हेटौंडा सिमेन्ट उद्योग महाप्रबन्धकविहीन, उत्पादन-बिक्री ठप्प
बागमती । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन भएको छ । महाप्रबन्धक प्रेमशङ्कर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको उद्योग प्रशासनले जनाएको छ । पुसमा सिंहको कार्यकाल सकिएको भए पनि हालसम्म नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढन् नसकेकाले उद्योगको काम लथालिङ्ग भएको त्यहाँ कार्यरत प्राविधिक तथा कर्मचारीको भनाइ छ । साथै महाप्रबन्धकको समस्यासँगै हाल उद्योगको सिमेन्ट उत्पादन र बिक्रीसमेत ठप्प भएको बताइएको छ । उद्योगको ढुङ्गा धुलो पकाउने मेसिन (किल्न) बिग्रिएर सिमेन्ट उत्पादन बन्द भएको हो । उद्योगको उत्पादन बन्द भएको एक महिनाभन्दा बढी भइसकेको छ भने पुस २६ गतेदेखि सिमेन्ट नहुँदा बिक्रीसमेत बन्द भएको बताइएको छ । बिग्रिएको मेसिन (किल्न) चलाउनका लागि उदयपुर सिमेन्ट उद्योगसँग आवश्यक इँटा र मेसिन सापटी लिएर मर्मतको काम भइरहेको र केही दिनमा उत्पादन सुरु हुने उद्योग प्रशासनले जनाएको छ । सिमेन्ट उत्पादन गर्ने मेसिन धेरै जीर्ण भइसकेकाले पटक–पटक बिग्रिने गरेको र क्षमताअनुसार उत्पादन गर्न सकेको छैन । यता उद्योगका मञ्जदुर सङ्घ–सङ्गठनले महाप्रबन्धक छिटो नियुक्त गर्न माग गरेका छन् । औद्योगिक मजदुर सङ्घ, नेपाल कारखाना श्रमिक सङ्घ र समग्र उद्योग ट्रेड युनियन नेपालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै संयुक्तरूपमा ध्यानाकर्षणपत्र जारी गरी महाप्रबन्धक नियुक्त गर्न माग गरेको जनाएको छ । ध्यानाकर्षणपत्रमा महाप्रबन्धकको कार्यकाल सकिनुअगाडि नै महाप्रबन्धकको नियुक्ति समयमा गर्न आग्रह गरेको स्मरणपत्रमा उल्लेख छ । सङ्घीय सरकारको मन्त्रिपरिषद्बाट महाप्रबन्धक नियुक्ति गर्ने व्यवस्था छ । प्रेमशङ्कर सिहंले विसं २०७१ देखि निरन्तर महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएकामा पुसदेखि उनको कार्यकाल सकिएको हो । हाल त्यहाँ ३४१ प्राविधिकसहित कर्मचारी रहेका छन् । हेटौँडामा रहेका निजी क्षेत्रका शिवम् र रिद्दीसिद्दी सिमेन्ट उद्योगको अवस्था भने राम्रो छ ।
वर्षाले चितवनमा एक करोड इँट्टा नष्ट
चितवन । वर्षाले यहाँका इँट्टा उद्योगमा एक करोडभन्दा बढी इँट्टा नष्ट गरेको छ । उद्योगले बनाएका काँचा इँट्टा पानीले नष्ट गरेको हो । व्यवसायीका अनुसार पकाउन तयारी अवस्थामा रहेका काँचो इँट्टा पानीले बिगारेर नष्ट गरेको छ । माटो प्रशोधन गरेर इँट्टा बनाएर पकाउनुअघि पानी परेपछि पूरै नष्ट हुने गर्दछ । काँचो इँट्टा घाममा सुकाएपछि पकाउन राख्ने गरिन्छ । केही दिन परेको वर्षाका कारण इँट्टा नोक्सान भएको हो । चितवन इँट्टा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार जिल्लामा सात उद्योगका इँट्टा नष्ट भएका हुन् । कोभिड १९ अघि १८ उद्योग सञ्चालनमा थिए । अन्य उद्योग कोरोनाका कारण बन्द भएका छन् । सापकोटाको भनाइमा हाल सञ्चालनमा रहेका उद्योगमा सरदर एउटामा १५ लाख काँचो इँट्टा रहेका थिए । पानीले सबै इँट्टा नष्ट भएका छन् । उनले भने, ‘सङ्ख्याको हिसाबले एक करोडभन्दा बढी इँट्टा नष्ट भएका छन् ।’ यसबाट करोडौँ रुपैयाँ नोक्सानी भएको उनको दाबी छ । आफ्नो बिके इँट्टा उद्योगका १५ लाख काँचो इँट्टा नष्ट भएको उहाँले जानकारी दिनुभयो । इँट्टा उद्योग महासङ्घका उपाध्यक्षसमेत रहेका सापकोटाले बेमौसमी वर्षाका कारण देशभरका एक हजार ५०० उद्योगमा नोक्सान पुगेको बताए । उनले भने, ‘आत्मनिर्भर इँट्टा उद्योग कोभिडसँगै बेमौसमी वर्षाले विस्थापित हुने अवस्थामा पुगेका छन् ।’ सरकारले समयमै सम्बोधन नगरेमा आत्मनिर्भर यो व्यवसाय विदेशमा निर्भर हुनुपर्ने अवस्था आउने उनको भनाइ छ । इँट्टा पकाउन प्रयोग हुने कोइला बाहेक अन्य कच्चा पदार्थ यहीँ पाइन्छ । केही जनशक्ति भारतबाट ल्याइन्छ । ठूलो सङ्ख्यामा नेपालीले स्वदेशमै रोजगारी पाएका छन् । पूर्वी चितवनको खैरहनीस्थित लालपुरमा रहेको मनकामना इँट्टा उद्योगमा रहेका १० लाख काँचो इँट्टा नष्ट भएका छन् । उद्योगका सञ्चालक पुष्प पियाले वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्नु परेको बताउनुभयो । एक हजार काँचो इँट्टा बनाउन मजदूरलाई मात्रै एक हजार २०० दिनुपर्ने भन्दै उनले माटो, बालुवालगायत सामग्री खरिद गर्दा ठूलो लगानी हुने बताए । रासस
२४ खर्ब ७० अर्ब लगानीसहित साढे ८ हजार उद्योग दर्ता, साढे ६ लाखलाई रोजगारी
काठमाडौं । पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको छ । गत आव २०७७/०७८ को पुस मसान्तसम्मका तुलनामा चालु आवको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढेको उद्योग विभागका तथ्याङ्कले देखाउँछ । विभागका अनुसार गत आवको पुस मसान्तसम्म १०३ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । विभागका अनुसार हालसम्म आठ हजार ६०८ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४५ ठूला, ५७ मझौला र ५२ साना उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १७ ठूला, २१ मझौला र ६५ साना उद्योग दर्ता भएका थिए । हालसम्म एक हजार २५९ ठूला, एक हजार ९६६ मझौला र पाँच हजार ३८३ साना उद्योग दर्ता भएका विभागले जनाएको छ । लघु उद्यम र घरेलु उद्योगबाहेक १५ करोडसम्म स्थिर पूँजी भएको उद्योगलाई साना, १५ देखि ५० करोडसम्म पूँजी भएका उद्योगलाई मझौला र ५० करोडभन्दा बढी पूँजी भएका उद्योगलाई ठूला उद्योगका रुपमा लिइन्छ । बढीमा २० लाखसम्म पूँजी भएको उद्योगलाई लघु उद्यम र परम्परागत सीप र प्रविधिमा आधारित उद्योगलाई घरेलु उद्योग भनिन्छ । उद्योग दर्तासँगै प्रस्तावित लगानीमा पनि वृद्धि भएको छ । गत आवको पुस मसान्तसम्म दर्ता भएका उद्योगमा ७२ अर्ब ६२ करोडको लगानी प्रस्ताव भएकामा चालु आवमा सो लगानी बढेर एक खर्ब ८६ अर्ब पुगेको छ । हालसम्म २४ खर्ब ७० अर्बको लगानीसहित उद्योग दर्ता भएका विभागको तथ्याङ्क छ । उद्योगले दिने रोजगारी पनि झण्डै दोब्बरले बढेको छ । गत आवको समीक्षा अविधमा उद्योग स्थापनाबाट ६ हजार २८८ रोजगार भएकाेमा चालु आवको सोही अवधिमा १३ हजार ७४८ रोजगारी प्रस्तावित भएको विभागले जनाएको छ । हालसम्म दर्ता भएका उद्योगमा ६ लाख ४२ हजार ५४३ रोजगारी प्रस्ताव गरिएको छ । विभागबाट विदेशी लगानीको स्वीकृति लिनेको संख्या पनि बढेको छ । गत आवको पुस मसान्तसम्म १२३ विदेशी लगानी स्वीकृति भएकामा समीक्षा अवधिमा सो संख्या बढेर १२९ पुगेको छ । विभागले हालसम्म पाँच हजार ३६६ विदेशी लगानी स्वीकृत गरेको छ । विदेशी लगानीका ठूला उद्योग ३१९, मझौला ५६६ र साना उद्योग चार हजार ४८१ दर्ता भएका छन् । समीक्षा अवधिमा विदेशी लगानी २३ अर्ब ४७ करोडबाट बढेर ३० अर्ब ५६ करोड पुगेको छ । हालसम्म तीन खर्ब ९५ अर्ब ४२ करोडको विदेशी लगानी प्रस्तावसहितका पाँच हजार ३६६ उद्योग दर्ता भएका विभागले जनाएको छ । मुलुकमा औद्योगिक वातावरण बन्दै जानु, नीतिगत तथा प्रशासनिक सुधार, लगानीकर्तालाई सेवा सुविधा र सहजीकरण, लगानीका अवरोधलाई सुधार गर्दै लगेसँगै उद्योग स्थापनाका क्रम बढेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । रासस