निजी क्षेत्र उठ्न सरकारको साथ चाहिन्छ : चन्द्र ढकाल
काठमाडौं । भूकम्प र कोरोना महामारीका कारण तहस नहस बनेको निजी क्षेत्रलाई उकास्न सरकारले सहयोग गर्नुपर्ने उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताएका छन् । ढकालले महासघंकाे ५६ औं साधारणसभामा बोल्दै निजी क्षेत्रलाई माथि उठाउन सरकारको साथ चाहिएको बताएका हुन् । ‘कोभिड बेलामा कर्जाको माग पनि बढ्यो, माग बढ्दा आयात बढ्नु स्वभाविक थियो, साढे ६ महिनाको आयात धान्न सक्ने सञ्चिती छ, अहिले पर्यटक बढेकोले विदेशी मुद्रा सञ्चितीमा सपोर्ट गर्छ ,’ उनले भने । साथै, उनले नेपालको अर्थतन्त्रमा देखिएको संकट श्रीलंकाको जस्तो जोखिम अवस्थामा नपुगेको बताउदै सुधार गर्नुपर्ने ठाउँ र उपायहरू पर्याप्त रहेको बताएका छन् । ‘कालोबादलभित्र चाँदीको घेरा हुन्छ, अहिले सम्भावना खोजौं, समस्याको पहिचान गरेर समाधान गर्नतर्फ लागौं ।’ उनले भने । उनले प्रधानमन्त्रीकफ भारत भ्रमण नेपालका निजी क्षेत्रका लागि उपलब्धिमुलक बनेको उनको बुझाइ छ । नेपाली अर्थतन्त्रमा समस्यासँगै समाधानको स्रोतसाधन पनि रहेको बताउँदै पर्यटन विकासमा जोड दिनुपर्ने बताएका छन् ।
बजारमा हल्ला चलेजस्तो अर्थतन्त्रमा समस्या छैन : मुख्यसचिव बैरागी
काठमाडौं । देशको अर्थतन्त्रमा देखिएको पछिल्लो संकट समाधानका लागि निजी क्षेत्रसँग नेपाल सरकार खुला दिलले छलफल गर्न तयार रहेको नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले बताएका छन् । आज काठमाडौंमा जारी नेपाल उद्योग वाणिज्य महासंघको ५६औं साधारणसभामा बोल्दै बजारमा हल्ला चलेजस्तो अर्थतन्त्रमा समस्या नभएको तर, सचेत हुनुपर्ने बताएका हुन् । निजी क्षेत्र सरकारको एक महत्त्वपूर्ण साझेदार बताउँदै सरकार र निजी क्षेत्रको उद्देश्य र दीर्घकालीन विकास उद्देश तथा महासंघको भिजन २०३० को उदेश्य एउटै खालको भएको उनले बताए । साथै सरकारले तत्काल गर्नुपर्ने पेट्रोलियम पदार्थ आयात गर्न आवश्यकता अनुसार तयारी गरिरहेको र पर्यटन क्षेत्रमा नयाँ ढंगबाट काम गर्नुपर्ने बताएका छन् । साथै विदेशी लगानी भित्र्याउन वातावरण सहज कसरी गर्न सकिन्छ भन्ने विषयमा सरकारले गृहकार्य गर्नुका साथै अन्य देशसँग प्रतिस्पर्धा गर्न उत्पादनको लागत घटाउनेतर्फ ध्यान दिनुपर्ने उनले बताएका छन् । उनले जलस्रोतको विकासका लागि सम्भावना खोज्ने काम सरकारले गरिरहेको बताउँदै उर्जामा सहुलियत दिन सकिन्छ कि भन्नेतर्फ सरकारलको ध्यान केन्द्रित भएको बताएका हुन् ।
‘हामी देशलाई श्रीलंका हुन दिँदनौं, अहिलेको संकट केही महिनाभित्रै टर्छ’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यमा देशको पछिल्लो संकट अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५६औं साधारणसभामा बोल्दै महासंघका अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रले देशको संकट टार्नको लागि दौडिन खोजे पनि अर्थतन्त्रले थेग्न नसकेको बताएका छन् । आफूहरू देशकै नागरिक भएको नाताले देशको अर्थतन्त्र सुधारमा निजी क्षेत्रको ७७ प्रतिशत लगानी रहेको स्मरण गराउँदै संकट हुन नदिन थप योगदान दिन आफूहरू तयार रहेको बताए । उनका अनुसार पछिल्लो दुई वर्ष संकटपूर्ण रहँदा पनि मुल्यवृद्धि नभएको र श्रमिकले खासै दु:ख नपाएको दाबी गरे । उनले अबको एक दशकमा १०० अर्बको अर्थतन्त्र पुर्याउने र २२ लाखलाई रोजगारी दिने लक्ष्य रहेको उनले बताए । साथै, उनले आज जारी साधारणसभामा बोल्दै सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन्,’सिंहदरबार र राष्ट्र बैंकमा हुने छलफल र निर्णयबारे जानकारी हुँदैन, निजी क्षेत्रलाई राजश्वको स्रोतका रुपमा मात्रै हेरियो ।’