अमेरिकासहित ६ देशमा जस्तापाता निर्यात गर्दै जगदम्बा स्टिल्स
काठमाडौं । जगदम्बा स्टिल्सले आफ्ना उत्पादन तेस्रो देश निर्यातको सुरुवात गरेको छ । कम्पनीले पहिलो पटक स्टिल तेस्रो देश निर्यात सुरु गरेका हो । कम्पनीले हाल उत्पादनहरु जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा निर्यात सुरु गरेको हो । सो देशहरुमा कम्पनीका उत्पादनको उच्च माग रहेको जनाइएको छ । जगदम्बा स्टिल्सले केही समय अगाडिमात्रै ‘सीआर सिट एंड कोइल्सहरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो । कम्पनीले ग्याल्भा प्लसमा एन्टी कोरोजन प्रविधिसहित निर्माण गरिएको भन्दै खिया नलाग्ने, पाताको प्रारम्भिक क्षति रोक्ने र लामो समयसम्म टिकाउ हुने जनाएको छ । ग्याल्भामा एल्युमिनियम जिंक कोटिङ गरिएका कारण भारी वर्षा, उच्च आद्रता, चिसो वा हिउँ पर्ने ठाउँ वा तातो क्षेत्र जुनसुकै प्रकारको मौसम सामना गर्ने क्षमता रहेको छ । साथै, सामान्य उत्पादनले गर्मीमा धेरै गर्मी र चिसोमा धेरै चिसो तापक्रम दिने गर्छ तर, नयाँ उत्पादनले उक्त ताप नियन्त्रण पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जगदम्बा ग्याल्भा प्लसमा अलोय कोटिङ गरिएको छ । जसमा तौलको हिसाबले ५५ प्रतिशत एल्मुमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित गरिएको छ । कम्पनीले अन्य उत्पादनको तुलनामा जगदम्बा ग्याल्भा १० गुण बढी टिकाउ रहेको दाबी गरेको छ । टिकाउपन बढे पनि मूल्यमा भने परिवर्तन हुनेछैन । जगदम्बा स्टिल्सका सेल्स म्यानेजर भानु भट्टराई भन्छन्,’हामीले गुणास्तर वृद्धि गरेपछि आम उपभोक्तालाई मूल्य पनि बढ्ला भन्ने लाग्न सक्छ तर, मुल्य तत्काल बढ्दैन ।’ यस्तैगरी जगदम्बा सुपर शाइन प्रिमियर रंगद्धारा कोटिङ गरिएका पाताहरुले उत्कृष्ट रंग प्रविधि प्रयोग गरिएको छ । जसले पेन्ट फुट्न र चर्किनबाट रोक्ने कम्पनीले दाबी गरेको छ । कम्पनीले हाल एक लाख ३२ हजार टन ग्याल्भा प्लस र एक लाख १० हजार टन सुपर शाइन उत्पादन गर्दै आएको छ । नेपालमा दुवै उत्पादन गरेर दुई लाख ५० हजार मेट्रिक टन खरिद गरिरहेको कम्पनीले जनाएको छ । उद्योगको कुल उत्पादन क्षमताको ४० प्रतिशत उत्पादन निर्यात गर्ने गरी काम गरिरहेको जनाएको छ । वाषिर्क ठूलो व्यापार घाटा खेपिरहेको नेपालका लागि स्टिलजन्य वस्तु निर्यात खुसीको कुरा भएको जगदम्बा ग्रुपले जनाएको छ । कम्पनीले निर्यातका लागि भारतबाट जनशक्ति ल्याएर छुट्टै निर्यात युनिट खडा गरेर काम गरिरहेको छ । शंकर ग्रुप अन्तरर्गत जगदम्बा स्टिल्स नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादक कम्पनी हो । सो कम्पनीले वार्षिक रुपमा ३ हजार मेट्रिक टन फलामे छड उत्पादन गर्दै आएको छ । जगदम्बा स्टिल रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी हो ।
कुलमानलाई प्रश्न : जानकारी नै नदिई लाइन काट्दा प्राधिकरणले क्षतिपूर्ति तिर्नु पर्दैन ? (भिडियोसहित)
काठमाडौं । मंगलबार नेपाल विद्युत प्राधिकरणले एक्कासी विभिन्न औद्योगिक करिडोरको विद्युतको लाइन कटौती गर्यो । बिना जानकारी प्राधिकरणले बिद्युत कटौती गरेको भन्दै उद्योगीहरु प्राधिकरणको विरोध गरिरहेका छन् । उनीहरुले पूर्व जानकारी नदिई बिद्युत कटौती गर्दा दैनिक ५० करोड रुपैयाँभन्दा बढी नोक्सानी भइरहेको गुनासो गरिरहेका छन् । विद्युत लाइन कटौती गर्नुको कारण बताउन बिहीबार प्राधिकरणले पत्रकार सम्मेलन गर्यो । पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतले मूल्य बढाएकोले केही दिन विद्युत कटौती गर्नु परेको र आज १२ बजेदेखि निरन्तर विद्युत आपूर्ति हुने बताए । पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले उनलाई प्रश्न गरेका छन् । भारतले प्रतियुनिट बिजुलीको मूल्य ३८ रुपैयाँ लिएको छ, नेपालमा पनि मूल्य बढ्ने भएको हो ? उद्योगीहरु तपाईंहरुले भनेको मूल्य तिर्न तयार छन् कि छैनन् ? भारतले प्रतियुनिट बिजुलीको मूल्य २० भारतीय रुपैयाँमा लिन्छ । यो भनेको नेपाली ३१ रुपैयाँ हो । त्यसमा पुनः ६ रुपैयाँ अतिरिक्त शुल्क लाग्छ । समग्रमा हामीले प्रतियुनिटको ३८ रुपैयाँ तिर्नु पर्ने हुन्छ । हामीले भारतसँग महँगो मूल्यमा विद्युत खरिद गरेपछि उपभोक्ता र उद्योगलाई बढ्छ भन्ने अनुमान होला, तर कसैलाई पनि मूल्य बढ्दैन । हामीले उद्योगीहरुलाई केही मूल्य सेयरिङ गर्न सकिन्छ की भनेर बोलाएका थियौं । तर, उहाँहरुको सहमति बिना मूल्य बढाउन सम्भव छैन । हामी एकतर्फी रुपमा मूल्य घटाउँदैनौं । भोलि प्राधिकरणले आयात गरेको बिजुलीको पैसा तिर्न सकेन भने सरकार तिर्न तयार छ की छैन ? यो समस्या लामो समय रह्यो भने डेढ महिना रहन्छ । हामीले अर्थमन्त्रालयसँग आग्रह पनि गरेका छौं । यो केही निश्चित समयका लागि महंगो हो । केही समय अगाडि त हामीले सस्तोमै दिएका छौं । यसले हामीलाई धेरै ठूलो असर गर्दैन । यो भनेको सरकारको पनि दायित्व हो । प्राधिकरण भनेको सरकारको एउटा अंग हो । यो समस्या धेरै माथि जाँदैन भन्ने हामीलाई थाहा छ । अन्तर्राष्ट्रिय रुपमा सबै वस्तुको मूल्य बढिरहेको छ, अझै मूल्य बढ्यो भने हामी धान्न सक्ने अवस्थामा छौं कि छैनौं ? यो सरकार हो, धान्न नसक्ने भन्ने कुरा हुँदैन । हामीलाई धेरै ठूलो उर्जा आयात गर्नु पर्ने अवस्था छैन । थोरै समयमा प्राइस एडजस्टमेन्ट गर्ने हो । प्राधिकरणले उद्योगीहरुले बिजुलीको बिल ढिला तिर्दा विद्युत् कटौती गर्छ अर्थात कारवाही गर्छ । तर, प्राधिकरणले जानकारी नदिई उद्योगको विद्युत् काटेको छ, यसमा प्राधिकरण किन जिम्मेवार नदेखिएको ? तपाईंहरुले क्षतिपूर्ति किन नतिर्ने ? हामी जिम्मेवार नै छौं । जिम्मेवार भएर नै ३८ रुपैयाँमा किनेको बिजुली ९ रुपैयाँमा बेच्दैछौं । प्राधिकरण जिम्मेवार भएर नै भारु २० रुपैयाँमा खरिद गरेको विद्युत ९ रुपैयाँमा बिक्री गरेको हो । हामी जिम्मेवारी नभएको भए दैनिक ५/६ घण्टा उद्योग बन्द गर्न भन्न सकिन्थ्यो नि । हामी जिम्मेवारी भएर नै नेपालमा उद्योग खोल्नुपर्छ भनेर नै घाटा खाएर विद्युत दिन लागेका हौं । हामीले एभरेज रुपमा उपभोक्तालाई ९ रुपैयाँ ९० पैसा र उद्योगलाई ९ रुपैयाँमा बिजुली दिने गरेका छौं । अहिले हामीले केही समयका लागि महँगोमा बिजुली दिन खोजेका हौं । लामो समयको कुरा होइन ७ दिनदेखि १५ दिनको समयका लागि हुन सक्छ । हामीले घाटा खाएर नै कम मूल्यमा बेचिरहेका छौं । अझै पनि ४ महिना विद्युत् आयात गर्नुपर्ने अवस्था छ । तर, प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) किन रोकेको ? हामीले पीपीए रोकेका छैनौं । हामीले पीपीए रोकेका होइनौं, बिजुली थपिएकै छन् । नयाँ कम्पनी आइरहेका छन् । ६ हजार मेगावाट निर्माणाधीन छन् । असारसम्म ३ सय मेगावाट थप हुन्छ । बिद्युत उत्पादन बढिरहेको छ । हामीले हाम्रो कोटाको पीपीए रोकेका छैनौं । बर्खायाम सुरु हुन लाग्यो हामीले निर्यात गर्न सक्छौं, कसैलाई पनि लोडसेडिङ हुँदैन, हामी हुन दिँदैनौं । अहिले अचानक आएको संकट हो, बेला बेला भै’राख्छ । तर हामी लोडसेडिङ हुन दिँदैनौं । हामी म्यानेज गर्छौं ।
प्राधिकरणले जानकारी बिनै विद्युत् काट्दा दैनिक ५० करोड नोक्सान, १५ सय उद्योग समस्यामा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक करिडोरहरूमा विद्युत् आपूर्ति रोक्दा उद्योगहरूले ठूलो नोक्सान व्यहोर्नु परेको छ । भारतले प्रतियुनिट बिजुलीको मूल्य २० रुपैयाँ भारु पुर्याएको र नेपालले अतिरिक्त शुल्कसहित खरिद गर्दा प्रतियुनिट ३८ रुपैयाँ पर्ने भन्दै प्राधिकरणले केही दिन औद्योगिक करिडोरमा लोडसेडिङ गर्यो । बिनाजानकारी विद्युत् आपूर्ति रोक्दा उद्योगहरूले करोडौं गुमाउनु परेको उद्योगीहरूले गुनासो गरेका छन् । आयात बन्द गरेर प्राधिकरणले एक मेगावाटभन्दा बढी खपत गर्ने उद्योगलाई बिजुली कटौती गरेको छ । प्राधिकरणको भारप्रेषण केन्द्रकै निर्देशनमा भैरहवा, वीरगंज र विराटनगर प्राधिकरण कार्यालयले औद्योगिक करिडोरहरूमा बिजुली काटेको छ । मंगलबार साँझदेखि प्राधिकरणले विद्युत् कटौती गर्दा भैरहवा बुटवल औद्योगिक करिडोर, बारा–पर्सा औद्योगिक करिडोर र सुनसरी मोरङ करिडोर क्षेत्रका उद्योगमा बिजुली आपूर्ति रोकिएको उद्योगीहरूले बताएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले मंगलबारदेखि प्राधिकरणले विद्युत् आपूर्ति रोकेको बताए । ‘केही दिन अघिसम्म प्राधिकरणले हामीसँग विद्युत् प्रयाप्त छ, तपाईंहरू आवश्यकता अनुसार लिनुस् भन्ने गरेको थियो, एकदिन अगाडि प्रयाप्त छ भन्ने प्राधिकरणले भोलिपल्टै बिनाजानकारी विद्युत् कटौती गर्यो, यसले उद्योगीलाई दैनिक ५० करोड रुपैयाँभन्दा बढी क्षति भएको छ,’ उनले भने । उनले उद्योगीलाई पूर्वजानकारी नदिई विद्युत् कटौती गर्नु प्राधिकरणको गम्भीर लापरवाही भएको बताए । ‘हामी सम्पूर्ण उद्योगीहरु विद्युत् प्राधिकरणको भरमा नै उद्योग सञ्चालन गर्ने गरेका छौँ, अहिले डिजेलबाट उद्योग सञ्चालन गर्न सक्ने अवस्था छैन, रुस र युक्रेनको युद्धका कारण डिजेलको मूल्य आकाशिएको छ, यही समयमा विद्युत् छोडेर डिजेलको प्रयोग गर्न हामी उद्योगीसँग क्षमता नै छैन्, बैंकको ब्याज बढेको समयमा डिजेल कसरी प्रयोग गर्ने, उद्योग कुनै पनि हालतमा फस्टाउन सक्ने अवस्था नै छैन,’ उनले थपे । अहिले सबै उद्योग विद्युत् प्राधिकरणको भरमा सञ्चालित छन् । अहिले प्राधिकरणले दैनिक ६/७ घण्टा दिएको विद्युत्को उपयोग गर्दै उद्योगहरू सञ्चालन गरेका छन् । यद्यपि, प्राधिकरणले अब १२ बजेदेखि नियमित विद्युत् आपूर्ति हुने जनाएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका अनुसार बिनाजानकारी विद्युत् आपूर्ति अवरोध हुँदा १५ सयभन्दा बढी उद्योगमा समस्या भएको छ । सिद्धार्थ नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले रुपन्देहीका उद्योगीले विगत एक महिनादेखि विद्युत् आपूर्तिमा अवरोध खेपिरहेको बताए । ‘नेपाल विद्युत् प्राधिकरणले पर्याप्त मात्रामा विद्युत् छ, उद्योगीले चाहेजति उपयोग गर्न पाउँछन् भन्छ, तर हामीलाई नाम मात्रको विद्युत् दिइएको छ, विद्युत नभएको हैन, तर प्राधिकरणले कम भोल्टेज दिँदा उद्योगीलाई उल्टो समस्या भोग्नु परेको छ,’ उनले भने । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने प्राधिकरणले उद्योगीलाई सास्तिभन्दा पनि छुट दिएको बताए । हामीले सास्ताी होइन छुट दिएका छौं, भारतले ३८ रुपैयाँमा बिक्री गर्दा पनि हामीले ९ रुपैयाँमा दिइरहेका छौं,’ उनले भने । उनले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।