कञ्चनपुरमै उखु उद्योग खुलेपछि किसानलाई बेच्न भारत जानुपर्ने बाध्यता हट्यो
महेन्द्रनगर । एक दशकअघिसम्म भारतीय व्यापारीलाई उखु बिक्री गरे पनि रकम नपाएको पीडा सहेकी कञ्चनपुरको बेलौरी नगरपालिका–७ की उर्मिला चौधरी हिजोआज भने त्यो तनावबाट मुक्त छिन् । ‘पन्ध्र कट्ठामा लगाएको उखु सीमावर्ती भारतीय बजारका व्यापारीलाई बिक्री गरेँ, तर एक रुपैयाँ पनि नदिएर व्यापारी सम्र्पकविहीन बने’, चौधरीले भनिन्, ‘विगतकोभन्दा यहाँका उखु किसान अहिले ढुक्क भएर मुनाफा आर्जन गरिरहेका छन् ।’ उर्मिला जस्तै कञ्चनपुरको दक्षिण क्षेत्रमा उखुखेती गर्ने सयौँ किसान अहिले बजारको समस्याबाट मुक्त छन् । यहाँको बेलौरी र पुनर्वासमा दुई ठूला चिनी उद्योग सञ्चालनमा आएपछि किसानलाई उखु पु¥याउन भ्याइनभ्याइ छ । ‘पहिले बैलगाडामा उखु बेच्न भारतसम्म जान्थ्यौँ’, उनले भनिन्, ‘अहिले गाउँमै उद्योग खुलेपछि किसान उखुखेतीप्रति आकर्षित भएका छन् ।’ कञ्चनपुरको बेलौरी, पुनर्वास, बेल्डाँडी र लालझाडी क्षेत्रमा सबैभन्दा बढी उखुखेती गरिँदै आएको छ । चिनी उद्योग सञ्चालनपछि यहाँ स्थापित कोल्हु भने विस्थापनका क्रममा रहेको बेलौरी नगरपालिका–७ टेडियाका कुलप्रसाद श्रेष्ठले बताए । उनले चिनी उद्योग सञ्चालनपछि किसानले उखुको उचित मूल्य पाइरहेको बताए । ‘पहिले १५० मा प्रतिक्विन्टल उखु बिक्री गरियो’, श्रेष्ठले भन्नुभयो, ‘अहिले प्रतिक्विन्टल रु साढे चार सयमा बिक्री हुँदैछ ।’ उनले दुई/तीन वर्षयता उखुको मूल्यमा सुधार आउँदा खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भइरहेको बताए । ‘मैले एक बिघा खेतमा उखु लगाएर जिविका चलाएको छु’, श्रेष्ठले भने, ‘अब विगतको जस्तो उखु बिक्री हुने तर पैसा नपाउने अवस्था हट्दै गयो ।’ दुई दशकदेखि उखुखेती गर्दै आएका श्रेष्ठले यहाँ विगतमा किसानले बिक्रीका लागि निकै सास्ती भोगेको बताए । यहाँ यस पटक उखु उत्पादनसमेत बढ्ने अनुमान गरिएको छ । गत वर्ष बेलौरीस्थित महाकाली चिनी मिलले १६ लाख क्विन्टल र पुनर्वासस्थित भागेश्वर चिनी मिलले १२ लाख क्विन्टल उखु खरिद गरेका थिए । त्यसैगरी यहाँको पुनर्वास नगरपालिकाका उखु किसान रामदास बडायकले आफूहरुले सरकारले निर्धारण गरेको उखुको मूल्य पाउनुपर्ने बताए । ‘विगतमा मिलसम्म उखु पुर्याए पनि वर्षाैंसम्म मूल्य नपाएर चित्त बुझायौँ’, उनले भने, ‘सरकारले मूल्य निर्धारण गरेरभन्दा पनि सो मूल्य किसानले पाए/नपाएका बारेमा नियमन गर्नुपर्छ ।’ बेलौरी नगरपालिकाको कृषि शाखा प्रमुख सुमनराज जोशीले जिल्लाको दक्षिणी भेग उखुको पकेट क्षेत्रका रुपमा विस्तार भइरहेको बताए । ‘बेलौरीमा ६ हजार ५०० बिघा क्षेत्रफलमा उखुखेती गरिँदैछ’, उनले भने, ‘तीन हजार ४०० किसान उखुखेतीमा आबद्ध छन् ।’ उनले हरेक वर्ष उखुको मूल्य वृद्धि हुँदै जाँदा किसानको उक्त खेतीमा आकर्षण बढ्दै गएको बताए । महाकाली चिनी मिलका प्रशासकीय अधिकृत कालुसिंह ठगुन्नाले मिलका लागि २५ लाख क्विन्टल उखु आवश्यक भएको बताए । ‘यस याममा पाँच लाख क्विन्टल खरिद गरेका छौँ’, उनले भने, ‘मिललाई आवश्यक उखु उपलब्ध हुन सकिरहेको छैन ।’ सो मिल २०६७ सालदेखि सञ्चालन गर्दै आएको ठगुन्नाले बताए । रासस
भ्याट नर्तिने ३५२ व्यवसायीको नामावली सार्वजनिक
काठमाडौं । आन्तरिक राजस्व कार्यालय पुतलीसडक र बानेश्वरले कर नतिर्ने ३५२ फर्मको नाम सार्वजनिक गरेको छ । दुवै कार्यादलले आईतबार एक सार्वजनिक सूचना जारी गर्दै समयमा नै कर भुक्तानी नगर्नेहरुको नामावली प्रकाशन गरेको हो । दुई कार्यालयले सार्वजनिक गरेको नामावलीमा निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्षदेखि सञ्चारगृहसम्म रहेका छन् । कर तिर्नु नपर्ने प्रमाण पेश नगरेको र पटक पटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएपछि कार्यालयले पत्रिकामा सूचना प्रकाशित गरेका छन् । पुतलीसडक कार्यालयले ५ लाख रुपैयाँभन्दा बढी कर दाखिला गर्न बाँकी रहेका २५६ कम्पनीको नाममा १५ दिने सूचना जारी गरेको छ । त्यसैगरी बानेश्वर कार्यालयले ९६ कम्पनीको नाममा ७ दिने सूचना जारी गरेको छ । आइक्यानका अध्यक्ष युद्धराज ओलीको फर्म पिवाईसी एण्ड एशोसियटले भ्याट नतिरको भन्दै कर कार्यालयले सूचना निकालेको छ । सरकारी कार्यालयले समेत तिर्दैन कर कर कार्यालय पुतलीसडकले सार्वजनिक गरेको २५६ कम्पनीको सूचीमा सरकारी कार्यालय समेत रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले साढे २ करोड कर भुक्तानी नगरेको सूचनामा उल्लेख छ । कर कार्यालयले सचिन सापकोटाको नाम उल्लेख गर्दै २ करोड ४८ लाख ११ हजार बढी कर भुक्तानी गर्न १५ दिनको समय दिएको छ । समयमा भ्याट नबुझाउने कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शकुन्ताल हिराचनको कम्पनी समेत परेको छ । उनले कम्पनी युनाईटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रालिले १ करोड ४० लाख कर रकम दाखिला नगरेको सूचनामा उल्लेख छ । कर कार्यालयले मिडिया कम्पनीले पनि भ्याट समयमा नबुझाएको भन्दै सूचना निकालेको छ । जसमा एभेन्युज टेलिभिजनले ५ करोड ३५ लाख, विजमाण्डुले ४३ लाख, सौर्य दैनिकले ६० लाख, एविसी मिडिया ग्रुपले ११ लाख ९२ हजार र कम्युनिकेट मिडिया प्रालिले ३२ लाख २३ हजार बढी कर रकम दाखिला गरेका छैनन् ।
थपिए २६२ उद्योग, १ खर्ब ८३ अर्ब लगानी हुँदा २० हजार रोजगारी सिर्जना
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना उद्योग क्षेत्रमा लगानी र रोजगारी सिर्जनाको आधारमा उत्साहजनक देखिएको छ । साउनदेखि मंसिरसम्मको अवधिमा २६२ उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा स्वदेशी लगानीका १३६ र विदेशी लगानीका १२६ उद्योग थपिएका हुन् । यी उद्योगमा १ खर्ब ८३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको लगानी स्वीकृत भएको छ । लगानी स्वीकृत भएका स्वदेशी तथा विदेशी लगानीका उद्योगमा २० हजार २८३ जनाको लागि रोजगारी सिर्जना भएका छन् । सिर्जना भएको नयाँ रोजगारीमा स्वदेशी लगानीका ठूला, साना र मझौला उद्योगमा १२ हजार ३ सय २१ जना र विदेशी लगानीका उद्योगमा ७ हजार ९६२ जनालाई रोजगारी सिर्जना भएको उद्योग विभागले जानकारी दिएको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा मात्र साना, ठूला र मझौला गरी ४१ वटा स्वदेशी लगानीका उद्योगहरु दर्ता भएका थिए । उक्त संङख्यामा उद्योग दर्ता भएसँगै ३ हजार ६३२ जनालाई रोजगारी दिइने उल्लेख गरिएको छ । त्यसैगरी भदौ महिनामा २१ वटा उद्योग दर्ता हुँदा १ हजार ८९५ जनाको लागि रोजगारी सिर्जना भएको छ । असोज महिनामा साना, ठूला र मझौला गरी २७ वटा उद्योगहरु दर्ता भएका थिए । उक्त सङख्यामा उद्योग दर्ता भएसँगै २ हजार ६६७ जनाले रोजगारी पाउने अवस्था सिर्जना भएको छ भने कात्तिक महिनामा २८ वटा उद्योग दर्ता हुँदा २ हजार १३४ जनाले रोजगारी पाउने छन् । विभागको तथ्याङक अनुसार मंसिर महिनामा साना, ठूला र मझौला गरी २० वटा दर्ता भएका छन् । जसबाट २ हजार ५३ जनालाई रोजगारी दिइने उल्लेख छ ।