सरकारले डेढ महिनाभित्र निजी क्षेत्रलाई विदेशमा विद्युत व्यापारको अनुमति दिने
काठमाडौं । सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत व्यापारको अनुमति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधिको तयारी गरिहेको भन्दै अबको एकदेखि डेढ महिनाभित्रमा काम सम्पन्न गर्ने बताइन् । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतनिधिमण्डलसँगको भेटमा ऊर्जामन्त्री भुसालले अन्तरदेशीय विद्युत व्यापारमा निजी क्षेत्रलाई अग्रसर गर्ने सोचसहित कार्यविधि तयार भइरहेको जानकारी दिइन् । ‘विद्युत निर्यातमा निजी क्षेत्रलाई विद्युत निर्यातमा सहभागी बनाउने नै हाम्रो सोच हो,’ उनले भनिन्, ‘विद्युत आयात गर्न दिँदैनौँ, तपाईंहरूले गन्तव्य खोजेर निर्यात गर्नुस् ।’ सरकारले अन्तर्राष्ट्रिय बजारमा निजी क्षेत्रले सिधै विद्युत बिक्री गर्न सक्ने गरी कार्यविधि तयार गर्ने उनले जानकारी दिइन् । ‘आफैँ विद्युत उत्पादन गर्ने र बिक्री गर्नेलाई पनि सहजीकरण गर्ने गरी कार्यविधि बनाउछौँ,’ उनले भनिन् । उनले विद्युत उत्पादनमा मात्रै नभइ प्रसारणमा समेत निजी क्षेत्रलाई सहभागी गराउने उल्लेख गरिन् । उनले बंगलादेशसम्म विद्युत निकासीका लागि सरकारले विशेष पहल गर्ने पनि उल्लेख गरिन् । मन्त्री भुसालले नेपालमा उत्पादन हुने विद्युतको मुख्य बजार भारत भएकाले निजी क्षेत्रले पनि भारतमा बजार खोज्नुपर्ने बताइन् । छलफलमा मन्त्री भुसालले अर्ध जलाशययुक्त जलविद्युत आयोजना (पिकिङ रन अफ दि रिभर)को विद्युत खरिद सम्झौता (पिपिए) नरोकिने पनि बताइन् । ‘केही प्राविधिक कारणले रोकिएका होलान्, हामी अघि बढाउछौँ,’ उनले भनिन् ।
उद्योग सचिव भन्छन्ः आवश्यकता हेरेर बन्देज लगाइएका वस्तुकाे आयात खुलाउँछौँ
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरलले आवश्यकता हेरेर बन्देज लगाइएको बस्तुको आयात खुला गर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बहुपक्षिय व्यापारमा दुई पक्षिय सम्बन्धको सन्तुलन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव पोखरेलले सरकारले आवश्यकता हेरेर बन्देज खुला गर्ने बताएका हुन् । सरकार हरेक व्यापार तथा उद्योग नीति बनाउन नीजि क्षेत्रसँग सहकार्य गर्न तयार रहेको भन्दै उनले नीजि क्षेत्रले पनि व्यक्तिगत तथा व्यवसाय भन्दा माथि उठेर सरकारलाई सुझाव दिनु पर्नेमा उनले जोड दिए । उनले व्यापारलाई विकासको माध्यम बनाउन विकाससँग नजोड्ने किसिमले हेर्दा व्यापारको विस्तारको गन्तव्यमा नपुग्ने बताए । उनले अहिले विश्व अर्थतन्त्र परस्पर निर्भर रहेकाले नेपालले पनि त्यही अनुसार बुझ्नु पर्ने बताउँदै सरकारले बहुपक्षीय व्यापारमा दुई पक्षीय सम्बन्ध सन्तुलन बनाउनको लागि आवश्यक नीति नीजि क्षेत्रसँग सहकार्य गरेर बनाइरहेको बताए । त्यस्तै, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले सरकारले लिएका खम्बे अर्थ नीति अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले दुईपक्षीय व्यापार विस्तारको लागि सरकार, नीजि क्षेत्र र सहकारी तीनवटै मिल्दा मात्र सफलता हासिल गर्न सकिनेभन्दै त्यसतर्फ जोड दिन आग्रह गरे । फुँयालले मुलुकको आर्थिक वृद्धिको लागि व्यापार उद्योगको विकास जरुरी रहेको बताउँदै सरकार अहिले पूर्वाधार विकास तथा औधोगिक पूर्वाधार निर्माणमा अगाडि बढेकाले यसलाई पारदर्शिता र समयमा नै काम सक्नुपर्ने सुझाव दिए । सरकारले तेस्रो मुलुकसँग व्यापारका लागि चीनसँग भएको पारवहन सम्झौता बलियो रुपमा कार्यान्वय गर्नुपर्ने भन्दै सदस्य फुँयालले सरकारले दुईपक्षीय व्यापारमा रहेका भौगोलिक तथा सामाजिक असमानतालाई हटाउन आग्रह समेत गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल विश्वव्यापार संगठनसँग आवद्ध भएर पनि केही फाइदा लिन नसकेको गुनासो व्यक्त गरे । उनले नेपाल सो संगठनमा आवद्ध भएदेखि अहिलेसम्म निर्यातमा उल्लेखिय प्रगति गर्न नसकेको बताए । विश्व व्यापार संगठनमा आवद्ध भएपनि नेपाली उद्योगमा भएका वस्तु अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन नसकेको उनको भनाई थियो ।
रिजाल ब्राण्ड: ६ हजारकाे लगानी १० कराेड पुग्याे, गत वर्ष २६ कराेडकाे बिक्री
चितवन । विसं २०४४ मा फलामे कराईमा भुटेर साइकलमा बिक्री गर्ने दालमोठ उद्योगमा अहिले अत्याधुनिक मेसिनबाट उत्पादन गरेर अमेरिकासम्म पुग्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । रत्ननगर नगरपालिका–३ स्थित रिजाल फुड्स एण्ड वेभरेजेज प्रालिले उत्पादन गरेको दालमोठलगायत उत्पादन अहिले विश्वबजारसम्म पुग्ने गरेको छ । तत्कालीन समयमा पूर्वी नेपालमा अनुभव सँगालेर यहाँ आएका राजेन्द्रप्रसाद रिजालको परिवारले सुरु गरेको यो उद्योगले अहिले ८२ प्रकारका तयारी खानेकुरा उत्पादन गर्दै आएको छ । विगतको स्मरण गर्दै रिजालले भने, ‘कराईमा भुटेर प्याक गरेर, साइकल, रिक्सामा गाउँगाउँ पु¥याएर बिक्री गथ्र्यौँ ।’ बजारका केही व्यापारीको मागअनुसार दालमोठ बनाएर दिने गरेको उनको अनुभव छ । धनकुटाबाट मोरङको सलकपुरमा बसाइँ सरेको रिजाल परिवारका जेठा छोरा राजेन्द्रले उर्लाबारीस्थित काकाको दालमोठ उद्योगमा पढ्दै चार वर्ष कामको अनुभव लिए । त्यहाँको उत्पादन आउने चितवनको बजारमा आफैँले उद्योग खोल्ने रहर उनमा जाग्यो । बुवा अन्जनीप्रसादले सरसापट गरेर दिएको ६ हजारले उनले ज्वाइँसँग मिलेर रत्ननगरमा शान्ता कमल दालमोठ उद्योग सञ्चालन गर्न थाले । बैंकको सहयोगमा उद्योगलाई थप विस्तार गर्दै अगाडि बढाए । ब्राण्डलाई महत्व नदिई बिक्रीलाई मात्रै हेर्दै आएका रिजालले भाइ पुरुषोत्तम र अच्युतको परिवारसहित रिजाल ब्राण्डमा उत्पादन थाले । ज्वाइँको घर रहेको रत्ननगरको लौरीघोलबाट सुरु भएको यो उद्योग विभिन्न ठाउँमा सर्दै अहिले रत्ननगरकै बेल्सीमा आफ्नै जमिनमा बनेको भवनमा सञ्चालन हुँदै आएको छ । एकै परिवारका तीन दाजुभाइका श्रीमती, छोरा, छोरी र बुहारी यसै उद्योगमा आफ्नो सीप र क्षमताअनुसार काम गर्दै आएका छन् । सबैको अभिभावकत्व बुवा अन्जनीले गर्दै आएका छन् । माइला भाइ पुरुषोत्तमले भने, ‘हामीले अहिले पारिवारिक कर्पोरेट व्यवसाय गरिरहेका छौँ ।’ परिवारभित्रै मिलेर काम गर्न सकिन्छ भन्ने उदाहरण दिएको उनी बताउँछन् । सुरुका दैनिक २५ किलो दालमोठ उत्पादन गर्ने यो उद्योगमा अहिले आधुनिक उपकरणबाट दैनिक आठ टनभन्दा बढी उत्पादन गर्दै आएको छ । उद्योगमा ८२ प्रकारका दालमोठजन्य उत्पादन गरिन्छ । दालमोठमात्रै २० प्रकारका छन् भने तीनथरि आलुचिप्स, चारथरि भुजिया र १० थरि फुरनदाना उत्पादन हुन्छन् । यस्तै मुमको दाल, नट क्रयाकर, बदाम, कन्फ्लेक्स, भटमास, मटर फ्राइजस्ता तयारी उत्पादन यस उद्योगले गर्दै आएको छ । पुरुषोत्तमका अनुसार ७४ जिल्लास्थित डिलरमार्फत देशभित्र मात्रै होइन विदेशका हङ्कङ, अमेरिका, अष्ट्रेलिया र जापानमा पनि सामग्री पुग्ने गरेको छ । खाडी मुलुकमा यो उत्पादन पु¥याउने तयारीमा रिजाल परिवार जुटेको छ । अहिले बैंकसहित १० करोडभन्दा बढी लगानी रहेको उद्योगमा २०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । भारतमा बनेको खियारहित आधुनिक मेसिन उद्योगमा जडान छ । दाउरामा पकाउने गरिन्छ । पुरुषोत्तमले भने, ‘डिजल, कोइलालगायतका इन्धनलाई हामीले निरुत्साहित गरेका छौँ, वातावरणमैत्री बनाउन हाम्रो जोड छ ।’ कसैले गाउँघरमै गुइँठा बनाएर दिए त्यसको प्रयोग गर्ने उनको भनाइ छ । विदेशी प्रविधि भित्र्याएर स्वदेशी उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण रिजाल परिवारले दिएको छ । उद्योगमा कच्चा पदार्थदेखि उत्पादित वस्तुको गुणस्तर परीक्षण गर्ने प्रयोगशालाको व्यवस्था गरिएको छ । उनले भने, ‘नेपाल सरकारको प्रचलित नियम कानुनलाई पूर्णरूपमा पालना गर्दै हामीले गुणस्तरीय उत्पादन गरेका छौँ ।’ आफ्नो उत्पादन विदेशी कम्पनीको भन्दा राम्रो गुणस्तरको रहेको उनको दाबी छ । उनले गुनासो गरे, ‘नेपाली उत्पादनलाई नेपालीले नै विश्वास गर्दैनन्, तर हामीले विदेशीभन्दा राम्रो गुणस्तरको उत्पादन गरिरहेका छौँ ।’ गत वर्ष २६ करोडको बिक्री गरेको उद्योगले यस वर्ष ४० करोड पुर्याउने लक्ष्य छ । गत वर्षमात्रै नमकिनजन्य उत्पादन चार अर्ब ५० करोडको आयात भएको भन्दै उनले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘खुलाबजार र चोरी पैठारी रोकेर स्वदेशी उद्योगलाई संरक्षण गर्न सकेमा आत्मनिर्भर हुन सकिन्छ ।’ चिउरा, भटमासबाहेक अधिकांश कच्चा पदार्थ विदेशमा निर्भर हुनुपर्ने भन्दै उनले भने, ‘नेपालमै उत्पादन गर्न कृषकलाई प्रोत्साहन गर्नुपर्छ ।’ कच्चा पदार्थ ल्याउनुपर्दा आयात शुल्कमा छुट दिनुपर्ने उनको भनाइ छ । तयारी सामान आयात निरुत्साहित गर्दै यहाँको उत्पादनलाई सरकारले प्रश्रय दिनुपर्ने उनको माग छ । रासस