माइनस् प्रा.लि., काठमाडौं- अध्यक्ष जगदम्बा सिमेन्ट प्रा.लि., काठमाडौं- अध्यक्ष नकासु मोटरस् प्रा.लि., काठमाडौं- अध्यक्ष एभरेष्ट साल्ट प्रा.लि., काठमाडौं- संचालक जगदम्बा केमिकलस् प्रा.लि.,काठमाडौं- संचालक नागरजुन क्यापिटलस् प्रा.लि.,काठमाडौं- संचालक जगदम्बा क्रेडिट एण्ड इन्भेष्टमेन्ट लिमिटेड,काठमाडौं- संचालक