उद्यमशीलता विकासका लागि परम्परागत ऐन परिमार्जन अपरिहार्य छः. वरिष्ठ उपाध्यक्ष ढकाल

रोल्पा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका सबै भौगोलिक क्षेत्रमा सम्भावनाको खोजी गर्दै स्थानीयस्तरमै उद्यमशीलताको विकास अपरिहार्य रहेको बताएका छन् । उद्यमशीलता विकास र प्रवर्द्धनका लागि परम्परागत नीतिमा परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै ढकालले परम्परागत कानुन नै उद्यमशीलता विकासमा अवरोधका रुपमा रहेको धारणा राखे । रोल्पा उद्योग वाणिज्य संघको १८ औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको पदभार ग्रहण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “ निजी क्षेत्रको विकास रोक्ने कानुन परिमार्जन हुनु जरुरी छ ।” अर्थमन्त्री जनार्दन शर्मासमेत उपस्थित रहेकाे कार्यक्रममा ढकालले उद्यमशीलता विकाससँगै रोजगारी सिर्जना र साधन स्रोतको उपयोगका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता औंल्याए । वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला नगर उद्योग वाणिज्य संघलाई चुनावका बेलामा मात्र सम्झने, भ्रमण गर्ने र चुनाव जितिसकेर बिर्सने प्रवृत्तिबाट आफू मुक्त हुन चाहेको बताए । उनले रोल्पाका व्यवसायीहरुले जिल्लामै रोजगारी बढाउने, स्थानीय साधन स्रोतको उपयोग गर्ने खालका व्यवसाय अघि बढाएमा आफूले निजी क्षेत्रको नेतृत्वका तर्फबाट मात्र नभै आइएमई समूहको अध्यक्ष एवं ग्लोबल आईएमई बैंकको अध्यक्षका रुपमा सहयोग गर्न तयार रहेको बताए । “हरेक प्रदेशमा कुनै न कुनै व्यवसायमा लगानी गर्ने हाम्रो योजनाअनुसार हाल पोखरा, गैंडाकोट, बुटवल, कर्णाली लगायतका क्षेत्रमा केबलकारलगायतका व्यावसायिक परियोजना अघि बढिरहेका छन्,” उनलेल भने, “रोजगारी सिर्जना गर्ने, स्रोतसाधनको उपयोग गर्ने कुनै व्यावसायिक योजना छन् र त्यसका लागि पुँजी पर्याप्तता नभएमा हामी सहकार्य गर्न तयार छौं ।” ढकालले रोल्पा उद्योग वाणिज्य संघको निवर्तमान कार्यसमितिलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिए । संघसँग सहकार्य गर्दै आर्थिक क्षेत्रको विकासमा लागिरहने उनकाे भनाइ छ ।

घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा सिंह निर्वाचित

वीरगञ्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघमा उमेश प्रसाद सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका सिंहले महासंघको संस्थापक सदस्यहुँदै विभिन्न जिम्मेवारीका साथै कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेका छन् । महासंघको वीरगञ्जमा सम्पन्न २५ औ राष्ट्रिय महाधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट निवर्तमान अध्यक्षमा श्यामप्रसाद गिरी, वरिष्ठ उपाध्यक्षमा सूर्य बहादुर कँडेल तथा उपाध्यक्षहरुमा लघु उद्यमतर्फ पूर्ण बहादुर भण्डारी, घरेलु उद्योगतर्फ प्रकाश रावल, साना उद्योगतर्फ चन्दन कृष्ण श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध मुकेश उपाध्याय, महिलातर्फ शोभा गुरुङ, वस्तुगततर्फ मोहन कटुवाल, एसोसिएटतर्फ शान्ता वास्कोटा कोइराला, सहकारीतर्फ सत्य नारायण प्रजापति, कृषितर्फ हरिहर थापा, पर्यटनतर्फ राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको महासचिवमा डम्बर प्रसाद रेग्मी, कोषाध्यक्षमा अच्यूत पाण्डे, सचिवहरुमा दिपक बहादुर बुढा, सहकारीतर्फ भेषराज पाण्डे, वस्तुगततर्फ महेन्द्र बहादुर चित्रकार, एसोसिएटतर्फ रुद्र प्रसाद न्यौपाने, सहकोषाध्यक्षमा ज्ञान बहादुर खडका तथा ८० जना सदस्यहरु निर्वाचित भएका छन् । यसैगरी महासंघकै केन्द्रिय महिला उद्यमी समितिमा रोशनी उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा रिता अवाल, उपाध्यक्ष उद्यम व्यवसायतर्फ कृष्णा कुमारी पाठक, उपाध्यक्ष संगठनतर्फ तारा आचार्य, महासचिवमा डा. सोनी महतो, कोषाध्यक्षमा मीना तामाङ्ग, सचिवमा दीपा शाक्य तथा १४ जना सदस्य रहेकी छन् । नवनिर्वाचित अध्यक्ष सिंहले महासंघको गरिमालाई उच्च बनाउँदै लघु, घरेलु तथा साना उद्योगीहरुको हक हितमा काम गर्ने बताए । महासंघको उपस्थितिलाई देशैभर व्यापक बनाउँदै लैजाने र लघु, घरेलु तथा साना उद्योगीहरुलाई आत्मस्वाभिमानका साथ अगाडि बढ्न सक्ने वातावरण बनाउन लागिपर्ने पनि उनले बताए ।

निर्माण सिजनमै बढ्यो निर्माण सामग्रीको मूल्य, डण्डी हालसम्मकै सबैभन्दा महंगो

काठमाडौं । पछिल्लो समय निर्माणजन्य सामग्रीको मूल्य आकाशियको छ । मंसिर महिनासम्म माग नहुँदा मूल्य घटेको सामग्रीको फागुन लागेसँगै उच्च मूल्य बृद्धि भएको हो । निर्माण सागम्री व्यवसायीका अनुसार पछिल्लो समय फलामे डण्डीको मूल्य आकाशियको छ । एक महिनाको अवधिमा छडको मूल्य किलोमा ३५ रुपैयाँसम्मले बढेको छ । छड उत्पादन गर्ने उद्योगहरुले पछिल्लो समय दैनिक जसो मुल्य बढाउँदा मूल्य आकाशियको हो । ग्रिल तथा स्टिल व्यवसायी संघका अध्यक्ष मोहन कटुवाल निर्माणजन्य सामग्रीका लागि तेस्रो देशको भर पर्दा मूल्य आकाशियको बताउँछन् । उनका अनुसार पछिल्लो समय छड, स्टल, जस्तापाता लगायत अधिकांश सामग्रीको मूल्य बढेको छ । व्यापारीहरुका अनुसार गत मंसिर महिनामा प्रतिकिलो १०२ रुपैयाँदेखि ११० रुपैयाँसम्म रहेको छडको मूल्य हाल १३० देखि १३५ रुपैयाँसम्म पुगेको छ । निर्माण सामग्री व्यापार संघ काठमाडौंका अध्यक्ष अच्युतम कटुवाल छडको मूल्य उच्च भएको बताउँछन् । ‘अहिले पेट्रोलियम पदार्थको मूल्य उच्च भएको छ, त्यसलाई नै देखाउँदै छड उद्योगीले मूल्य बढाएका हुन्, हामीले बढेर आएको मूल्यमा बिक्री गर्ने हो, अहिले प्रतिकिलो १३५ रुपैयाँसम्म पुगेको छ,’ कटुवालले भने । उनका अनुसार यसअघि ८४ रुपैयाँदेखि ९२ रुपैयाँसम्म रहेको छडको मूल्य बढेर हाल १३३ देखि १३५ रुपैयाँसम्म पुगेको हो । ‘फ्याक्ट्रीबाट नै बढेर आएको छ, खरिद गरेको मूल्यमा हामीले प्रतिकिलो ५० पैसादेखि १ रुपैयाँ नाफा राख्ने हो’, उनले भने । यस्तै, उनले छडपछि उद्योगीले सिमेन्टको मूल्य बढाउने तयारी गरेका बताए । उनका अनुसार अहिले नै सिमेन्टको मूल्य बढिसकेको छैन, तर उद्योगीले प्रतिबोरा ३० रुपैयाँसम्म बढाउने तयारी थालेका छन् । निर्माण व्यवसायी संघका अध्यक्ष रवी सिंह पछिल्लो समय निर्माणजन्य सामग्रीको मूल्य आकाशियको बताउँछन् । पछिल्लो एक महिनाको अवधिमा दोब्बरजस्तो मूल्यबृद्धि भएको उनको भनाई छ । निर्माणको सिजनमा नै मूल्य आकाशिदा समस्या भएको उनको भनाई थियो । निर्माण सिजनमा नै सामग्रीको मूल्य आकाशिदा उपभोक्तालाई समस्या भएको छ । दैनिकजसो निर्माणजन्य सामग्री सहित दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिदा बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय मौन जस्तै देखिएका छन् । बजारमा हाल छडको मूल्य आकाशियको गुनासोपछि वाणिज्य विभागले अनुगमन गर्ने जनाएको छ । छडको मूल्यको विषयमा धेरै गुनासो आएपछि उद्योगीसँग छलफलको तयारी भएको विभागका निर्देशक हरि पंगेनीले बताए । ‘विभागसँग सिमित मात्रामा अनुगमन गर्ने कर्मचारी छन्, अहिले सबै स्थानबाट मूल्य बढेको गुनासो आएको छ, हामीले धेरै गुनासो आएका वस्तुकेन्द्रीत अनुगमन गर्ने गरेका छौं, छडको विषयमा धेरै गुनासो आएको छ, हामी अध्ययन गर्दछौं,’ उनले भने । ३० प्रतिशत मात्र माग पछिल्लो समय नेपाल राष्ट्र बैंकले कर्जामा कडाई गरेपछि निर्माण सामग्रीको बजार खस्किएको व्यवसायीहरु बताउँछन् । बैंकले ऋण लगानी गर्न छोड्दा र सरकारको पुँजीगत खर्चमा कमि आउँदा (पर्याप्त मात्रामा निर्माणका कामहरु नहुँदा) निर्माण सामग्रीको माग÷खपतमा कमी आएको हो । व्यवसायीहरु पछिल्लो समय निर्माण सामग्रीको मागमा ७० प्रतिशतले कमी आएको छ । निर्माणकै सिजनमा मागमा बृद्धि नभए तापनि मूल्य आकाशिएको हो ।