मोरङ व्यापार ट्रेड एक्स्पो चैत १८ गतेदेखि हुँदै
मोरङ । मोरङ व्यापार सङ्घले स्वदेशी उत्पादन प्रवद्र्धन गर्न ‘मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो’ २०२२ आयोजना गर्ने भएको छ । सङ्घद्वारा मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलन आगामी चैत १८ देखि २६ गते विराटनगरमा आयोजना हुने एक्स्पो आकर्षक र भव्य हुने जानकारी गराएको छ । सङ्घका अध्यक्ष नवीन रिजालले एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगको अतिरिक्त मुलुकभरिका महत्व झल्किने कला संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, खजिन्य, कृषिजन्य तथा औद्योगिक उत्पादनको प्रदर्शनीका अलवा छिमेकी राष्ट्र भारतलगायत, बङ्गलादेश, पाकिस्तान आदि देशका उत्पादिन वस्तु रहेनछन् । एक्सपोका अवसरमा स्वदेशी तथा विदेशी लगानीको सम्भावनाबारे छलफल गर्ने जानकारी उनले दिए । प्रविधियुक्त वातानुकूलित र कुलरसहित सञ्चालन हुने एक्स्पोमा २७५ वटा स्टल रहने एक्स्पो संयोजक विकास कुमार बेगवानीले बताए । एक्स्पोमा वातानुकूलित ८०, कुलरसहितको ६० र साधारण १०६ वटा स्टल रहने संयोजक बेगवानीले जानकारी दिए । यस्तै एक्स्पोलाई थप आकर्षक बनाउन जिप लाइन, रिभर्स बन्जी, जिप साइकलिङलगायत साहसिक खेलकुद र सेल्फी जोन पनि रहनेछ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन आयोजकले यस वर्ष मेलामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्पदाका नमूना (लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल आदी) मुख्य आकर्षण रहने संयोजक बेगवानीले बताए । एक्स्पो अवधिभर ख्यातिप्राप्त राष्ट्रिय र स्थानीय कलाकारबाट साङ्गीतिक कार्यक्रम हुनेछ । एक्स्पो सञ्चालनका लागि रु तीन करोड खर्च लाग्ने अनुमान गरिएको छ भने ४० देखि ४५ करोडको कारोबार गर्ने लक्ष्य राखेको मेला संयोजक बेगवानीले बताए । यस पटकको एक्स्पोमा स्वदेशी र भारतीयसहित तीन लाख दर्शकले अवलोकन गर्ने विश्वास आयोजकले गरेको छ ।
रोल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा केशवकुमार आचार्य
रोल्पा । रोल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा केशवकुमार आचार्य निर्वाचित भएका छन् । आचार्य निकटतम प्रतिद्वन्द्वी वसन्त सुवेदीलाई तीन मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत तुलसी जिसीका अनुसार आचार्यले ४३७ प्राप्त गर्दा सुवेदीले ४३४ मत प्राप्त गरेका थिए । एक हजार २१८ मतदाता रहेको सङ्घको निर्वाचनमा ९८५ मत खसेको थियो । मङ्गलबार भएको मतदानको अन्तिम मतपरिणाम राति अबेर घोषणा भएको थियो । सङ्घको सदस्यमा अशोक आचार्य, इन्द्रबहादुर महरा, ऋषिराम रिजाल, चन्द्रबहादुर बुढा, दीपककुमार श्रेष्ठ, विशेष घर्ती क्षेत्री, रञ्जु पोख्रेल, शिवराज आचार्य र सुरेन्द्र थापा विजयी भएका छन् । सङ्घको दुई उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । गत माघ ४ गतेका लागि तय भएको निर्वाचन कार्यक्रम कोरोनाको नयाँ भेरियन्टको प्रभावसँगै स्थगन भएको थियो ।
परिसंघद्वारा विभिन्न १५ महिलालाई सम्मान, उपासना पौडेलदेखि बैंकर खुञ्जेलीसम्म सम्मानित
काठमाडौं । नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय रहेका महिलाहरूलाई सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा परिसंघले आफ्नो क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका रेणु शर्मा, कमला उप्रेती, उमा तामाङ, शर्मिला श्रेष्ठ, प्रकृति भट्टराई बस्नेत, प्रतिमा थापा, अलिशा श्रेष्ठ, निलम पाण्डे, अनुपमा खुँजेली, उपासना पौडेल, आँचल कुँवर, सुमिति शाक्य, गीता श्रेष्ठ, सोना खातिक र महिलाबाट नेतृत्व प्रदान भएको गोरख काली गुल्मलाई सम्मान गरेको हो । परिसंघले महिलालाई अघि बढ्न उत्प्रेरित गर्न सहयोग गर्ने पुरुषहरूलाई पनि सम्मान गरेको छ। परिसंघले महिलाहरूलाई प्रोत्साहन गर्ने प्रभुराम भण्डारी, शम्भु धमला, अभयशंकर श्रेष्ठ, डम्बर खनाल, बिक्रम श्रेष्ठ, दिनेशबहादुर श्रेष्ठ, अमिरप्रताप राणा, ललितकुमार लोहिया, डा रवीन्द्र खुँजेली, द्विराज शर्मा, अरुणध्वज अधिकारी, इयान ओक्ले वाल, निर्वाण चौधरी र प्रनेश शर्मालाई सम्मान गरेको हाे । कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधान सिंहले नयाँ पुस्तालाई उद्यमशीलतातर्फ प्रोत्साहन गर्न आग्रह गरिन् । उनले लैंगिक समतामूलक समाज निर्माणका लागि सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताइन् । उनले संस्थागत सामाजिक उत्तरदायित्वको रकम महिला सशक्तीकरण र महिला उद्यमशीलता विकासमा लगाउन व्यावसायिक संस्थाहरूलाई आग्रह गरिन् । यस्तै कार्यक्रममा परिसंघका कार्यबाहक अध्यक्ष निर्वाण चौधरीले महिलाहरूलाई अर्थतन्त्रको मूलप्रवाहमा ल्याउँदै दीगो आर्थिक विकासको आधार तयार गर्नुपर्ने बताए । दक्षिण एसियामा नेपालले महिलाहरूलाई वित्तीय पहुँच विस्तारमा उल्लेखनीय काम गरिरहेको पनि उनले बताए । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस मंगलबार मनाइँदैछ ।