काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २३ औं वार्षिक साधारणसभा एवं १२ औं अधिवेशन फागुन २७ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
नयाँ नेतृत्वसमेत चयन हुने महासंघको साधारणसभामा १ हजार २ सय जना प्रतिनिधि र १ हजार २ सय जना पर्यवेक्षकको सहभागी रहने महासंघले जनाएको छ ।
तीन दिनसम्म चल्ने साधारणसभाले ५९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । महासंघको निर्वाचन मिति नजिकिएसँगै अध्यक्ष लगायतका पदाधिकारीका लागि उम्मेद्वारीको चर्चा बढ्न थालेको छ ।
आगामी ३ कार्यकालका लागि हालका अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ । दुबै जनाले आगामी कार्याकालका लागि आफू एक मात्र दावेदार रहेको बताएका छन् ।
बुधबार निर्वाचनको तयारीको विषयमा महासंघले गरेको पत्रकार सम्मेलनमा सिंह र पाण्डे दुबैले आफू एक मात्र दावेदार रहेको बताएका थिए । अध्यक्ष सिंहले आफूले गर्न बाँकी काम र साना व्यवसायीको हितमा आएको नियमावली अनुसार काम गर्नका लागि आफूले उम्मेद्वारी दिएको बताए ।
यस्तै, वरिष्ठ उपाध्यक्ष पाण्डेले निर्माण व्यवसायी क्षेत्रमा देखिएको समस्या र सरकारी निकायबाट हुँदै आएको ढिलासुस्तीलाई हटाउन आफ्ने उम्मेद्वारी रहेको बताए ।
यसअघि नै महासंघका एसोसिएट तर्फबाट निर्वाचन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन् । महासंघको निर्वाचन नियमावली, २०७५ को नियम ८(१२) बमोजिम २३औं साधारण सभाको एशोसियट प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
निर्विरोध प्रतिनिधि चयन हुनेमा महासंघका वर्तमान अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे सहित पूर्वअध्यक्षद्वय रमेश शर्मा र जयराम लामिछाने, पूर्व नीतिगत उपमहासचिव विष्णु बुढाथोकी थप सदस्यहरु छन् ।
त्यस्तै रामप्रसाद मैनाली, टोपबहादुर श्रेष्ठ, शिवहरि घिमिरे, टंक प्रसाद चौलागाई, कुमार श्रेष्ठ, सुशीलकुमार श्रेष्ठ, नरहरि थपलिया, एनसी शेर्पा, उज्जवल गौतम, विनोद भट्टराई, रमेश बहादुर अधिकारी, रेवन्त बस्नेत, खडक बहादुर बुढाथोकी, लालकाजी अकेला गुभाजु, गेल्जे लामा, भद्र बहादुर शाही, लक्ष्मी बस्नेत कार्की, गेल्जे लामा, आङदोर्जे (एडी) लामा, रामजी पन्त मुकेश, भाइराजा श्रेष्ठ, अनिल सिलवाल, दिनेश रिजाल, राजेन्द्र मानन्धर, पशुपति भट्टराई, शिवशक्ति, मोहन कार्की, रामकुमार थापा, सुमन सुवेदी, नन्द कुमार राजभण्डारी, विष्णुभाइ श्रेष्ठ, यक्षध्वज कार्की, कुमारध्वज कार्की, सोम प्रकाश प्रसाई, अच्युत प्रसाद खरेल र कृष्ण बहादुर लामा रहेका छन् ।
निर्माण व्यवसाय कोमामा गयो
महासंघका अध्यक्ष सिंहले निर्माण व्यवसायी निकै मारमा परेको बताए । निर्माणको सिजनम दैनिक रुपमा निर्माण सामग्रीको मूल्य बढेको छ । एक डेढ महिनाको अवधिमा निर्माण सामाग्रीमा मूल्यवृद्धि उच्च भयो, उनले भने ।
उनले नियामावली संसोधनमा ढिलाई हुँदा व्यवसायीको ३० अर्ब बढी रकम रोकिएको बताए । हामी व्यवसायीले राखेको धरौटी रकम लामो समयदेखि रोकिएको छ, नियमावली संशाेधन अन्तिम चरणमा पुगेको समयमा अर्थमन्त्री जनार्दन शर्माले श्रम सहकारीको विषय निकालेर रोके, उनले भने ।
स्थानीय तह तथा प्रदेश सरकारबाट ७ अर्ब बढी भुक्तानी रोकिएको महासंघले जनाएको छ ।
यस्तै, अध्यक्षका दावेदार वरिष्ठ उपाध्यक्ष पाण्डेले अन्तर्राष्ट्रिय बजारलाई देखाएर मूल्य बृद्धि हुने गरेको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा २/३ प्रतिशत मात्र मूल्य बढ्दा नेपालमा उच्च रुपमा मूल्य बढ्ने गरेको बताए ।