‘क्रुड आयल’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको छ । ‘क्रुड’ आयल (कच्चा तेल) को मूल्यका तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढी तोकिएको भनी आमउपभोक्तालाई भ्रममा पार्ने प्रयास भइरहेको जनाउँदै निगमले त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो ।      क्रुड आयलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक रहेको निगमले जनाएको छ । नेपालसँग आफ्नै ‘रिफाइनरी’ नहुँदा कच्चा तेल आयात नगरी सोझै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता रहेको छ ।    'क्रुड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ, त्यसैले मूल्य तुलना गर्दा क्रुड होइन, प्रशोधित पेट्रोलियम पदार्थकै अन्तर्राष्ट्रिय मूल्य हेर्नुपर्छ', निगमका प्रवक्ता मनोज ठाकुरले भने ।  निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । आइओसीबाट प्राप्त प्रशोधित पेट्रोल र डिजेलको खरिद मूल्यका आधारमा नेपालमा प्रत्येक १५/१५ दिनमा मूल्य समायोजन हुँदै आएको छ ।       निगमले उपलब्ध गराएको तथ्याङ्कअनुसार १६ अप्रिल २०२६ मा क्रूड आयलको मूल्य प्रतिब्यारेल ९९.६ अमेरिकी डलर, पेट्रोल १३९.३ डलर र डिजेल २२८.१ डलर थियो । यस अवधिमा सबैभन्दा उच्च मूल्य २ अप्रिल २०२६ मा पुगेको थियो, जहाँ क्रूड आयल ११८.३ डलर, पेट्रोल २६२.० डलर र डिजेल ३३४.४ डलर प्रति ब्यारेल पुगेको देखिन्छ ।      सामान्य अवस्थामा क्रुड आयल र पेट्रोलबीच करिब १० डलर तथा क्रुड आयल र डिजेलबीच करिब २० डलरको अन्तर रहने भए पनि पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिमा यो अन्तर क्रमशः करिब १४४ डलर र २१६ डलरसम्म पुगेको निगमले जनाएको छ । यसले प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप बढाएको छ ।       निगमका अनुसार भन्सार, कर, ढुवानी, बीमा, भण्डारण र सेवा शुल्कजस्ता पक्षहरूले पनि अन्तिम खुद्रा मूल्य निर्धारणमा प्रभाव पार्नेछ ।       निगमले यही वैशाख ३ गतेदेखि नेपालमा डिजेल/मट्टितेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा प्रतिलिटर रु ५ वृद्धि गरेको थियो । निगमले डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि २३६ रुपैयाँ र तेस्रो वर्गका लागि २३७ रुपैयाँ तोकेको छ ।       मूल्य वृद्धि पश्चात पनि डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा भइरहेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा दैनिक बढोत्तरी आउँदा १५ दिनमा करिब रु पाँच अर्ब ७५ करोड घाटा हुने प्रवक्ता ठाकुरले जानकारी दिए । रासस  

१५.८० अर्ब ऋण बोकेको जगदम्बाको आम्दानी साढे १४ अर्ब रुपैयाँ

काठमाडौं । जगदम्बा इन्टरप्राइजेज प्रालिले सन् २०२५ मा १४ अर्ब ५९ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ०.६५ प्रतिशत अर्थात् ९ करोड ६० लाख रुपैयाँले घटेको हो । सन् २०२४ मा कम्पनीले १४ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको थियो।  कमजोर माग र निर्माण गतिविधिमा आएको सुस्तताका कारण मूल्य घट्दा आम्दानी घटेको कम्पनीले जनाएको छ । पछिल्लो समय उद्योगमा चुनौतीपूर्ण अवस्था रहे पनि कम्पनीले उत्पादन प्रक्रियाको एकीकरणमार्फत भविष्यमा नाफा वृद्धि गर्ने तथा प्रतिस्पर्धात्मक क्षमता मजबुत बनाउने अपेक्षा गरिएको छ । कम्पनीले सन् २०२३ मा १५ अर्ब ४६ करोड रुपैयाँ, सन् २०२२ मा १५ अर्ब ४६ करोड १० लाख रुपैयाँ, सन् २०२१ मा १४ अर्ब २ करोड ६० लाख रुपैयाँ, सन् २०२० मा १४ अर्ब ९८ करोड १० लाख रुपैयाँ, सन् २०१९ मा १९ अर्ब ६६ करोड १० लाख रुपैयाँ, सन् २०१८ मा १६ अर्ब ७० करोड ८० लाख रुपैयाँ र सन् २०१७ मा ११ अर्ब ५५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । वि.सं. २०५७ साल चैत १५ गते स्थापना भएको कम्पनीले पर्साको जीतपुरस्थित कारखानाबाट एम.एस. ब्ल्याक तथा ग्याल्भनाइज्ड पाइप उत्पादन गर्दै आएको छ । दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको कम्पनीले विभिन्न प्रकारका स्टिलजन्य सामग्री उत्पादन गरी नेपालको औद्योगिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । सन् २०२५ को जुलाई मध्यसम्म कम्पनीको कुल स्थापित उत्पादन क्षमता वार्षिक ९ लाख २० हजार ६०० मेट्रिक टन पुगेको छ । यसले कम्पनीलाई नेपालकै प्रमुख इस्पात उत्पादक कम्पनीमध्ये एकको रूपमा स्थापित गरेको छ। कम्पनीको प्रवद्र्धन नेपालका उद्योगपति तथा व्यापारीहरूले गरेका हुन्, जो सिमेन्ट उत्पादन, निर्माण सामग्री व्यापार तथा होटल व्यवसायलगायत विभिन्न क्षेत्रमा संलग्न छन् । कम्पनीको सञ्चालन तीन सदस्यीय सञ्चालक समितिको मार्गदर्शनमा हुन्छ भने दैनिक व्यवस्थापन अनिल कुमार रुङ्टा र विशाल पटवारीले सम्हाल्दै आएका छन् । जगदम्बा इन्टरप्राइजेजले जगदम्बा र जग शक्ति नामबाट बजारमा बलियो पहिचान बनाएको छ । कम्पनीसँग देशभर फैलिएको डिलर सञ्जाल रहेको छ, जसले प्रमुख शहरहरूमा यसको उत्पादनको स्थायी बजार सुनिश्चित गरेको छ । यस क्रममा कम्पनीले इस्पात पगाल्ने एकाइ र तातो स्ट्रिप उत्पादन गर्ने मिल स्थापना गरेको छ, जुन क्रमशः सन् २०२२ को नोभेम्बर र २०२३ को जुलाईदेखि सञ्चालनमा आएका छन् । यी परियोजनामा कुल २ अर्ब २४ करोड ६१ लाख रुपैयाँ लगानी गरिएको छ । कम्पनीका मुख्य कच्चा पदार्थहरू भारतबाट आयात हुने भएकाले मूल्य अन्तर्राष्ट्रिय बजारसँग जोडिएको छ । सन् २०२५ मा कच्चा पदार्थ लागत कुल आम्दानीको करिब ९१ प्रतिशत पुगेको छ, जसले नाफामा प्रत्यक्ष प्रभाव पारेको छ । साथै, अमेरिकी डलरमा आधारित आयातका कारण विदेशी विनिमय दरको जोखिम पनि उच्च रहेको छ । सोही वर्ष कम्पनीले ३४ मिलियन रुपैयाँ विदेशी विनिमय घाटा बेहोरेको छ । कम्पनीले विभिन्न आकार र प्रकारका स्टिल उत्पादनहरू निर्माण गर्दछ, जसमा टीएमटी बार, एमएस ब्ल्याक पाइप, ग्याल्भनाइज्ड आइरन पाइप, हट रोल्ड स्ट्रिप, शटर प्रोफाइल, शटर गाइड, शटर स्प्रिङ, लक प्लेट, प्रिफ्याब्रिकेटेड भवन सामग्री, डब्लु–बिम तथा विभिन्न स्टिल पोलहरू समावेश छन् । यी उत्पादनहरूको प्रयोग निर्माण, अटोमोबाइल, रसायन तथा तेल उद्योग लगायतका विभिन्न क्षेत्रमा हुन्छ । उत्पादन विविधताले कम्पनीलाई कुनै एक मात्र उद्योगमा निर्भर हुनुपर्ने जोखिम घटाएको छ र फराकिलो ग्राहक आधार बनाउन मद्दत गरेको कम्पनीको दाबी छ ।  कम्पनीको उद्योग पर्सा जिल्लामा भारत–नेपाल सीमाबाट करिब १५ किलोमिटर दूरीमा तथा वीरगञ्ज सुक्खा बन्दरगाह नजिक अवस्थित छ, जसले ढुवानी लागत घटाउन सहयोग पु¥याएको छ । मध्यम अवधिमा नेपालमा स्टिल उत्पादनको माग वृद्धि हुने अपेक्षा गरिएको छ, किनभने देश पूर्वाधार, ऊर्जा र पर्यटन क्षेत्रमा विकासको चरणमा छ । सडक, पुल, सार्वजनिक संरचना तथा निजी निर्माण कार्यको विस्तारले स्टिलको माग निरन्तर रहन सक्ने अनुमान छ । सरकारले सडक, जलविद्युत, विमानस्थल लगायतका पूर्वाधार विकासमा जोड दिइरहेको कारण पनि स्टिल उद्योगलाई सकारात्मक प्रभाव पर्ने देखिन्छ । तर निकट भविष्यमा आर्थिक वृद्धि सुस्त हुनु र सरकारी खर्च अपेक्षाभन्दा कम हुनुका कारण निर्माण क्षेत्र प्रभावित भएकाले उद्योगमा चुनौतीहरू पनि कायम रहने कम्पनीको अनुमान छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ दीर्घकालीन र १३ अर्ब ९२ करोड रुपैयाँ अल्पकालीन गरी कुल १५ अर्ब ८० करोड ६६ लाख रुपैयाँ ऋण लिएको छ । 

चिया बजारमा 'जस्बिरे' ब्राण्डको उदय

काठमाडौं । वि.सं २०४२ मा पत्रकार तथा लेखक स्वर्गीय भैरव रिसाल स्विस सरकारको सहयोगमा सञ्चालित एक आलु खेतीसम्बन्धी परियोजनामा काम गर्न हालको इलाम नगरपालिका-४ जस्बिरे गाउँ पुगे। रिसालले इलाममा आलु खेती मात्रै सिकाएनन्, चिया रोप्न पनि सिकाए । त्यति खेर चिया खेतीबारे ज्ञान आर्जन गरेका स्थानीय सूर्य सुब्बालाई कुनै दिन आफ्ना छोराहरूले चिया उद्योग नै सञ्चालन गर्लान् भन्ने लागेको थिएन । तर अहिले उनका छोराहरूले सञ्चालन गरेको ‘जस्बिरे चिया प्रशोधन उद्योग’ चिया उद्योगका क्षेत्रमा ‘ब्रान्ड’ बनेको छ । सूर्यका चार भाइ छोरा हुन् । त्यसमध्येका जेठो र माइलो शरद र गृष्मले १० वर्षअघि जम्मा १४ लाख रुपैयाँ लगानीमा उद्योग सुरु गरेका थिए । हाल सो उद्योगको लगानी ८ करोड रुपैयाँ पुगिसकेको छ । उनीहरुले आफ्नो ६० रोपनी जमिनमा चिया खेती गरेका छन् । साथै, ४ सय रोपनी जमिन भाडामा लिएर चिया खेती गरेका छन् ।  गाउँका १८५ घरपरिवारले उत्पादन गर्ने चिया यही उद्योगमा आउँछ । वार्षिक ३० हजार केजी तयारी अर्थोडक्स चिया उत्पादन गर्दै आएको यस उद्योगले यस वर्षदेखि १ लाख केजी तयारी चिया उत्पादन गर्ने लक्ष्य लिएको छ । यहाँ उत्पादित चियाको मुख्य बजार नेपालसहित अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्याण्ड, डेनमार्क, र जर्मनीलगायतका देश हुन् । जस्बिरे चिया प्रशोधन उद्योग ब्रान्डका रुपमा स्थापित हुनुका पछाडि सुब्बा परिवारको अथक मेहनत उदाहरणीय छ । सूर्यका जेठा छोरा गृष्म उद्योगको बजार व्यवस्थापन गर्छन् । माइला शरद नेपालकै ‘बेस्ट टी मेकर’ हुन् । उनले काठमाडौंमा आयोजित ‘नेपाल टी च्यालेन्ज-२०२४’ मा ‘बेस्ट टि मेकर’को अवार्डसमेत प्राप्त गरेका थिए । उनले चिया बनाउन थालेको २० वर्ष भइसकेको छ । उद्योगमा उत्पादन हुने सबै किसिमका चिया शरदले बनाउने गर्छन् ।  साहिँला छोरा निर्विकल्पको काम उद्योगको प्राविधिक पाटो हेर्ने हो । मेसिन फेर्ने, बनाउने वा हटाउने सहितका काम उनको जिम्मामा छ । कान्छा छोरा विकल्प अष्ट्रेलियामा मार्केटिङ बारे अध्ययनरत छन् । गृष्मका छोरा कर्म पनि भर्खरै पढाइ सकेर उद्योगमा काम गर्न आएका छन् । उनको काम विदेशी पाहुनालाई चियाको बारेमा जानकारी दिनु हो । यहाँ सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । ‘उद्योगमा हामी परिवारका सदस्य सबै खटिएका छौँ,’ गृष्मले भने ।  हाल ७ हजार केजी ‘स्पेशल टी’ र अन्य सबै किसिमका गरी ३० हजार केजी तयारी चिया उत्पादन हुने गरेको गृष्म बताउँछन् । जस्बिरे चिया उद्योगको पहिचान ‘स्पेशल टी’ हो । यस उद्योगमा ‘स्पेशल टी’ मात्र वार्षिक ७ हजार केजी उत्पादन हुँदै आएको छ । ‘एक वर्षमा स्पेशल टी मोटामोटी ७ हजार केजी उत्पादन हुन्छ । सुइरोबाट मात्र उत्पादित २ हजार केजी हुन्छ । किनकी त्यसलाई धेरै मेहनत पर्छ,’ माइला छोरा शरदले भने, ‘अरु ‘स्पेशल टी’ एक पात एक सुइरो, दुई पात एक सुइरो, तीन वा चार पात एक सुइरोको फरक स्वाद हुन्छ । फरक सिजन, मौसम र उचाइअनुसार उत्पादन हुने चियाको स्वाद फरक हुन्छ । मूल्य पनि फरक हुन्छ ।’ उनका अनुसार विश्व बजारमा ‘स्पेशल टी’ को माग धेरै छ । यहाँ उत्पादन भएको ‘स्पेशल टी’ उद्योगले प्रतिकेजी १५ हजार रुपैयाँमा बिक्री गर्छ । दराज अनलाइनमा त्यही चियाको मूल्य ३५ हजार रुपैयाँ प्रतिकेजी रहेको छ । उनका अनुसार विदेशमा सोही चियाको प्रतिकेजी मूल्य १ लाख रुपैयाँ नेपालीसम्म पर्छ । गत वर्षसम्म उद्योगको क्षमताले माग धान्न सकेको थिएन । तर, यसवर्ष उद्योगमा पूर्वाधार र प्रविधि थपिएको छ । अब २५ हजार केजी तयारी चिया उत्पादन गर्दै आएको उद्योगले वार्षिक एक लाख केजी तयारी चिया उत्पादन गर्ने तयारी थालेको छ । ‘यसअघि ८ करोड रुपैयाँसम्मको कारोबार थियो, यस वर्षदेखि बढ्छ । वार्षिक एक लाख केजी तयारी चिया उत्पादन गर्न उद्योगको क्षमता बढाएका छौँ,’ गृष्मले भने, ‘उद्योगमा नियमित काम गर्ने २६ जना हुनुहुन्छ । स्पेशल टी भएकाले मेसिनभन्दा बढी हातकै काम हुन्छ । टिप्ने, केलाउने जस्ता काम भएकाले महिला कामदार बढी हुनुहुन्छ ।’ त्यसो त यो सफलताको कथामा छैन । दुई वर्षअघि उद्योग जलेर ध्वस्त भएको तीतो कथा पनि शरदले सुनाए । २०८१ फागुन १३ गते उद्योगमा आगलागी हुँदा ८ करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको थियो । उनका अनुसार ४ करोड बराबरको अर्गानिक अर्थोडक्स तयारी चिया र त्यति नै मूल्यको भौतिक संरचना जलेर नष्ट भएको थियो । विद्युत् सर्ट भई आगो लाग्दा उद्योग पूर्ण रूपमा जलेको थियो । ‘पुनः शून्यबाट उठ्नुपर्ने अवस्था भएकाले हाल बैंकको ऋण ४ करोड रुपैयाँ छ,’ उनले भने । जस्बिरे गाउँका सबै घरपरिवारको मुख्य आयस्रोत चियाखेती नै हो । ‘गाउँमै उद्योग छ । नबिक्ला की भन्ने पीर छैन । अन्य खेती छोडेर गाउँ नै चियामय बनाइयो,’ स्थानीय किसान मिलन मुखियाले भने, ‘सुब्बा परिवारको उद्योगले हामी गाउँलेलाई झन् सजिलो भएको छ ।’ जस्बिरेमा चिया रोप्नुपर्छ भन्ने सुरुआत लेखक तथा पत्रकार स्व भैरव रिसालले गरेका हुन् । उनी पहिलोपटक विसं २०४२ मा जस्बिरे आएका थिए ।  ‘भैरव सरले हामीलाई आलु रोप्ने उन्नत विधि सिकाउनुभयो । उहाँकै सक्रियतामा यहाँ चिया विस्तार आयोजनाको अवधारणा सुरु भयो,’ सूर्य सुब्बाले भने, ‘त्यसपछि जस्बिरेमा चिया विस्तार आयोजना कार्यालय हुँदै देशमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड स्थापना भयो । भैरव सरले यहाँ आएर आलु, चिया खेती गर्न मात्र होइन, गाउँमा विकासको लहर भित्र्याएर जानुभएको थियो ।’      त्यसो त जस्बिरे गाउँ र चियाको इतिहास सुब्बा परिवारसँग जोडिएको छ । राणाकालमा जस्बिर सिंह सुब्बाको नामबाट जस्बिरे गाउँ रहेको बताइन्छ । तिनै जस्बिर सिंह, सूर्य सुब्बाका हजुरबुबा हुन् । तत्कालीन राणाहरू सदरमुकाम स्थापनाका लागि विभिन्न ठाउँ हुँदै कुटीडाँडासम्म आइपुगेका थिए । उनीहरूसँगै आएका विभिन्न जातजातिका मानिसमध्ये जस्बिर सुब्बा पनि एक थिए । अरू सबै फर्किए, तर जस्बिर सुब्बा भने त्यहीँ बसिरहे । समय बित्दै जाँदा उनको बसोबास रहेको ठाउँ ‘जस्बिरे’ नामले चिनिन थालेको इतिहासमा पाइने पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष सटेन्द्र जबेगुले बताए ।  उद्यमी गृष्मका अनुसार, चिया तीन प्रकारको हुन्छन् । सिटिसी, अर्थोडक्स र स्पेशल । सिटिसी मधेसमा उत्पादन मात्र हुन्छ । अर्थोडक्स पहाडमा हुन्छ । अन्तर्राष्ट्रिय बजारमा बढी माग हुने अर्गानिक स्पेशल टी हो । ‘जस्बिरेमा चिया बुझ्न देश, विदेशका पाहुना आउँछन् । हामी उत्पादन, प्रशोधन र मार्केटिङसम्मका कुरा सिकाएर पठाउँछौँ,’ उनले भने ।  उनीहरू जिल्लाकै सफल र उदाहरणीय उद्यमी रहेको इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले बताए । ‘हामीले धेरै अनुदान दिएर होइन । आफ्नै बलबुता र अध्ययनले स्थापित हुनुभएको हो,’ प्रमुख थापाले भने ।  सरकारको अनुदानभन्दा पनि आफैँ गर्नुपर्छ भन्ने हिम्मत आवश्यक रहेको गृष्मको भनाइ छ । ‘हामीले यस्तो चिया उत्पादन गर्छौं भन्ने कुरा संसारका मान्छेलाई थाहा छैन । त्यो काम हाम्रो पहुँचले भ्याउँदैन । यस्तो कुराचाहिँ सरकारले मार्केटिङ गरिदिए हुन्थ्यो जस्तो लाग्छ,’ उनले भने, ‘अनुदानका नाममा एक बेला उन्नती परियोजनाले हामीलाई ५० प्रतिशत अनुदान दियो । त्यो बेला हाम्रो उद्योग सानो थियो । हामीलाई सतप्रतिशत अनुदान पाए जस्तै भयो । हामीलाई ७० लाख रुपैयाँ जति अनुदान दिइएको थियो ।’