१ अर्ब ३९ करोड लगानीमा सञ्चालनमा आयो वेयरहाउस कम्पनी

काठमाडौं । नेपालकै पहिलो वेयर हाउस कम्पनीका रुपमा सुनसुरी जिल्लामा निर्माणधिन वेयरहाउस सञ्चालनमा आएको छ । नेपाल वेयरहाउस कम्पनीले सुनसरी जिल्लामा पहिलो वेयर हाउस कम्पनीका रुपमा सञ्चालनमा ल्याएको हो । सुनसरीको गाढी गाउापालिका वडा नम्बर २ औरवानीमा कम्पनीले निर्माण गरेको वेयरहाउस आईतबादेखि व्यवसायिक रुपमा सञ्चालनमा ल्याईएको नेपाल वयरहाउस कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जयमुकुन्द खनालले जानकारी दिए । उनका अनुसार १५ हजार मेट्रिक टन क्षमता रहेको सो वेयरहाउसमा तत्कालका लागि गहुँ, मकै र भटमास भण्डारण गरिनेछ । कम्पनी ऐन, २०६३ वमोजिम २०७५ सालमा संस्थापित नेपाल वेयर हाउजिड्ग कम्पनी लिमिटेड सञ्चालनमा ल्याईएको कम्पनीले जनाएको छ । खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु कम्पनी स्थापनाको मुख्य उद्देश्य रहेको जनाईएको छ । कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृह हालसम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा वजारमा विक्री गर्नुपर्ने वाध्यता कृषकसँग रहेको कम्पनीले जनाएको छ । सस्तो मूल्यमा बिक्री गरिने सोही खाद्यान्न केही समयपछि महँगो मूल्यमा सोही कृषले खरिद गर्नुपर्ने बाध्यताको अन्त्य गर्न वेयरहाउस सञ्चालनमा ल्याईएको कम्पनीका सीईओ खनाल बताउँछन् । कम्पनीले साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधन, औधोगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएकोछ । कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच हुने वातावरण र पध्दत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेकोछ।साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को वालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ। कम्पनीले संचालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत १३९ करोड रुपैयाँ रहेकोमा सो लगानी मध्ये ९४ करोड रुपैयाँ ऋण र बाँकी स्वपूँजी परिचालन हुने जनाइएको छ । ऋणको व्यवस्थापन एभरेस्ट बैंक को अगुवाइमा नेपाल एसविआइ बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौँ, कृषि विकास बैंकको सहवीत्तीयकरणमा गरिएको छ । कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमवि बैंक, टिम भेन्चर्स, टिएनआई इन्भेस्टले लगानी गरेका छन् । पछिल्लो चरणमा नेपाल इन्फ्राष्ट्रक्चर वैंक लि, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्ट समेतले पूँजी लगानी रहेको कम्पनीले जनाएको छ । लगानीकर्ताहरुबाट कूल चालु पूँजी ६८ करोड ७५ करोडको ८० प्रतिशतले हुन आउने ५५ करोड रुपैयाँ सेयर लगानी भइसकेकोछ । साथै, आगामी आर्थिक वर्ष २०७९÷८० मा सार्वजनिक निष्काशनबाट कूल जारी पूँजीको २० प्रतिशत बराबरको रकम १३ करोड ७५ लाख रहेको छ । सुनसुरीमा वेयरहाउस सञ्चालनमा ल्याएको कम्पनीले पर्सा र कपिलवस्तुमा समेत वेयरहाउस निर्माण गरिरहेको छ ।

सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगमा १४ घण्टा लोडसेडिङ

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा नेपाल विद्युत प्राधिकरणले अघोषित १४ घण्टा लोडसेडिङ गरेको भन्दै उद्योगी व्यवसायीले उद्योग चलाउन समस्या भएको बताएका छन्। अधिकांश उद्योगमा विगत एक हप्ता अगाडिदेखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको त्यहाँका उद्योगीहरुले बताएका छन्। प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताए तापनि एक सातादेखि बेलुका ६ बजेदेखि १४ घण्टा उद्योगको विद्युत कटौती हुने गरेको बताएका छन्। उद्योगीहरुले प्राधिकरणले कुनै जानकारी नदिई अघोषित रुपमा लोडसेडिङ गरेको कारण उद्योगहरू थप समस्यामा परेको बताएका छन् । प्राधिकरणले एक साता अगाडि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत मंगलबारबाट नियमित रुपमा उद्योगहरुमा चाहेको जति विद्युत उपलब्ध गराएर लोडसेडिङ हुन नदिने प्रतिवद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नभएको उद्योगीहरुको गुनासो रहेको छ। सरकार तथा विद्युत् प्राधिकरण आफैंले ग्यासको खपत कम गरौं खाना पकाउने विद्युतीय चुलो प्रयोग गरौँ भन्दै प्रचार गर्ने तर उद्योगमा अप्रत्यासित रुपमा लोडसेडिङ गर्नु गलत भएको रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालले बताए। उनले सरकार र प्राधिकरण बाहिर एउटा प्रचार गर्ने भित्र उद्योगमा विद्युत कटौती गर्नु उद्योगको लागि राम्रो नभएको बताए। सरकारले उद्योगहरुमा तत्काल विद्युत उपलब्ध गराउनु पर्ने सञ्चालक अग्रवालको भनाई छ। अग्रवालले प्राधिकरणले तत्काल रुस र युक्रेनको युद्धको कारण भारतका विद्युत आपूर्तिमा समस्या हुँदासम्म मात्रै भए उद्योगीले धान्न सक्ने तर लामो समयको लागि लोडसेडिङ भए उद्योगीले धान्न नसक्ने जिकिर गरे। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सका व्यवस्थापक महेशकुमार पोखरेलले उद्योगमा लामो समयदेखि विद्युत् आपूर्तिमा पटक–पटक न्यून पावर ट्रिपिङ तथा विद्युतको भोल्टेजका कारण उत्पादनमा समस्या आउने गरेको भन्दै गुनासो गरे। उनले सम्बन्धित निकायमा लोडसेडिङ तथा न्यून पावर भोल्टेजको समस्या राख्दा अहिलेसम्म पनि सुनुवाई नभएको उल्लेख गर । व्यवस्थापक पोखरेलले ४ हजार कर्मचारी भएको उद्योग २४ घण्टा चलाउनु पर्ने भए पनि १४ घण्टा लोडसेडिङ हुँदा लागत बढ्दै गएको बताए । उनले उद्योगमा बस्ने कर्मचारीको लागि छुट्टै लाइनबाट विद्युत् दिएकोमा त्यो विद्युत‍्समेत कटौती गरिएको दाबी गरे। उद्योगमा विगतमा जडान गरिएका जेनेरेटर तथा डिजेलको व्यवस्थापन लोडसेडिङ अन्त्यपछि त्यतिकै भएकाले तत्काल सञ्चालनमा ल्याउन नसक्ने अवस्थामा रहेको जानकारी दिए। त्यस्तै, विराटनगरमा सञ्चालित शिवम् प्लाष्टिक उद्योगका सञ्चालक निखिल अग्रवालले बैंकको ब्याज, ढुवानीको लागत बढ्दै गएको अवस्थामा प्राधिकरणले उद्योगहरूमा १४ घण्टासम्म लोडसेडिङ गर्नु गलत भएको बताएका छन् । उनले १४ घण्टा उद्योगहरूले लोडसेडिङ भोग्नु पर्दा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउने बताए । उद्योग १२ देखि १४ घण्टासम्म डिजेलमा चलाउन सकिने अवस्था नभएको भन्दै सरकारले तत्काल उद्योगलाई विद्युत् सहज रुपमा आपूर्तिको व्यवस्था गर्नुपर्ने सञ्चालक अग्रवालको भनाइ छ। उनले विद्युत् प्राधिकरण आफैं उद्योगीलाई ठूला-ठूला उद्योग ल्याउनुस् जति पनि विद्युत दिन तयार छौँ भन्ने तर प्राधिकरण आफैँ १२ देखि १४ घण्टा लोडसेडिङ गर्ने कुरा व्यवहारिक नभएको बताए। करिब साढे ३०० मेगावाट बिजुली अभाव हुन थालेपछि प्राधिकरणले ठूला उद्योगहरूमा रातिमा बिजुली काट्न थालेको बताएको छ। पछिल्लो एक सातायता प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गर्न थालेपछि उद्योगीहरुले प्राधिकरणको चर्को आलोचना गरिरहेका छन्। विद्युतमा देखिएको ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, एकाएक विद्युत् आपूर्ति बन्द हुँदा करोडौं रुपैयाँ पर्ने मेसिनमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार र कर्मचारीको तलब, ज्याला बढ्नेलगायतका समस्या देखिएको उद्योगीहरूको गुनासो छ। प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत् खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनी विद्युत् प्राधिकरणले प्रतिबद्धता जनाएको थियो। तर अघोषित रूपमा बिजुली कटौती गरिरहेको उद्योगी व्यवसायीहरूले बताएका छन्

भारतीय लगानी अभिवृद्धि र सहजीकरणका लागि निजी क्षेत्रको आग्रह

काठमाडौं । नेपालका निजी क्षेत्रले भारतीय लगानी बढाउन र निर्यात सहजीकरणका लागि भारतसँग आग्रह गरेको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउदै यसलाई बढाउन के कस्तो सहयोग चाहिने हो जसको लागि निजी क्षेत्रको तयार रहेको बताए । उनले पर्यटन क्षेत्रमा सम्भावना बढदै गएको पनि बताए । ‘पहिले घुम्न आउनोस्, त्यसपछि लगानी गर्नुहोस, अनि आम्दानी पनि गर्नुहोस्’ उनले भने । नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेको पनि उनले जानकारी गराए । नेपाल भारतका लागि नवौ ठूलो निर्यात गन्तव्य भएको बताउदै अध्यक्ष गोल्छाले नेपालले पनि भारतमा निर्यात बढाउन खोजिरहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आज भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा लगानीको वातावरण सहज बनाउन आफू सधैं तयार रहेको बताए । कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउँदै उनले त्यसका लागि वातावरण बनाउने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएको सम्झौताले विद्युत् आदानप्रदान र रेल सेवा संचालनमा सहयोग पुग्ने उनले बताए । कन्फिडरेसन अफ इन्डियन इन्डिष्ट्रिज (सिआईआई) ले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा सिआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताए । सिआईआईको उर्जा संयन्त्र नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि उनले बताए । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले नेपाल भारतबीचको संयुक्त व्यावसायिक फोरमको बारेमा जानकारी गराइन् । दुई देशका उद्यमी व्यवसायीको फोरमको नेतृत्व निवर्तमान अध्यक्ष राणाले गर्छिन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुसिल भट्टले लगानीका लागि भइरहेको प्रयासबारे जानकारी गराए । कार्यक्रममा करिब ३० वटा भारतीय वहुराष्ट्रिय कम्पनीको सहभागिता थियो । करिब १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीको सम्भावना बारे चासो र अनुभव आदानप्रदान गरेका थिए । यसअघि, महासंघ र सिआईआईका पदाधिकारीहरूबीच द्धिपक्षीय छलफल भएको थियो ।